2019-04-06.jpeg)
– ईश्वर काफ्ले
मान्छे के कुराले खुशी हुन्छ ?
कोही गीत सुनेर खुशी हुन्छन्, कोही एकान्तमा किताब पढेर । कसैलाई चित्र कोर्दै बस्न मजा लाग्छ, कसैलाई फिल्म हेर्न ।
म भने शहरबाट टाढा कतै एकल पदयात्रामा जान पाउँदा रमाउँछु । एक्लै डुलेर प्रकृतिको सौन्दर्यसँग नजिक हुने मेरो पुरानो बानी हो । एक–दुई दिन छुट्टी भयो कि म झोला बोकेर एक्लै यात्रामा निस्किहाल्छु । यात्रामा कहिले हिँड्दाहिँड्दै बाटो भुलेको छु, कहिले आफैंलाई ।
अफिसको एकोहोरो कामले गर्दा म दिक्क भइसकेको थिएँ । कतै यात्रामा ननिस्किएको पनि लगभग एक वर्ष भइसकेको थियो । हप्तादिन जतिको ट्रेकिङ जाने सुर कसेको दुई महिनापछि बल्ल साइत जुर्यो । तिलिचो सन् २०१५ मा गइसकेको भए पनि यसपालि फेरि तिलिचो नै जाने योजना बनाएँ । शुक्रबारको दिन अफिसमा काम सकेर घर आएँ । तयारी गरें । ममीले पकाएको खाना खाएर ब्याकप्याक बोकी एउटा हातमा लौरी लिएर म नयाँ बसपार्कतिर हानिएँ ।
मान्छेका आ–आफ्ना तरिका हुन्छन् यात्रा गर्ने । म सकेसम्म छोटो समयमा यात्रा तय गर्छु र बसको यात्रा प्रायःजसो रातिकै गर्छु ।
काठमान्डूबाट लमजुङ बेंसीशहरसम्म जाने नाइटबस पाइँदैन रहेछ । पोखरा जाने नाइटबस चढें । “भाइलाई म डुम्रेमा झार्दिन्चु, ४ बजे वीरगन्जबाट बेंसीशहरको लागि छुटेको एउटा नाइटबस आँउच, त्यस्मै जानू,” बसका ड्राइभर दाइले चियाको चुस्कीसँगै पोखरेली लबजमा भनेका थिए केहीछिन अघि ।
गाडी गुड्न नपाउँदै कन्डक्टर भाइले नामै नसुनेको साउथ इन्डियन फिल्म शुरु गरिहाले । विडम्बना ! बिग्रेको स्पिकर मेरै सिटमाथि परेछ । पर्याप्त योजनाबिनाको यात्रा आफूले सोचेजस्तो हुन्न । आरामदायी हुन्न । मलाई यही कुरा मन पर्छ । र, मेरा धेरैजसो यात्रा यस्तै हुने गर्छन्— अकस्मात् योजना बनाउने, झोला बोक्ने, हिँडिहाल्ने ।
त्यो बिग्रेको स्पिकरबाट निस्केको कर्कश आवाजले मलाई रातभर सुत्न दिएन । त्यसका बाबजुद निदाउने प्रयास गरिरहें । कतिबेला आँखा लागेछन्, पत्तो पाइनँ । कन्डक्टर भाइले ‘ए दाइ, ए दाइ ! डुम्रे आयो डुम्रे, झर्नुस्’ भनेपछि झल्यास्स ब्युँझिएँ । कन्डक्टर भाइलाई बस चढ्ने बेलामै भनेको थिएँ, “भाइ, म निदाइहालें भने पनि मलाई डुम्रेमा झार्न नबिर्सनू !” एकपटक मर्दी जाँदा काँडे झर्नुपर्ने मान्छे नयाँपुल पुगेको छु ।
‘ल है भाइ, राम्रोसँ जानुस्’ भनेर गाडी पोखरातिर बत्तियो ।
बेंसीशहरतिर जाने बाटोतिरको एउटा सिँढीमा टुसुक्क बसें । घडी हेरें— २ बजेको रहेछ । बिहानीपखको बतास चल्ने बेला अझै भएको थिएन । तर, रात चिसै थियो । झोलाबाट ज्याकेट र एउटा कोपीको क्यान्डी झिकें ।
सडकका पहेंला बत्तीमुनि बसेर कुकुर भुकिरहेका थिए । छिन–छिनमा राजमार्ग हुँदै हुइँकिएका गाडीले एकान्त चिरिरहेका थिए । सिँढीमा बसेर रित्तो डुम्रेलाई नियाल्दा–नियाल्दै घडीले ४ बजायो । खै त, वीरगन्जको गाडी भने आएन ! गाडी नआए पनि घडी चल्न त छोड्दैन । आधा घण्टापछि सानोतिनो रेलजत्रै ट्रक आयो । हात दिएँ । रोक्यो ।
“दाइ, म बेंसीशहर जानुपर्ने, हजुर कतासम्म होला ? मिल्छ भने मलाई पनि लगिदिनू न !” मीठो स्वोरमा भनें । चढ्न पनि भ¥याङ चाहिएला जस्तो अग्लो ट्रक । कति माथि हो ढोका ! सकी–नसकी चढें । ट्रक बेंसीशहर खाद्यान्न पु¥याउन हिँडेको रहेछ । ड्राइभर दाइ हुन् कि भाइ हुन्— सलमान खानका ठूला फ्यानजस्तो लाग्यो । ट्रकको भित्र सलमान खानका प्रशस्त फोटा थिए । साँघुरो बाटोमा ट्रक बिस्तारै–बिस्तारै कुदिरहेको थियो, भित्र हाम्रो फिल्म संगीत जीवनबारे भलाकुसारी चलिरहेको थियो । ड्राइभर दाइको एउटामात्र गुनासो थियो, “एक्लै हिँड्दा नि रमाइलो हुन्छ र ? टक्क साथीहरूसँग पो घुम्न निस्कनु पर्छ त !”
“ल दाइ, हामी यहीँसम्म हो, मनाङको जिप पाउने ठाउँ अलि माथि पर्छ, राम्रोसँग जानुस्,” ड्राइभर दाइले यति भनेपछि म ओर्लिएँ अनि आफ्नो बाटो लागें— जिप स्ट्यान्डतिर । अलिकति मात्र अगाडि पुगेको थिएँ, ‘हेल्लो हेल्लो ! वान्ट टु गो मनाङ ?’ भन्दै जिपको झ्यालबाट कसैले बोलायो ।
“हो दाइ, जाने हो नि !”
“ए, दाइ नेपाली पो ?” ड्राइभर फिस्स हाँसे ।
त्यो जिप स्ट्यान्डमा गएर रोकियो । ‘अब चार जना प्यासेन्जर आएसि जाने हो’ भन्दै थिए ड्राइभर दाइ । मैले त्यो समयमा एउटा ट्वाइलेट पेपर रोल, चार ओटा बेट्री र एक पोका दालमोठ किनें । अनि सँगैको होटलमा चिया र डुनोट खाएँ ।
एक जना पुरुष र तीन जना अति सुन्दर महिला पर्यटक चढेपछि जिप भरियो अनि हिँड्यो ८ बजे ।
अलि अगाडि नपुग्दै ड्राइभर दाइलाई मनाङका डीएसपी सा’पको फोन आयो, माछा ल्याउनू भनेर । गति लिसकेको हाम्रो जिप फर्कियो माछा किन्न । माछा किनेर ड्राइभर दाइले एक खिल्ली चुरोट खाएसँगै जिप कुद्यो ‘सालको पात टपरी, हुने नहुने सल्लैको’ भाकामा ।
भुलभुलेको खुदीमा निर्माण भएको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको सुरुङमार्ग पार गरेपछि कच्ची बाटो शुरु भयो । “सात जनालाई खाना बनाइराख्नू है,” गाडी मस्र्याङ्दीमाथिको भीरमा गुडिरहँदा ड्राइभर दाइले एउटा हातले स्टेयरिङ र अर्को हातले फोनमा कुरा गरेको देख्दा मनमा डर पस्यो ।
साढे दुई घण्टामा च्याम्चे पुगियो । आँखैअगाडि बडेमानको झरना हेर्दै थकाली खाना खाइयो । पर्यटकहरू भने फोटो खिच्नमै व्यस्त देखिन्थे ।
लमजुङ र मनाङ छुट्याउने म्यार्दी खोलामा पक्की पुल बनिसकेको रहेछ । बुटवल पावर कम्पनीसँग मिलेर चिनियाँ कम्पनीले मर्मत गरिरहेकाले बेंसीशहर–मनाङ बाटो धेरै सुधारिएको छ भन्दै थिए ड्राइभर दाइ । म्यार्दी भीरको घुम्ती सकिनेबित्तिकै मस्र्याङ्दीको बगरमा अवस्थित सुन्दर मनाङको गाउँ ताल देखियो । ठाकुरप्रसाद कोइरालाको ‘मनाङः एक परिचय’ भन्ने पुस्तकका अनुसार यो ताल भनिने ठाउँमा प्राचीन समयमा माथि पहाडबाट ठूलो पहिरो आई मस्र्याङ्दी नदीलाई नै पूरा बन्द गरी ठूलो तालजस्तो बनेछ । पछि गएर एक ठाउँबाट क्रमैसँग पानी खोलिए पनि त्यहाँ जम्मा भएको माटोले बनेको मैदानी भागमात्र रहन गएकोले यो ठाउँलाई ताल भन्ने गरिएको रहेछ । तालको फोटो खिचेर यात्रा अगाडि बढ्यो । जिपमा लोकगीत सकिएर हिन्दी गीत शुरु भइसकेका थिए । धारापानी पुगेपछि हल्का चिसो महसुस भयो । धारापानी लार्के भञ्ज्याङको मुख्य प्रस्थानबिन्दु हो । पोहोर दशैंमा लार्के पास गरेर धारापानी निस्केको याद ताजै थियो । धारापानीबाट अलि माथि लागेपछि बाटोको छेउछेउमा हिउँ देखिन शुरु भयो । यसपालि मनाङमा २५ वर्षपछि धेरै हिउँ परेको भन्दै थिए ड्राइभर दाइ ।
“हेर्दै जानू, मास्तिर बाटोमा डोजर देखिन्छन् । ती सब बाटोको हिउँ पन्छाउन आएका हुन् । दुई ठाउँमा त हिउँपहिरो नै आएको थियो,” ड्राइभर दाइ उत्सुक भएर सुनाउँदै थिए ।
जिपले १ः३० बजे चामे पुर्यायो । म ओर्लिनासाथ आर्को जिप खोज्न थालें किनभने आजको मेरो यात्रा मनाङसम्मको थियो । केही छिनको प्रतीक्षापछि एउटा जिप आयो । खाङ्सार जाने एउटा परिवारले रिजर्भ गरेको रहेछ । केहीबेरको अनुरोधपछि एउटा सिट मिल्यो । अटसमटस भएर मलाई भित्र बस्न निकै गाह्रो भइरहेको थियो । टिमुरको चर्को बासना आइरहेको थियो । मैले नबुझ्ने भाषामा गफ गरिरहेका थिए उनीहरू । त्यही मनाङसम्म त हो नि भनेर मन बुझाएँ । कुरा चल्दै जाँदा म तिलिचो जान हिँडेको थाहा पाएर एकजना दिदीले भनिन्, “तिलिचोको बाटो खुलेकै छैन । बेसक्याम्पका मान्छे त यतै छन्, गएका छैनन् ।”
अझै एक महिनाजति बाटो नखुल्ने थाहा पाएपछि मलाई दाँतमा ढुंगा लागेजस्तो भयो । मनमनै आफैंलाई गाली गरें— कस्तो हावातालको यात्रा भयो भनेर । अब के गर्ने ? मनमा तर्कवितर्क चलिरहेका थिए । ‘ह्याँसम्म आइपुगियो भनेसि भोलि मनाङ घुमेर बेंसीशहर फर्किनु पर्ला’ भन्ने विचार आयो मनमा । ‘हिँड् केटा, आज हाम्रोमा जाम्, भोलि खाङ्सार घुम्लास् अनि यही जिपमा फर्केलास्’ नि भनेका थिए बाजेले ।
हिउँ पग्लेर हिलाम्मे भएको बाटोमा जिपलाई निकै सकस भइरहेको थियो । एक–दुई ठाउँमा त जिप फसेर धकेल्नु पनि पर्यो । पिसाङबाट अलि माथि लागेपछि हुम्देको एयरपोर्ट देखिन्थ्यो, धावनमार्ग सेताम्मे थियो ।
म भाक्रामा झरें । मस्र्याङ्दीको बगरैबगर भाक्राबाट हिँड्दै मनाङ पुगें । भाक्राबाट मनाङ पुग्ने बाटो निकै सुन्दर लाग्छ मलाई । अझ हिउँ परेर वरिपरिका पहाड पनि हिमालजस्तै देखिएका थिए । निकै सुन्दर थियो दृश्य । हामी एक–दुई दिन घुम्न आउनेको लागि हिउँ सुन्दर भए पनि मनाङबासीहरूका लागि जीवन कति कष्टकर थियो होला ! म अनुमानमात्र गर्न सक्छु ।
५ बजे मनाङ पुगें । गंगापूर्ण होटेलको कोठा नम्बर २१९ मा झोला बिसाएर घुम्न निस्किएँ । साँझको सिरेटोले हानिरहेको थियो । पूरा मनाङको दृश्यावलोकन गर्न सकिने पार्किन गुम्बा गएँ । सुन्दर दृश्य मोबाइलको क्यामरामा कैद गरेर मस्र्याङ्दी नदीको झोलुंगे पुल तरेर अन्नपुर्ण तेस्रो र गंगापूर्ण हिमालको काखमा अवस्थित गंगापूर्ण ताल गएँ । ताल कता, हिमनदी कता छुट्ट्याउनै नसक्ने गरी जमेको थियो । जताततै सेताम्मे थियो । जाडोले गर्दा धेरै बेर बस्न सकिएन, होटेल फर्किएँ ।
होटेलमा डाइनिङ हल भरिसकेको थियो । विदेशीहरू प्रशस्तै थिए । सबैजसो थोराङ्ला क्रस गर्न हिँडेका रहेछन् । धेरैले तिलिचो जान नपाएकोमा गुनासो गर्दै थिए ।
“आई विल डेफेनेट्ली कम एगेन फर तिलिचो,” एकजना चिनियाँजस्तै देखिने महिला भन्दै थिइन् । म पनि मनमनै फेरि आउनुपर्ला भन्दै थिएँ । यो मेरो दोस्रो यात्रा थियो तिलिचोको, जुन पूरा हुन सकेन ।
म एकछिन गाइड दाजुभाइसँग गफिएर एक गिलास तातोपानी लिई सुत्न गएँ । म अझै द्विविधामा थिएँ भोलि के गर्ने भनेर । एउटा मनले त थोराङ्ला क्रस गरौं कि जस्तो पनि लागेको थियो ।
बिहान ५.३० को घण्टीले ब्युँझायो । मर्निङ वाक गर्दै ५ सय वर्ष पुरानो तारे गोम्पा गएँ । हिजो गंगापूर्ण ताल राम्रोसँग नदेखिएकोले आज फेरि गएँ । यो पटक तालको माथि हिमनदीसम्मै पुगें । त्यहाँबाट मनाङ गाउँ राम्रो देखिने रहेछ । तस्बिर लिएर बिस्तारै होटेल फर्किएँ । मलाई कतै जानु थिएन । हतार थिएन । मनमा उत्सुकता थिएन ।
मनमा विचारहरू सल्बलाउन छोडेका थिएनन् । यहाँसम्म त आइयो, तिलिचो जान पाइएन, अब खाली हात के काठमान्डू फर्कनू जस्तो लागिरहेको थियो । जे त होला—अचानक थोराङ्ला क्रस गर्छु भन्ने विचार आयो मनमा ।
यहाँनेर कथाले नयाँ मोड लियो । न्यानो लुगा छैन, एउटा जगर्समा र सामान्य ज्याकेटमा आएको छु, गतिलो जुत्ता छैन । यो अवस्थामा थोराङ जानु शायद एड्भेन्चरभन्दा पनि स्टुपिडिटी थियो ।
हतारहतार होटेल छिरेर भनें, “दिदी, आई एम गोइङ थोराङ्ला, मेक मी नुडल्स सुप ।” भन्दै कोठातिर लागें, ब्याकप्याक मिलाएँ ।
रारा चाउचाउको खल्लो सुप र तीन गिलास पानी खाइवरी बोतलमा पानी भरेर म हिँडिहालें । होटेलकी दिदिले ‘राम्ररी जानुस् है’ भनेको अलि पर पुगेर सुनें ।
यसो घडी हेरें, ३६०० मिटर र समय ८ः३० देखाइरहेको थियो । अलि पर पुगेपछि दोबाटो आयो— एउटा तिलिचो जाने, एउटा थोराङ्ला जाने । म थोराङ्लातिर लागें । बाटोमा पर्यटकहरू लाइन लागेर हिँडिरहेका थिए । एकजना गाइड आफ्नो मोबाइलमा ‘सालको पात टपरी’ सुन्दै अगाडि बढिरहेका थिए । सबैलाई उछिनेर म अगाडि बढें । पारिलो घाम लागेको थियो, आकाश नीलो थियो । दायाँतिर अन्नपूर्ण तेस्रो र गंगापूर्ण हिमाल उभिएका थिए । हिउँ पग्लेर बाटो हिलाम्मे बनेको थियो ।
दिउँसो १२ः३० मा माथिल्लो याकखर्क पुग्दा मेरो जुत्ता–मोजा भिजेर पच्यात्तै भएका थिए । त्यहाँ एक कचौरा च्याउ सुप अर्डर गरें । वाइफाइ पनि रहेछ, भाउजूलाई मेसेज गरेर ‘म पर्सि घर आउँछु’ भनें । अनुजलाई एक–दुइटा फोटो पठाएँ । एउटा ट्विट गरें । टिम्बुरको छोप हालेको सुप खाएर हिउँको बाटो आफ्नो गन्तव्य थोराङ हाइक्याम्पतिर लागें । बाटोमा पर्ने लेदरका होटेलहरू सबै बन्द दिए ।
मनाङबाट हिँडेको सात घण्टामा समुद्री सतहबाट ४६०० मिटर उचाइमा रहेको थोराङ फेंदी पुगें । फेंदी पुग्न मलाई निकै गाह्रोे भयो । जुत्ता–मोजा भिजेर हिँड्नै गाह्रो । अल्टिट्युड पनि धेरै भएर होला— हल्का टाउको दुखेको थियो । अब भगवान् भरोसा भन्दै बिस्तारै पाइला चालिरहेको थिएँ । मलाई एउटा बिन्दुमा आएर लाग्यो— कतै यो थोराङ आउने निर्णय गलत त थिएन ?
थोराङ फेंदीमा झोला पनि नबिसाई दूधचिया बनाउन लगाएर खाएँ । मेरो विचारचाहिँ चिया खाएर अलि फ्रेस भई हाइक्याम्प गएर बस्ने थियो । फेंदीबाट हाइक्याम्प २५० मिटरमात्र माथि छ । दुई घण्टाको हिँडाइमा पुग्न सकिन्छ । आज हाइक्याम गएर बसियो भने भोलि थोराङ क्रस गर्न सजिलो होला र छिट्टो मुक्तिनाथ पुगिएला भन्ने थियो ।
तर, चिया पिएपछि आलश्य भयो । जिउ गलेजस्तो भयो । खै, कैलाश चिया परेछ कि कुन्नि— चिया पिउनेबित्तिकै मुड चेन्ज भयो । आजको रात फेंदीमै बिताउने भएँ ।
चाँबी लिएर कोठा नम्बर २०२ तिर लागें । जताततै सेताम्मे हिउँ छ, जाडो छ, हिँड्दा प्रत्येक पाइलामा होश पुर्याउनु पर्छ नत्र चिप्लिने डर । कोठामा एउटामात्र ब्ल्यांकेट रहेछ, एउटा ब्ल्यांकेट मात्रले त ज्यान जान्छ भनेर साइडका कोठामा गएर अरू दुइटा चोरेर ल्याएँ । एउटा ओछ्याएँ, अरू दुइटा ओढ्ने गरी बिस्तारा मिलाएँ । जुत्ता–मोजा खोलें । एक किलोको जुत्ता भिजेर तीन किलोको भएछ । एउटा टी–सर्ट बाँकी राखेर झोलामा भएका सबै लुगा लगाएँ । जुत्ता–मोजा लिएर डाइनिङ हल गएँ । डाइनिङमा एउटा ठूलो फलामको चुलो हुन्छ, सबै त्यसको वरिपरि बस्छन्, आगो ताप्छन्, रमाइलो गर्छन् । डाइनिङमा भीडभाड थियो । कोही विदेशीहरू किताब पढिरहेका थिए, कोही तास खेलिरहेका थिए । कोही लेखिरहेका थिए । चुलोको छेउछाउमा बसेका सबैले आफ्नो जुत्ता सुकाइरहेका थिए । मेरो आफ्नो जुत्ता अलि–अलि भिजेको भए पो सुकाउने, त्यस्तो पच्यात्तै भएको के सुकाउने ? ८ बजे डाइनिङ सबै खाली भयो, म भने जुत्ता–मोजा सुकाइरहेको थिएँ । मसँग एकजोर मात्र मोजा थियो, आउने बेलामा मोजा ल्याउन बिर्सेछु । एक–दुई जना गाइडहरूसँग एक्स्ट्रा मोजा छ कि भनेर पनि मागें तर कसैसँग नि रहेनछ । चुलोबाट तातो आउन छाडेपछि तीन किलोको जुत्ता हातमा झुन्ड्याएर कोठातिर लागें । मसँग न्यानो डाउन ज्याकेट थिएन, हावा छेक्ने ट्राउजर थिएन, क्राम्पोन थिएन । विडम्बना के भन्दा सबै घरमा थिए ।
भोलि बिहान जाडोले त नमरिएला नि भन्ने कुरो मनमा खेलाएर –१५ डिग्री सेल्सियसमा सुतें । राति सपनामा धेरै जनासँग ‘हजुरसँग डाउन ज्याकेट छ ?’ भनेर मागिरहेको थिएँ । विपीनको त अफिसमै गएको थिएँ डाउन ज्याकेट लिन । तर, सपनामा पनि कसैले ज्याकेट दिएनन् । रातभर कोल्टो पनि फेरिनँ । निदाउने, ब्युँझिने गरिरहें । जिन्दगीमा पहिलो पटक राति खुट्टा तातेनन् ।
३ः५५ मा उठेर ४ः०० बजेको लागि लगाएको अलार्म बन्द गरें । आज लगाउनु पर्ने जुत्ता र मोजामात्र थिए, अरू लुगा त हिजै लगाएर सुतेको थिएँ । जुत्ता त जमेर ढुंगाजस्तो साह्रोे भएछ । जुत्ताका तुना पनि साह्रा न साह्रा भएछन् । सकिनसकी जुत्ता लगाएर डाइनिङतिर लागें । डाइनिङमा हल्लाखोर थियो । पर्यटकहरू थोराङ्लाका लागि तयारी गर्दै थिए । हिजो एकजना छिरिङ दाइले ४ः३० बजे सँगै चढम्ला भनेका थिए, म अन्डा हालेको चाउचाउ खाएर अलि–अलि उज्यालोमा छिरिङ दाइलाइ खोज्न थालें । म घरबाट एक्लै यात्रा गर्न निस्किए पनि पनि सकेसम्म बाटोमा नयाँ साथीहरू खोजिरहन्छु ।
४ः४५ बजे म छिरिङ दाइका सात जना जर्मन पर्यटकहरु सँगै उकालो लागें । जूनको उज्यालो छँदै थियो, साथमा सबैको टाउकोमा बत्ती पनि । ती पर्यटकहरू त पञ्चमीको पाइला सारेझैं हिँड्न थाले । मलाई उकुसमुकुस भयो । यो टोलीलाई दायाँबाट ओभरटेक गरेर (ओभरटेक गर्दा जहिले पनि दायाँबाट मात्र गरौं) म अघि बढें । अलि अघि भरियाहरूको टोली रहेछ । एकछिनमा भरियाहरू टोलीलाई पनि पछाडि पार्दै अगाडि बढें । –१५ डिग्रीमा चिसो जुत्ता लगाएर हिँडिरहेको थिएँ । चिसोले कतै खुट्टाका औंला बिग्रिने त हैनन् भन्ने डर लागिरहेको थियो । गोजीबाट हात निकाल्न सकेको थिइनँ । हिमालमा घाम ६ः१० मा लागे पनि यो चिसिएको ज्यानमा ६ः५० मा मात्र घाम पर्यो । शरीरमा घामको ताप परेपछि अलि स्फूर्ति मिल्यो । गोजीभित्रै बसेका हातले पनि छुट्कारा पाए । एउटा सानो हिउँको बाटोमा हिँड्नुपर्ने, चिप्लेर खस्यो भने पनि कता हो कता पुगिने । खोज्न पनि कोही आउँदैनन् जस्तो अनकन्टार ठाउँ ।
हिँड्दै गर्दा हिजो याकखर्कमा भेटेका शेर्पा दाइ देखिए । ‘एकछिन आराम गर्नुस्, धेरै छिटो हिँड्नुहुँदो रहेछ’ भने । म पनि एकछिन रोकिएँ । पानी खाऊँ भनेर झिकेको, जमेको रहेछ । ती शेर्पा दाइले दिएको तुमलेटको पानी खाँदा पोखिएको थियो, जुन दाह्रीमा उत्तिखेरै जमिहाल्यो ।
घडी हेरें— ५१०० मिटर र समय ७ः३० देखाएको थियो । मलाई यो बाँकी ३०० मिटर जति उकालो लाग्न तीन किलोमिटरजस्तो लाग्दै थियो । यात्रा रहेछ जिन्दगी भन्दै आफ्नै रफ्तारमा हिँडिरहें— स्याँस्याँ गर्दै ।
उताबाट दुईजना भरिया आइरहेका थिए । भने, “दाइ आयो, आयो । अब जम्मा १० मिनेट हो ।”
ऊर्जा मिल्यो शरीरमा, गति बढ्यो । बिहानको ९ बजे मनाङ मुस्ताङ जिल्लाको सिमाना, समुद्री सतहबाट ५४१६ मिटर उचाइमा रहेको थोराङ भञ्ज्याङ पुगें । पर्यटकहरू फोटो खिचिरहेका थिए, कोही किस गर्दै सेल्फी लिइरहेका थिए । कोही आफ्नो कम्पनीको ब्यानर निकालेर फोटो खिचिरहेका थिए । मैले पनि झोलाबाट …Thats What I do. I Travel. I Drink. I Know ThingsÚ लेखेको टी–सर्ट झिकें, लगाएर फोटो खिचें । अलि माथि गएर एउटा ढुंगामा जमेको टिप्पेक्सले सकिनसकी 'Ish was here— 25-03-2019' लेखें । २०१५ मा आउँदा लेखेको ढुंगामा लेखूँ भनेको, ढुंगा हिउँले पुरिएको रहेछ । अनि हिउँको बाटो ओरालो लागें । ज्यान चंगाजस्तै उडिरहेको थियो । ज्यानमा थकान भन्ने एकरत्ति पनि थिएन । भोक थिएन । शोक थिएन ।
एक्लै घुम्नुका धेरै फाइदा र बेफाइदाहरू छन् । तीमध्ये एउटा बेफाइदा भनेको आफ्नो गतिलो फोटो नहुनु हो । पर्यटकलाई फोटो खिचिदिन भन्यो, अलि गाह्रोे मान्ने, झर्को माने । शायद उनीहरू पनि त्यो अवस्थामा थकित हुन्छन् । झिँजो लाग्दो होला ।
नाम्चे बजार भ्यु पोइन्ट मा एकजना विदेशीलाई ‘क्यान यु प्लिज टेक अ पिक्चर अफ माइन ?’ भन्दा ‘ह्वाई यु ट्राभल एलोन इफ यु निड पिक्चर्स ? ह्वाई डन्ट यु टेक सेल्फी इन्स्टिड ?’ भनेको याद आउँछ । विदेशीलाई ‘फोटो खिच्देऊ’ भन्नै मन लाग्दैन ।
हिउँ नभएको भए आफ्नै रफ्तारमा हिँड्न सकिन्थ्यो होला । हिउँ भएपछि अलि विचार पुर्याएर हिँड्नुपर्छ । पहिले नै बनेका बाटोमा हिँड्नु पर्ने, चिप्लियो भने सीधै मुक्तिनाथ पुगिएला भन्ने पीर । निकैबेरको ओरालोले थकाइ लाग्यो । एक ठाउँमा बसेर हाम्रो राष्ट्रिय खाजा दालमोट खाएँ । फेरि ओरालो झरें ।
१२ः१५ मा मुक्तिनाथ पुगें । सुन्दर मुक्तिनाथ हिउँले गर्दा अझ सुन्दर देखिएको थियो । मन्दिर वरिपरि भारतीय दर्शनार्थीको बाहुल्य थियो । धारामा नुहाउन नसके पनि मुख धोएँ । १०० प्रतिशत पाप नपखालिए पनि २५ प्रतिशत जति पाप पखालियो होला भन्ने आशा गर्दै बोतलमा जल भरें । ३०० रुपैयाँको प्रसाद बार्गेनिङ गरेर २२५ रुपैयाँमा किनें । मन्दिरलाई छोएर झोलामा राखें अनि बसपार्कतिर लम्किएँ ।
बेनी–जोमसोम जाने सबै जिप र बस छुटिसकेका रहेछन् । जिप रिजर्भ गरेर जोमसोमसम्म गएको ४००० रुपैया अरे ! लिफ्ट माग्नुको विकल्प थिएन ।
भारतीय पर्यटकहरू बोकेको बस पोखरा जान तयार भएको रहेछ । त्यो बसका ड्राइभर दाइलाई एकछिन अनुरोध गरेपछि आजै पोखरा जान पाउने भएँ, अन्तिम सिटमा बसेर । आन्द्रप्रदेशबाट मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थीहरू लेतेमा पुगेर आफैं खाना बनाउन थाले । भोक लागेको थियो, मैले पनि एक थाल भेज बिर्यानी खाएँ ।
आफूलाई पोखरा कुन बेला पुगौं जस्तो भइरहेको थियो । १० बजेसम्म पोखरा पुगियो भने त काठमाडौ पुगिन्थ्यो अनि भोलि काममा जान सकिन्थ्यो !
जोमसोम–बेनीको बाटो निर्माण हुँदै रहेछ । बाटोभरि डोजर र ठूला–ठूला ढुंगा असरल्ल थिए । त्यही पनि गाडी गुडिरहेका थिए— लन्ठ्याङ मन्ठ्याङ गर्दै । घरि मस्र्याङ्दीको बगरमा, घरि ढुंगैढुंगा भएको बाटोमा । थोत्रो बस, लास्ट सिट अनि बाटो त्यस्तो ! कति उफार्यो कति ! ‘दिल चाहता है’ फिल्ममा सैफ अली खान गोवाबाट मुम्बईसम्म ट्रकमा जाँदा घर पुगेर तकियामाथि बसेको याद आयो । मेरो त त्योभन्दा सय गुणा बिजोग अवस्था थियो । जिन्दगीमा सोचेको कहिले के पुगेको थियो र ! १०–११ बजे पुगिएला भनेको— पोखरा पुग्दा बिहानको २ बज्यो ।
लेकसाइडबाट भिजेको बिरालोझैं लखरलखर हिँड्दै पृथ्वीचोक गएँ । ठेलावाला चिया पसलबाट एक कप चिया लिएर टिकट काउन्टरको बाहिर बेन्चमा बसें । मोबाइल चार्ज सकिएर अफ भइसकेको थियो । पोखराबाट ५ बजे काठमान्डूको लागि माइक्रो बस छुट्यो ।
बाटोमा ४ घण्टा जामले गर्दा रोकिनु पर्यो । एउटा आर्को हावा तालको एकल यात्रा सकी घर आइपुग्दा १ बजेको थियो ।