काठमाडौं । सोमबार काठमाडौं प्रहरी परिसरमा सावित्री परियार रुँदै आफ्नो गुनासो सुनाउँदै थिइन् । गुनासो सुन्ने प्रहरी भावुक भएर उनको गुनासो सुनिरहेका थिए ।
काठमाडौंको साङ्लाका राम कुमार परियार पेसाले कोट सिलाउने मास्टर हुन् । तर, उनको खास धन्दाचाहिँ आफ्नो नाम, थर र काम लुकाएर युवतीलाई बिहे गर्दै अलपत्र पार्ने रहेछ । रामकुमारले ०६४ माघमा सावित्रीसँग बिहे गरेका थिए, उनीहरूको ४ वर्षको छोरा पनि छ ।
बिहेअघि सडक पेटीमा लुगा सिलाएर बस्ने रामकुमारले बिहेपछि सावित्रीको चिनजानको मानिसको सिफारिसमा काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड टे«ड सेन्टरमा रहेको श्रीनाथ टेलरिङमा कोट सिलाउने काम पाए ।
त्यो बेला सावित्री पनि सिलाइको काम गर्थिन् । पतिको राम्रो कमाइ भएपछि उनी काम छोडेर छोरा हुर्काउनतिर लागिन् । रामकुमार भने आफ्नो नाम, थर बदलेर युवतीसँग फेसबुकमार्फत चिनजान गर्दै नजिक हुने गरेको श्रीमतीले थाहा पाइन् । बिग्रेका पति सुधार्न उनले धेरै प्रयास गरिन्, तर पनि रामकुमारले आफ्नो बानी बदलेनन् ।
रामकुमार कुनै युवतीसँग ठकुरी राजाको परिचय दिँदै नजिकिएको त कुनै युवतीलाई क्षेत्रीको परिचय दिएको सावित्रीले बताइन् ।
बाह्रखरीसँग रुँदै उनले आफ्नो व्यथा सुनाइन्–
“सडकमा बसेर अरुको उध्रेको लुगा सिलाउने मान्छेलाई बिहे गरी राम्रो काममा लगाएँ । जाँडरक्सी खाएर दिनदिनै पिट्थ्यो । एकदिन त लाइनमा आउला भने सहेर बसें । गएको माघमा धरान जाने भन्दै हिँडेको मान्छे, अर्काको बूढी लिएर भारत पसेछ । १० दिनसम्म नफर्केपछि फोन गरें । मलाई प्रहरीले समातेको छ भन्यो । फेरि फोन गर्दा केटीले उठाई, त्यसपछि त गायब ! श्रीमान् हरायो भन्दै छोरा च्यापेर रुँदै बसेकी थिएँ, भारतबाट फोन गरेर मैले अर्को बिहे गरें भन्यो । मिलेर बस्ने भए नेपाल आउँछु, हैन भने यतै बस्छु भन्यो । मैले मिलेर बस्छु आउनू भनेँ, तर आएन । हिजोआज सुन्छु, नेपालगन्जमा अर्कोको नानी भएको स्वास्नीसँग बसेको छ रे ।
छोराको स्कुल फि नदिएको २ वर्ष भयो, छोरा बिरामी पनि भइरहन्छ । आफूले काम पाएको छैन । अरुको काम गर्न गयो, श्रीमान् नभएकी स्वास्नी भन्दै गलत फाइदा उठाउन खोज्छन् । कति ठाउँमा त काम गरेको पैसा लिनसमेत गइनँ । उ बेला सुखी थिएँ, बिहे गरेर साङ्ला पुर्यायो । आज मेरो यस्तो हालत पारेर अर्काको स्वास्नी च्यापेर बसेको छ । यस्तोलाई कानुलले त पक्कै पनि भेट्छ होला । मेरो भनसुन गर्ने पनि कोही छैन, सर्लाही माइती हो, परेको बेला साहानुभूति दिने बुबा हुनुहुन्थ्यो, उहाँ पनि बितेको आज ७ दिन भयो । अब मलाई त्यो मान्छे (पति रामकुमार) चाहिएको छैन । त्यसले मलाई त बिहे गरेर अलपत्र पारेको छ, मजस्ता धेरैलाई नदेखिने गरी पीडित बनाएको छ । त्यसलाई कडा कारबाही गर्नुपर्छ ।
प्रहरीले अपराधीलाई पानीमुनि गए पनि छाड्दैन भन्ने सुनेकी थिएँ । मेरो पति भनाउँदोलाई समातेर कहिले कारबाही गर्दोरहेछ, हेर्नु छ ।”