site stats
बाह्रखरी :: Baahrakhari
विशेष
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भाडा केही महँगो भए पनि छिटो र सहज रूपमा गन्तव्यमा पुग्न काठमाडौँ उपत्यकाका लागि ट्याक्सी नै उपयुक्त सवारी हो । तर, मौकामा चौका हान्दै ट्याक्सी चालकले यात्रु ठग्न थालेपछि ट्राफिक प्रहरीले चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्न थाल्यो । 
सुरुमा ट्याक्सी चालकले मिटरमा ‘अर्थिङ’ राखेर बढी पैसा असुल्ने गर्थे । सुनधाराबाट एयरपोर्टसम्म जाँदा १८ सय रुपैयाँ उठाउन थालेपछि चालकको नियतको विरोध भयो । ट्राफिक प्रहरी महाशाखाले गुणस्तर नापतौल विभाग र काठमाडौँ महानगरपालिकाको रोहवरमा अनुगमन थालेपछि ‘अर्थिङ’ राखेर ठगी गरेको रहस्य खुल्यो । ट्राफिक प्रहरीले उपत्यकाभरि अभियान नै चलाएर ट्याक्सीको मिटर चेक गर्यो । जसमा एकाधबाहेक सबैजसो ट्याक्सीले बदमासी गरेको भेटियो । नयाँ मिटर जडान गर्न लगाइयो र उनीहरुलाई कारबाहीपछि फेरि यस्तो गल्ती नगर्ने सर्तमा छाडियो ।
नागरिक ठग्न पल्केका चालकको बानी सुध्रेन । उनीहरु फेरि नयाँ जुक्ति लगाएर ठगी गर्न थाले ।सादा पोशाकका ट्राफिक प्रहरीलाई मिटर चेक गर्ने जिम्मेवारी दिइयो । चालकले बिगारेको मिटर सपार्न पनि थालियो । भारतीय नाकाबन्दीले पेट्रोलको चरम अभाव भयो । महँगोमा किनेको पेट्रोलले मिटरमा चल्न नसकिने गुनासो चालकले गर्न थाले । त्यो बेला ट्राफिकले पनि खासै कडाइ गरेन । 
जब बजारमा तेल सजिलै पाउन थालियो । तर पनि उनीहरुले पुरानो बानीलाई छाडेनन् । मिटरमा चल्दा घाटा हुने भन्दै कतिले मिटर बन्द गरे । कतिले मिटरै बिगारे । उनीहरुको मनोमानी बन्द नभएपछि ट्राफिक महाशाखाले मिटरमा चल्न नमान्ने ट्याक्सीलाई कारबाही गर्न थाल्यो । महाशाखाको तथ्यांकअनुसार गएको वैशाख यतामात्र २ हजार २ सय ५२ ओटा ट्याक्सीलाई कारबाही गर्यो । मिटरमा हिँड्न नमान्ने चालकमाथि कारबाही तिव्र हुन थालेपछि केही समय ट्याक्सी चालक सुध्रेको जस्तो देखिए । 
मिटर बिगार्ने धेरै
ट्याक्सी चालकहरुले पछिल्लो समयमा मिटर बिगारेर चलाउने गरेको भेटिएको छ । मंसिरमा मात्र ८५ वटा मिटर बिगारेर चलाएको अवस्थामा ट्याक्सीलाई नियन्त्रणमा लिइएको ट्राफिक महाशाखाले जनाएको छ । 
गएको वैशाखयता २ हजार ९ सय ३३ वटा मिटर बिगारेर चलाउने ट्याक्सीलाई कारबाही गरेको महाशाखाको तथ्यांक छ । मोलमोलाई गरेर चल्ने ट्याक्सी चालकलाई कारबाही थालेपछि उनीहरुले पुरानै जुक्ति लाएका हुन् ।
बजारमा तीन प्रकारका मिटर पाइन्छन्, कोरियन, अमेरिकन र इटालिएन । प्रायः ट्याक्सीमा कोरियन मिटर जडित छन् । कोरियन मिटर बिगार्न सहज हुने भएका कारण प्रयोग बढेको ट्राफिक प्रहरीको भनाइ छ । 
गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटरसँगै उनीहरुको भाडा पनि तोकेको छ ।  विभागले तोकेको भाडादर अनुसार बिहान ६ बजेदेखि बेलुका नौ बजेसम्म प्रति २ सय मिटरको ७ रुपैयाँ २० पैसा र बेलुका ९ बजेपछि बिहान ६ बजे सम्म त्यसको दोब्बर रकम मात्र लिन पाइने व्यवस्था गरेको छ । तर, ट्याक्सी चालकले दिउँसै रातको मूल्य अनुसार भाडा असुल्ने गरेको महाशाखाले जनाएको छ । 

मिटर बिगार्नेलाई कम जरिवाना

महानगरीय ट्राफिक प्रहरी प्रमुख डिआइजी प्रकाश अर्यालका अनुसार मिटर बिगारेको कारबाही ५ सयदेखि दुई हजारसम्म मात्र छ । मिटर बिगारेर ट्याक्सी चलाएको भेटिए ट्राफिकले कारबाही गर्न गुणस्तर नापतौल विभागलाई पत्राचार गर्छ ।   
“ट्याक्सी चालकलाई ठाउँमा ल्याउन हामीले धेरै कोसिस गर्यौँ, केही सफल पनि भयौँ तर उनीहरुको बानी सुध्रिन गाह्रो छ,” डिआईजी अर्यालले बाह्रखरीसँग भने, “मिटर बिगारेर चलाउँदा कारबाही फितलो छ । त्यसैले चालकहरु मिटर बिगारेर चलाउने पुरानै बानी दोहोर्याउन थालेका छन् ।”
मिटरमा चल्न नमान्ने ट्याक्सी चालकलाई कारबाही अलि कडा छ । “मिटरमा चल्न नमान्ने चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर यातायात व्यवस्था विभाग पठाउँछ । अनि जरिवाना रकम पनि ५ हजार छ,” डिआइजी अर्यालले थपे, “जरिवाना बढी अनि झन्झटिलो भएपछि ठग्न पल्केका चालकहरु मिटर बिगार्न तिर लागे ।” 
मिटर बिगार्नेलाई पनि मिटरमा चल्न नमान्ने सरह कारबाही भएमा समस्या नदोहोरिने भन्दै काुनन परिमार्जन गरेर मिटर बिगार्नेलाई पनि कडा कारबाही गर्न जरुरी भएको डिआइजी अर्याल बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७३  १४:५३
प्रतिक्रिया दिनुहोस्