काठमाडौं । सर्जक र स्रष्टा अनुबन्धित कृतिहरुलाई सहज माध्यमबाट दर्शक र स्रोतामाझ पुर्याउने र सिर्जना चोरी (पाइरेसी) नियन्त्रण गर्ने मूल उद्देश्यका साथ आज (सोमबार) एक कार्यक्रमबीच 'फोपी एप' सार्वजनिक गरियो । कार्यक्रममा यो भावलाई समर्थन गर्ने कलाकार, स्रस्टाहरूको राम्रो उपस्थिति देखिएको थियो ।
नेपाली मनोरञ्जन उपभोक्ताको माग र कला क्षेत्रमा आफ्नो मेहनतले चलचित्र, गीत, सिरिज तथा अरु सामग्री बनाउनेहरुलाई उचित लाभ हुने गरी यो एपले सेतुको काम गर्ने एप निर्माता 'आविष्कार टेक्नोलोजी'का प्रमुख कार्यकारी अधिकृत प्रशान्तराज कार्कीले बताए । "हाम्रा सर्जकहरू पाइरेकीका कारण कति पलायन भए, कति वैकल्पिक पेशामा लागे," कार्कीले भने, "उनीहरूलाई सधैं बचाइराख्ने हामी दर्शक र स्रोताले नै हो । उनीहरूलाई सिर्जनाबापत लाभ हुनै पर्छ । हामी त्यसकै लागि आएका हौं ।"
यो एपभित्र डाउनलोड गरिएका सामग्री कुनै पनि हालतमा अरु ठाउँमा सार्न र कपी गर्न नमिल्ने प्रविधि प्रयोग गरिएको छ । यो एउटा स्वतन्त्र माध्यम हो, जसमा मिडिया सामग्री बनाउने र वितरण गर्ने विभिन्न ठूला तथा साना संस्थाहरू आबद्ध रहेको उनले बताए । "यो एपमार्फत जो-कोही सर्जक, व्यक्ति अथवा मिडिया कम्पनी जोडिएर आफ्ना सिर्जना दर्शकमाझ पुऱ्याउन सक्छन्," उनले भने, "यो स्वतन्त्र र पारदर्शी माध्यम हो । आफ्ना सामग्री कतिपटक किनियो, त्यसबापत कति रकम प्राप्त भयो भन्नेसम्म जानकारी सर्जक वा कम्पनीले थाहा पाउन सक्छन् । कोही ठगिने गुन्जायसै छैन ।"
कार्कीका अनुसार 'फोपी'लाई तीन प्रकारले प्रयोग गर्न मिल्ने बनाइएको छ । सीधा एप डाउनलोड गरी वाईफाईबाट हेर्न मिल्छ । उपभोक्ताले चाहेका सामग्री एपबाटै किनेर हेर्न सक्छन् । अर्को, तोकिएको 'फोपी पसल'बाट उचित रकम तिरेर आफ्नो फोनमा सामग्री लोड गर्न सकिन्छ । यो सुविधा वाईफाई नभएको खण्डमा पनि प्रयोग गर्न सकिन्छ । तेस्रो, सार्वजनिक स्थलहरू (होटल, रेस्टुराँ, सवारीसाधन)मा 'फोपी हटस्पट' सञ्चालन गरिनेछ । यी ठाउँमा फोपीको वाईफाई हटस्पटमा कनेक्ट गरी फोपी चलाउन सकिन्छ ।
एप निर्माण कम्पनी आविष्कार टेक्नोलोजीले यो एपमार्फत सिर्जना चोरी पूर्णत: निषेध हुने विश्वास लिएको छ । कार्कीका अनुसार यसमा नयाँ तथा पुराना नेपाली चलचित्र, गीत, सिरिज, नेपाली साहित्यका उत्कृष्ट पुस्तक वा सिर्जनाको पोडकास्टलगायत अन्य मनोरञ्जनात्मक सामग्री एकै ठाउँमा हेर्न र सुन्न सकिन्छ । ती सामग्री किन्न पनि प्राविधिक रूपमा धेरै सरलीकृत गरिएको छ । मूल्य पनि न्यूनतम तोकिएको छ । सर्जकलाई पनि उनीहरूको योगदानअनुसार आर्थिक लाभ हुनेछ । सबै मिडिया सामग्री तीब्र गतिमा (टुजीमा समेत) डाउनलोड गर्न सकिन्छ । जहाँ बसेर पनि आफूले चाहेको गुणस्तरमा हेर्न सकिन्छ ।
'फोपी एप'का सामग्री किन्नका लागि पैसा तिर्ने माध्यमहरू पनि सरल बनाइएका छन् । प्रयोगकर्ताले सीधै आफ्नो मोबाइलको ब्यालेन्स र ई-सेवाबाट तिर्न सक्नेछन् । साथै, फोपी पसलमा गई 'फोपी ब्यालेन्स' पनि राख्न सकिनेछ । विदेशमा बस्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट माध्यम प्रयोग गर्ने सुविधा छ ।