काठमाडौं । नेपाली चलचित्रले आधा शताब्दी लामो इतिहास बोके पनि प्रयोगका हिसाबले खासै अगाडि बढ्न सकेको छैन । छिमेकीले स्थापित गरिदिएको मानकमै रुमल्लिरहेको छ नेपाली चलचित्र उद्योग ।
नयाँ प्रविधि आयो त्यसको प्रयोग हुन थाल्यो । सेलुलाइडबाट डिजिटल प्रविधिमा चलचित्र बन्न थाले । हाइभिजन हल थिए, अहिले ती विस्थापित अथवा रुपान्तरण हुँदै मल्टिप्लेक्स हल बन्न थाले । तर ५० वर्षमा चलचित्रमा देखिएको यो रुपान्तरण पर्याप्त भने होइन ।
पछिल्ला केही वर्ष यता वार्षिक सयवटा चलचित्र प्रदर्शनमा आउँदा पनि पुरानै ढर्राबाट चलचित्र माथि उठ्न सकेको छैन । विषयवस्तु अधिकांश लभ स्टोरी छ । कथा भन्न मुख्य चरित्रका रुपमा नायक नै खडा गरिन्छ । अथवा नायकप्रधान चलचित्र नै बनिरहेका छन् ।
पुराना निर्देशक, सञ्चारकर्मी तथा गीतकार यादव खरेल चलचित्र निर्माणको सुरुको दशकमा नै नायिकाले नै कथा बोक्ने केही चलचित्र निर्माण भए पनि त्यसले उल्लेख्य रुपमा निरन्तरता पाउन नसकेको बताउँछन् ।
“माइतीघर, आमालगायतका चलचित्र त्यो बेला बनेका थिए । त्यो समय नेपालमा भर्खर चलचित्र बन्न थालेको समय थियो,” खरेल बाह्रखरीसँग भन्छन्, “चलचित्र निर्माणको क्रम र संख्या बढ्दै जाँदा पक्कै पनि फिमेल प्रोटागोनिष्ट भएका चलचित्रको संख्या निकै कम छ ।”
महिला चरित्रकै काँधमा कथावस्तु सुम्पिएको चलचित्र ‘कुमारी’ हो । यादव खरेल तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा काम गर्दा उक्त चलचित्र निर्माणको तयारी भएर पछि निर्माण गरिएको बताउँछन् । “महिलालाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्र कुमारी हो । म शाही नेपाल चलचित्र संस्थानमा अध्यक्ष हुँदा मैले नै कुमारीको कथा फाइनल गरेको हुँ, पछि म कारणबस छोडेर निष्किएँ तर त्यही कथामा चलचित्र बन्यो,” खरेल भन्छन्, “कुमारी प्रथाको विषयलाई कुमारीले उठान गरेको थियो । त्यसमा नेपालको संस्कृति र परम्परालाई उठाएको छ ।”
चलचित्र निर्माणको क्रम बाक्लिए पनि नायकप्रधान चलचित्र मात्रै बनिरहे । यद्यपी अपवादका रुपमा केही चलचित्र भने बने । तर नायिकाप्रधान चलचित्रले अपवादमा बाहेक बक्सअफिसमा राम्रो उपस्थिती देखाउन सकेका छैनन् ।
नवीन सुब्बाको चलचित्र ‘नुमाफुङ्’ पनि फिमेल प्रोटागोनिष्ट भएको चलचित्र हो । नेपाली चलचित्रको इतिहासमा ‘नुमाफुङ्’ फरक धारको मौलिक चलचित्रको सुरुआत गर्ने चलचित्र पनि हो । फरक धारको पहिलो चलचित्र कुन भन्ने सन्दर्भमा नीर शाह ‘बासुदेव’ भएको दाबी गर्छन् । ‘नुमाफुङ्’ ले महिला पात्रले पूरै चलचित्रको कथा भन्ने चलचित्र थियो ।
चलचित्र ‘बसन्ती’ पनि महिला चरित्रप्रधान चलचित्र हो । नीर शाहले निर्देशन गरेको चलचित्रलाई डायमण्ड शमशेरको उपन्यासमा आधारित चलचित्र हो । छिरिङ रितार शेर्पाले निर्देशन गरेको चलचित्र ‘मुकुण्डो’ पनि महिलालाई मुख्य चरित्र बनाएर निर्माण गरिएको चलचित्र थियो । गौरी प्रधान र मिथिला शर्मा यो चलचित्रका मुख्य पात्र थिए ।
यादव कुमार भट्टराईले निर्देशन गरको चलचित्र ‘झोला’ मा पनि महिला चरित्र मुख्य छ । कृष्ण धाराबासीको उपन्यास झोलाबाट नै यो चलचित्र बनाइएको थियो । फरक खालको स्थानीय कथालाई चलचित्रमा उठान गर्न रुचाउने निर्देशक घनश्याम लामिछानेको निर्देशन ‘धौली’ पनि मुख्य चरित्र महिलालाई बनाएको चलचित्र हो ।
दिदीभाइको मायालाई केन्द्रीय कथा बनाएर निर्माण गरिएको ‘डाइङ क्यान्डल’ स्ट्रङ फिमेल प्रोटागोनिष्ट भएको चलचित्र हो । यो चलचित्रमा देखिने पुरुष पात्र चलचित्रको कथालाई अगाडि उठाउन आएका सहायक चरित्र मात्रै हुन् । “चलिरहेकाभन्दा केही फरक कथामा काम गरौं भन्ने सोचले काम गर्दा यो चलचित्र बनेको हो,” ‘डाइङ क्यान्डल’ निर्देशक तथा लेखक नरेशकुमार केसी भन्छन्, “ठ्याक्कै यही कारण भन्ने त छैन तर महिलाका कथा पनि उत्तिकै सशक्त छन् र ती चलचित्रमाफर्त भनिनुपर्छ भन्ने मलाई लाग्छ । सायद मैले बनाएँ भने मैले अहिले सोचिरहेको चलचित्रको कथा पनि महिलाप्रधान नै छ ।”
सबैभन्दा पछिल्लो समय रिलिज भएको महिला मुख्य भूमिकामा रहेको चलचित्र हो, ‘बुलबुल’ । ‘बुलबुल’को मुख्य चरित्र स्वस्तिमा खड्काले निभाएकी छन् । कथा विनोद पौडेलले लेखेका छन् भने निर्देशक पनि पौडेल स्वयम् नै हुन् ।
“महिलाप्रधान चलचित्र बनाउनैपर्छ भन्ने छैन । तर एउटा कलाकारको आँखाले हेर्दा समाजमा जे छ र देखिन्छ त्यो चलचित्रको माध्यमबाट भन्नुपर्छ भन्ने हो,” बुलबुल निर्देशक पौडेल भन्छन्, “महिलालाई अझै पनि वस्तुका नजरले हेर्ने पुरुषवादी आँखा नै मुख्य समस्या हो । जरामै रहेको यो सममस्या जबसम्म रहिरहन्छ, त्यो समयसम्म सो पिसकै रुपमा नायिकालाई चलचित्रमा देखिन्छ ।”
महिलालाई चलचित्रमा मुख्य चरित्रमा उभ्याउँदा उनीहरुले पनि पुरषसरह काम गर्छन् भन्ने प्रमाणित भइसकेको तर पनि समाजकै कारण त्यसको संख्या न्यून रहेको उनको भनाइ छ ।