काठमाडौं । साथी बनेर नजिकिने, विभिन्न बहाना बनाएर भारत लगेर मृगौला झिक्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले त्यस्तो गिरोहका ३ जनालाई पक्राउ गरेको छ । गिरोहमा सक्रिय अझै २ जना फरार रहेको महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रे महादेवस्थान ७ का बिनु भन्ने वीरबहादुर तिमिल्सेना, दोलखा भिमेश्वर ५ का प्रकाश बस्नेत र कास्की दाङसिङ ५ का भिमप्रसाद न्यौपाने रहेका छन् ।
उनीहरुमध्ये न्यौपानेलाई पोखराबाट पक्राउ गरिएको, तिमिल्सेना र बस्नेतलाई काठमाडौंबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
सोझा व्यक्तिलाई साथी बनाउँदै नजिक हुने, त्यसपछि विस्तारै भारत घुमाउन लैजान्छु भन्ने र भारतीय बजारमा पुर्याएर जबर्जस्ती मृगौला निकालेर तस्करी गर्ने गरेको एसएसपी खनालले बताए । उनका अनुसार पक्राउ परेको गिरोहका तीन जनाले २ वर्ष यता ५ जनाको मृगौला झिकेर बेचेको बयान दिएका छन् ।
अनुसन्धान अधिकारीका अनुसार पक्राउ परेका गिरोहमा आ–आफ्नो जिम्मेवारी बाँडफाँट गरिएको रहेछ ।
अनुसन्धान अधिकारीका अनुसार तिमिल्सेना गिरोहका मुख्य तस्कर हुन् । उनको काम जम्मा पारेका पीडितहरुलाई भारतीय अस्पताल पुर्याउने हो । भारतका गाजियाबाद लगायतका अस्पताललमा पुर्याएर मृगौला निकाल्ने कार्यमा उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ ।
गिरोहले एउटा मृगौलाको २ लाख भन्दा माथि रकम लिएको प्रहरीलाई बताएका छन् ।
“साथि बनाएर भारत लैजाने बाटोमा खानेकुरा खान दिएर बेहोस बनाउने अनि उपचारको नाममा मृगौला निकालिदिने गरेको भेटियो,” एसएसपी खनालले भने ।
अहिलेसम्म यो गिरोहले ५ जनाको मृगौला तस्करी गरेको बताए पनि धेरैको हुन सक्ने प्रहरी अनुमान छ ।
गिरोहका अझै दुई जना फरार छन् । “यो ठुलै मृगौला तस्करी गिरोह हो, हामी अनुसन्धानकै क्रममा छौं,” एसएसपी खनालले भने ।