site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राष्ट्रव्यापी चोर कन्फेरेन्स 

– रामकुमार पाँडे

मूर्तिचोरको सभापतित्वमा कुखुरा चोर, कोपरा चोर, जुत्ता चोर एक–आपसमा मिले र राष्ट्रव्यापी चोर कन्फेरेन्स गराउने हेतुले आयोजक समिति गठन गरियो । समिति गठन हुन नपाई समाचार चोर्न पल्केका संवाददाताले आफ्नो पत्रिकामा धमाधम सनसनीपूर्ण समाचार छपाइहाले । समाचार छापिनु के छ, चोरहरूको कुरा पाए बडेमानको तक्मा भिर्न पाउँला भन्ने ताकमा सीआईडी जमजमाए । उता बिनाकाम अब चोरहरूको पनि कदर हुने भयो भन्ने ठानी कामचोरहरू मक्ख भए । दिलचोरहरू चाहिँ अरूले पत्तो पाउलान् भनेर थुरथुर भए ।

राष्ट्रव्यापी कन्फेरेन्स आयोजक समितिले अब धुमधामको तयारी गर्न थाल्यो । चोरबजार रातारात खुल्न थाले । त्यसको तयारी चोरहरूको लागि देब्रे हातको खेल थियो । धम्की दिएर, पिटेर, छकाएर, फकाएर, ठगेर चोरहरूले हजार दाउमा पैसा बटुल्न थाले । स्वदेश, विदेश सारा ठाउँबाट लुटेर ल्याइएका सामानहरू चोरी निकासी पैठारीद्वारा ओइरो लाग्न थाले । इनेगिनेका चोरहरूको घर छाडी मुलुकभरका अन्य घरहरू यस अभियानमा असुरक्षित भए । कैयन् घरहरूका मान्छेका मुखमा टालो कोचेर लुटियो । कैयन् समाउन खोज्नेहरू आफैं चोर भएर चोरबाटो गए । कैयन् मान्छेहरू आफू लुटिँदा चिच्याउन नसकी लाटाबुंगाजस्ता भए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चोरसँग के जोर ? यसरी चोरिएका सामानहरू थुप्रिन थाले । तर, राख्ने कहाँ ? सबैको आँखामा छारो हाल्न गाह्रो थियो । फेरि आयोजक समितिमा नपरेका कुनै चम्बु चोरहरूले सुराक पाए भने चोरमाथि चकार लाग्न के बेर ? तर, चोरहरूमध्ये पनि पुलिसप्रुफ महाचोर नै मूर्तिचोर परेको हुनाले चोरीका सामान राख्न र चोर व्यापार गर्न चोर ढोकाको कमी भएन । चोरी गरेको धनबाट बनेका गगनचुम्बी होटलहरू ठाउँ–ठाउँमा जति भने पनि थिए ।

चोर कन्फेरेन्सका लागि बस्नमा कवच र खानामा कवाब तयार हुन थालिसकेको थियो । यो कन्फेरेन्स राष्ट्रव्यापी भएको हुनाले नेपालभरिका चोरहरू काठमाडौं टुँडिखेलमा सम्साँझै सबले देख्ने गरी भेला भएका थिए । यो चोरहरूको बथान दशैंका भेडा–च्यांग्राभन्दा कम थिएन । समाचार चोर्ने संवाददाता, साहित्य चोर्ने साहित्यिक चोरका साथसाथै अर्काकी स्वास्नी चोर्ने (जार) चोर, किताब चोर, थेसिस चोर, त्यस्तै विचार र अक्षर चोरका अलावा अन्य ठूला भुक्तभोगी ख्यातिप्राप्त पटके चोरहरू पनि निमन्त्रित थिए । चोरेर ल्याएको पैसा प्रशस्त हुँदा कन्फेरेन्समा कुनै सामानको कमी हुन पाएन ।

सल्लाका रुखहरू चोर्दै काटेर मञ्च र स्वागतद्वारहरू भव्य बनाइएका थिए । लुटेका कछाड धरो बनाई ध्वजापताका टाँगिएका थिए । रंगमञ्चमा कोही चोरेर ल्याएका जुत्ता र लुगामा जमेका थिए, कोही चोरीका चिजमा आराम लिइरहेका थिए । यत्तिकैमा एकजना प्रख्यात गीतचोरको गीत–संगीत चोरहरूको समूहमा गुञ्जन लाग्यो । सियो चोरदेखि सुन चोरसमेत कन्फेरेन्समा भाग लिन पाएकोमा दंगदास परेका थिए । उनीहरूमध्ये कैयनले कन्फेरेन्सको अन्त्यमा हुने जलपानअगाडि नै लामो हात गरी सफाचट पारिसकेका थिए ।

चोरहरूलाई स्वागतस्वरुप गानाबजाना गरेपछि टापटिपे चोरले उद्घोषण गर्‍यो, “नेपालको कैयन् अमूल्य मूर्ति फूर्तिसाथ जम्बुजेट चढाई सात समुद्र कटाई आफ्नो पेशालाई सफल पार्ने मूर्तिचोरज्यूलाई सभापतिको आसन सुशोभित पारिदिनुहुन आग्रह गरिन्छ ।”

उद्घोषणकर्ताले पूर्व निर्धारित यो प्रस्तावलाई विमान अपहरणकर्ता चोरले समर्थन गर्‍यो । सभापतिज्यूले कन्फेरेन्सको उद्घाटनस्वरुप राता तुलमा लेखिएको ‘हामी सब चोरै चोर !’ अनावरण गरी मूर्तिवत् भएर बसे । सभापतिलाई उपहारस्वरूप नक्कली मूर्ति प्रदान गरियो तर यो उसले आफैं लिएन र अर्कैलाई दियो ।

यसपछि टापटिपे चोरले नेपालको सुप्रसिद्ध वयोवृद्ध कुखुरा चोरलाई दुई शब्द बोल्न आग्रह गर्‍यो ।

कुखुरा चोर अहिल्यै आफैं बासौंला जसो गरी चोरेर तयार गरेको भाषण ठूलो–ठूलो स्वरमा रट्न थाल्यो, “हाम्रो देशमा कुखुराको पोल्ट्री फार्म प्रशस्त खुलाउनलाई निब्र्याजी ऋण दिइनुपर्छ । यस किसिमका साना उद्योगबाट हामीलाई तुरुन्त फाइदा हुन सक्छ ।”

कुखुरा चोरको कुरा सभापतिबाहेकका अरु मूर्ति चोरहरूलाई चित्त बुझेनछ, बीचमै बोल्न थाले, “चोर्नै परेपछि कुखुरा जाबो के चोर्नू ? सियो चोरे पनि चोर सुन चोरे पनि चोर ! एकैपल्ट सात पुस्ता सप्रने चोरी पो गर्नुपर्छ ।”

मूर्तिचोरहरूको यो भनाइले कोपरा चोरहरूलाई मर्का परेछ, कराउन थालिहाले, “केही नगर्नु सट्टा केही गर्नु उत्तम ।”

टापटिपे चोरले त्यसपछि चोरेर पास भई चोर डिग्री हत्याउन सफल दिलचोरलाई सुटुक्क बोलायो । दिलचोर लाजले भुतुक्क भई उभियो र चारैतिर चोर आँखाले हे¥यो । दिलचोरको आँखा कन्फेरेन्समा उपस्थित एउटी मनचोर षोडशीको दिल चोर्न पुगेछ, ऊ केही बोल्दै नबोली हिँड्यो ।

यसरी चोर सम्मेलनको सभा सकिँदा नसकिँदै कोही मेरो फुल्टिन हरायो भन्न थाले, कोही मेरो जुत्ता बेपत्ता भयो भन्न लागे, कोही मेरो पाकेट मारियो भनेर हल्लिखल्ली गर्न थाले । कोही मेरो दिल चोरियो भनेर हिँड्न थाले, कोही छोरी गायब भई भन्न लागे । कोहीचाहिँ स्वास्नी भगाइयो भन्न थाले । खैलाबैला गर्दागर्दै सबको दृष्टि मञ्चतिर पुग्यो । तर त्यहाँ बोलेर सबैलाई सुनाउने यन्त्र माइक्रोफोन नै चोरिएको थियो । मञ्चमा केवल दहीचोर कृष्णजीको तस्बिरमुनि उद्घाटित साइनबोर्ड थियो– ‘हामी सब चोरै चोर !’

(हास्यव्यंग्यकार पाँडेको ‘हाँस्यकथा–१’ बाट साभार ।)
 

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  ११:०५
प्रतिक्रिया दिनुहोस्