site stats
बाह्रखरी :: Baahrakhari
विशेष

काठमाडौं । ईश्वरीप्रसाद पोखरेल प्युठानको तोर्बाङबाट नवलपरासी बर्दघाट बसाइँ सरे । बर्दघाटबाट काठमाडौँ आए । काठमाडौँबाट भारतको लखनउ बसे । अब, लखनउबाट उनको गन्तव्य थियो, अमेरिका । संगठित ठगी गर्दै आएका पोखरेलको अमेरिकी यात्रामा लामो ब्रेक लाग्यो । आखिरमा चोर प्रहरीको फन्दामा परिहाल्यो । 
नेपालका बैंकमात्र नभएर व्यक्ति समेतलाई ठगी गरेका पोखरेललाई महानगरीय अपराध महाशाखाले गएको मंसिर १६ गते काठमाडौंबाट नियन्त्रणमा लियो । काठमाडौंमा कार्यालय खोलेर कर्मचारी राखेरै ठगी गर्ने पोखरेल अदालतका फरार अभियुक्त हुन् । लक्ष्मी बैंक र किष्ट (हालको प्रभु बैंक) मा ठगी गरेको भेटिएपछि काठमाडौं जिल्ला अदालतले पोखरेललाई ०६७ सालमा २ वर्ष कैद र २ लाख २९ हजार जरिवाना फैसला गर्यो ।
त्यसैगरी जिल्ला अदालत बाँकेले ०७२ सालमा ठगी मुद्दामा पुर्पक्षका लागि फैसला गरेको थियो । पोखरेलले सन्दीप दर्नाल, भीमबहादुर दर्जी, शान्ती राईसमेत २३ जनालाई इजरायल पठाउने भनी १ करोड ५ लाख ठगी गरेका थिए । सुदीपराज पन्तलाई दक्षिण कोरिया पठाउने भनी ३ लाख ठगी गरे । रोजन लामालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भन्दै २ लाख ५० हजार लिएर सम्पर्कविहीन भए ।
पोखरेलको अत्तोपत्तो नभएपछि पीडितहरुले महानगरीय अपराध महाशाखामा उजुरी गरे । ठगी गरेर भारतमा बस्दै आएका पोखरेललाई महाशाखाको टोलीले नेपाल बोलायो र पक्राउ गर्यो । दर्जनौँ व्यक्तिबाट करोडौँ रकम उठाएर अमेरिका जाने प्रक्रियामा रहेका उनलाई महाशाखाले समात्यो । 

भव्य कार्यालय खोलेर ठगी
सुर्खेत छिन्चु गाविस–२ का ४७ वर्षीय भागचन्द्र महरलाई महानगरीय अपराध महाशाखाको टोलीले ०७२ भदौ ७ गते पक्राउ गर्यो । ठगी गर्नमा माहिर महरको तरिका एकदमै नौलो थियो । नेपाल प्रहरीको सीआईबीसँग मिल्दोजुल्दो नाम राखेर काठमाडौंको टेकुबाट ठगी धन्दा चलाएका थिए उनले ।
उनले खोलेको कम्पनीको नाम ‘सेन्टरल इन्भेष्टिगेसन सेक्युरीटी फोर्स थियो । टेकुमा भव्य कार्यालय खोलेरै उनले दर्जनौँ युवाहरुलाई ठगी गरेका थिए । आफ्नो पहुँच देखाउन उनी विभिन्न दलका नेता, सरकारी उच्च अधिकारी, सेना, प्रहरीका व्यक्तिसँग फोटो खिच्ने र कार्यालयका भित्ताभरि फोटा राखेर, ‘देख्नुभो मेरो पहुँच ? तपाईँलाई के गरिदिनु पर्यो ?’ भन्दै ठगी धन्दा चलाउँथे । 
महरले १५ लाख लिएर अमेरिका सहजै पठाइदिने भन्दै दर्जनौँ युवाबाट करोडौँ रकम ठगी गरेका थिए । पैसा माग्न जाँदा गार्डहरुले ‘भेट्न समय छैन’ भन्दै पीडितहरुलाई उल्टै झपारेर पठाउँथे । म्याग्दीका राजेश रोका, थमनबहादुर रोका र दिलिपकुमार बुढाथोकी महरबाट पछिल्लो पटक ठगिएका थिए । 
उनीहरू भन्दा पहिला धेरैजनालाई ठगिए पनि रकम दिँदा प्रमाण नभएको र उच्च अधिकारीसँग खिचेको तस्बिर देखाउँदै जे पनि गरिदिने धम्की दिएर पन्छिँदै र जोगिँदै आएका थिए । 
पछिल्लो समयमा ठगिएका तीन जनाले महरविरुद्ध महाशाखामा उजुरी गरे । महाशाखाको टोलीले जब उनको कार्यालयमा छापा मारी अनुसन्धान गर्यो, बल्ल महरको कर्तुत छताछुल्ल भयो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

५० लाखमा सभासद बनाइदिने अाश्वासन 
संविधानसभा सदस्य (सभासद) बनाइदिन्छु भन्दै ५० लाख रकम ठगी गर्ने काठमाडौंका देवेन्द्र बर्तौलालाई महानगरीय अपराध महाशाखाले ०७२ माघ २५ गते ठमेलबाट पक्राउ गर्यो ।
बर्तौलाले सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठलाई संविधानसभाको सदस्य बनाइदिन्छु भन्दै ५० लाख मागेका थिए । श्रेष्ठले २० लाख दिएको र अन्य रकम लिन बाँकी भएका बेला महाशाखाको टोलीले बर्तौलालाई पक्राउ गर्यो । 
विभिन्न ‘च्यानल लगाएर’ दलका नेताहरुसँग भेटाइदिने र ‘गोप्य कुरा हुँदैछ, तपाईँ सभासद पक्का’ भन्दै पटकपटक गरी रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । अनुसन्धान गर्दै जाँदा उनले अमेरिका तथा क्यानडा पठाइदिने भन्दै धेरै व्यक्तिलाई ठगी गरेको पत्ता लाग्यो । उनी अहिले जेलमा छन् । 
महाशाखाको तथ्यांकअनुसार गएको वर्ष विभिन्न ठगीका ८ सय ५ वटा उजुरी परे, जसमा ७४ वटा उजुरीलाई ठगीअन्तर्गत मुद्दा चलाइयो । ४१ ओटा उजुरीलाई मिलापत्र गराइयो । केही उजुरीको अझै अनुसन्धान जारी छ । 

धेरै ठगीमा प्रमाणको अभाव
“ठगहरुले विभिन्न जुक्ति लगाएर ठगी गरेका हुन्छन् । पीडितसँग प्रमाण हुँदैन,” महाशाखाका ठगी छानबिन शाखाका इञ्चार्ज प्रहरी निरीक्षक गोविन्द पन्थीले बाह्रखरीसँग भने, “पीडितहरु ठगसँग सम्पर्क हुँदासम्म प्रहरीमा आउँदैनन्, जब सम्पर्क बिच्छेद हुन्छ, अनि मात्र प्रहरीमा आउँछन् ।”
प्रमाण नभएकाले मौखिक उजुरीका आधारमा अनुसन्धान अघि बढाउनु परेको प्रहरी निरीक्षक पन्थी बताउँछन् । सम्पर्कबिहीन भएका ठगहरुलाई फोन गरेर बोलाउने, छलफल गराउने र पीडितका पक्षमा प्रमाण जुटाउने गरिन्छ । 
“ठगहरु चलाख हुन्छन्, प्रमाण जुटाउन बोलाइएको हो भन्ने लागेर होला, प्रहरीले फोन गर्दा विभिन्न बाहाना बनाउँदै आउदैनन्,” प्रहरी निरीक्षक पन्थी भन्छन्, “पक्राउ गर्दा पक्राउ पूर्जी चाहिन्छ त्यसो गर्न प्रमाण पुग्दैन । महाशाखाको ढोकामा आएका पीडितलाई न्याए दिलाएर मात्र पठाउनु भन्ने एसएसपी सा’पको निर्देशन छ ।”

‘कन्सल्ट्यान्सी’का पनि छुट्टै धन्दा 
कन्सल्ट्यान्सीले पनि दैनिक पत्रिकामा विज्ञापन गरेर विभिन्न प्रलोभन देखाई विद्यार्थी तान्ने गरेका थिए । यस्ता कन्सल्ट्यान्सीलाई कानुनी दायरामा ल्याउन प्रहरीले गतवर्ष साउन अन्तिममा अपरेशन सुरु गर्यो । एक वर्षको अवधिमा अपराध महाशाखाले ४४ वटा कन्सल्ट्यान्सीका सञ्चालकलाई ठगीको अभियोगमा मुद्दा चलायो ।
महाशाखाले अभियान नै चलाएर अनुसन्धान थालेपछि करिब ६ सय कन्सल्ट्यान्सी कानुनी दायरामा आए । महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार प्रहरीले अभियान सुरु गर्दा उपत्यकामा ११ सय जति कन्सल्ट्यान्सी रहेकामा एक सयजतिले मात्र शिक्षा मन्त्रालयबाट अनुमति लिएका थिए ।
बाँकी सबैले गैरकानुनी ढंगले काम गर्दै आएका थिए । “पत्रिकामा विज्ञापन गर्यो । पाँचतारे होटलमा अन्तर्वार्ता भन्दै विद्यार्थीलाई बोलायो अनि पैसा कुम्ल्याएर भाग्यो । यस्ता कन्सल्ट्यान्सी धेरै भेटिए,” एसएसपी खनालले भने, “उनीहरूको पहँुच माथिसम्मै हुनेरहेछ, तर गलत काम गरेका कारण उनीहरुको केही लागेन । कानुनी दायरामा आउनै पर्यो ।“

खनालको ‘इन्ट्री’पछि महाशाखामा भिडभाड 
महानगरीय अपराध महाशाखामा खनाल प्रमुख भएको करिब १७ महिना बित्यो । यो अवधिमा उनले धेरै ठगहरुलाई जेलको ढोका देखाइसकेका छन् । 
नेपालमा ठगी गरेर विदेशमा बस्ने समेतलाई एसएसपी खनालले छाडेनन् । फरार भएका प्रायः ठूला ठगहरु अहिले जेलमा छन् । जेल जानेहरु अझै बढ्दैछन् । गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्न स्थापना गरिएको महाशाखा पहिला सुनसान हुन्थ्यो । महाशाखामा एसएसपी खनाल आएपछि पीडितहरुको घुइँचो हुन थाल्यो ।
अझ वैदेशिक रोजगारीमा ठगिनेहरुको गुनासो सुन्न र पीडितहरुको उद्धार गर्न शाखा नै विस्तार गरेपछि महाशाखामा मानिसहरुको भिड झनै थपियो । दलालको फन्दामा परेर विभिन्न देशमा बेचिएका महिलाहरुलाई उद्धार गरियो । २४ घण्टे हटलाइन सेवा विस्तार गरी कैयनलाई बेचिएको स्थानबाटै उद्धार गरियो । 
अध्ययन तथा कामका लागि विदेश जानेहरुलाई खनालले तीनवटा सुझाव दिएका छन् । भन्छन्, “अरु केही नसकिए पनि यी तीन सुझावलाई मान्ने हो भने, पीडितहरुलाई न्याए दिन सहज हुन्छ ।”

यस्ता छन्, एसएसपी खनालका ३ सुझाव 
सुझाव १ – अध्ययनका लागि विदेश जाने मनसाय बनाउनुभएको छ ? पहिला आफू अध्ययन गर्न जाने मुलुकमा नेपालीलाई प्रवेश छ कि छैन, बुझ्नुहोस् । सरकारी प्रकृयामा गएर मात्र बुझ्नुहोस् ।
आफू अध्ययन गर्न जाने कलेजको बारेमा बुझ्नुहोस् । कन्सल्ट्यान्सीले जे पनि भन्न सक्छन्, तिनीहरूको मात्र भरमा नपर्नु होस् । शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त छ कि छैन बुझेर मात्र उनीहरुको कुरा सुन्नुहोस् । यी सबै कुरा पार गरेपछि रकम दिँदा आफूले प्रमाण राख्नुहोस् । यसो गरिएमा नेपाली विद्यार्थी ठगिनु पर्दैन यदि ठगिइहाले पनि उनीहरुलाई न्याए दिन सहज हुन्छ । 
सुझाव २ – तपाईँलाई कुनै पनि व्यक्तिले पहुँचका भरमा विदेश पठाइदिने भनेको छ ? त्यसको कुरा नपत्याउनुहोस् । मेरो चिनजान छ । अमेरिका अथवा अन्य कुनै देशमा पठाइदिन्छु, भन्दा त्यसको बारेमा प्रहरीलाई जानकारी दिनुहोस् । भिसा कुनै व्यक्तिले दिने होइन । सम्बन्धित देशको कानुनअनुसार दूतावासले दिने हो । कामको सिलसिलामा विदेश जाँदा मेनपावर कम्पनीमा गएर बुझ्नुपर्छ । दलालको भरमा फस्नु भन्दा पहिला उसको बारेमा पत्ता लगाउनुहोस् । मेनपावरमा रकम दिँदा आफूले प्रमाण राख्ने र हस्ताक्षर गर्दा हेरेर मात्र गर्ने गर्नुहोस् । 
सुझाव ३ – लेनदेन गर्दै हुनुहुन्छ ? चर्को ब्याजको लोभमा नपर्नुहोस् । ब्याज आउँछ भन्दैमा आफ्नो सम्पत्ति अरुको हातमा दिने होइन । चिनजान र नजिकको मानिस भन्दैमा बिना प्रमाण कारोबार गर्दा ठगिएमा न्याए पाउन गाह्रो हुन्छ । त्यसैले कारोबार गर्दा वकिल राखेर प्रमाण पुर्याएर मात्र कारोबार गर्नुहोस् । यसो गरिएमा भोलि कुनै कालखण्डमा ठगिएमा पनि न्याए पाउन सहज हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७३  १२:१९
प्रतिक्रिया दिनुहोस्