काठमाडौं । जिल्ला प्रशासन कार्यालय जुम्लाको आडैमा रहेको गुरु चन्दननाथको मन्दिरमा चोरी भएको छ । हिन्दु धर्मावलम्वी र कर्णाली क्षेत्रकै सवैभन्दा ठूलो चन्दननाथ मन्दिरमा रहेका २८ ओटा मूर्तिहरु शनिबार राति १ बजे चोरी भएका हुन् ।
मन्दिरमा रहेको दत्तात्रयको सबैभन्दा ठूलो मुर्तिसहित २८ वटा मूर्ति चोरी भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पाण्डेले बताए । जिल्ला प्रशासन कार्यालयदेखि २० मिटरको दुरीमा रहेको मन्दिरमा चोरी भएपछि प्रशासन र पुजारीको मिलेमतोमा चोरी भएको भन्दै स्थानीयहरुले प्रहरी र प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् ।
“शनिबार राति १ बजेतिर चोरी भएको खबर बिहान पायौं,” प्रमुख जिल्ला अधिकारी पाण्डेले बाहखरीसँग भने, “१ सय ६ वर्ष पुराना मुर्तिहरु चोरी भएका छन् । हामी अनुसन्धान गर्दैछौं । त्यसका लागि क्षेत्रिय प्रहरी कार्यालय नेपालगन्जबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान सुरू भएको छ ।”
शंकास्पद गतिविधी देखेपछि मन्दिरका मुल पुजारी चन्द्रमौलेश्वर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
मन्दिरमा भएको चोरीबारे सोधपुछ गर्दा पुजारीले शंकास्पद कुरा गरेपछि नियन्त्रणमा लिइएको उनले बताए ।