काठमाडौं । हिन्दूहरूको महान पर्व महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने धर्मावलम्बी र सवारी साधनलाई व्यवस्थित गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विषेश व्यवस्था गरेको छ ।
महाशाखाले शुक्रबार अर्थात् शिवरात्रिको दिन पशुपति क्षेत्रमा कुन कुन स्थानमा सवारी चलाउन नपाइने र कुन स्थानमा पार्किङ गर्ने भनेर निश्चित स्थानहरू तोकेको छ ।
महाशाखाका अनुसार चाबहिलबाट गौशालातर्फ जाने मालवाहक सवारी साधनलाई रोक लगाइनेछ । त्यसैगरी पुरानो बानेश्वरबाट गौशाला जाने सडक, ज्ञानेश्वर मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ, मैतिदेवी चोकबाट पुरानो बानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ जाने सवारीलाई डाइभर्ट गरिनेछ । लामापोखरी कुटुबहालबाट मित्रपार्क तर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्पm, तिलगंगाबाट गौशालातर्फ चल्ने सवारी साधनलाई अन्यत्र डाइभर्ट गरिने छ ।
महाशाखाले यी सडक खण्डमा चल्ने सवारी साधनलाई जोरपाटी नारायणटारबाट बागमती करिडोरको बाटो हुँदै आउने मालवाहक सवारी साधन गौरीघाट तर्फ, सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग, जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ डाइभर्ट गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङरोड परिक्रमा गर्ने यात्रुवाहक सवारीसाधनहरुलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाइएको छ ।
रातोपुल, गौशाला, चाबहिल हुँदै बौद्धतर्फ चल्ने सवारी साधनहरु पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानी विभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चाबहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाइएको छ । कलंकी, हलचोक, बालाजु, महाराजगन्ज भएर चल्ने बस मिनिबस, माइक्रो बसहरु सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कने व्यवस्था मिलाइएको ट्राफिक महाशाखाले जनाएको छ ।
रातोपुल, गौशाला भएर चाबहिलतर्फ जाने माइक्रोबस र टेम्पोहरुलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्र शालिक, कृष्ण पाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कुटुबहाल, चाबहिल गणेशस्थान हुँदै बौद्ध जोरपाटीतर्फ जाने र फर्कंदा चाबहिल, सुकेधारा, महाराजगन्ज, लाजिम्पाट, खानी विभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । त्यसैगरी शंखमूल, नयाँ बानेश्वर, पुरानो बानेश्वरतर्फबाट चल्ने माइक्रोबस तथा टेम्पोहरु पुरानो बानेश्वरबाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाइएको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले पशुपति क्षेत्रमा आउने सवारी साधनलाई पार्किङ गर्न ६ स्थान तोकेको छ । दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकका लागि तिलगंगा, भारतीय दर्शनार्थीका साना सवारी साधन र पासवाला सवारी साधनहरू अमालकोट, स्वदेशी तथा विदेशी दर्शनार्थी एवं तिर्थयात्रीका सवारी साधन सिफल चौर र पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनहरुलाई गौशाला प्रहरी प्रभागमा पार्किङको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।
त्यसैगरी कोषको कार्यालयमा पासवाला सवारी साधनहरु राख्न सकिनेछ । गुहेश्वरी पारि बौद्ध, जोरपाटी तर्फबाट आउने भक्तजनहरुको सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको महाशाखाले जानकारी दिएको छ ।