
काठमाडौं । करिब २७ वर्ष अगाडि टेलीचलचित्र ‘उजेली’ नेपाल टेलिभिजनबाट प्रशारण भयो । बाल विवाहको विषयलाई उठान गरिएको टेलिचलचित्र ‘उजेली’ले तत्कालीन समयमा हुने गरेको बाल विवाहलाई स्थानीय परिवेशमै खिचेर देखायो । १४ वर्ष नपुग्दै छोरीको विवाह गर्नुपर्छ भन्ने समाजको धारणा रहेका बेला उक्त टेलीचलचित्रको निर्माण तथा प्रशारण गरिएको थियो ।
बाल्यकालमै गरिने विवाहसँगै हुने श्रम शोषण, बाल मनोविज्ञानमा पर्ने प्रभाव तथा त्यसले व्यक्तिको वृत्ति विकास र शिक्षा, स्वास्थ्यमा पार्ने प्रभावलाई ‘उजेली’मा देखाइएको छ ।
२७ वर्ष अगाडि ‘उजेली’मा बाल विवाह गरेकी उजेली अर्थात् वृन्दा अधिकारी अहिले नर्स भइसकिन् । देशविदेश घुमिन् । रियल लाइफमा विवाह गरिन् । कतार पुगिन् । बच्चा जन्मियो । अहिले उनी नेपाल फर्किएकी छन् । उतिबेला कतिपयले थाहा नपाएको र नहेरेको ‘उजेली’ अहिले लोकप्रिय भइरहेको छ । युट्युब तथा सामाजिक सञ्जालमा उजेली जताततै देखिन्छ । यसकी मुख्य पात्र निकै धेरै खोजिएकी छिन् ।
रसुवामा छायांकन गरिएको ‘उजेली’मा अभिनय गर्दा उनी जम्मा ८ वर्षकी थिइन् । “म त्यो बेला जम्मा ८ वर्षकी थिएँ । जे गर भन्थे, त्यही गर्थेँ,” वृन्दाले अर्थात् उजेलीले सम्झिइन्, “त्यो बेला पनि सबैले राम्रो भन्नुहुन्थ्यो । तर अहिले जस्तो धेरैले हेर्न भने पाउनु भएको थिएन । त्यो बेला अहिलेको जस्तो, फेसबुक, युट्युब थिएन ।”
निर्देशक, लेखक तथा कलाकार मोहन निरौला तत्कालीन समयमा चेतनाको अभाव र समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेको हुनाले ‘उजेली’ राम्रो टेलिचलचित्र भएको बताउँछन् । “त्यो समय समाज निकै पछि परेको थियो । समाज रुपान्तरणका लागि चेतना फैलाउनु पर्ने थियो । तर त्यसका लागि माध्यम निकै कम थिए । समाजमा जे भइरहेको छ, त्यसलाई हुबहु स्क्रिनमा लिएर जब ‘उजेली’ आयो, त्यो निकै धेरै मन पराइयो,” निरौलाले बाह्रखरीसँग भने, “अहिलेको जस्तो त्यो बेला सयौंको संख्यामा भारतीय टेलिभिजन च्यानल थिएनन् । त्यसैले उजेली त्यो बेला पनि निकै धेरै लोकप्रिय थियो । बाल विवाह गर्न हुँदैन भन्ने सन्देश मजाले प्रवाह गर्न सकेको टेलिचलचित्र हो यो ।”
समाजमा जे थियो त्यसलाई जस्ताको तस्तै खिचिएका कारण त्यतिबला पनि ‘उजेली’ रुचाइएको उनी बताउँछन् । पछिल्लो पुस्ताले टेलिभिजनबाट प्रशारण हुँदाको समय यसको चर्चा र प्रभाव थाहा नपाएकाले अहिले आएर बल्ल यसको महत्व र लोकप्रिय भए जस्तो लागेको हुनसक्ने निरौलाको भनाइ छ ।
‘उजेली’लाई दर्शकले करिब तीन दशकपछि पुनः सम्झिनुको कारण ‘रियालिस्ट मेकिङ’ भएको चलचित्र निर्देशक तथा लेखक विनोद पौडेल बताउँछन् । बनिबनाउ काल्पनिक टेलिचलचित्र तथा चलचित्र आइरहेका बेला मौलिक शैलीको ‘उजेली’ लाई दर्शकले मन पराएको उनी बताउँछन् ।
“उजेलीमा बनिबनाउ केही छैन । समाज जस्तो छ र जे छ र हुन्छ त्यसलाई जस्ताको तस्तै पर्दामा उतारिएको छ,” ओस्कार कलेजका प्रिन्सिपलसमेत रहेका पौडेल भन्छन्, “अहिले उजेली हिट हुनु भनेको दर्शकले बनिबनाउ काल्पनिकभन्दा रियल कुरा मन पराउँछन् भन्ने कुराको उदाहरण पनि हो । समाजको आफ्नोपन झल्किने सामग्री बनायो भने एक न एक दिन त्यसको सही मूल्यांकन हुन्छ भन्ने कुराको उदाहरण पनि हो यो ।”
‘उजेली’मा उजेली अथवा मुख्य पात्रको भूमिकामा वृन्दा अधिकारी छिन् भने उनको श्रीमान् (बाहुन)को भूमिकामा शशी शेखर लम्साल रहेका छन् । स्क्रिनप्ले र संवाद दीपेन्द्र गौचन र कुवेर गर्तौलाको छ भने कथा तथा निर्देशन दीपेन्द्र गौचनको छ ।
नेपालमा टेलिभिजन स्थापना भएको एक दशक पनि नभएको उक्त समयमा टेलिभिजन राख्ने नेपालीको संख्या पनि निकै न्यून थियो भने टेलिभिजन सेट पनि निकै महँगो थियो । विद्युत् अभावका कारण सहरबाहिर ग्रामीण इलाकामा टेलिभिजन सेट रोखेर हेर्ने नागरिकको संख्या निकै कम थियो । ‘उजेली’ ‘देवी’भन्दा पनि अगाडि प्रशारण भएको थियो ।