घटना–१
०६७ फागुन २६ गते देशकै सबैभन्दा बढी सुरक्षित ठानिने केन्द्रीय कारागार सुनधारामा गोली चल्यो । डिएसपीको कमान्डमा करिब ९० प्रहरीको सुरक्षा घेरामा रहेको केन्द्रीय कारागारमा २ वटा चेकिङ प्वाइन्ट पार गरेर युनुस अन्सारीमाथि गोली प्रहार भयो । अन्सारीलाई गोली प्रहार गर्ने भारतीय नागरिक जस्जीत सिंह जुन सुरक्षा घेरा पार गरी अन्सारीको नजिक पुगेका थिए, त्यहाँबाट प्रहरीले आगन्तुकको साथमा रहेको सामान्य सामग्रीसमेत साथमा लैजान दिँदैन । त्यस्तो स्थानमा एक भारतीय नागरिकले सहजै आधुनिक पेस्तोलसहित भेटघाट कक्षमा पुगेर गोली हाने ।
घटना–२
०६९ पुस २५ गते राति सिन्धुली कारागारमा झडप भयो । झडपमा कमलामाई नगरपालिकाका २७ वर्षीय निरज देवकोटाको मृत्यु भयो । कारागारका नाइकेसमेत रहेका देवकोटाले अरु कैदीलाई अनावश्यक दुःख दिने गरेको भन्दै मध्यराति सुतेका बेला सबै कैदी मिलेर कुटपिट गरी गम्भीर घाइते तुल्याएका थिए । घाइते देवकोटाको उपचारका क्रममा मृत्यु भयो ।
घटना–३
०६९ कात्तिकमा सुनसरीको झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागारबाट सुरुङ खनेर १२ जना कैदी फरार भए । कैदी भागेपछि बनेको छानबिन समितिको रिपोर्टअनुसार १५ हजारका दरले सुरक्षा गार्डले रकम असुलेर देखेको नदेखेझैं गरेपछि सुरुङ खनेर कैदी फरार भएका थिए । एक दर्जनभन्दा बढी हत्या र लुटपाटका गरी २६ घटनाका आरोपी रहेका बमबम र सुभाषको योजनामा सुरुङ खन्ने काम भएको थियो । भागेकाहरुलाई भारतीय प्रहरीको सहयोगमा सिमावर्ती जिल्ला र भारतमा पक्राउ गरियो ।
घटना–४
०७० वैशाख २९ गते रोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार भए । मध्यराति कारागारको पश्चिमतर्फको भागबाट सुरुङ खनेर कैदीहरू भागेका थिए ।
घटना–५
०६८ मंसिर २० गते चितवन कारागारभित्र झडप भयो । झडपमा परी घाइते भएका ४ जनामध्ये एकको मृत्यु भयो ।
घटना–६
०६६ सालमा पूर्वाञ्चल क्षेत्रीय कारागारभित्र कैदीबन्दीको एउटा समूहको कुटपिटबाट अर्का कैदी अर्जुन तामाङको मृत्यु भयो ।
घटना–७
०७३ मंसिर १२ गते महोत्तरीको जलेश्वर कारागारमा कैदीबीच झडप भयो । झडपमा २२ जना घाइते भए । कारागारका ‘भाइ नाइके’ कारी साह र कैदीबन्दी सन्तोष पण्डितबीच भएको विवादमा पण्डितले साहमाथि धाराको रडले प्रहार गरेका थिए । झडपमा ८ जना गम्भीर घाइते भएका थिए ।
सुधार गृह अर्थात् कारागारभित्र भएका यी केही आपराधिक घटना हुन् । यस्ता घटना देशका विभिन्न कारागारमा दैनिकजसो भइरहेका हुन्छन् ।
विभिन्न अपराधमा दोषी ठहरिएकालाई सुधारका लागि भनेर राखिने कारागारमा नै आपराधिक घटना हुने क्रम बढेपछि कारागारको सुरक्षा व्यवस्थामा नै प्रश्न उठेको छ । कारागारभित्रका नाइकेहरूको दादागिरी र उनीहरूबीचको झडपका कारण कारागार असुरक्षित भएको हो । कैदीहरू सुरुङ खनेर भाग्ने क्रम पनि उत्तिकै छ ।
कतिपय जेलमा थुनिएका कुख्यात अपराधीले जेलभित्रैबाट आफ्नो अपराधको दुनियाँ चलाइरहेको समेत खुलेको छ । यो कुरा नेपाल प्रहरीका प्रवक्ता हेमन्त मल्ल पनि स्वीकार्छन् । यद्यपि, कारागारको क्षमताभन्दा बढी कैदी राख्नुपर्ने बाध्यताका कारण आपराधिक घटना हुने गरेको मल्लको तर्क छ ।
क्षमता १० हजार, कैदी १८ हजार
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार देशका ७२ जिल्लामा ७४ वटा कारागार छन् । धनुषा, भक्तपुर र बारा जिल्लामा कारागार छैनन् भने काठमाडौं र दाङमा २/२ वटा कारागार छन् । देशभरका सबै कारागारमा गरी कैदी राख्ने क्षमता १० हजार छ । तर, ती कारागारमा करिब १८ हजारको हाराहारीमा कैदी सजाय काटिरहेका छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार अहिले सबैभन्दा बढी कैदीबन्दीको चाप काठमाडौंस्थित केन्द्रीय कारगारमा छ । १५ सय क्षमताको भौतिक पूर्वाधार रहेको यो कारागारमा २५ सय ८० जना कैदीबन्दी छन् । त्यस्तै, सुनसरीस्थित झुम्का कारागारमा पनि कैदीबन्दीको उस्तै चाप छ ।
२ सय २५ जनाको क्षमता रहेको झापा कारागारमा दुई गुणा बढी कैदीबन्दी छन् । १३५ कैदीबन्दी राख्ने क्षमता रहेको जलेश्वर कारागारमा ३७४ जना कैदीबन्दी छन् ।
“देशभरकै कारागारमा कैदीहरुको चाप छ,” विभागका निर्देशक वेदबहादुर कार्की भन्छन्, “कारागारको क्षमताभन्दा बढी कैदी राख्नुपर्ने बाध्यता छ, बढी कैदी भएपछि समस्या आउने गर्छन् ।” कारागारमा हुने आपराधिक घटना रोक्न कारागारको स्तरोन्नति गर्नुपर्ने उनको भनाइ छ । ६ वर्षयता प्रत्येक वर्ष करिब एक हजारको संख्यामा कैदीबन्दी थपिइरहेका छन् ।
त्रिपालमुनि कारागार
गत वर्षको भूकम्पमा कारागार भवन भत्किएपछि देशका केही कारागार अहिले त्रिपालमुनि छन् । नुवाकोट, महोत्तरी र खोटाङका कैदी त्रिपालमुनि सजाय काटिरहेका छन् । “कारागारजस्तो संवेदनशील भवन तत्काल निर्माण हुनुपर्ने हो, तर अहिलेसम्म हुन सकेको छैन,” विभागका निर्देशक कार्की भन्छन्, “कैदी राख्ने भवन नहुँदा धेरै समस्या आउँछन् ।”
उता धनकुटा, ताप्लेजुङ र खोटाङ कारागारमा कैदीबन्दी छाता ओढेर सुत्न बाध्य छन् । यी जिल्लाका कारागार भवन पुराना भएर चुहिने हुँदा पनि नयाँ भवन बनाउने कुनै तयारी छैन ।
कैदीको लागि वार्षिक खर्च ६० करोड
विभिन्न कसुरमा कारागार पुगेका कैदीहरुलाई सरकारले दैनिक ४५ रुपैयाँ र ७ सय ग्राम चामल उपलव्ध गराउ“दै आएको छ । यसमा मात्र राज्यको वार्षिक ६० करोड रुपैयाँभन्दा बढी खर्च भइरहेको छ । आर्थिक वर्ष ०७२/०७३ कैदीबन्दीको सिदाका लागि ५९ करोड १९ लाख ९१ हजार रुपैयाँ खर्च भएको थियो । चालू आर्थिक वर्षको ४ महिनाभित्रमा ५९ करोड ६३ लाख २८ हजार खर्च भइसकेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
कुन वर्षमा कति कैदी ?
आव ०६९/०७० : ११ हजार
आव ०७०/०७१ : १३ हजार
चालू आव : १७ हजार ९६६