काठमाडौं । ०७१ पुसमा राष्ट्रिय अनुसन्धान विभागमा जागिरको विज्ञापन खुल्यो । फर्म भर्न र बुझाउन विभागको कार्यालय सिंहदरबारमा युवाको भीड बढ्यो । सँगसँगै ठगहरू पनि सलबलाए । लाइनमा बसेका बेरोजगार युवालाई प्रलोभनमा पारेर ठग्न उनीहरू सफल पनि भए ।
कालिकोट पुर्कोटका सतल महतरा, शिवखानाका नेत्रबहादुर शाही र गोरखा गुम्दाका विकास गुरुङले पैसा खर्च गरे आन्तरिक कोटाबाट जागिर लगाइदिने भन्दै ११ जना आवेदकबाट करिब साढे ३४ लाख रुपैयाँ ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ठगिनेमा गोरखाका वीरबहादुर गुरुङलगायत छन् ।
युवाहरूलाई ठग्न उनीहरूले कार्यविभाजन गरे । जसअनुसार नेत्रबहादुर शाही नेपाल प्रहरीको डीआईजी कमलसिंह बम बने । ‘विभागका प्रमुखसँग मेरो छुट्टै सेटिङ छ’ भन्दै युवाहरुलाई भुलाउने जिम्मा उनले लिए ।
नक्कली परिचयमा ठगी
राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेर पक्राउ परेका कालिकोट शिवखानाका नेत्रबहादुर शाही आफूलाई नेपाल प्रहरीको डीआईजी कमलसिंह बम भनेर चिनाउँथे । पीडितसँग प्रायः भेट नगर्ने उनी कार भाडामा लिएर हिँड्थे । ‘म व्यस्त छु, मेरा केटाहरुसँग कुरा गर्नु’ भन्दै हिँडिहाल्थे ।
अनुसन्धान विभागमा गोप्य तरिकाले जागिर लगाइने हुनाले होहल्ला गर्दा काम हुँदैन भन्दै ठगहरुले पीडितलाई धेरैसँग खुल्न दिँदैनथे । एक पीडितले भने, “विभागको रिजल्ट हुन धेरै समय लाग्छ भन्दै उनीहरुले विभिन्न बहाना बनाएर अलमल्याउँथे ।”
अर्का ठग विकास गुरुङले विभागमा जागिर खाने सोच भएका र फर्म भरेका युवा भेला पार्ने जिम्मा लिए । त्यसैगरी सतल महतराले पीडितहरुबाट कागजपत्र र पैसा बुझ्ने जिम्मा लिए ।
सबैजना मिलेर ठगी गर्दा पीडितले रकम बुझाउँदा शंका नगर्ने भएका कारण उनीहरुले यस्तो उपाय लगाएको प्रहरी अनुसन्धानबाट खुल्यो । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले ०७२ माघ ८ गते पक्राउ गर्यो ।
उता, जावलाखेलस्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका संखुवासभा चैनपुरका जम्बा भोटेले पनि राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै तीन जनालाई ठगी गरेका छन् । ‘राष्ट्रिय अनुसन्धान विभागमा मेरो विशेष पहुँच छ । तिब्बती क्याम्पको सूचना माग्न हाकिमहरुले मैले जे भन्दा पनि मान्छन्, सहजै जागिर लगाइदिन्छु’ उनले युवाहरूलाई ठगेका थिए ।
भोटेले सोलुखुम्बुका शरद राई र प्रेमकुमार मगरलाई असईमा जागिर लगाई दिने भन्दै उनीहरूबाट ४ लाख ५० हजार र २ लाख लिएका थिए । भोटेले आफ्नै मामा जुम्पु लेम्डुकका आफन्तलाई समेत ठगेको प्रहरीले बताएको छ । पछि पैसा फिर्ता माग्दा भोटेले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्न थालेपछि मामाले प्रहरीमा उजुरी गरेका थिए । उजुरीका आधारमा भोटे पक्राउ परेपछि उनले अन्य २ जनालाई समेत ठगेको खुल्यो । भोटेलाई प्रहरी अपराध महाशाखाको टोलीले गत जेठ ४ गते काठमाडौंबाट पक्राउ गर्यो ।
पत्रिकामा नक्कली विज्ञापन छापेर ठगी
सर्लाही जमुनिया–२ का रायन राय भनेर चिनिने वीरबहादुर रायले काठमाडौंको कलंकीमा अफिस खोले । तर, यसको उद्देश्य व्यापार–व्यवसाय गर्नु थिएन । रायले ठगी धन्दा चलाउनकै लागि ‘इन्टरनेसनल आईटी नेपाल प्रालि’को नाममा अफिस खोलेका थिए ।
रायको ठगी गर्ने तरिका देख्दा प्रहरी अधिकारीहरू नै चकित परे । राय आफ्नो सम्पर्क नम्बरसहित दैनिक पत्रिकामा कर्मचारी आवश्यकता भनेर विज्ञापन छाप्थे । अनि अफिसमा आउने बेरोजगार युवालाई आर्थिक स्थिति आकलन गरेर विभिन्न प्रलोभन देखाई ठग्थे । राय गएको भदौमा प्रहरीको फन्दामा परेका थिए ।
महाशाखामा गएको असार यतामात्र सरकारी जागिर लगाइदिने भन्दै ठगेका १६ वटा उजुरी परेका छन् । “पैसा खर्च गरेर सरकारी जागिर पाइन्छ भन्ने मानसिकता भएका धेरै युवा ठगिएका छन्,” महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बाह्रखरीसँग भने, “पहुँचको भरमा जागिर लगाइदिने भन्दै ठगी गर्नेहरू थुपै्र छन् । यसरी ठगिएका अधिकांश लाजले खुल्न चाहँदैनन् र हत्तपत्त प्रहरीमा उजुरी पनि गर्दैनन् ।” विशेषगरी विभिन्न संस्थान र राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै बढी ठगी हुने गरेको भेटिएको छ ।