काठमाडौं । चितवनको भरतपुरमा हत्या गरिएका अनिल परियार नेपाली कांग्रेसको वाग्मती प्रदेश प्रतिनिधि भएको चितवन कांग्रेसले जनाएको छ ।
आइतबार साँझ करिब ७ः३० बजे भरतपुर महानगरपालिका–७, कृष्णपुर खेलमैदाननजिक अज्ञात समूहले परियारमाथि धारिलो हतियार प्रहार गरेको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आज प्रेस विज्ञप्ति जारी गर्दै हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘‘निर्वाचन प्रचारप्रसारको सिलसिलामा खटिरहेका एक युवा व्यक्तित्वमाथि सुनियोजित तरिकाले सांघातिक आक्रमण गरी निर्मम तरिकाले हत्या भएको घटनाले चितवन कांग्रेसलाई स्तब्ध बनाएको छ । उक्त घटनाप्रति नेपाली कांग्रेस चितवन खेद प्रकट गर्दै घटनाको यथास्थिति सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडाभन्दा कडा सजाय गर्न सम्बन्धित निकायमा जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।