साहित्य

- नवीन शर्मा
धेरै वर्ष भयो
मेरै घरको बाटो भएर खसिरहन्छ- भीर
आफू मात्रै खस्दैन
खसालिरहन्छ-
बृहस्पति डर बाको आँखामा
झरीजस्ता पीडा आमाका परेलामा ।
अझै खसाल्छ
बाको काँधमा अड्किएको माटोको रंग
खसालिदिन्छ- काँधबाट कमिजको एक टुक्रा
घुँडाहरु खसाल्छ- जिम्मेवारीका ।
विवश बनाउँछ आमाको चोलोबाट अस्मिता खस्न
मेरो शीरमाथि शीत खसाल्छ
बहिनीको शरीरबाट लाज खसाल्छ ।
खसालिरहन्छ- दु:खका यस्तै-यस्तै असिनाहरू
पीडाको गिलो माटो खसाल्छ र सुख्खा बनाउँछ- पेट ।
त्यो भीर धेरै यामहरुदेखि
खसाल्न पोख्त छ- दिवंगत सम्झनाहरू
र घाइते बनाउँछ जहिल्यै ।
तर आखिर
किन होला पल्लो डाँडाबाट
सधैं देशले हेरिरहन्छ टुलुटुलु ?
(दाङ)
प्रकाशित मिति: शनिबार, चैत २३, २०७५ १३:१४
प्रतिक्रिया दिनुहोस्