site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
अनुभवले खारिएका कसमस

– नरेश फुयाँल


उनको रहर थियो— पत्रकार बन्ने ।

आमाको रहर थियो— छोरो डक्टर नै बनोस् ।

Dabur Nepal
NIC Asia

आफ्नो चाहना एकातिर, आमाको चाहना अर्कैतिर । विद्रोह गर्ने कुरा भएन । केहीसीप नलागेपछि कसमस (विश्वकर्मा) त्रिचन्द्र कलेज भर्ना भए— विज्ञान लिएर । एकातिर मनले नखाएको विषय, अर्कातिर राजनीतिको थलो, त्रिचन्द्र ।

कहिल्यै राम्रो भएन पढाइ । कहिल्यै ध्यान दिएर पढेनन् । एकातिर रुचि नभएको विषय, अर्कातिर ७ वर्ष बूढानीलकण्ठको होस्टलबाट निस्किएर खुला आकाशमा विचरण गर्न पाएको स्वतन्त्रता । पिँजडाबाट निस्किएको सुगाजस्तै भएका थिए उनी । जस्तो मेहनत, उस्तै परिणाम । आईएसी उत्तीर्णै नै भएनन् ।

बुवा पत्रकार, समाजसेवी तथा राजनीतिज्ञ थिए । आफ्नै पत्रिका थियो उनको । नाम थियो ‘प्रेरणा’ । घरमा त्यसबेलाका पत्रकार, लेखक तथा राजनीतिज्ञहरूको जमघट भइरहन्थ्यो । त्यो माहोलले कसमसलाई पनि खिच्यो । पत्रपत्रिकामा उनको खुब दिलचस्पी बढ्यो । ब्रोडसिटमा ‘गोरखापत्र’ दैनिक र ‘राइजिङ नेपाल’ मात्रै थिए । ती पत्रिकाले मात्रै उनको सूचनाको भोक पूरा गर्दैनथे । उनी अमेरिकन लाइब्रेरी पुग्थे, जहाँ ‘हु इज हु’ इन्टरनेसनल ब्रोडसिट तथा म्यागेजिन पढ्न पाइन्थ्यो । ‘न्युयोर्क टाइम्स’, ‘न्युजविक’, ‘आउटलुक’ जस्ता पत्रिका उनको पहिलो रोजाइमा पर्थे ।

बुवा आफैं पत्रकार थिए । उनले छोराको रुचि बुझेका थिए । आईएससी उक्लिन नसकेपछि उनी आफैंले आरआर कलेज लगेर भर्ना गरिदिए, २०४३ मा । पञ्चायतविरोधी आन्दोलन चर्किएको समय थियो । विद्यार्थीहरू आन्दोलनमा होमिएका थिए । आन्दोलन दबाउन प्रहरी कलेजभित्रै आइपुग्थ्यो । निर्धारित समयमा पढाइ सकिँदैनथ्यो । त्रिभुवन विश्वविद्यालय आफ्नो क्यालेन्डरमा चल्दैनथ्यो । दुई वर्षको आईए सकिन तीन वर्ष लाग्यो । बीए पनि उस्तै ।

बीएमा सबैभन्दा धेरै नम्बर ल्याएर पत्रकारिताको गोल्ड मेडल पाए कसमसले । त्यतिबेलाका सञ्चार राज्यमन्त्री विजयकुमार गच्छदारको हातबाट उनले ‘गोपाल गोतामे स्मृति पदक’ पाए । एक तोला सुनको सिक्का थियो त्यो । अहिले पनि कसमससँग सुरक्षित छ त्यो पदक ।

‘प्रेरणा’ चार पृष्ठको साप्ताहिक पत्रिका थियो । कसमसका बुवा आफैंले निकालेको । दलित अगुवाका नाताले उनी त्यसमा दलितका विषयलाई प्राथमिकता दिन्थे । त्यसमै काम गर्न थालेका थिए कसमस ।

एकातिर बुवालाई सहयोग हुन्छ भन्ने थियो, अर्कातिर समाचारमा आफूलाई अभ्यस्त बनाउनु थियो । त्यहाँ उनले कम्पोज गर्न पनि सिकेका थिए । त्यहीँबाट उनको पत्रकारिताको यात्रा शुरु भयो । 

०४९ को एकदिन पार्टीमा श्याम गोयन्का र रवि गोयन्कासँग भेट भयो, जसले त्यही वर्ष ‘कान्तिपुर’ दैनिक ‘काठमान्डू पोस्ट’ शुरु गरेका थिए । उनीहरूले कसमसलाई सोधे, “के गर्दै छौ ?”

कसमसले भने, “यत्तिकै बसिरहेको छु ।”

सँगै रहेका कसमसका साथीले भनिदिए, “पत्रकारितामा ग्य्राजुएसन गरेर ‘प्रेरणा’मा बुवालाई सहयोग गरिरहेको छ ।”

श्याम र रविले भने, “त्यसो भए हाम्रो पत्रिकामा आऊ न त ।”

०४९ फागुन ७ गतेबाट ‘कान्तिपुर’ र ‘काठमान्डू पोस्ट’को प्रकाशन शुरु भयो । त्यही वर्षको चैत १९ गतेबाट कसमस कान्तिपुर प्रवेश गरे । त्यहाँबाट शुरु भयो व्यवासायिक पत्रकारितामा कसमसको यात्रा । ‘प्रेरणा’मा उनले गरेको पत्रकारिता त दलित अधिकारका लागि मिसनमात्रै थियो ।

\"\"

मक्का मदिनामा पहिलो बाइलाइन

‘कान्तिपुर’मा आफ्नो पहिलो बाइलाइन स्टोरी कसमसलाई अहिले पनि याद छ । साउदी हज गर्न जाने नेपाली मुस्लिमको स्टोरी थियो त्यो । त्यो समय राजीतिक समाचारमात्रै समाचार हुन्, अरू त समाचार होइनन् भनेझैं गरिन्थ्यो । सामाजिक विषय त्यति धेरै प्राथमिकतामा पर्दैनथे ।

तर, उनले नेपाली मुस्लिम मक्का मदिना किन जान्छन्, जाँदा के हुन्छ र नजाँदा के हुन्छ, कसले दिन्छ मक्का मदिना जाने खर्च, पालो कसरी आउँछ भन्ने जस्ता प्रश्नको जवाफ खोज्दै फिचर लेखे । त्यसले उनको पहिलो बाइलइन पायो । त्यो समाचारले चर्चा पनि उत्तिकै पायो । कसमसले तारिफ पाए ।

फ्यासन र आर्टबाट उनी आफ्नो पत्रकारिताको व्यावसायिक दुनियाँमा प्रवेश गरे । उनलाई सम्झना छ, त्यो बला यी समाचारलाई निकै ‘लाइट’ रूपमा लिइन्थ्यो ।

काम गरेको ५ महिना भएको थियो । ‘कान्तिपुर’ र ‘काठमान्डू पोस्ट’ दुबैका सम्पादक थिए, योगेश उपाध्याय । उनले भने, “कसमस, तिमी त बूढानीलकण्ठ पढेको रै’छौ । अंग्रेजी कस्तो छ ?”

कसमसः राम्रै छ । 

योगेशः राम्रै भनेको अंग्रेजी राम्रो हो कि नेपाली ? 

कसमसः दुबै राम्रै छ ।

योगेशः ल !त्यसो भए भोलिबाट तिमी ‘काठमान्डू पोस्ट’मा काम गर । 

‘कान्तिपुर दैनिक’मा प्रवेश गरेका कसमसले त्यसपछि ‘काठमान्डू पोस्ट’मा समाचार लेख्न थाले ।

 

बाईबाई ‘काठमान्डू पोस्ट’

करिब तीन वर्ष काम गरेपछि ‘श्री सगरमाथा’ दैनिक र ‘एभरेस्ट हेराल्ड’ प्रकाशन हुने भए । ‘कान्तिपुर’बाट एउटा टिम नै त्यतातिर लाग्यो । त्यसमा कसमस पनि थिए । ‘श्री सगरमाथा’को सम्पादक तीर्थ कोइराला भए (अहिले उनी थाहाखबर.डट का सम्दादक छन्) । ‘एभरेस्ट हेराल्ड’ विजयकान्त कर्णले सम्पादन गर्थे । ‘एभरेस्ट हेराल्ड’मा कसमससँगै अजयभद्र खनाल, रम्येता लिम्बूलगायत थिए ।

करिब १४ महिना ‘एभरेस्ट हेराल्ड’ प्रकाशन हुँदा प्रतिस्पर्धा ‘काठमान्डू पोस्ट’सँग हुन्थ्यो । ‘कान्तिपुर’ र ‘काठमान्डू पोस्ट’मा हुँदा जे लेखे पनि पहिलो हुन्थ्यो । सरकारी पत्रिका ‘गोरखापत्र’ र ‘राइजिङ नेपाल’ त थिए तर ती सरकारी थिए । त्यसैले ‘एभरेस्ट हेराल्ड’को प्रतिस्पर्धा ‘काठमान्डू पोस्ट’ नै थियो ।

‘एभरेस्ट हेराल्ड’ छोडेपछि केही समय उनी व्यावसायिक पत्रकारिताबाट टाढा रहे । त्यो समय उनी नेपाल वातावरण पत्रकार समूहमा सक्रिय भए ।

व्यावसायिक पत्रकारिता नै गर्नुपर्छ भनेर केही साथीहरू जम्मा भए । प्रकाशन शुरु भयो– ‘पत्रिका सात दिने’ । नामजस्तै त्यसको आकार र विषय पनि भिन्नै थियो । ट्याब्लोइड आकारमा प्रकाशन हुने ‘पत्रिका सात दिने’ले गम्भीर खबर दिन्थ्यो । यस्तो प्रकृतिको त्यो नै पहिलो पत्रिका थियो । त्यसमा त्यो बेलाका राम्रा पत्रकारहरू थिए, जो त्यो पत्रिकाको आफैं मालिक पनि थिए । काम गर्नेमा कसमस, शिव गाउँले, अजयभद्र खनाल, गोपाल खनाल, राजाराम गौतम, माधव ढुंगेललगायत थिए ।

“आफैं केही गरौं न त भनेर तयारीबिनै शुरु गरिएको त्यो पत्रिकाले इन डेफ्थ स्टोरी प्रकाशन गथ्र्यो । आफैं–आफैंले खल्तीबाट पैसा निकालेर शुरु गरेको हुनाले त्यसलाई लामो समय प्रकाशन गर्न भने सकेनौं,” कसमस सुनाउँछन्, “तानतुन पारेर करिब १४ महिना निकालेपछि बन्द भयो । मलाई लाग्छ— साप्ताहिक ट्याब्लोइड कन्सेप्टमा त्यो पहिलो पत्रिका थियो । कन्टेन्टको हिसाबले त्यत्तिको पत्रिका अहिले छैन । समाज परिवर्तन गर्ने स्टोरी आउँथ्यो त्यसमा ।”

‘पत्रिका सात दिने’को लगानी डुब्यो । फेरि उनी सन् २००१ मा ‘कान्तिपुर’ पब्लिकेसन फर्किए । विजयकुमारको सम्पादकत्वका ‘नेपाल’ म्यागेजिन प्रकाशन शुरु भएको थियो । कसमस सहायक सम्पादकको जिम्मेवारीमा ‘नेपाल’ म्यागेजिन फर्किएका थिए । त्यसमा पनि उनको यात्रा १४ महिनाकै रह्यो ।

‘काठमान्डू पोस्ट’मा मान्छे चाहिएको थियो । पहिला त्यसमै काम गरेका कसमस शायद त्यसका लागि उपयुक्त पात्र थिए । समाचार संयोजकको जिम्मेवारी थियो । करिव डेढ वर्ष गरेपछि नेपाल वातावरण पत्रकार समाज (नेफेज) र नवेजिर्यनको एक्सचेन्ज प्रोगामअन्तर्गत उनी नर्वे गए । नर्वेजियन एक पत्रकार नेपाल आएर काम गरे । उनी नर्वे गएर ‘कमनसेन्स’ म्यागेजिनमा गएर काम गरे ।

“त्यहाँ म अंग्रेजीमा लेख्थें । नर्वेजियनमा ट्रान्सलेट भएर छापिन्थ्यो तर कस्तो छापिन्थ्यो, मलाई थाहै हुँदैनथ्यो, त्यो क्षण खुब रमाइलो लाग्छ,” कसमस भन्छन्, “त्यो बेला अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको पत्रकारिता कस्तो हुन्छ भनेर पहिलोपटक मैले अनुभव गर्न पाएँ । खुब घुमियो त्यो बेला । युरो जोनका केही राष्ट्रसँगै उत्तरी नर्वेका धेरै ठाउँमा जाने मौका मिल्यो । त्यो बेलाको अनुभवलाई समेटेर पुस्तक नै लेख्ने रहर पनि लागेको हो तर लेखिनँ ।”

एक वर्षपछि फर्किएर आउँदा ‘काठमान्डू पोस्ट’मा सम्पादक परिवर्तनको समय थियो । सम्पादकका लागि द्वन्द्व चलिरहेको थियो । त्यो वातावरणमा काम गरेनन् उनले ।

‘काठमान्डू पोस्ट’ छोडेपछि उनी न्युज ब्युरो चिफका रूपमा ‘दी हिमालयन टाइम्स (टीएचटी)’ पुगे । डेढ वर्ष काम गरेपछि त्यहाँ पनि उनलाई काम गर्न मन लागेन । समाचार र सम्पादकीयमा प्रकाशकको हस्तक्षेप सहन नसकेपछि कसमसले ‘टीएचटी’लाई पनि बिदाइको हात हल्लाए ।

\"\"

अमेरिकाको उडान

पत्रकारितामा लागेपछि सबैभन्दा धेरै ‘फ्रस्टेड’ भएको क्षणका रूपमा सम्झन्छन् कसमस त्यो समयलाई । “प्रकाशकको हस्तक्षेपबाट वाक्क भएर राजीनामा दिएको तीन पटकमा बल्ल स्वीकृत भएको थियो । त्यसको भोलिपल्ट मैले श्रीमतीलाई भनें— म अब अमेरिकातिर लागें ।”

श्रीमतीले सोधिन्, “किन जाने ? हिजोसम्म त जाने केही कुरै थिएन ।”

कसमसले भने, “हेरौं न अमेरिकाको लाइफ पनि कस्तो हुँदो रहेछ । सके पैसा कमाउँला, नसके पनि ठिकै छ ।”

सन् २००५ को जुनको महिना पत्रकारितालाई बिसाएर कसमस अमेरिकाका लागि वाइड बडी चढे ।

अमेरिकामा आम नेपालीले जे काम गर्थे, त्यही गरे कसमसले । रेस्टुराँदेखि सुपरमोर्कटसम्म । 

“पत्रकार मान्छे, शुरुमा काम गर्न निकै कठिन भयो । तर, बिस्तारै बानी पर्दै गयो,” कसमस भन्छन्, “न्युयोर्कको स्वतन्त्र जीवनशैली शायदै अन्त पाइन्छ होला । साँच्चौ रमाइलो गरें मैले त्यहाँको स्वतन्त्र जिन्दगी ।”

बस्ने मौका थुप्रै थिए । ग्रिनकार्ड अप्लाई गरेर बस्न सक्थे उनी । तर, अमेरिकाको जिन्दगी पुग्यो भन्ने लागिरहेको थियो । त्यही बेला अनमिनबाट उनलाई कम्युनिकेसन हेर्ने प्रस्ताव आयो ।

“पैसा कति हुन्छ ?”

“करिब एक लाख ।”

अमेरिकाबाट फर्किन्छु भनेर नेपाल आउने सोच बनाइरहेका बेला त्यो अफर उनका लागि राम्रो अवसर थियो । परिवारसँग बसेर नेपालकै मासिक एक लाख रुपैयाँ कमाइ हुन्छ भने किन नकार्नू ?

कसमस सन् २००६ मेमा नेपाल फर्किए ।

२००७ मा अनमिन नेपाल आयो । उनी त्यसमा आबद्ध भए । नेपालमा अनमिन आएदेखि फर्किएसम्म चार वर्ष काम गरे । पहिलो दुई वर्ष कम्युनिकेसन अफिसरका रूपमा काम गरेका कसमसले पछिल्ला दुई वर्ष प्रवक्ताका रूपमा काम गरे । यूएन मिसनमा नेपालीलाई प्रवक्ताको जिम्मेवारी दिएको त्यो पहिलो पटक थियो । अन्य देशमा यूएन मिसनमा जुन देशमा गएको मिसन हो, त्यही देशको व्यक्तिलाई प्रवक्ताको जिम्मेवारी दिइँदैनथ्यो ।

अनमिन फर्कियो । कसमस फुर्सदिला भए । बन्द भएको ‘नेफेज’को पत्रिका ‘हाकाहाकी’ र ‘फेस टु फेस’ पुनः प्रकाशनका लागि जुटे । अन्तर्राष्ट्रिय प्रोजेक्टका लागि प्रस्ताव प्रस्तुत गरे । प्रोजेक्ट आयो । ‘हाकाहाकी’ र ‘फेस टु फेस’ प्रकाशन पुनः शुरु भयो ।

 

सम्पादकको यात्रा

ठीक त्यही समय । मे १७, २०१२ को कुरा । मोबाइलमा इनकमिङ कलको घण्टी बज्यो । कल थियो— रिपब्लिक मिडियाका प्रकाशक विनोदराज ज्ञवालीका तर्फबाट कसैले गरेको ।

“तपाईंसँग भेट्नु छ,” उताको आवाज थियो ।

नेपाल बन्दको दिन थियो । कसमसले भने, “आज त बन्द छ । भोलि भेट्छु ।”

“होइन आजै भेटौं । म गाडी पठाइदिन्छु ।”

कसमस रिपब्लिक मिडिया पुगे । ‘नागरिक’ दैनिकका नारायण वाग्ले र ‘रिपब्लिका’का अमित ढकालले सम्पादकबाट राजीनामा दिइसकेका थिए । कसमसले ‘हिन्ट’ पाइसकेका थिए । सानो सर्कलमा हल्ला चलिसकेको थियो ।

प्रकाशकले भने, “...यस्तो यस्तो हो । सम्पादक हुन इच्छुक छौ भने सँगै काम गरौं ।”

कसमसका लागि त्यो राम्रो मौका थियो । हरेक पत्रकारले देखेको सम्पादक हुने सपना अन्ततः उनले पाएका थिए । उनले केही नसोची ‘ओके’ गरे ।

“मेरो एउटा बानी छ । हिजो कसले के गर्‍यो, कसले किन छाड्यो भन्दा पनि आज के छ र के गर्ने भन्ने म हेर्छु,” कसमस स्पष्ट पार्छन्, “मेरा लागि त्यो राम्रो अवसर थियो । मैले म तयार छु भनें ।”

प्रकाशकले ‘कहिलेदेखि आउँछौ ?’ सोधे ।

कसमसले ‘आजैबाट पनि काम गर्न तयार छु’ भने ।

उनले आफ्नै जन्मदिनका दिन सम्पादकको जिम्मेवारी पाए ।

प्रकाशक र सम्पादकको आ–आफ्नै रुचि हुन्छ । जुन दिन प्रकाशक र सम्पादकको सोचबीच कुरा मिल्दैन, वैचारिक द्वन्द्व शुरु हुन्छ ।

“जुन दिन प्रकाशकले सम्पादकीय स्वतन्त्रतामा आँच पुर्‍याउने काम गर्छन्, मलाई सह्य हुँदैन र रिजाइन गर्छु,” कसमस भन्छन्, “प्रकाशससँग कुरा नमिले पनि धेरै पत्रकार न्युजरुममा सेवा–सुविधाका लागि कम्प्रमाइज गरेर बसेको धेरै देखेको छु तर मेरो त्यो स्वभाव छैन । प्रकाशकसँग कुरा मिलेन, २०१४ अक्टोबरमा ‘रिपब्लिका’ छोडें ।”

यही प्रसंगमा कसमस एउटा समाचारसँग जोडिएको घटना सुनाउँछन्—

कुरा ‘काठमान्डू पोस्ट’मा छँदाकै हो । माओवादी द्वन्द्वको समय थियो । माओवादीको समाचार लेख्न सजिलो थिएन । किनकि भूमिगत माओवादीलाई स्रोत बनाउन कठिन थियो ।

कसमसले माओवादीको समाचारका लागि कृष्ण केसी र भीम गिरीलाई स्रोत बनाएका थिए । एकदिन ज्ञानेश्वरको स्कुलनजिकैको गल्लीभित्र पुगेपछि उनीहरू भेटिए ।

“एक्सक्लुसिभ समाचार लेखें । सम्पादकको नाम लिन्न मँ । तर त्यो समाचारको स्रोत को हो, कहाँ भेटिस् ? जस्ता प्रश्न गरेर मेरो स्रोत नै उजागर गर्ने प्रयास गर्नुभयो । मैले मतभेद जनाएँ,” कसमस भन्छन्, “त्यो समाचारबाट सम्पादकसँग मेरो सम्बन्ध चिसियो । समाचार पनि छापिएन । त्यो बेलाबाट चिसिएको उहासँगको मेरा सम्बन्ध कहिले पनि उस्तै छ । महिले मतभेद भएर पनि राजीनामा नदिएको त्योमात्रै हो ।”

\"\"

० ० ०

‘रिपब्लिका’ छोडेपछि फेरि बन्द भएको ‘हाकाहाकी’ र ‘फेस टु फेस’ कसमसले निकाल्न थाले । अहिले अनलाइन भर्जनमा आउने ‘फेस टु फेस’ पनि उनी आफ्नै डिजाइन भएको बताउँछन् । अहिले उनी एनआरएको प्रोजेक्टमा कम्युनिकेसन अफिसरका रूपमा काम गरिरहेका छन् । 

 

अहिलेको पत्रकारिता 

आफूले शुरु गर्दाको पत्रकारिता र अहिलेको पत्रकारितामा कसमस आकास–जमिनको फरक देख्छन् । कपीको पानामा कलमले समाचार लेखेको सम्झिने कसमसलाई सम्पादकले पाँच पटकसम्म एउटै समाचार लेख्न लगाएर पनि ‘भएन’ भन्दै च्यातिदिएको सम्झना छ ।

“पाँच पटकसम्म स्टोरी रि–राइट गरेको याद छ मलाई । कपीमा समाचार लेखेर सम्पादकलाई देखाउन गयो, भएन भनेर ध्वार्रर च्यातिदिन्थे । यति रिस उठ्थ्यो ! यसलाई आज यही मारिदिऊँ जस्तो रिस उठ्थ्यो । तर, चुपचाप बसेर लेखिरहन्थें,” कसमस भन्छन् ।

सूचना अहिले जस्तो सर्वत्र सुलभ थिएन । सूचना लिन सजिलो थिएन । कार्यालय पुगेर कोसँग सूचना लिने ? अहिलेको जस्तो प्रवक्ता तोकिएका हुँदैनथे ।

ल्यान्डलाइन टेलिफोन त थियो तर त्यो पनि अहिलेको जस्तो सहज थिएन । भर्खर पञ्चायती व्यवस्था ढलेको थियो । पञ्चायतबाट प्रशिक्षित कर्मचारी पत्रकारसँग बोल्न हिच्किचाउँथे । सूचना खोस्नै कठिन थियो । त्यसैले निकै मेहनत गर्नुपथ्यो ।

त्यो बेलाको लगाव, लगन र मेहनत अहिलेका पत्रकारमा नदेखिएको कसमसको अनुभव छ । “हामी समाचारका लागि घटनास्थलमै पुग्थ्यौं तर अहिले पत्रकारले त्यति धेरै मेहनत गरे जस्तो लाग्दैन,” उनी भन्छन्, “धेरै हल्का समाचार आउने गरेको पाइन्छ । धेरै अनलाइनले आफ्नो कन्टेन्टको गुणस्तर उकास्नु पर्ने देखिन्छ ।”

सञ्चारगृहले कन्टेन्टमाथि लगानी नगरेको खुलेरै भन्छन् कमसम । ‘इन डेफ्थ’ स्टोरीका लागि सञ्चारगृहले लगानी नगरेका कारण कन्टेन्टमा समयअनुसार प्रगति नभएको उनले बताए ।

प्रकाशकले पत्रकारको क्षमता वृद्धि गरेको आजसम्म आफूले नदेखेको बताउने उनी बरु सञ्चारसँग सम्बन्धित अन्य संघसंस्थाले लगानी गरिरहेको भन्दै एनपीआई, खोपके, नेफेजलाई सम्झन्छन् ।

उनले पत्रकारिता शुरु गर्दा राजनीतिक समाचारलाई प्राथमिकता दिइन्थ्यो । सामाजिक विषय र कला साहित्यका समाचारले मुस्किलले भित्री पृष्ठमा स्थान पाउँथे । राजनीतिक रिपोर्टिङ गर्ने पत्रकारहरू अहंकार पालेर हिँड्थे । अहिले अवस्था फेरियो । राजनीतिक समाचारभन्दा अन्य समाचारले प्राथमिकता पाउँछन् ।

समाचारको लामो अनुभव सँगालेका कसमसले लामो समय सञ्चार क्षेत्रमा काम गरे । अहिले उनी पुनः सक्रिय पत्रकारितामै फर्किने तयारीमा छन् । मल्टिीमिडियाको फुल प्याकेजको कन्सेप्टमा कसमस www.kathmandupress.com आबद्ध हुँदैछन् । 

तस्बिरः सौरभ रानाभाट

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०७५  ०८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro