site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सूचनै दिँदैनन् ‘सूचना अधिकारी’ 

प्रसङ्ग– १
उपत्यकामा विस्तार भइरहेका ९ वटा सडकसहित त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तारको प्रगति बुझ्न म केही दिनअघि सडक विभागअन्तर्गतको एउटा आयोजना कार्यालयमा गएको थिएँ ।

सरकारले उपत्यकामा सडक विस्तारका लागि कति रकम छुट्याएको थियो ? हालसम्म कति खर्च भयो ? सडकको प्रगति कति भयो ? सर्वोच्च अदालतले पीडितलाई मुआब्जा दिएरमात्र सडक विस्तार गर्नु भन्ने फैसला दिइसकेकाले विवाद नभएका स्थानमा सडक विस्तार गर्न के समस्या छ ? मैले यिनै प्रश्नको उत्तर खोजेको थिएँ । तर, त्यस आयोजनाका सूचना अधिकारीले यी जानकारी आफ्नो क्षेत्राधिकार बाहिरको बताउँदै आयोजना प्रमुखलाई नै भेट्न सुझाए ।

अनि तारन्तारको फोन र म्यासेजपछि आयोजना प्रमुखले २ दिनपछाडि भेट्नसक्ने बताए । उनले तोकेको समयमा म आयोजना कार्यालयमा पुगेँ ।  माथिका प्रश्न सोध्न सुरु गर्दै मैले गोजीबाट मोबाइल निकालेँ र उनको उत्तर रेकर्ड गर्न सुरु गरेँ । अचम्म त्यसको लगत्तै उनी अवाक् भए । 

Prabhu Bank
Agni Group
NIC Asia

“प्लिज रेकर्ड नगर्नुस्,” उनले निर्देशनात्मक शैलीमा भने, “यसरी रेकर्ड गर्ने त झारेझुरे पत्रकारले हो तपाईंमा कन्फिडेन्स छ भने लेखेकैले काफी हुन्छ, रेकर्डको जरुरी पर्दैन ।”

सूचना अधिकारी बोल्न नमान्ने, प्रमुख रेकर्ड नगर भन्ने । यस आयोजनाको काम कारबाहीमा पक्कै केही ‘असजिलो’ विषय छ भन्ने लाग्यो । तर उनी नखुल्ने डरले रेकर्ड गर्न किन नहुने ? भन्ने प्रतिप्रश्नतिर लागिन ।
‘स्रोतलाई नमास’ भन्ने पत्रकारिताको अन्तर्राष्ट्रिय मन्त्र सम्झिँदै विनम्र भावमा मोबाइलमा रेकर्ड अफ गरेर गोजीमा हालेँ ।

Global Ime bank

उनी भने प्रश्नलाई भरसक बङ्याएर बुझ्ने कोसिस गरिरहेका थिए ।  प्रश्न बङ्याएर बुझेपछि उत्तर पनि बङ्याएर दिन सजिलो हुन्छ । प्रश्न र उत्तरबीचको बेमेलले पत्रकारलाई नै झुक्याइदिन्छ । झुक्किएको पत्रकारले लेखेको समाचार पढ्ने पाठक पनि यसै झुक्किने भए ।

ती प्रमुखले मसँगको कुराकानीको अन्तिममा सडक विस्तारबारे धेरैतिर समाचार आइसकेकाले यसबारे लेख्नु कुनै नयाँ विषय नभएको बताए । तर, उनलाई कुन समाचार नयाँ, कुन समाचार पुरानो, कुन समाचार लेख्ने, कुन समाचार नलेख्ने यसबारे बोल्न खासै जरुरी थियोजस्तो लाग्दैन ।

सूचना लिन सरकारी (वा जुनसुकै) कार्यालय पुगेका पत्रकारलाई त्यहाँका सूचना अधिकारी वा प्रमुखले समाचारको ओझ र वजन, प्रभाव र महत्त्व बुझाउन जरुरी हुने भए सायद हाम्रा न्युज रुममा दैनिक राखिने मिटिङको अर्थ सायदै हुँदो हो ।

प्रसङ्ग– २
 

राजधानी सहरको स्थानीय सरकार भएकाले यहाँका नागरिकमात्र हैन यहाँ आउने सबैको सुविधाप्रति जिम्मेवार संस्था हो– काठमाडौं महानगरपालिका । तर, यस कार्यालयले गरेका, गर्दै गरेका र आगामी दिनमा गर्ने सूचना माग्दा तेस्रो प्रकारको सूचनाबाहेक अन्य सूचना पाउन निक्कै ठूलो सङ्घर्ष गर्नुपर्छ ।

महानगरपालिकाका हरेक कर्मचारीलाई थाहा हुन्छ – आगामी वर्ष कुन कुन स्थानमा कति पार्क बन्नेछन् ? कुन कुन स्थानमा फ्रि वाईफाई जोडिनेछ ? मोनेरेल र मेट्रोरेल अबको कति दिनभित्र गुडिसक्नेछन् ? 

परन्तु, अरू त अरू महानगरका प्रवक्ता, सहप्रवक्ता र सूचना अधिकारीलाई नै थाहा हुँदैन – रानीपोखरी सेनाले बनाउने विषयमा महानगरपालिकाले के निर्णय गर्यो ? २९ तले भ्युटावरको निर्माण किन रोकियो र कहिलेबाट बन्न सुरु हुन्छ ? कार्यालयमा कुल कर्मचारी संख्या कति हो ? र तिनले चढ्ने सवारीको मासिक खर्च कति हुन्छ ? बञ्चरेडाँडाको सेनिटरी ल्यान्डफिल्ड साइड एक दशकसम्म बनाउन नसक्नुको पछाडि कुन तत्त्वको भूमिका छ ? जस्ता प्रश्नको उत्तर ।

प्रसङ्ग– ३
 

केही महिनाअघि मेरा एक साथी सूचनाको हकसम्बन्धी कार्यक्रममा भाग लिन पोखरा जाँदै थिए । उनलाई त्रिभुवन विमानस्थलसम्म पुर्याउन जाँदा बाटामा सुनाएको एउटा रोचक सन्दर्भ सम्झिन्छु, “सूचनाको हकसम्बन्धी कार्यक्रममा म धेरैपटक सहभागी भइसकेको छु । मलाई थाहा छ पाँचदिनको कार्यक्रममा ट्रेनरले पुरानै कुरा दोहोर्याउने हुन् । तर, आयोजक एनजीओले नै बारम्बार मेल गरेर यातायात खर्च पनि दिने बताएपछि नाइँ भन्न सकिन ।”

ती साथीलाई कार्यक्रमको उपादेयता पहिले नै थाहा भइसकेको रहेछ । तरै पनि उनी ‘सूचनाको हक’सम्बन्धी कार्यक्रमका लागि आफ्नो कार्यालयको पाँचदिनको काम छोडेर सूचनाको हकसम्बन्धी कार्यक्रम धाइरहेका थिए ।  कतिपय अवस्थामा कार्यालय समयभरमा एउटा समाचार त लेखेकै छु नि भन्दै लुकेर रहेका विषयमाथि सम्बन्धित कार्यालयमा सूचनाको हक प्रयोग गर्न अनावश्यक ठानिरहेका हुन्छौँ ।

यी तीन प्रसङ्ग प्रतिनिधि उदाहरण मात्र हुन् । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका सबै मन्त्रालयमा सूचना अधिकारी तोकिएका छन् । सूचनापाटीमा चहकिलो अक्षरमा सूचना अधिकारीको कार्यकक्ष नम्बर र मोबाइल नम्बरसहित नाम, थर उल्लेख गरिएको हुन्छ । तर, तोकिएको कोठामा पुगेपछि ती ‘सूचना अधिकारी’ले यो जानकारीका लागि फलानो अर्याललाई भेट्नु, यो जानकारीका लागि फलानो खड्कालाई भेट्नु, यो जानकारीका लागि फलानो चौधरी र योसम्बन्धी प्रश्न फलानो राईलाई सोध्नु भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिँदा बल्ल थाहा हुन्छ – सूचनाको हक त संविधानका धारामा सीमित छ । सूचना अधिकारीले आफ्नो कार्यालयले गर्दै आएका काम कारबाहीबारे स्पष्ट सूचना नदिनुमा कार्यालय प्रमुखको गोप्य निर्देशन पनि कारक रहेको हुनसक्छ । तर, पदीय जिम्मेवारी र पेसाप्रतिको मर्यादा भुलेर सूचना अधिकारीले सूचना नदिँदा वा लुकाउँदा संविधानले दिएको सूचनाको हकबाट नागरिक वञ्चित हुने गरेका छन् । 

मन्त्रालयमा मात्र होइन सूचना अधिकारीको यस्तो अव्यावहारिक र गैरजिम्मेवार शैलीका कारण विभाग, महाशाखा, डिभिजन कार्यालय, आयोजना, समिति, कार्यदलबाट सहजै सूचना पाउनु गोरु गाडा चढेर अमेरिका पुग्नुजत्तिकै असम्भव छ ।
कार्यालय प्रमुख वा सूचनाको स्रोतमा रहेको तालुक निकायको निर्देशन वा ‘खटन’बाट निर्देशित सूचना अधिकारीले दिएको ‘सूचना’बाट बोक्रामात्र हात लाग्नसक्छ, गुदी होइन । 

खर्चमात्रै, व्यवहारमा छैन
 

जनआन्दोलन २०६२/६३ पछि बनेको संविधानले नेपाली प्रेस जगतलाई थप स्वतन्त्रता दियो । लेख, विचार, सम्पादकीय र विभिन्न रचनामार्फत आफ्ना धारणा राख्न नेपाली नागरिकलाई स्वतन्त्रता दियो । नेपालको संविधान, २०७२ ले सूचनाको हकलाई मौलिक हकका रूपमा स्थापित गरिसकेको छ । संविधानमा उल्लेख भएको यो हक नेपाली नागरिकले कत्तिको उपभोग गर्न पाइरहेका छन् त ? 

काठमाडौंको सिंहदरबारस्थित कृषि मन्त्रालयमा चिया खेतीसम्बन्धी के कस्ता कार्यक्रम सञ्चालन भइआएका छन् ? यसबारे नगदेबालीमा अग्रणी रहेको इलाम जिल्लाका बरबोटे, साखेजुङ र आमचोकलगायत गाउँका बासिन्दाले कत्तिको जानकारी पाउँछन् ?
सूचना मन्त्रालयले सूचनाको हकसम्बन्धी कस्ता कार्यक्रम गरिरहेको छ ? यसको सूचना नागरिकले पाएका छन् कि छैनन् ?

सूचनाको हकसम्बन्धी यसै वर्षभित्र काठमाडौंमा खोलिएका गैरसरकारीसंस्थाले के कति खर्चमा कुनकुन कार्यक्रम गरे ? यसले नागरिकलाई सूचना पाउन के कस्तो सुबिस्ता भयो ? यसबारे नागरिकले साँच्चै सूचना पाए त ? सूचनाको हकको व्यवस्था नेपालको संविधानको धारा २७ मा उल्लेख त गरियो तर यसलाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्नभने स्थानीय, प्रदेश र केन्द्रीय सरकार कसैले पनि चासो देखाएको पाइँदैन । 

सरकारले चासो देखाएको भए विभिन्न स्टार होटलमा आयोजना गरिने सूचनाको हकसम्बन्धी ‘जनचेतनामूलक’ कार्यक्रममा सरकारी कर्मचारीको दमदार उपस्थिति किन देखिँदैन ? यस्ता कार्यक्रममा धेरै भए मन्त्रालयका सचिव, सहसचिवसम्म उपस्थित हुन्छन् र कार्यक्रममा आइपुग्न नपाउँदै निस्किने चटारोका साथ विदेशी डोनरतिर औंल्याउँदै– बाँकी कुराचाहिँ उहाँहरुले भन्नुहुन्छ । भन्दै हतारका साथ ‘कार्यक्रमको महत्त्व र गाम्भीर्य’मा प्रकाश पारेर पन्छिन्छन् ।

सरकारको महत्त्वपूर्ण पदमा रहेका यस्ता सरकारी अधिकारीसमेत सूचनाको हक सम्बन्धमा सचेत र गम्भीर छैनन् । तर, विदेशी दाताले आयोजना गरेका ‘भव्य’ कार्यक्रममा भने उनीहरु नै सूचनाको हकको ‘महत्त्व र गाम्भीर्य’माथि प्रकाश पारिरहेका हुन्छन् ।

यसैले सूचनाको हकसम्बन्धी लाखौं खर्चमा जतिसुकै ‘भव्य’ गोष्ठी, कार्यशाला, अन्तक्र्रिया र तालिम सञ्चालन गरिए पनि सूचनाको हक उपभोगबाट नागरिक वञ्चित रहुन्जेल त्यस्ता कार्यक्रमको खर्च विवरण पश्चिमा मुलुकमा पठाउँदैमा उद्देश्य हासिल हुँदैन । 
  
 
 


 

    

 

 

  


 
  

     
 
 


   
  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०७५  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC