नाम: अनुप गोविन्द वैद्य
उमेर: २३ वर्ष
ठेगाना: सौगल टोल, ललितपुर
काम: डाक्टर र बेलायती नागरिक हुँ, बेलायतमा कम्पनी छ भन्दै ठगी गर्ने
अनुप गोविन्द वैद्यले ८ कक्षामात्र पास गरेका छन् । तर, आफूलाई डाक्टर भनेर चिनाउँछन् । बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट पीएचडी गरेको दाबी गर्छन् । उनी आफूलाई बेलायती नागरिक बताउँछन् । यो पहिचानमा उनले एक दर्जनभन्दा बढी नेपालीलाई ठगिसके ।
वैद्यले नेपाल मेडिकल कलेज जोरपाटीको नक्कली नक्कली लेटरप्याड बनाएर आफूलाई डाक्टर भन्ने गरेका थिए । टोलका बालबालिका बिरामी हुँदा उनी सिटामोलसमेत दिन्थे ।
वैद्यले ठगी गरेकाहरू अहिले दैनिक रूपमा महानगरीय प्रहरी परिसर ललितपुरमा भेला हुन्छन् ।
अनुपबाट ठगिएकामध्ये एक हुन् रामप्रसाद कुईंकेल । “त्यो ठगले पैसामात्र खाएन, मेरो छोराको भविष्य पनि बिगारिदियो,” कुईंकेलले आक्रोश पोखे । प्लस टु पास गरेको छोरालाई काठमाडौं युर्निभर्सिटीमा भर्ना गर्ने तयारीमा थिए रामप्रसाद । उनी गाडी व्यवसायी हुन् । कलेजका बारेमा उनलाई त्यति थाहा थिएन र बुझ्ने फुर्सद पनि थिएन । अनुपको भरमा पर्दा उनको छोराको पढाइ दुई वर्ष पछाडि धकेलियो । छोरालाई केयूमा भर्ना गर्न लागेका बेला अनुपले ‘यस्तो राम्रो पढाइ भएको छोरालाई यूके पठाउनुस्, म सहयोग गरौंला’ भनेपछि रामप्रसादलाई पनि कुरा ठिकै लाग्यो । आफूले बेलायतको पीआर पाइसकेको भन्दै अनुपले रातो पासपोर्ट, बेलायतका बैंकका एटीएम कार्ड, ड्राइभिङ लाइसेन्स र अक्सफोर्ड युर्निभर्सिटीबाट पिएचडी गरेको सर्टिफिकेट पनि देखाए । यो सबै देखेपछि रामप्रसाद पनि विश्वस्त भए । अझ अनुपले ‘मलाई पैसा दिनु पर्दैन, लाग्ने खर्चमात्र गरे हुन्छ’ भनेपछि रामप्रसाद पैसा खर्च गर्न तयार भए । “डाक्टर हँु भन्दै मेडिकल कलेजको लेटरप्याडमा आफ्नो नाम पनि भएको कागज दियो, होला त नि भनेर उसले भनेको रकम दिँदै गएँ,” रामप्रसादले बाह्रखरीसँग भने, “छोराको अनुहारमा दाग थियो, मेडिकल फेल हुनसक्छ भन्दै एउटा औषधि समेत दिएको थियो उसले । ८ कक्षा पढेको नक्कली डाक्टर रहेछ, के थाहा ।”
यूकेका पनि थुप्रै कागजपत्र देखाएपछि उनी ढुक्क भएका थिए । एक वर्ष त्यतिकै बित्यो । बेलायत युरोपियन युनियनसँग छुट्टिएका कारण केही समय लाग्ने भयो भन्दै अनुपले झुलाए । त्यसबीचमा रामप्रसादले झन्डै २३ लाख रुपैयाँ अनुपलाई बुझाइसकेका थिए ।
गत साता अनुप पक्राउ परेको खबर सुनेपछि पो उनको सातोपुत्लो उड्यो ।
वैद्यले रामप्रसादसहित ६ जनालाई ठगी गरेको प्रहरीमा उजुरी परेको छ । बेलायत लगिदिने भन्दै उनले भरत महत, खड्ग कार्की, दलबहादुर खत्री, सचिन थापा, विनील महर्जन तथा मजन मलाकारलाई ठगेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी ईश्वर कार्कीले बताए । “धेरैलाई यूके लगिदिने भन्दै पैसा उठाएको रहेछ, समय धेरै भयो, मानिसहरूले विश्वास गर्न छाडे । ऊ पनि भाग्न थाल्यो । अनुसन्धान गर्दै जाँदा ८ कक्षा पढेको भेटियो,” कार्कीले भने ।
वैद्यलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले डाक्टर भनेर देखाउने गरेको नक्कली कागजपत्रहरू ललितपुर प्रयागपोखरीमा रहेको कसमस प्रिन्टिङ सोलुसनबाट छपाएको खुलेको छ । प्रहरीका अनुसार अनुपले ६ जनाबाट ३१ लाखभन्दा बढी ठगी गरेको फेला परेको छ । पीडितहरू आउने क्रम जारी छ ।