site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राराको चिया सुख !

राजेश खनाल


कात्तिक मासको रारा । चिसो पानी । हात डुबाएँ । थकाइ मेटेको अनुभूत भएन ! राराको असीम सौन्दर्यमा नजर स्थिर थियो । उता मन अन्त कतै केही अरू खोज्दै थियो !

वास्तवमा हिँडाइको थकाइ मेट्न एक कप तातो चियाको तलतल लागेको थियो । सबै खेल त्यसैले खेल्दै थियो । कालो चिया कति पिउनू ! दूध हालेको चिया नपाएर मगज रन्केको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दूध हालेको चिया पिउन पाए पो राराको नीलो पानी अनि वरपरको असीमित सौन्दर्यले आनन्द दिन्थ्यो ! यसर्थ, आनन्द प्राप्तिका लागि खोजी गर्नु थियो एक कप ‘मिल्क टी’ ।

० ० ०

एक युग बितेको छ, राराको चिसो पानी छोएको पनि । यो एक युगमा रारा लेखिएन ! शर्त थियो— रारा लेख्ने ! अझै रारा किनारमै वरपरका पर्वत टाकुरामा जमेका हिउँ हेर्दै लेख्नुपर्ने ।

राराको यात्रा अकस्मात् मेरो भागमा जुरेको थियो । नपर्न पनि सक्थ्यो । तर, पर्‍यो ।

कात्तिकको दोस्रो साता, ०६३ । एकदिन विभागीय हाकिम धु्रव नेपालले कार्यकक्षमा बोलाए । कार्यालयको काममा गमगढी जानुपर्ने रहेछ । मोहनहरि आचार्य र मेरो नाम गमगढी जाने सूचीमा चढेछ ।

धु्रव सरको कोठामा पुग्दा उनले भूमिका नबाँधेर मलाई सीधै भने, “राजेशजी, राराको आँगनबाट गीत, कविता, मुक्तक, जे सकिन्छ, त्यही लेखेर ल्याउने अनि मलाई सुनाउने ।”

यही शर्तका साथ यात्रा अनुमतिपत्रमा ध्रुव सरको दस्तखत चल्यो । कर्णाली, मुगु र रारा सुनिएको मात्रै थियो । तस्बिरमा देखिएको मात्रै थियो । जाने कुरो सोचिएको थिइएन । सपनामै पनि कहिल्यै रारा आएन । त्यसैले शर्तलाई पछि हेरौंला भन्ने सोच्दै हाकिमका अगाडि ‘हस्’ भनियो ।

हाकिमको कार्यकक्षबाट बाहिरिँदा गोडा भुइँमा थिएनन् । गमगढीको काम सक्याउने भन्दा पनि रारा स्पर्श गर्ने मौका मिलेकोमा सिमलको कपासजस्तै उडिरहेको थिएँ । लाग्यो— चिठ्ठै परेको हो मेरो नाममा ।

त्यो शर्त मलाई यतिबेला सम्झना भइरहेछ । दिव्य १२ वर्षपछि त्यो शर्तले झक्झकाइरहेछ ।

एक युग केही लेखिएन । लेख्ने आँट पनि गरिएन । कारणः कविता, गीत, गजल, मुक्तकमा कलम चलाउने मानिस हैन म । यात्रा विवरण लेख्नतर्फ ध्यानै गएन । सम्झना वा स्मृति लेख्ने समय आइपुगेकै थिएन । त्यसैले, शर्त उतिबेलै मष्तिष्कबाट अलप भएको थियो । काव्यधारा ओकल्ने क्षमता नभएको मेरा लागि त्यो शर्त अलप हुनु अस्वाभाविक थिएन ।

\"\"हाकिमको सदर दस्तखत झरेको दुई–चार दिनमै मुगु र जुम्लाको आलेप टोली नेपालगन्ज ओर्लियो । मोहनहरि आचार्य र मेरो भागमा सुर्खेत पनि परेको थियो । सुर्खेत र मुगु दुबै ठाउँ धान्नुपर्ने भएकाले हाम्रो पहिलो यात्रा सुर्खेततिरको रह्यो ।

तर, पहिलो गाँसमै ढुंगा भनेझैं भयो । नेपालगन्ज र त्यस क्षेत्रमा भएको बन्दले हाम्रो यात्रा अड्कियो । जुम्लाको टिम उड्नलाई ‘बन्द’ बाधक बनेन । हामी बस चढेर सुर्खेत जानुपर्ने भएकाले अगाडि बढ्न सकेनौं । नेपालगन्जमै ब्रेक लाग्यो ।

त्यस दिनका लागि हाम्रा हिरो भए ‘लगे रहो मुन्ना भाइ’ । सञ्जय दत्त र विद्या बालनको अभिनयमा रमाउँदै बित्यो त्यो दिन । भोलिपल्ट रिक्सामै भए पनि कोहलपुर जाने निर्णय गरियो । अर्को दिन पनि गाडी ठप्प भएकाले रिक्सा चालकको चाकरीमा केही समय व्यतीत भयो । कुरो मिलेपछि दुई घण्टा लगाएर कोहलपुर पुगियो ।

कोहलपुर पनि बन्द थियो । त्यहाँबाट तत्कालै सुर्खेत उक्लिन सक्ने अवस्था देखिएन । त्यो पूरा दिन कोहलपुरको पट्यारलाग्दो भ्रमण गरेर बिताइए पनि साँझमा भेटिएको एउटा माइक्रो बसले सुर्खेत पुर्‍याउने भयो । पुर्‍याउने भयो मात्रै होइन, पुर्‍यायो नै ।

हामी तीन–चार दिन सुर्खेत बस्यौं । त्यहीँबाट गमगढी जाने व्यवस्था मिलाउनु थियो । हामी बसेको होटलका सञ्चालक सुनीलजी रमाइला र सहयोगी रहेछन् । उनैले ढुक्क हुन भन्दै हामीलाई गमगढीसम्म जाने व्यवस्था मिलाउन सहयोग गर्ने कुरा गरे ।

सुर्खेतमा पनि काम गर्नु थियो । मुगुमा पनि गर्नु थियो । त्यसैले टिकट नपाउन्जेल सुर्खेतको काम सक्याउँदै जाने निधो भयो । टिकट पाएपछि मात्रै मुगु उड्ने कुरो मिल्यो ।

एक साँझ सुनीलजी हाम्रो कोठामा आइपुगे । उनले भोलिपल्ट बिहानै १० बजे एयरपोर्ट जान भने । त्यो दिन कुनै हेलिकप्टर सामान लिएर गमगढी जाँदै रहेछ । त्यसैमा दुई–चार जना मानिस सामानमाथि बसेर जाने कुरोकानी मिलेको रहेछ ।

कात्तिक १५ गते १० बज्नुअघि नै मोहन दाइ र म हवाइ अड्डा पुग्यौं । हेलिकप्टरमा सामान लोड हुनासाथ उडिहाल्छ भनिएको थियो हामीलाई ।
एयरपोर्टमा हेलिकप्टरको टिकट हात पर्‍यो । मलाई त्यो टिकट जनकपुर जाने नाइट बसकोे जस्तै लाग्यो । हैट ! यस्तो पनि टिकट ? मन खिसिक्क भयो । खैर, टिकट जे–जस्तो भए पनि उड्नु त थियो नै ।

हामीले यताउता घुमेर हेर्‍यौं । हवाइ अड्डामा एउटै हेलिकप्टर देखिएन । नेपालगञ्जबाट आउने होला— हामीले त्यही सोच्यौं ।

पर्खिनुको विकल्प थिएन । पर्खिंदा पर्खिंदै धेरै समय बितेपछि हामीले आफूहरू ठगिएको अनुभूत गर्‍यौं । साँच्चै हो, तनावमै बित्यो दुई–तीन घण्टा ।

करिब १ बजेतिर एक व्यक्ति हामीलाई खोज्दै आइपुगे । तिनैले हेलिकप्टर नजाने, ट्रकमा जाने कुरा सुनाए । अर्थात् सामान स्काई ट्रक (आकाशमा उड्ने ट्रक)बाट गमगढी उतार्ने रहेछ ।

हरियो रंगको स्काई ट्रकभित्र छिर्दा क्विन्टलका क्विन्टल सामान भरिएको थियो । त्यो ट्रकमा कुल सात–आठ जना यात्रु थियौं । दुई जना पाइलट थिए । त्यसबाहेक न त सुन्दर–सुन्दर एयरहोस्टेस थिए न चकलेट थियो । न त कानमा कोच्ने कपास नै ।

बिनाचकलेट र कपास अनि बिनासिटबेल्ट त्यो यात्रा अविस्मरणीय रह्यो । त्यो दिन हवाई ट्रक चढ्दा सीधा सिटमा बसिएन । ३० वर्षअघि जनकपुर–जलेश्वर चल्ने थोत्रो बसको तेर्सो सिटमा यात्रा गरेको अनुभूति ३० वर्षपछि हवाइजहाजको यात्रामा लिँदै थिएँ म । लामो सिटमा सिटबेल्ट थियो कि थिएन, याद गरिएन । त्यो स्काई ट्रकमा खलासी पनि थिएनन् !

सुर्खेतबाट स्काई ट्रक उडेको करिब एक घण्टामा हामी मुगुको ताल्चा विमानस्थलमा ओर्लियौं । विमानस्थल कच्ची थियो । लमतन्न पारेर गिट्टीको ओच्छ्यान बनाएजस्तै । हेर्दा एयरपोर्टजस्तै नलाग्ने । अहिले त पिच भइसकेको छ ।

आकासे ट्रकमा लोड गरिएका सामानहरूको खातबाट हाम्रा सामान निकाल्यौं । ट्रकमा हामीसँगै यात्रा गर्दै थिए, मुगुलाई कर्मथलो बनाएर बसेका स्कुलका हेडमास्टर, जिल्ला कार्यालयका खरदार, अदालतका कर्मचारी अनि कुनै गैरसरकारी संस्थाका प्रतिनिधिहरू । हामी पनि तिनकै पछि लाग्यौं ।

हवाइ बिसौनीदेखि गमगढीसम्म ठाडो ओरालो रहेछ । कतै ढुंगे बाटो । कतै भिरालो । कति लाग्ला ? प्रश्न मनले मात्रै सोधेन, मुखैले सोध्यो ।

कसैले ‘करिब साढे एक घण्टा’ पैदल ओर्लनुपर्ने बताए । त्यो अप्ठ्यारो र ओरालो बाटोमा साढे एक घण्टा ? मन अमिलो भयो । पहिलो चरणमै खुट्टा थाक्यो । अब शरीर ओर्लन सक्छ कि सक्दैन ? प्रश्न आफैंलाई गरें । 
मोहनहरि दाइ बिहान–बिहान घण्टा–दुई घण्टा मर्निङ वाक गर्ने भएकाले उनलाई ओरालो झर्न गाह्रो भएन, शायद । अरू त त्यहीँ काम गर्ने कर्मचारी भए । मेरो भने सातो उड्यो । तराईको मानिस, उकालो ओरालो नगरेको । अत्यासले मन भरिएको थियो ।

ओरालो बाटो, कतै सजिलो, कतै एकदमै गाह्रो । आधाउधी बाटो छिचोल्दा नै घुँडाको जोर्नीले जवाफ दिइसकेको थियो । घुँडोको अँठ्याइले बेलाबेला भिरालो खेतमा गुल्टिन्छु कि भन्ने पनि नभएको होइन ।

अरूको हिँडाइ देखेर लोभ र ईष्र्या दुबै लाग्यो । तर, ईश्र्या गरेरै केही हुनेवाला थिएन । बिस्तारै भए पनि हिँड्नै थियो ।

“ए ! तपाईं त हिँड्न सक्नुहुन्न रहेछ !” कोही भन्दै थिए । मलाई भने यति सुन्दै हिँड्नु थियो ।

सम्झिएँ, जनकपुरतिर बस्दा कोशौं कोश पैदलै हिँड्दा पनि ज्यानले कहिल्यै दुःख दिएन । घुँडो कहिल्यै अरठ्ठिएन् । पैताला कहिल्यै पोलेन । यहाँ त घुँडाले नै ‘तिमीहरू जाऊ, म यहीँ बस्छु’ भन्ने अवस्था पैदा गरिदिएको थियो ।

घरहरू नजिक–नजिक हुँदै गए । त्यहाँका घर देखेर अचम्म लाग्यो । घर पनि टाउकै नभएका जस्ता । खेतहरू बाँझै थिए । कतै केही रोपिएको देखिएन । त्यो मौसममा पनि केही न केही त उत्पादन हुन्थ्यो होला । खेतमा अलिकति पनि हरियाली थिएन ।

त्यत्तिकैमा नमीठो हरक फैलियो, वातावरणमा । त्यहाँ रहेका पाका मानिस थिए, स्कुलका हेडमास्टर । उनैले हाँस्दै भने, “गु गनायो । लौ गाउँ आयो । हाम्रा अग्रजले त्यसै बनाएका हैनन् यो आहान् ।”

सबै एकसाथ गललल हाँसे । त्यो हाँसो ठाउँमा सकुशल पुगियो भन्ने खुशीको पनि थियो, शायद ।

गमगढी बजारको मुखैमा पुगेपछि सबै तितरबितर भए ।

० ० ०

महँगो गमगढीमा केही दिन बसियो । एक किलो सामान सुर्खेत वा नेपालगन्जबाट गमगढी पुर्‍याउँदा सय रुपैयाँ हवाइजहाजको भाडा पर्ने रहेछ । अर्थात्, एक किलो चिनी गमगढी पुग्दा १७० रुपैयाँ हुने रहेछ । त्यसैले कालो चिया पिउँदा पनि १५ रुपैयाँ कप तिर्नुपर्ने हुन्थ्यो । दूधको चिया एक त पाइँदै नपाइने, पाए पनि गोजीले धान्नै कठिन हुने ।

त्यहाँका स्थानीय कसरी बस्दा हुन् ? कसरी जीवन निर्वाह गर्दा हुन् ? यो सवाल उठ्यो मनमा । तर, यता घोत्लिएर मथिंगल रन्काउन मन लागेन ।

दिन चौथो हो वा पाँचौं, गमगढीबाट एकाबिहानै राराका लागि म र मोहन दाइ एक जना फुच्चे भाइको साथ लागेर हिँड्यौं । मुगु टेकिसकेपछि विश्वप्रसिद्ध रारा ताल नजाने कुरै हुन्थेन । कामको चटारोकै बीचमा पनि केही समय निकालेर रारा पुग्नै थियो ।

हामी त्यही दिन सुर्खेत पनि पुग्नु थियो । त्यसैले रारामा धेरै लामो समय नबिताउने निश्चय गरिसकेका थियौैं । गमगढीबाट हवाइ अड्डासम्म बनाइँदै गरेको सडक हुँदै रारातिर लम्कियौं ।

रारा जान अर्को बाटो समाउनु पर्ने थियो, कुराको सुरमा हामी तल्लो बाटो हिँडेछौं । निकै पर पुगेपछि मात्रै थाहा भयो, रारा जाने बाटो अर्कै रहेछ ।

हामीले पुरानो बाटो अगाडि नै छोडेका रहेछौं । पुरानो बाटो समाउनै पनि अलि माथि उक्लिनु पर्ने भयो । एक व्यक्तिको सल्लाहमा हामी बीचबाटै उक्लियौं । १५–२० फिट माथि उक्लिनु थियो । पहिले मोहन दाइ उक्लिए । म पनि ढुंगोमा पाइला टेक्दै, बुट्यान समाउँदै माथि उक्लिन थालें । त्यसैबेला एउटा झार च्याप्प के समाएको थिएँ, मेरो हातमा सैयौं भोल्टको करेन्ट लाग्यो । झार छोडें । औंलाहरू पोल्न थाले । रातै भयो । भरिया भाइले भने, “सरले सिस्नु समाउनुभएछ ।”

सिस्नो नचिनेको होइन तर सिस्नोले मलाई चिनेन । त्यसैले ‘लौ जीवनभरि याद गर रारालाई’ भन्दै चिनो उपहार दियो भन्ने लाग्यो ।

कसैगरी मूलबाटो समाइयो । हात पोल्दै थियो । तुमा गाउँ शुरु भइसकेको थियो । त्यतै रहेको एउटा सानो पसलमा पानी मागेर हात पखालें । पानी पिएँ । त्यसपछि हात पोल्न केही हल्का भयो ।

यात्रा अगाडि बढिरह्यो— तुमा, बजेडीलगायत गाउँ हुँदै । बीचबीचमा खच्चडहरूको लर्को भेटिन्थ्यो । सामानको बोझ बोकेका खच्चड घण्ट बजाउँदै दगुर्दै हुन्थे । गोठालाहरू खच्चडलाई हुट्हुट्याउँदै हुन्थे ।

खच्चडसँगै गोठालाहरू केही बेरमै आँखाबाट ओझेल भए । मलाई भने पाइला सार्नै धौ–धौ थियो । यो पाराले कहिले पुग्नु रारा ? तर, पुग्नु त थियो नै राराको आँगनमा ।

तुमा सकियो । केही बेरपछि बजेडी आयो । बजेडीको एउटा चिया पसलमा स्थानीयहरूको जमघट थियो । चिसो मौसम भएकाले प्रायःका हातमा कालो चिया राखिएको स्टिलको ग्लास थियो ।

हामीले पनि चिया पिउने मन बनायौं । आराम गर्नै पनि चिया पिउने मेसो मिलाउनु थियो । त्यसैले कालो चियाको अर्डर गरेर एउटा बेन्चमा यसो ज्यान अडेस लगाइयो । 

शुरुमै बाटो भुलेकाले बाटो सोध्दै हिँडिरहेका थियौं हामी । भरिया भाइ स्थानीय भए पनि उनी आफैं अलमलिएका थिए । उनीभन्दा जानकार हामीले आफैंलाई ठान्यौं । त्यस वरपरका गाउँका विषयमा जानकारी नभएकै कारण भरिया भाइ अलमलिएको हामीलाई लागिसकेको थियो ।

कालो चिया पिउने निहुँमा आराम गरेर हामी फेरि रारातिर लम्कियौं । बजेडीमा पाउडरको दूधको चिया पाइन्थ्यो कि ? आश गरेको थिएँ तर समय खेर गयो ।

बजेडीमा कालो चिया पिएर हिँडेका हामी केही समयपछि लामाचौर पुग्यौं । र, यहीँबाट जंगल शुरु भयो ।

गमगढी छोडेको करिब साढे चार घण्टापछि मात्रै हामीले रारा चिहायौं । रारा तालको इशान कोणबाट हामी रारा क्षेत्रमा भित्रिएका थियौं । मोहन दाइ दंग थिए । तर, म दंग हुन सकिरहेको थिइनँ । राराको कञ्चन पानीमा रमाउन सकिरहेको थिइनँ । रारा वरपरका पर्वत चुलीहरूमा चम्किएको हिउँको चिसोले मलाई सुख दिइरहेको थिएन । म खोजिरहेको थिएँ दूध हालेको चियामा थकाइ मेट्नुको सुख ! चिया आधा कपमात्रै भए पनि हुन्थ्यो ।

हो, खोजी केवल आधा कप चियाको थियो ।

राराको नीलो पानी भेटिएपछि चिसो पानीमा सिस्नोले पोलेको हात पसाएँ । चिसो स्पर्शले ठूलो राहत मिल्यो । झनै दूध भएको चियाले कति राहत दिन्थ्यो होला ! सोचाइ उतातिरै फर्कियो ।

राराको पानीलाई देब्रे पार्दै हामी अगाडि बढ्दै गयौं । करिब आधा घण्टापछि हामी आर्मी क्याम्पको अगाडि पुग्यौं । मानिसहरूको भीड बढ्दै थियो । रारा महोत्सव हुँदै थियो त्यो बेला । त्यसैले मेलाको मेलोमेसोमा मानिस व्यस्त थिए ।

रारा महोत्सव भएकोले पनि होला, पाउडर दूधको चिया फेला पर्‍यो । मौका जुरेकै रहेछ । दूध हालेको चियाको चुस्कीसँगै थकान मेट्न थालें । अनुहार अलि उज्यालो भएको हो कि ? आफ्नै अनुहारको भाव परिवर्तन भइरहेको महसुस हुँदै थियो । राराको विशाल सौन्दर्य बोकेको नीलो ऐनामा मैले मेरो अनुहार हेर्ने आँट भने गर्न सकिनँ ।

रारा महोत्सवमा मेला भर्न स्थानीय जुट्दै थिए । कोही टेन्ट गाड्दै थिए । कोही आ–आफ्नै तरिकाबाट बन्द–व्यापारका लागि ठाउँ ओगट्दै थिए ।

एक घण्टा यताउता घुमेपछि एउटा छाप्रोमा मोटो चामलको भात, स्थानीय कालो सिमीको दाल र धनियाको चटनीले भोक मेटायौं । यसरी करिब दुई घण्टाको समय बित्यो रारा वरपर । 

० ० ०

दुई घण्टापछि भरिया भाइलाई साथ लिएर हामी ताल्चा विमानस्थलतिर लम्कियौं । उत्तरपूर्वी कुनाबाट रारा प्रवेश गरेका हामी दक्षिणपूर्वी कुनाबाट बाहिरिँदै रारालाई पछाडि पार्‍यौं ।

उता बाटोमा महोत्सवमा भाग लिन जानेहरूको ठूलो जमात रारातिर उक्लिरहेको थियो । एक ठाउँमा हामी ओर्लिंदै गरेको देखेर एक अपरिचितले सोधे पनि, “रारा महोत्सवमा नबसेको ?” हाम्रो आफ्नै बाध्यता थियो । ‘बसेनौं’ भन्दै हिँडिरह्यौं ।

निकैबेर पैदल हिँडिरह्यौं । पैदल हिँड्दाहिँड्दै हामीले कुन बेला बाटो भुल्यौं, थाहै भएन । जब जंगलको बीचमा पुग्यौं र कोही देखेनौं, त्यसपछि हामीलाई मूलबाटो अन्तै छोडेको महसुस भयो ।

के गर्ने ? प्रश्नमा अलमलियौं । स्थानीय भरिया भाइ पनि अलमलमा परे । उनलाई अप्ठ्यारो लाग्यो शायद । तर, उनी आफैं अनभिज्ञ थिए ।

नजिकै एउटा ढुंगे खहरे तल झरेको थियो । खहरेमा पानी थिएन । हामीले त्यही खहरे बाटो भएर तल झर्ने सोच बनायौं । केही नभए गमगढी त खहरेको बाटो भएरै पनि पुगिएला भन्ने लाग्यो । अनि ढुंगाको बाटो लड्दैपड्दै तल झर्न थाल्यौं ।

अचानक सडक देखियो । सडककै आडमा रहेको घरको बारीमा एउटी महिला गोडमेल गर्दै थिइन् । हामीले तिनैलाई एयरपोर्ट जाने बाटो सोध्यौं ।

उनले हातले संकेत गर्दै सडकैसडक दक्षिणतर्फ अगाडि बढ्न भनिन् । उनले करिब एक घण्टामा एयरपोर्ट पुग्न सकिने संकेत गरिन् । सोचें— यो उनीहरूको हिँडाइमा होला । हाम्रो हिँडाइमा त बढी नै समय लेला !

तर, सवा घण्टामा हामी गिट्टी ओच्छ्याइएको ताल्चा विमानस्थलमा थियौं । रारा महोत्सवको समय भएकाले हवाइजहाज आउने सम्भावना थियो । नभए त्यो रात ताल्चामै बिताउनु पर्ने हुन्थ्यो । जसो पर्ला त्यसै टर्ला भन्ने सोच्दै ताल्चामा गिट्टी खेल्न थालियो ।

केही समयपछि नै आकाशमा नेपाल एयरलाइन्सको जहाज देखियो । मोहनहरि दाइले के सोचे, म भन्न सक्दिनँ । म भने नेपालगन्ज एयरपोर्टबाहिरको चिया पसल सम्झन थालें ।

यो यात्राभरि नै धु्रव सरको शर्त सम्झना भएन । हुने कुरा पनि थिएन । ध्रुव सरले ठट्टैठट्टामा मेरा अगाडि शर्त तेस्र्याएका थिए । मैले पनि ठट्टै सम्झिएर बिर्सिदिएँ ।

शायद, यतिबेला पूरा गर्दै छु त्यो ठट्टामै राखिएको शर्त !
 

प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६  ०७:१४
प्रतिक्रिया दिनुहोस्