पार्टी कार्यकर्ताको मनोबल प्रतिबन्धित रहेका बेलामा भन्दा पनि खस्केको छ । सरकार अधिनायकवादतर्फ अग्रसर भएको देखिँदै छ । तैपनि, पार्टीका नेता भने एकअर्काप्रति आक्रमण गरेर दुनियाँ हँसाइरहेका छन् । नेपाली कांग्रेस यस्तो त थिएन । साँच्चै विनिर्माण भएछ कांग्रेसको ! नामबाहेक अरू सबै अर्कै । चरित्र, प्रवृत्ति, सोच र संरचना सबै फरक ! संगठनको आधारसमेत बेग्लै । सत्ताको निरंकुश नियतमा रमिते बनेका कांग्रेस नेताहरू आउने महाधिवेशनमा पार्टी कब्जा गर्ने ध्याउन्नमा लागिसकेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एउटा सार्वजनिक कार्यक्रममा केन्द्रीय सदस्य डा. शेखर कोइरालाको ‘हैसियत’मा प्रश्न उठाए । नेपालको लोकतान्त्रिक आन्दोलनमा पिताजीका नामबाट विख्यात कृष्णप्रसाद कोइरालाका तेस्रो पुस्ताका तीनजना प्रतिनिधि केन्द्रीय सदस्य द्वय डा. शेखर कोइराला र सुजाता कोइराला तथा महामन्त्री डा. शशांक कोइराला अहिले कांग्रेसको राजनीतिमा छन् । तीनै जनाले एउटै मञ्चबाट आगामी महधिवेशनमा उनीहरूमध्ये एक जना पार्टीको सभापतिमा उमेदवार हुने घोषणा वीरगन्जमा पुगेर गरे ।
त्यही घोषणाबाट तिलमिलाएजसरी सभापति देउवाले ‘‘कोइराला हुँदैमा सभापति हुन नपाइने’’ भन्दै शेखरको नामै किटेर उनको सभापति हुने हैसियत नभएको भने । पार्टीको निर्वाचित केन्द्रीय सदस्य हुन् डा. शेखर कोइराला भन्ने सायद देउवाले हेक्का राखेनन् । विधानले पनि शेखरलाई सभापतिको निर्वाचन लड्न रोक्तैन होला ।
सभापति देउवालाई डाक्टर शेखर कोइरालाको पाला दिने पालो आयो । उनले भने – ‘‘ उहाँ मेरो आदरणीय सभापति हो । पार्टीको सभापति हो । म राजनीतिक संस्कार बोकेको परिवारको मानिस हो । त्यसकारण मलाई यो विषयमा केही भन्नु छैन ।’’
आन्दोलनको हरहिसाब
महाधिवेशन नआउँदै त यस्तो छ । कांग्रेसको आगामी महाधिवेशन कस्तो हुने होला ? जेहोस् यस प्रसंगले शेखरले ‘हैसियत’ प्रश्नलाई स्वीकार नगरेर देउवालाई नै फर्काएको देखियो भने आफ्नो पारिवारिक संस्कारको विषय उठाएर देउवाको संस्कारलाई कटाक्ष पनि गरे ।
हुन पनि नेपाली कांग्रेसको निर्माणमा कोइराला परिवारको योगदान अरूको भन्दा त धेरै नै छ । परिवारका अरू सदस्यसँगै शेखरका बाबुआमा पनि कांग्रेससँग अभिन्नरूपमा जोडिएका थिए । शेखर कोइराला आन्दोलनका बेला (पञ्चायत कालको ) कहाँ थिए भन्ने प्रश्न गर्दा कसैले २०४६ सालको आन्दोलनमा देउवाको भूमिका, राजालाई लोकतन्त्र सुम्पेको, राजाको इसारामा पार्टी फुटाएको, प्रतिनिधि सभा पुनःस्थापनाका लागि नेपाली कांग्रेस आन्दोलनमा रहेकै बेलामा ‘गोर्खाली राजाले न्याय दिए’ भन्दै राजाको भारदार हुनपुगेको हिसाब खोज्न सक्छन् भन्ने त हेक्का राखेको भए हुने नि ! त्यति बेला त बरु शेखर कोइराला पो लोकतन्त्र स्थापनाको आन्दोलनमा थिए त !
कांग्रेसका हकदार
कांग्रेस शेखरको पुस्तैनी सम्पत्ति हैन । उनले दाबी गरेको पनि सुनिएको छैन । तर, देउवा वा अरू कसैले नेपाली कांग्रेस दाइजोमा पाएको पनि हैन । देउवाको हुँकारमा त मोहन शम्शेरले ‘‘गद्दीमा बस्न पुर्पुरोमा लेखेर ल्याउनुपर्र्छ’’ भनेर बीपी कोइरालालाई भनेजस्तै ध्वनित हुन्छ । अहंकार र भय मिसिएको अभिव्यक्ति ! गुटहरूमा विभाजित नेपाली कांग्रेसका नेता कार्यकर्ताले मुख खोल्ने आँट नगर्लान् तर विधानले दिएको अधिकार प्रयोग गर्न खोज्ने कुनै पनि कार्यकर्तालाई ‘हैसियत’ सोध्ने अधिकार कसैको पनि हुँदैन । र, देउवा पनि अपवाद हुन सक्तैनन् । नेपाली कांग्रेसमा सभापतिमा चुनाव लड्छु भन्दा अपराध पक्कै पनि हुँदैन । गिरिजाप्रसाद कोइरालासँग त सभापति पदमा स्वयं देउवालगायत अरू पनि चुनाव लडेका थिए । त्यतिबेला गिरिजाबाबुले कसैको हैसियतमा प्रश्न गरेका त थिएनन् । नेपाली कांग्रेसका कुनै सभापतिले सार्वजनिकरूपमा यसरी आफ्नो केन्द्रीय सदस्यको ‘हैसियत’मै प्रश्न गरेको सायद यो पहिलोपटक हो । यो पार्टी इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको त्यसै त हैन नि !
नेपाली कांग्रेसका पुराना नेता जेपी आनन्दको ट्विट साभार गर्दै यो प्रसंग थाती राखौँ – ‘‘कांग्रेसका पूर्वज कोइरालाप्रति देउवा शिष्ट र शालिन हुनु उचित हुन्छ । शैलजाको बहुमत हुँदा पनि ०५१ मा प्रम हुनुमा गिरिजाका प्रति र ०३७ टुँडीखेलबाट बीपीले ‘शेरे सुदूरपश्चिम भन्दिँदा उनको व्यक्तित्वको उत्थान बिन्दु भएकोमा देउवा अनुग्रहित रहनु अन्यथा हुन्न ।’’
तेलतुम्बडेहरू यता पनि छन् !
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीका आलोचकहरूको दमन भइरहेको छ । लामो लोकतान्त्रिक परम्परा भए पनि अहिले भारतमा अघोषित संकटकाल छ भन्छन् त्यहाँका बुद्धिजीवीहरू । यही २१ फरबरीका दिन द न्यु योर्क टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार प्रधानमन्त्री मोदीका आलोचक विख्यात विद्वान् प्राध्यापक आनन्द तेलतुम्बडेलाई पक्रेर थुनामा राखिएको र उनलाई ‘सरकार अपदस्थ’ गर्न खोजेको अर्थात् राजद्रोहको मुद्दा चलाइन लागेको छ । नोम चोम्स्कीलगायत संसारभरका विद्वान् र मानव अधिकार संरक्षकहरू भने चुनावको मुखमा आफ्ना आलोचकको मुख थुन्न सरकारले प्रा. तेलतुम्बडेलाई पक्रेर थुनेको ठान्छन् । प्रा. तेलतुम्बडेले मोदीका नीतिहरूको आलोचना गर्दै उनलाई सन् २०१७ को एउटा भाषणमा हिटलरसँग तुलना गरेका थिए । सशंकित बुद्धिजीवीहरूले संयुक्त राष्ट्रसंघलाई हस्तक्षेपको आग्रह गर्दै पत्र लेखेका छन् ।
नेपालमा पनि यो मोदी मानसिकता सत्ता समर्थकहरूबाट प्रकट हुनथालेको छ । त्यही नियत र मानसिकताको पहिलो सिकार भएका हुन् पशुपति शर्मा । सरकारका प्रमुख र प्रवक्ताको बोलीमा चरम असहिष्णु प्रवृत्ति ध्वनित भइरहेको छ । नेपालका तेलतुम्बडेहरू पनि सावधान हुँदै गरे हुने देखिन्छ ।
र अन्त्यमा,
थाइल्यान्डको बैंककमा ‘¥याप एगेन्स डिक्टेटरसिप’ नामको समूह गठन गरेर र्याप गायकहरूले सैनिक सत्तालाई कलाको माध्यमबाट चुनौती दिएका छन् । गत वर्षको अक्टोबरमा समूहले सार्वजनिक गरेको ‘ह्वाट माइ कन्ट्री ह्याज गट’ नामको म्युजिक भिडियो साता दिनभित्रै २ करोडले हेरेको द न्यु योर्क टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारमा लेखिएको छ ।
पशुपति शर्माहरू त अन्त पनि रहेछन् । ‘भिजिलान्ते’ शैलीका ‘मण्डले’ संगठनहरू होलान् कि नहोलान् ?