site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सम्मान पाएर आश्चर्यचकित भएँ

– सनी लियोनी


बलिउडमा बायोपिकको क्रम बाक्लिरहँदा पूर्व पोर्नस्टार सनी लियोनीको जीवनीमा आधारिक ‘करणजित कौर’को पनि चर्चा चुलिएको छ । क्यानडामा जन्मिएकी भारतीयमूलकी सनी अहिले भारतीय फिल्म र रियालिटी शोमा व्यस्त छिन् । ‘बिग बोस’को भारतीय संस्करणमा सहभागी भएपछि उनी बलिउडमै रमाउन थालेकी छन् । उनीसँग अमेरिकी नागरिकता छ । सन् २०१० मा ‘म्याक्सिम’ले सनीलाई वर्षका शीर्ष १२ पोर्नस्टारको सूचीमा राखेको थियो । ‘नवभारत टाइम्स’सँगको कुराकानीमा सनीले आफ्नो बायोपिक, आमा बन्नुको खुशी र पति ड्यानियलको बारेमा खुलेर बताइन्—

१) तपाईंको बायोपिक ‘करणजित कौर’मा तपाईंको बलिउड यात्रालाई पनि समावेश गर्नुपथ्र्यो जस्तो लागेन ?

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हेर्नुस्, यो मेरो वशको कुरा होइन । कथा त्यहाँनेर आएर सकिन्छ, जतिखेर म पहिलो पटक ‘बिग बोस’मा सहभागी हुन भारत आउँछु । तपाईंले भनेको कुरा पनि ठीक हो । म भारत आएपछिको कथाबारे पनि दर्शकलाई थाहा हुनुपर्छ । यस्तो भइदिए हुन्थ्यो जस्तो लाग्छ मलाई पनि । किनकि, भारत आइसकेपछिको समय पनि अत्यन्तै रोचक छ । के थाहा— भोलि यसको अर्को संस्करण पनि आउँछ कि ! दर्शकको मागअनुसार कथा अगाडि बढ्न पनि सक्छ । तर, यो मेरो नियन्त्रणको कुरा होइन ।

२) बलिउड आउनुभन्दा अघि यसबारे तपाईंको दृष्टिकोण कस्तो थियो ? बाहिर बसेर बलिउडलाई हेर्दा कस्तो देखिन्थ्यो ?

साँचो भन्ने हो भने बलिउडलाई लिएर मेरो केही धारणा थिएन । हो, यसलाई म फरक संसारचाहिँ मान्छु । मेरा बुवा–आमाको निधन भइसकेपछि मैले हिन्दी फिल्म हेर्नै छोडेकी थिएँ । किनकि, मलाई फिल्मले उहाँहरूको सम्झना दिलाउँथे । म भारत आऊँला र हिन्दी फिल्म, टेलिभिजन शोमा काम गरूँला भनेर मैले सपनामा पनि चिताएकी थिइनँ । मलाई त यो पूरै यात्रा असाध्यै सुन्दर लागिरहेको छ । पहिले मेरो कामलाई लिएर भारतका मान्छेले गलत नजरले हेर्छन् भन्ने सोचेकी थिएँ । मलाई सम्मान गरिँदैन जस्तो लागेको थियो । मलाई त्यसको डर थियो । तर, म त आश्चर्यचकित भएँ । जसरी यहाँका मान्छेले मलाई स्वीकारे, प्रेम गरे— शब्दमा बयान गर्न सक्दिनँ ।

३) तपाईंले यहाँ भारतमा आफ्नो अस्तित्व र पहिचान निर्माण गर्न सके जस्तो लाग्छ ?

म यहीँ बस्छु । हामीले सन्तान पनि यहीँ अडप्ट गरेका छौं । घर र गाडी पनि यहीँ किनेका छौं । यसो भनौं— हामी पूर्ण रूपले यहीँ स्थापित भइसकेका छौं । लसएन्जलस त अब घुम्न जाने ठाउँमात्रै भएको छ (हाँस्दै) । वर्षमा एकाध पटक आउने–जाने मात्रै हुन्छ । अब भारत नै मेरो घर हो ।

४) तपाईं तीन सन्तानकी आमा बनिसक्नुभएको छ । मातृत्वमा कसरी रमाउनुभएको छ । काम र सन्तानलाई कसरी सन्तुलनमा राख्नुभएको छ ?

म जिन्दगीको सबैभन्दा सुन्दर क्षणमा छु अहिले । यो असाध्यै सुन्दर यात्रा हो । म आमा बनेर धेरै खुशी छु । रह्यो सन्तुलनको कुरा— म समय व्यवस्थापनमा असाध्यै पक्का छु । मलाई आफ्ना सन्तानको समय–तालिका थाहा छ । उनीहरू कतिखेर उठ्छन्, कतिखेर खान्छन्, कतिखेर सुत्छन्— सबै तालिकाबद्ध छ । यी सबैलाई मिलाएर काम गर्नु अप्ठ्यारो छ त नै । आमा–बाबुको जिम्मेवारीमा रहेर सन्तानलाई बढीभन्दा बढी समय दिन र उनीहरूलाई सबै खुशी प्रदान गर्न हामी प्रतिबद्ध छौं ।

५) महिला भएर हेर्दा त्यसले जीवनमा कत्तिको फरक पारेको छ ?

म धेरै खुशी छु । बच्चाबच्चीको अनुहार देख्नेबित्तिकै मेरो दिनभरिको थकान मेटिन्छ । उनीहरूको एउटा मुस्कानले मात्रै पनि मेरो मुड ठीक हुन्छ । आफूभन्दा बढी उनीहरूको सुर्ता लाग्छ । जिन्दगीका सारा झन्झट एकातिर अनि मेरा बच्चाबच्ची अर्कातिर । संसारलाई हेर्ने मेरो दृष्टिकोणमा पनि धेरै नै परिवर्तन आएको छ । आफूलाई परिपक्व महसुस गरिरहेकी छु ।

६) तपाईंले दक्षिण–भारतीय फिल्ममा पनि काम शुरु गर्नुभएको छ । केही बताइदिनुस् न ।

मैले ‘रंगीला’ फिल्मबाट साउथमा डेब्यु गर्दै छु । रमाइलो लागिरहेको छ । त्यहाँका मान्छे असाध्यै राम्रा छन् । ‘रंगीला’बाहेक अर्को साउथ फिल्ममा पनि काम गर्दै छु ।

७) भारत आइसकेपछि तपाईंले के गुमाउनुभयो र के पाउनुभयो ?

मैले यहाँ आएर धेरै थोक पाएकी छु । म सधैं भन्छु कि मैले आफ्नो सपना बाँचिरहेकी छु । म भाग्यमानी हुँ किनकि मैले यहाँ काम गर्ने मौका पाएँ । आफ्ना कमजोरीलाई शक्तिमा बदल्न सकेकी छु । मैले आफ्ना कमजोरी सुधारेकी पनि छु । यो सम्पूर्ण यात्रामा मेरा पति (ड्यानियल)को पनि ठूलो साथ र सहयोग छ । उनको बिजनेस सेन्स गजब छ, मेरो रचनात्मक पाटो राम्रो छ । यस्तोमा सन्तुलन ठ्याक्क मिलेको छ । हामीसँग ठूलो टिम छ, जसले हाम्रो लागि एकदमै मेहनत गर्छ । उनीहरूको साथ पनि लगातार मिलिरहेको छ । मैले गुमाएको केही पनि छैन ।

८) तपाईंको बिहे भएको १० वर्ष भइसक्यो । सामाजिक सञ्जालमा तपाईं र ड्यानियलको प्रेम पनि ‘हटकेक’ बनिरहेको हुन्छ । तपाईंहरूबीचको सम्बन्धलाई लिएर मान्छेहरू राम्रा कुरा गर्छन् । रहस्य के हो ?

ड्यानियल मेरा पतिभन्दा पहिला बेस्ट–फ्रेन्ड हुन् । आफ्ना बेस्ट–फ्रेन्डसँग बिहे भएपछि अलग्गै तहको सुझबुझ र घनिष्ठता हुन्छ । पति–पत्नी वा गर्लफ्रेन्ड–ब्याइफ्रेन्डले सँगै मिलेर काम गर्दा त्यो सम्बन्ध धेरै नटिकेको हामीले धेरै देखेका छौं । तर, म र ड्यानियल अपवाद हौं । हामी सँगै काम गर्छौं । एक–अर्काका कुरालाई सम्मान गर्छौं । व्यक्तिगत सम्बन्धसँगै व्यावसायिक सम्बन्ध पनि उत्तिकै राम्रो छ हाम्रो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६  ०८:४६
प्रतिक्रिया दिनुहोस्