site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खुट्टामा बन्चरो

करिब महिना दिनअघि नयाँ दिल्ली जान नेपाल वायुसेवा निगम (आरए) को प्लेनमा बसेको के थिएँ आरएका एक इन्जिनिएरले आएर अगाडि बस्न कर गरे । अगाडि सिट खाली छ आउनुस्, आउनुस् भन्दै लगेर बिजनेस क्लासमा बसाए । उनीसँग औपचारिक चिनजानमात्र भएकाले नाईं भन्न पनि सकिन । मलाई साह्रै अप्ठेरो लाग्यो । भर्खरैमात्र भेट भएका पर्यटन व्यवसायी तथा कवि रामकाजी कोने दम्पत्तिलाई बिजनेस क्लासमा हेलो गर्दै इकोनोमी क्लासमा खुसी भएर बसेको थिएँ । तुरुन्तै कोने दम्पत्तिभन्दा अगाडिको सिटमा गएर बस्न मजा लागेन । त्यो बिजनेस क्लासको फराकिलो सिटले सजिलोभन्दा देशको ध्वजावाहक कसरी ठगिएको छ भन्ने पीडाबोधले असहज भयो । खाली जाने बिजनेस क्लासमा किन नचढ्ने भन्ने पनि एकथरीको सोच होला । तर, पहुँच भएकाहरू इकोनोमी क्लासको टिकट किनेर करिब दोब्बर महँगो बिजनेस क्लासमा चिनजानको आधारमा नै चढ्न पाउने भएपछि किन तिर्थे बढी पैसा ? अनि डुब्दैन त हाम्रो ध्वजा बाहक !

थाइल्यान्डको थाई एयरवेज र आरए एकै वर्ष सुरु भएको भए पनि हामी दुई तीन जहाजमा खुम्चिएर बसेको दशकौं भइसक्यो उता थाइले भने संसारभर आफ्नो पखेटा फैलायो भनेर आफैले कैयौं पटक लेखेको संझना आयो । उता मेरो अप्ठेरो महसुस गरेर चढाउने व्यक्तिले अरू पनि यसरी नै चढ्छन् भनेर सान्त्वना दिए । मैले मनमनै भने — आफूले यसरी सुख सुविधा लिएको कारण नै हामी आफ्नो खुट्टामा आफैँ बन्चरो हान्दै छौँ । हामी आफैँ देश बिगार्दै देश कसैले बनाएन भनेर रोइलो गाउँदै हिँड्छौँ । यस्तै सानातिना कुरामा देशको माया गरे पो समग्रमा देश राम्रो बन्छ । कमजोरी हामी सबैमा छ तर दोष अर्कोलाई दिँदै हिँडछौँ ।

आज मैले इकोनोमी क्लासको टिकट किनेर बिजनेस क्लासको आनन्द सित्तैमा लिएँ भने म र मेरो देश बिगार्ने मेरा नेतामा के फरक भयो ? मैले पनि सकेको फाइदा लिएँ, तिनले पनि सकेको फाइदा लिएका त हुन् । मैले मेरो चिनजानको दुरुपयोग गरेँ, तिनले आफ्नो अधिकारको । हाम्रो क्षमताअनुरूप मेरो फाइदा कम भयो होला, तिनले देशै सखाप पारे होलान् । तर, कामको प्रकृति त एउटै हो । अर्थात्, कुनै बजेट नभएको कार्यालयमा चर्पी सफा गर्ने पाँच लिटर फिनेलमा दस लिटर पानी थपेर १५ लिटरको बील बनाएर भ्रष्टाचार गर्नेले नेताले आफ्नो कलम घुमाएर १५ करोड भ्रष्टाचार गर्दा गाली गर्ने नैतिक शक्ति प्राप्त गर्दैन । कुरै गर्ने हो भने, हामीमध्ये करिब ९० प्रतिशत व्यक्ति कुनै पनि नेतालाई गाली गर्ने हैसियतमा छैनौ । तर, जुन १० प्रतिशत व्यक्ति नैतिकवान छन् साँच्चिकै ती को हुन् भनेर कसैले चिन्दैन । त्यसैले सबैजना आफूलाई नैतिकवानको खोलले छोपेर ठूला कुरा गर्छौँ ।

Prabhu Bank
Agni Group
NIC Asia

विद्यालयमा चिट चोर्नुलाई अधिकांश विद्यार्थीले ठूलो बहादुरी ठान्दासम्म पुराना नेताले भएन अब नयाँ नेतृत्व चाहिन्छ भन्नु हँसियाले भएन चुलेसीले घाँस काट्नुपर्छ भनेजस्तै हो । आफ्नो जीवनपर्यन्त लोकतन्त्र र जनताका अधिकारका लागि लडेका नेताहरूको त देश लुटान अभियानमा यस्तो प्रतिस्पर्धा चलेको अवस्थामा नयाँ जोगीको कुरा के गर्नु ? त्यस्ता सयौँ उदाहरण छन् जहाँ हामी आफूले फाइदा पायौँ भने नियम, कानुन, व्यवस्था, नैतिकता, स्वच्छता, सही आचरण आदिलाई तुरुन्तै बिर्सिदिन्छौँ । आफूले नियम तोड्न नपाएमात्र डाहा गर्ने हाम्रो स्वभाव नै भइसक्यो । आफूलाई मिले नक्कली लाइसेन्स लिए पनि भयो, नक्कली प्रमाणपत्र लिए पनि भयो, नक्कली बिहे दर्ता गराए पनि भयो, नक्कली नाता प्रमाणित गरे पनि भयो, नक्कली लालपुर्जा भए पनि चल्यो, नक्कली डाक्टरको प्रेस्क्रिप्सन बनाए पनि भयो तर अरूबाट आफूलाई सबैथोक सक्कली चाहियो । नेताले राम्रो काम गर्नुपर्‍यो, जनता विवेकशील हुनुपर्‍यो, बाटोमा अरूले ठाउँ छाड्नु पर्‍यो, मन्दिरमा अरू लाममा बस्नुपर्‍यो । आफू पाए अलकत्रा पनि खाने तर अरुलाई मह काढ्दा पनि हात नचाट भन्ने हाम्रो बानीले देश बिग्रेको हो । देशका लागि सोच्नेले मह काढ्दा हात पनि चाट्नुहुन्न । अलकत्रै धोक्ने कुरा त अत्यन्त लज्जास्पद नै हो ।

यो सबै उपदेश लेखकले मात्र होइन पाठक सबैले दिन सक्छन् । मौका पाएको बेला नैतिकताको पाठ बिर्सिदिने समस्यामात्र हो । आफूले पाए जे पनि गर्ने तर अरूले सबैथोक ठीक गरुन् भन्ने बानी सपार्नु पर्‍यो । आफ्ना लागि अरूले गरिदिउन् भन्ने सोच त्याग्नु पर्‍यो। देशको चिन्ता भए केही गर्न आफैँ अगाडि सर्नुपर्‍यो । हामी जोखिम अरूले उठाउन् र फाइदा हामीलाई होस् भन्ने ठान्छौँ । अगाडि अरू सरुन् र बेथिति सुधारुन् भन्ने चाहन्छौँ । यस्तो बानी र व्यवहार हुँदासम्म बेथितिको अन्त्य हुँदैन ।

Global Ime bank


अहिलेको हाम्रो अवस्था ’गाउँका मुखिया बाटो ...’ भएकाले यस्तो भएको हो । तर, हामी जनता भने नेतृत्वमा सही व्यक्ति नपठाई देश परिवर्तन हुने सपना देखेर बसेका छौँ । हामी राजनीतिक दलसँग कति दह्रोसँग टाँसिएका छौं कुन्नि चाहेर पनि छु्ट्न सकिरहेका छैनौ । मेरो बाजेदेखि फलानो दलको समर्थक भन्नु ’गर्व’ हैन ’हीनता’ हो । हामी गलत सोच र गलत प्रवृत्तिको पछि लागुन्जेलसम्म नेतृत्वको बद्ख्वाईं गरेर जीवन नै सिध्याए पनि देशमा परिवर्तन हुँदैन । त्यसैले नेतृत्वमा सही व्यक्तिलाई ल्याउन सबैले प्रयत्न गर्नु पर्दछ । राजनीतिक विचार र राजनीतिक धार अहिलेको संविधानले धेरै धुमिल पारेको छ । अब विकास र समृद्धि तथा कानुनको शासनको बाटोमा हिँड्न विवादरहित व्यक्तित्त्वलाई चुन्ने निर्णय लिनसक्नु परेको छ । 

आउँदो मंसिर १० गते केही पहाडी जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा उमेदवार हुन चाहने व्यक्ति तथा दलले धमाधम मनोनयन दर्ता गराउँदै छन् । यिनमा केही उमेदवार अनेकौं प्रपञ्च गरी धन कमाएर अब त्यही धनका आडमा सत्तासँग नजिकिन उमेदवारी खरिद गरेर आएका पनि छन् । यिनले अपनाएको गलत प्रवृत्तिलाई नामोनिसान मेट्नेगरी लत्याउने बेला यही निर्वाचन हो । तर, अपसोच हामी त्यसो गर्ने वाला छैनौ । हामी बदमास, फटाहा, शक्तिको दलाल र जस्तोसुकै अमानवीय कर्म गरेर पैसा कमाएको भए पनि प्रभावशाली भनिएको दल र व्यक्तिकै पछि हिँड्छौँ । हामीलाई भोलि कस्ले जागिर लगाइदेला भन्ने पीर छ । त्यसैले गलत व्यक्तिलाई जिताएर उसको झोले हुन रुचाउँछौँ । 

लोकतन्त्रमा व्यक्ति दल वा वादको ’गुलाम’ बन्यो भने लोकतान्त्रिक पद्धति बलियो हुँदैन । लोकतन्त्र वा राष्ट्रियतामै खतरा भए कुनै दल, नेता वा समूहलाई आँखा चिम्लेर समर्थन गर्नुपर्ने हुनसक्छ तर सामान्य अवस्थामा दलको बन्धन चुँडालेर व्यक्तिलाई गुणदोषका आधारमा समर्थन र विरोध गर्न सक्नुपर्छ । नेपालको संविधान, २०७२ ले नेपालमा लोकतान्त्रिक अधिकारलाई संस्थागत गरेको छ । यसैले सामान्य अवस्थामा कुनै दलले जित्दा वा हार्दा लोकतन्त्र समाप्त हुन सक्तैन । 

कुनै पनि दलले यस संविधानलाई मानेर अघि बढ्दासम्म लोकतन्त्र संकटमा पर्दैन तर अयोग्य र भ्रष्ट व्यक्तिलाई नेतृत्वमा पुर्‍याउँदा देशको अस्मिता सधैँ संकटमा पर्छ । त्यसैले यस्तो अवस्थामा दललाई हैन व्यक्ति र सही प्रवृत्तिलाई मतदान गर्नुपर्छ । देशमा मतदाता शिक्षाका लागि करोडौं खर्च भए पनि हामीले सही नागरिक चेत मतदाताको मनभित्रसम्म पुर्‍याउन सकेका छैनौ । माथिल्लो तहमा मिलाप भयो भने चितवनमा माओवादीकी रेणु दाहाल पनि मेयरमा चुनिन्छिन् र पत्रकार महासंघमा पनि लोकतान्त्रिक पत्रकारकै मद्दतले गोविन्द आचार्य अध्यक्षमा निर्वाचित हुन्छन् । अब गोविन्द आचार्यलाई मतदान गर्ने पत्रकारले उनीबाट लोकतन्त्रका लागि खतरा हुन्छ भनेर लेख्ने नैतिकता हुन्छ ? हामी विचारले चल्ने विवेकशील प्राणी बन्नुपर्छ संवेदनाहीन राजनीतिक गोटीमात्र हैन ।

निष्कर्षमा, जबसम्म यो लेखकले बिजनेस क्लासमा गएर बस्ने अनुरोधलाई नाईं भन्न सक्दैन तबसम्म अरूको व्यवहारमा परिवर्तनको आशा पनि राख्न पाउँदैन । परिवर्तन गर्नसक्ने मौकामा अलमलिनु वा अरूले परिवर्तन ल्याइदेओस् भन्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC