एक सच्चा सैद्धान्तिक भौतिक शास्त्री, दार्शनिक, चिन्तक तथा लेखक स्टेफेन हकिङ अब भौतिक संसारमा छैनन् । एक जना सच्चा भौतिकवादीको भौतिक अस्तित्व सकिएको छ । स्टेफेन हकिङको मृत्युमा ‘समवेदना युक्त दैवी उक्तिहरू लेख्न उनकै जीवनभरको प्रयत्न र प्रतिवादित सिद्धान्तविपरीत होला भन्ने लाग्यो । यसकारण ‘रेस्ट इन पिस’, स्वर्गवास, श्रद्धाञ्जली केही लेख्न पनि मन मानेन । स्टेफेन हकिङका कृति र प्रतिवादित सिद्धान्तको समीक्षा गर्ने हैसियत यस लेखकसँग छैन । तर, उनका केही कृति विशेषतः उनको ‘मास्टर पीस’ मानिने कृति ‘ब्रिफ हिस्ट्री अफ टाइम’ को पटकपटक अध्ययन गर्दा मलाई लाग्यो उनीप्रति मेरो पनि एउटा धारणा बन्न पुग्यो जसरी उनको भगवत् सत्ताप्रति धारणा निर्धारित थियो । यसैले यो लेख यत्तिमा केन्द्रित गर्न चाहन्छु । अर्थात् भगवत् सत्ताप्रति उनको आग्रह र उनका आग्रहप्रति मेरो धारणा ।
स्टेफन हाकिङले जे जति कृति दिए सैद्धान्तिक भौतिक शास्त्रलाई ती सबै त नपढेको हुँला तथापि जे जति पढे त्यति नै उनलाई बुझ्न भने काफी छ । उनको हरेक व्याख्या र सिद्धान्तको प्राक्सर्त छ – भगवान् अर्थात् ‘गड’को सत्ता छैन तर उनलाई लागेको रोग र यिनताकासम्मको दीर्घ जीवन स्वयं नै भगवत् चमत्कारभन्दा अर्काे विशेषणले बुझ्न सकिन्न । स्टेफेन हकिङमात्र हैन रिर्चडकिन्स, मिचियो काकु सबैले ईश्वरको सत्तालाई चुनौती दिएकै छन् । यसभन्दा अगाडि पनि ईश्वरले कम चुनौती पाएको हैन तर पनि ईश्वर अविच्छिन्न सत्तामय नै मानियो । मजस्ता सामान्य पात्रदेखि अमित गोस्वामी, गेरी जुकाभ, फिजोफ काप्राजस्ता दिग्गज लेखक र भौतिक शास्त्रीसम्मका लागि पनि ईश्वर सत्तासीन
रहिरहेछ ।
हकिङलाई साना मान्छेको सामान्य प्रश्न
१. जगत्का सम्पूर्ण भौतिक सत्ता दिक्कालवछिन्न छन् । यो भौतिक शास्त्रका सम्पूर्ण नियमहरूले स्वीकार्छन् । तब ती सम्पूर्ण भौतिक सत्ताहरूको अन्त्य पश्चात् के होला ? के त्यस पश्चात् पूर्ण असत्तामयता अर्थात् सबै शून्य हुन्छ । यो अवस्था वास्तवमा अस्तित्वान् हुनसक्छ । सम्पूर्ण सत्ता निषेध भएपछिको पूर्ण असत्तमयता हुन्छ । त्यसलाई शास्त्रीय भौतिक शास्त्रले शून्य अवस्था भन्छ । तर त्यसलाई क्वान्टम सिद्धान्तले मान्दैन । पूर्ण असत्तामयता हुनै सक्तैन भन्छ । सम्पूर्ण सत्ता समाप्त भएपछि न्यूनतम शक्ति अवस्था रहिरहन्छ भन्ने सैद्धान्तिक अडान छ क्वान्टम सिद्धान्तको यसलाई धेरैवटा सिद्धान्तबाट व्याख्या गर्ने कोसिस गरिएको छ । परिमाणस्वरूप क्वान्टम सिद्धान्त धेरै हदसम्म ‘प्याराफिजिक्स’ प्रतीत हुन्छ । यो सम्पूर्ण सत्ताहरूको लयको अवस्था के कस्तो होला ? त्यहाँ कुन चाहिँ अन्तिम सत्ता अस्तित्ववान् होला ? यो जिज्ञासा त वेद उपनिषद्देखि हकिङसम्म पनि जीवित प्रश्न रहिआएको छ । यसको उत्तर वेद उपनिषद्ले पनि खोज्ने प्रयत्न गरेकै हो र फिजिक्सले पनि खोजी नै रहेछ । यही प्रश्नको उत्तर खोज्ने क्रममा नोवेल पुरस्कार विजेता वैज्ञानिक सुब्रमण्यम चन्द्रशेखरको सिद्धान्त उल्लेख गर्नुपर्ने हुन्छ जो आफैँमा स्टेफेन हकिङका लागि एक प्रश्न थियो । उनका वैचारिक उत्तरधिकारीका लागि पनि प्रश्न रही नै रहेको छ ।
यो भौतिक जगत्को पिण्ड धर्मले युक्त सत्तामध्ये सबैभन्दा लामो आयु भएको सत्ता हो प्रोटोन जसको आयु १०३२ पृथ्वी वर्ष मानिछ । अब कल्पना गराैँ जगत्का सम्पूर्ण पीण्डधर्मी सत्ताहरू सकिदै जाँदा अन्ततः प्रोटोनमा परिणत भई प्रोटनमय जगत् पनि अन्तिम प्रोटेनको आयु सकिएपछि समाप्त हुनेछ । प्रोटोनमय जगत् समाप्त भएपछि के होला ? भौतिक शास्त्रको प्रष्ट उत्तर छ प्रकाशमय जगत् रहन्छ वा विद्युत् चुम्वकीय तरंगमय जगत् रहन्छ । विद्युत् चुम्वकीय तरंगको अस्तित्व यसको इष्ट अणीमा फोटनको कारणले छ । सबै भौतिक सत्ताहरू त आफ्ना इष्ट अणीमाका कारणले मात्र सत्तामय रहन्छन् । यो क्वान्टम सिद्धान्तको आधार हो सुव्रमण्यम चन्द्रशेखरका अनुसार फोटोनको पनि आयु छ । फोटोनको आयो १०९९ पृथ्वी वर्ष । जब प्रकाशमय युग पनि जगत्को पिण्डधर्मी सत्ताको प्रलय भएको १०९९ पृथ्वीवर्षपछि समाप्त हुन्छ तब कुन अवस्था रहला ? सुब्रमण्यम चन्द्रशेखरको उत्तर छ त्यो पूर्ण तममयता हुनेछ र सम्पूर्ण शान्त अवस्था हुनेछ अर्थात् अबसोल्याुट ब्ल्याक स्पेस एन्ड ग्रेट स्टिलनेस । त्यही जगत्को व्युत्पत्तिको प्राक् अवस्था हो र लयको अन्तिम अवस्था ।
अब चैतन्य सत्ताको विमर्शबाट केही तर्क सुरु गरौँ । इन्द्रीय चेतन भनेको मनुष्य मस्तिष्कमा अक्सिजनको आयोनाइजेसन भई उत्पन्न हुने तरंग हो अर्थात् तरंग धर्मभन्दा पर इन्द्रीय चेत छैन । प्रकाशको सत्ताभन्दा भर भौतिक सत्तामयता छैन । अब प्रश्न उठ्छ यो ‘ग्रेट स्टिलनेस’ भौतिक सत्ता चेतन सत्ता के हो ? यो उभय सत्ता हो ? त्यो निर्गुणता नै अन्तिम सत्ता चाहिँ हो । त्यो प्राक सत्ता हो । त्यसैबाट सृष्टि सुरु भयो र त्यसैमा सृष्टि लय पनि हुन्छ । त्यहीमात्र चिरन्तन सत्ता छ । के त्यस सत्तालाई भगवत् सत्ता मान्न सकिन्न ? यो प्रश्न हो हकिङ र उनका अनुयायीप्रति । (हुनत, म स्वयंलाई पनि हकिन्सको ‘फ्यान ’ नै मान्छु ।)
२. हरेक समय विन्दुमा जगत्को अवस्थिति अद्वैत रहन्छ । हरेक समयविन्दुमा हरेक सत्ताको रूपात्मकता अद्वैत रहन्छ । जगत्मा हरेक समय विन्दु पुनःप्राप्त हुन्न । जगत्मा हरेक समय विन्दु पुनः प्राप्त हुन्न । यही सिद्धान्तका आधारमा कुनै समय विन्दुमा यो लेखकलाई मारी दिऊँ । अब एउटा सुपर ल्याबोरेटरीको कल्पना गरौँ जहाँ मलाई समाप्त पारेको समय विन्दुमा मेरो शरीरको भिन्नभिन्न शक्तिको अवस्था र पिण्डको अवस्थाको प्रोन्ट रेकर्ड गर्न सकियोस् । अब एमिनो एसिडदेखि वंशाणु हुँदै मेरो शरीरको त्यही समय विन्दुको क्लोन निर्माण गरियो । त्यसपछि त्यो शरीर जुरुक्क उठेर मारिएको समय विन्दु अगाडिका मेरो सम्पूर्ण स्मृतिहरू धारण गरेर म नै भएर जीवन ग्रहण गर्न सक्ला नसक्ला ? यसमा एउटै उत्तर आउला सम्भव छैन । शरीर त्यही छ, सम्पूर्ण अंग प्रत्यङ्ग त्यही समयविन्दुमा जीवित रहदैंँका अवस्था छन् भने त्यो शरीरमा के नभएर ‘म’ निर्माण हुन सकेन ?
न्युटनियन फिजिक्स र माक्र्सीय दर्शनको खास विशेषता एउटै छ । यिनले जीवन र जगत््लाई भौतिक सिद्धान्तमा व्याख्या गर्छन् र बुझाउँछन् । अर्थात्, जीवन र जगत्प्रति यिनको सिद्धान्तलाई जीवन र जगत्को यान्त्रिक सिद्धान्त (मेकानिस्टिक प्रिन्सिपल अफ लाइफ एन्ड युनिभर्स) भन्न सकिन्छ । यस सिद्धान्तका सर्वाेत्तम व्याख्यातामध्ये एक हुन स्टेफेन हकिङ । यस सिद्धान्तलाई क्वान्टम सिद्धान्तका पनि कतिपय प्रमाणका आधारमा उनले प्रमाणित गर्ने कोसिस गरेका छन् । तर स्वयम् क्वान्टम सिद्धान्तले भने चेतन संलग्नताको सिद्धान्तलाई मान्न थालेको निकै भइसक्यो । यसले ठीक उल्टो अर्थात् जीवन र जगत्को जैविक दृष्टिकोण (अर्गानिक भ्यु अफ द लाइफ एन्ड युनिभर्स) को सिद्धान्तलाई स्वीकार गर्छ । यसैले क्वान्टम सिद्धान्तको यो दृष्टिकोणभन्दा उल्टो मान्यता राख्ने हकिङ माक्र्सीय भावभूमि र न्युटनियन सिद्धान्तको पूर्ण अनुयायीबीच खुबै लोकप्रीय पनि रहे ।
मैले हकिन्सलाई स्वर्गीय लेखिन । हकिङको सिद्धान्तमा स्वर्ग नरक छैन । नेपालीमा मृत लेखन मन लागेन । अंग्रजीमा चाहिँ उपयुक्त शब्द छ ‘लेट’ शब्दको अप्ठ्यारो पर्यो । यसर्थ दिवंगत लेख्नु उपयुक्त ठाने । दिवंगत हकिंसलाई प्रश्न गर्ने औकात त यो अकिञ्चनसँग थिएन तर यो जिज्ञासा भने लामो समयदेखि लेख्दै बोल्दै आएको थिएँ । उनको यही अवस्थाको बीचमा सम्पूर्ण सत्ता देखापर्छन् न ती पहिले थिए न पछि हुन्छन् । यो गीताको सिद्धान्त ‘अव्यक्तादिनि भुक्तानि व्यक्ता मध्यानि‘ सँग ठ्याक्कै मिल्न जान्छ ।
अब त्यो ‘ग्रेट स्टीलनेस’के हुन सक्छ ? यहाँनेर चाहिँ मेरो आफ्नै व्याख्या छ फ्रिजोफ क्याप्रा, जयन्त नार्लिकर, अमित गोस्वामिजस्ता भौतिक शास्त्री र अध्यात्म अनुशिलन कर्ताका तर्कका आधारमा । यो तर्क सत्यलाई सुरु गरौं फोटोनको परिभाषाबाट यो किन तर्क सत्य हो भन्ने प्रत्यक्ष अप्रत्यक्ष मनुष्य अवलोकनीयताको क्षमता प्रकाशको गतिसम्म मात्र रहन्छ । जो कुरा यहाँ सम्प्रेषण भइरहेछ त्यो प्रकाशको सत्ताभन्दा परेको कुरा हो अर्थात् ‘पोस्ट लाइट प्याराडाइम’ हो त्यसैले तर्क सत्य । जब अवलोकनीयताभित्र कुनै सत्य रहन्छ त्यो तथ्य सत्य हो । यसलाई शांकर वेदान्तको माया भनी बुझे फरक पर्दैन भन्ने मेरो मान्यता छ । फोटोनलाई क्वान्टम सिद्धान्तअनुसार ‘प्याकेट अफ इनर्जी’ अर्थात् शक्तिबीजको पुञ्ज भनिन्छ । यसमा दुईवटा धर्म रहन्छन् पुञ्जबद्धता (क्वान्टाइजेसन) र गति । जब यो स्वयं नै पुञ्जाणु हो भन्ने जुन बीज सत्ताको कारणले यो पुञ्जाणुको स्वरुपमा अस्तित्ववान् रहेको छ ।
यसको लय पनि त्यही बीजसत्तामा हुन पुग्छ । किनभने त्यो सत्ता त अक्षत सत्ता हो, सुब्रमण्यम चन्द्रशेखरले भनेअनुसार फोटोनको लयपश्चात् हुने महासन्नाटा भनेको त्यही बीज सत्ताको उपस्थितिमात्र हो । त्यो निर्गुण वा अद्वैत गुण सत्ता निसंज्ञ र अविशेषणीय छ । न पीण्डधर्म न प्रकाश धर्मले युक्त छ । तर, पनि असत्तामय हैन । त्यो अन्तिम सत्ता हो के ? सुब्रमण्यम चन्द्रशेखर त्यसबारे संज्ञाविहीन भएका छन् । पूर्वीय सर्वप्राचीन दर्शनले यो निर्संज्ञ स्थिति भए पनि मनुष्य चेतनाको सीमाको कारणले त्यसलाई भाषामा संज्ञा युक्त बनाउनुपर्ने हुन्छ । त्यसैले त्यसलाई ब्रद्धातत्व नामाकरण गरिएको छ । त्यो अन्तिम अवस्था ब्रह्ममयता हो । प्रकाशको सत्ताभन्दा परको परमसत्ता अस्तित्ववान् छ भनी केही वर्ष पहिले प्राध्यापक उदयराज खनालको खोज गणितीय व्याख्याका आधारमा आएको थियो र त्यो खोजका बारेमा प्राध्यापक खनालको ‘ब्रह्म जिज्ञासा’ भनी समालोचनात्मक आलेख त्यस लेखकको पनि आएको थियो कान्तिपुर दैनिकमा ।
यही परम सत्ताको खोज नै लाजे हयाड्रन कोलाइडरको पनि उदेश्य त थियो तर भौतिक यन्त्रहरूको क्षमता प्रकाशको गतिभन्दा पर कसरी पुग्ला भन्ने जिज्ञासा भने मजस्ता धेरैमा जीवित नै छ । जीवनान्तको सन्दर्भमा पुनः उल्लेख गर्नमात्र पुगेको छु । स्टेफन हकिङले बाइबल, तोराहसम्म त पढेको देखिन्छ धेरै ठाँउ तर वेद् उपनिषद्को प्रारम्भिक सूचनामात्र पनि उनीमा भएजस्तो मलाई लागेन । यस्तो भए ‘ब्ल्याक होल’ ‘डार्क म्याटर’ र ‘स्पेस टाइम सिगुलारिटी’ को व्याख्यामा कहीँ न कहीँ अनाहत÷अनादिनादको ठाउँमा आउन सक्थ्यो ।
सम्पूर्ण सत्ताहरूको व्युत्पत्ति पूर्वको अवस्थामा ऋग्वेदले भने झैँ ‘तम आसित.............को छनक कहीँ न कहीँ निस्कन सक्थ्यो । दिर्घकाल परिछिन्नताको सिद्धान्त कहीँ न कहीँ समयको लयमा आउन सक्थ्यो । समयको सापेक्षित अस्तित्व रहन्ञ्जेल जगत् रहन्छ, समयको लय अर्थात् दिक्काल एकाकारमा त जगत् नै परमसत्तामा लय हुन पुग्छ । यो अन्तिम लय अवस्थामा प्राप्त भएको अन्तिम सत्तालाई अर्थात् परमसत्तालाई भगवत् सत्ता मान्ने कि नमान्ने ? हकिङ्लाई मेरो मस्तिष्कमा यो आग्रह मेटेर कहिल्यै पढ्न सकिन । यो मेरो आग्रह हो वा उनको भगवत् सत्ता छैन भन्नेबाट मात्र भौतिक विज्ञानलाई प्रस्तुत गर्ने आग्रहको उपज हो मैले आजसम्म ठ्म्याउन सकेको छैन ।