site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
सेयर बजारमा लगानीकर्ताको रुवावासी
Agni Group
Global Ime bank
नेपाली सेयर बजारमा सधैँजसो यसपटक पनि लगानीकर्ताको रुवावासी सुरु भएको छ । बजारमा सेयरको मूल्य बढ्दा हर्षोल्लास र घट्दा रुवावासी गर्ने बानीलाई लगानीकर्ताले निरन्तरता दिएका छन् । यो रुवावासी र हर्षोल्लासले सेयर बजारलाई अप्राकृतिक वृद्धि र गिरावटतर्फ लैजाने निश्चित छ । बजारलाई उसकै नियमअनुरूप चल्न नदिने प्रयत्नले यसको विकास र वृद्धि झन् कठिन बनाउनेछ । 
नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा सरकार गठन भएपछि १ हजार ८८१ मा पुगेको सेयर बजार परिसूचक नेप्से अहिले करिव २०० अंक जतिले करेक्सन भएर तल झरेको छ । एक वर्षको अवधिमा नेप्से इन्डेक्स डबल भएको तथ्यलाई बिर्सेर सेयरको मूल्य बढाउन लगानीकर्ता अर्थमन्त्रीकोमा डेलिगेसनसमेत गइसकेका छन् । माओवादीसँग तर्सेकाले बजारमा सेयरको मूल्य  घटेको पक्कै हो । तर मूल्य बढाउन लगानीकर्ताले ‘डेलिगेसन’ जाने होइन । बजारको विकासका एजेन्डा लिएर लगानीकर्ता अर्थमन्त्रीकोमा गएका भए कति राम्रो हुन्थ्यो । तर लगानीकर्ताले त्यसो गरेनन् । 
सेयरको मूल्य केही करेक्सन हुँदा लगानीकर्ताले धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीको पनि उछित्तो काटे । कार्कीले कालोधनको छानबिन गर्न समिति गठन गरेकाले बजार घटेको लगानीकर्ताको तर्क थियो । लगानीकर्ता महोदय, अवैधरूपमा कमाएको कालोधन कहीँ पनि लगानी गर्न पाइँदैन । बोर्डले यस्तो धन सेयर बजारमा लगानी भए÷नभएको छानबिन गर्न गठित समितिको त लगानीकर्ताले स्वागत पो गर्नुपथ्र्यो । यसले बजारलाई स्वस्थ्य र पारदर्शी बनाउने थियो । तर, उल्टै दबाब दिएर त्यो समिति खारेजै गराइयो । यसले बजारलाई सकारात्मक सन्देश दिएन । 
कार्की आफैं विश्व अर्थतन्त्र बुझेका बोर्डका उच्च पदाधिकारी हुन् । उनले राष्ट्र बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, नेपाल स्टक एक्सचेन्जमा काम गरिसकेका छन् । उनले अहिले बजारको विकासकै लागि बोलेका हुन् । बजारमा सेयरको मूल्य धेरै बढ्यो, साना र नयाँ लगानीकर्ता सचेत हुनु भन्ने बोर्डको निर्देशन शतप्रतिशत ठीक थियो । तर, यसको पनि विरोध भयो । 
यस अवस्थाले लगानीकर्ताले बजारमा सेयरको मूल्य बढाउनमात्रै खोजेको देखिन्छ । सेयरको मूल्य त दीर्घकालमा बढ्ने नै हो । नेप्सेको इन्डेक्स २००० हँुदै ५००० पार गर्दै उकालो लाग्ने नै छ । तर यो वृद्वि एक महिना वा एक वर्षमा हुुनुपर्छ भन्यो भने गलत हुनेछ । यस वृद्विका लागि न्यूनतम आधार तयार भएको बजार हुनुपर्छ ।  
बजारमा सेयरको मूल्य बढाउने हो भने नेपालको सेयर मार्केटलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्छ । अहिले त नेपालको सेयर बजार राजनीतिकरूपमा उत्तर कोरिया विश्वबाट अलग्गै बसेजस्तो छ । नेपाली सेयर बजार विश्व अर्थतन्त्रमा नजोडिएर अहिलेसम्म अलग टापु बनेको छ । सेयर बजारलाई विश्व अर्थतन्त्र जोड्ने अनलाइन कारोबारले हो । खोइ यसका लागि पैरवी गरेको ? 
बजारमा उत्पादनमूलक क्षेत्रका कम्पनी आउन सकेकाछैनन् । यस्ता कम्पनीको सेयर सर्वसाधारणलाई विक्री गर्ने विषयमा खोइ बहस गरेको ? डेलिगेसन गएर त यस्ता विषय पो उठाउनुपर्ने हो । यी एजेन्डाले बजारको विकाससँग सेयरको मूल्य बढने बढाउने गर्नेछ । 
बजारमा सेयरको मूल्य बढेपछि घट्नै पर्छ नत्र यो दिगो हँुदैन । तर एक वर्षको अवधिमा नेप्से इन्डेक्स डबल हँुदा खोइ करेक्सन आएको ? उदाहरणका लागि इन्डेक्स १०० अंकले बढेपछि ८० अंक घटेर फेरि बढ्यो भने २० अंकको वृद्वि दिगो हुन्छ । लगातार बढेको बढ्यै भयो भने बजारमा सेयरको मूल्य भने घट्दा पनि त्यसैगरी ह्वात्तै घट्छ । 
विसं २०६५ सालमा ११७५ पुगेको इन्डेक्स २९२ मा यस्तै कारणले झरेको हो । लगातार बढेको बजार माओवादी ठूलो दल भएर सरकारमा आएपछि निरन्तर घट्यो । अहिले फेरि त्यस्तै चाहेको हो भने लगातार वृद्विको पक्षमा लाग्नु ठीकै होला । होइन, भने बजार बढेपछि घट्नै पर्छ । अनिमात्रै फेरि बढ्छ । घटबढसहितको बजारमा नयाँ र साना लगानीकर्ताका लागि जोखिम पनि कम हुन्छ । 
अहिले बजारमा कारोबार रकम पनि घट्नु भनेको सकारात्मक होइन । यसले बजार अझै घट्ने संकेत गर्छ । तर, अहिलेको बजार विगतको तुलनामा केही फरक छ । विगतमा म्युचुअल फन्डको लगानी सेयर बजारमा थिएन । यस्तो संस्थागत लगानीको अभावमा बजारलाई टेवा दिने ठाउँ नै थिएन । अहिले बजारमा वाणिज्य बैंकहरूले स्थापना गरेका फन्ड छन् । यिनको टेवाले बजार विगतको जसरी घट्नै सक्दैन ।
जसले जति अस्वीकार गरेपनि माओवादीसँग केही पँुजी भएकाहरू डराउँछन् । विगतको डर अझै कायम छ । पैसा हुने नै बजारका लगानीकर्ता हुन् । लगानीकर्तालाई विश्वासमा नलिने र झन् डर थप्ने काम सरकारले गर्दैगयो भने बजार तीव्रगतिले घट्नेछ । सरकारले लगानीकर्तालाई विश्वासमा लिन सक्यो र त्राश पैदा गरेन भने बजार पहिलेकै जसरी निकै तल नआउन सक्छ । यसैले लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन् । 
अहिले कम्पनीले वर्षभरको नाफाको विवरण सार्वजनिक गरेका छन् । बजारमा एक हजार मूल्य भएको कम्पनीले कति नाफा बाँड्न सक्छ भन्ने तथ्यांक अनुभवी र विशेषज्ञता भएका लगानीकर्ताले मात्रै केलाउन सक्छन् । सबै लगानीकर्ताले तथ्यांक केलाउँदैनन् । धेरैजसो लगानीकर्ताले बजार बढे सेयर किन्छन्, घट्यो भने सेयर विक्री गर्छन् ।  
दुई अर्ब चुक्तापुँजी भएको कम्पनीले एक अर्ब नाफा कमाएर ५० प्रतिशत लाभांश घोषणा गर्छ । एकसय रुपैयाँको सेयरका किन्नेका लागि यो लाभांश ५० प्रतिशत अर्थात् ५० रुपैयाँ हो । बजारबाट कम्पनीको सेयर एक हजार रुपैयाँमा किन्नेले पनि पाउने ५० रुपैयाँ नै हो । एक हजारमा सेयर किन्नेका लागि यो लाभांश पाँच प्रतिशत हुन आउँछ । 
बजारमा लगानी गर्दा सावाँ नै गुम्न सक्छ । यस्तो जोखिम मोलेर पाँच प्रतिशत रिटर्नका लागि लगानी अहिले हुनुको मुख्य कारण बैंकको निक्षेप र कर्जाको ब्याज कम हुनु हो । जब ब्याजदर माथि जान्छ सेयरको मूल्य घट्नेछ । लगानी गर्नेले आम्दानी कता बढी हुन्छ र जोखिम कता कम छ भन्ने हेरिहाल्छ । 
कम्पनीको वास्तविक तथ्यांक विश्लेषण गरेर सेयर बजारमा लगानी गर्नेको संख्या निकै कम छ । अझ बजार बढेको देखेर कमाउन आएका नयाँ लगानीकर्तामा त ‘रेट अफ रिटर्न’ भन्ने कुन चराको नाम हो थाहा नै छैन । जे भएपनि बजारलाई अप्राकृतिकरूपमा बढाउने र घटाउने काम छोडेर यसको विकासका लागि लगानीकर्ताको ‘लबिङ’ हुनु आवश्यक छ । बजारमा सेयरको मूल्य बढाइदेऊ भनेर रुवावासी गरेर भाउ बढ्दैन । यसका लागि बजारको विकासका एजेन्डा अगाडि ल्याउन सक्नुपर्छ ।  
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७३  १०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC