बाह्रखरी
भर्खरै
Ncell inner sticky
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
लोकतन्त्रमा तानाशाहको जन्म कुलचन्द्र वाग्ले
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, जेठ १३, २०७८
Laxmi Bank
Laxmi Bank

सरकार चलाउने धेरैजसा प्रणाली एकाधिकारवादी र तानाशाही प्रकारकै छन् । लोकतन्त्रमात्र यसको अपवाद हो । लोकतन्त्र पनि मूलतः व्यवहार हो शब्द त उच्चारणमात्रै । अन्य प्रणालीको दार्शनिक धरातल नै तानाशाही दीक्षित छ । लोकतन्त्र भनियोस् कि प्रजातन्त्र यो प्रणाली चाहिँ विविध कोणबाट जनमुखी प्रमाणित भएको छ । तर, लोकतन्त्रको भद्रता वा लचिलोपन भने सवैसत्तावादी सोचको सरकार सञ्चालकलाई पनि उर्वर हुने रहेछ । 

त्यही भएर प्रजातन्त्रमा साध्यमात्रै होइन साधन पनि असल र स्वच्छ चाहिने मान्यता राखिन्छ । खराब साधन उपयोग गरेर असल साध्य प्राप्त हुँदैन र भएमै पनि त्यो क्षणिक र परिणाममा घातक हुन्छ । किनभने खराब साधन रोज्नेहरुको मनोवृत्ति साध्यलाई पवित्र बनाउन इमानदार हँुदैन । बाटै खराब, खराब बाटो हिँड्नेमा सुसंस्कारको कल्पना ‘मृग मरिचिका’ हो । 

उल्लेख गर्नैपर्छ, प्रजातन्त्रको प्रायः सबै मान्यताविपरीत देखिने कम्युनिस्ट विश्वास चाहिँ साधान जस्तो भए नि साध्य राम्रो भए पुग्छ भन्ने हो । राजनीतिमा अपवित्र साधनलाई पनि अनुमति दिने कम्युनिस्ट ‘दर्शन’का अनुयायीहरु अवसरवादी, विकृत र धोकेबाज भएका हुन् । किनभने साध्य राम्रो फलाकेर बाँकी जे गरे पनि भयो । राम्रो साध्यको नाममा आएको अवसर यिनका लागि बकुल्लोले माछा टिप्ने ध्यानजस्तै न हो । दुनियाँको अनुभवले देखाएकै छ । 

Duber nepal

Agani Group

राजनीतिको केन्द्रीय साध्य जनता लक्षित उपलब्धि र देशहित मानिन्छ । यसको साधन दल, नेता र नीति हुन् । नेता नीतिहीन भए दलसमेत व्यर्थ हुने रहेछ । नेताहरू नीतिविपरीत हुनपुग्दा लोकतन्त्र नै धरापमा पर्ने देखिएको छ । नीतिको वस्त्र त्यागेपछि निर्लज्ज राजनीति सुरु हुन्छ । लोकतन्त्रको उपहास गर्न थाल्छ र सरकार सञ्चालक त्यस्तो नेताले लोकतन्त्रको लचिलो संवेदनामाथि बलात् तानाशाही अभद्र हरकत सुरु गर्छ । 

नेपालमा अहिले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको तानाशाही हरकतले लोकतन्त्रको शोषण त भएकै छ ‘स्वघोषित’ (संसद्ले विश्वास नगरेको) प्रधानमन्त्री उनले जनताको कष्टलाई राजनीतिक स्वार्थमा दोहनसमेत  गरेका छन् । 

प्रधानमन्त्रीमा आसीन भएदेखि नै अरुको अस्तित्वलाई अस्वीकृत र तिरस्कृत गर्दै आएका ओलीले त्यो कुर्चीमा पुर्याउने सहकर्मी कम्युनिस्टहरूकै उछित्तो काढ्न देश, लोकतन्त्र र जनतालाई जोखिममा धकेली दिए । डेढ वर्षदेखि कम्युनिस्टहरूबीचको प्रत्यक्ष झगडाले सिर्जित कष्टको भारी जनताको थाप्लोमा थामी नसक्नु भएको छ । यो झगडा कम्युनिस्ट ओलीको तानाशाह, एकाधिकारवादी अधिनायक हुने महत्त्वाकांक्षाको परिणति हो ।

नारामा लोभिएर सुन्दर साध्यको कल्पनामा नागरिकले साधन (सरकारको नेतृत्व) असल छान्न चुक्नुको परिणाम नै एमाले ओलीको चयन हो । जनता तावाबाट उछिट्टिएर भुङ्ग्रोमा खसे । साधन खराब हुदा साध्य बिथोलियो र ओलीले सत्ता स्वार्थलाई नै साध्य बनाउन थाले । लोकतन्त्रको दुरुपयोग गरे । जनताको आशा र आवश्यकतालाई ठाडै उपेक्षा गरिदिए । 

नीतिमा भनिन्छ — सुपात्रलाई दान दिनु । मतदाता नेपालीले कस्तो पात्रलाई मतदान गरेछन् ? आफैँतिर फर्किएर सोच्न सन्देश पाएका छन् ‘जनार्दन’ भनिने जनताले  । जनमतले नै पदमा पुगेका पनि अनेक तिकडम गरेर पदमा टाँसिइरहन त सक्छन् तर तिकडमले विश्वास र सम्मान चाहिँ आर्जन हुँदैन । विश्वास र सम्मान व्यवहारले आर्जन हुने हो । उदाहरण खोज्न अन्त जानु पर्दैन हाम्रै मुलुको विचित्र चित्रले प्रस्तुत भएकै छ । 

यतिबेला तानाशाही प्रवृत्ति प्रदर्शित गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओली र यसको पहरेदारी प्रस्तुत राष्ट्रपति नै स्वयं सम्मान स्खलित गर्ने व्यवहारका प्रतीक हुन् । एमाले अध्यक्ष ओली त सुरुदेखि नै स्वेच्छाचारी पुष्टि भएकै हुन्, राष्ट्रपतिको भूमिका पनि संवैधानिक सर्वोच्चताको प्रतिकूल भएबाट लोकतान्त्रिक प्रणाली धरापमा पुर्याइएको छ । 

संविधानले सुविधा, सम्मान दिएर अभिभावकीय संरक्षक मानेको राष्ट्रपति जब कुनै स्वेच्छाचारी शासकको रक्षाकवच वा लाचार छाया बन्न जान्छ तब लोकतन्त्र शब्दमा मात्र सीमित हुन्छ । जनताको करबाट सेवा, सुविधा र सम्मान लिएर पनि जनताको सम्मान गर्न नखोज्ने शासकहरू तानाशाह नै हुन् । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना कृत्यको समीक्षा गरे हुन्छ । नागरिकले मिथ्या आरोप लगाएका हुन् कि उनीहरू आफ्नो दायित्व प्रतिकूल चलेका हुन् ? स्वयं देख्नेछन् । 

सबै विचार, संस्कृति र नागरिकको अभिभावक मानिने पदीय दायित्वलाई अपहेलना गर्दै कुनै तानाशाही मनसुवालाई मलजल गर्न हरदम तयार हुने राष्ट्रप्रमुख लोकतन्त्रको लचिलो परिवेशमा तानाशाह जन्माउने कारण हुन्छ वा स्वयं तानाशाह बन्छ । नेपाल यतिबेला यसको अपवाद रहेन ।

उदाहरणमा लोकतन्त्रकै जगमा जन्मिएका विश्वका तानाशाह र अधिनायकवादीलाई प्रस्तुत गरिन्छ । एक पात्र जर्मनीका एडोल्फ हिटलर पनि हुन् । यस्ता उदाहरण अन्तः खोज्नुपर्दैन, नेपालमै छन् । राजा महेन्द्र लोकतन्त्रकै आधारशिला भत्काएर सर्वाधिकार भए । केही वर्ष भए पनि राजा ज्ञानेन्द्रले त्यही बाटो पछ्याए । उनी जोगिएनन् बेग्लै हो तर लोकतन्त्रको जग ध्वंश गरेर अजेय, अमर शासक हुने उग्र आकांक्षा यी बाबुछोराले प्रदर्शित गरेकै हुन् । अहिले केपी ओलीले निर्धारित गरेको स्वपथ पनि त्यही हो । 

कम्युनिस्ट प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई आफ्नो स्वार्थमा उपयोग गरिरहेका छन् । राष्ट्रपति पनि संविधान र लोकतन्त्रको मर्यादा खुइल्याएर व्यक्तिको पदाशक्तिमा निर्लिप्त समर्पित देखिन्छिन् । सर्वोच्च अदालतमा परेका मुद्दाहरूले पनि यही बुझाएका छन् । त्यसै त मुद्दा परेनन् होला । 

राष्ट्रपति हुनुपर्ने कसको संरक्षक ? तर दल र दलमा पनि ‘ग्याङ’ को र त्यसमा पनि खास व्यक्ति विशेषको ? दुर्भाग्य ! पदासीन यस्ताले लोकतन्त्र, संविधान र नैतिक मूल्यको चिरहरण त गर्छन् नै जनताको कष्टलाई राजनीतिक स्वार्थमा भजाउने रहेछन् । 

कम्युनिस्ट नेता ओलीले कोरोना महामारीलाई पनि पद रक्षाको हतियार बनाए । जतिबेला सतर्क हुनुपथ्र्यो, उपचार सामग्री र व्यवस्थापनका लागि समय थियो, त्यतिबेला आँखा चिम्लिएर रोग फैलन दिन राज्य संयन्त्रलाई निस्क्रिय बनाए । सीमा नाकाबाट विना परीक्षण, निर्वाध प्रवेश र दुई दिनअघि सूचना दिएर निषेधाज्ञा (कफर््यु) लागू । यही माध्यम सहरबाट फर्किएर गाउँ गाउँ, समुदाय र घरघरमा कोरोनाले अनियन्त्रित प्रवेश पायो । 

रोग थामी नसक्नु फैलियो, अनि यही हतियार निषेधाज्ञा लगाउन, लम्याउन र थप कठोर पार्न प्रयोगमा ल्याइएको छ । खाद्यान्न किन्नसमेत रोक लगाए । उपचार सामग्री जोहो गर्नु त परै विदेशी दान दातव्यकै भरोसामा जीवन बिते, बिताइए । जनता पीडित बनाइए । सरकार प्रायोजित भ्रष्टाचार र आर्थिक अपचलनका थुप्रै घटना सार्वजनिक भए तर जनताको उपचारका लागि खर्च गर्न मुठ्ठी कस्यो ।

उपचार सेवाको अग्र पंक्तिमा रहेका स्वास्थ्यकर्मीलगायतलाई दिने भनिएको भत्तासमेत नदिएको घटना सार्वजनिक भएकै छन् ।

पुगेन यतिले भने स्वास्थ संकटकाल घोषणा गर्ने अध्यादेशमा लालमोहर लगाइसकेका छन् । भय दोहनको निषेधाज्ञा र संकटकालको तानाबाना सरकारी बदनियत विरोधी राजनीतिक गतिविधि रोक्न प्रयोग गरिने लक्षण सार्वजनिक भइरहेकै छ । 

निषेधाज्ञा उल्लंघनको आरोपमा कठोर दण्ड सजायको नयाँ प्रावधानको सरकारी उद्देश्य यही हो । हेर्दा, भन्दा जनताको जीवन रक्षाका लागि तर भित्री उद्देश्य चाहिँ राजनीतिक स्वार्थ रक्षाको हतियार समेत । 

आफू र राष्ट्रपति मिलेर जे गर्यो त्यही नै लोकतन्त्र र गणतन्त्र हो भन्ने खालको परिभाषा दिन थालेका छन् प्रधानमन्त्री ओलीले ।

मानौं, गणतन्त्र र लोकतन्त्र यिनीहरू नै हुन्, यिनकै स्वार्थेच्छा हो । लोकतन्त्रमा पनि जन्मिने रहेछ त लोकतन्त्रको लचिलो प्रणालीलाई दुरुपयोग गरेर तानाशाह । राष्ट्रपति र प्रधानमन्त्रीले दिएको ‘अ’ राजनीतिक संकेत यही हो । 

दुई दुई पटक संसद् विघटन । निर्वाचन गराउने गफ । प्रत्येक तानाशाहले यस्तै गर्छन्, चुनाव भन्छन् तर तिनले चुनाव गराउँदैनन् । अनेक बहाना खोजेर मिति सारिरहन्छन् र गराए पनि कस्तो चुनाव ? दुनियाँले देखे, भोगेकै छ तानाशाह मञ्चित चुनाव । केपी ओलीको गूढार्थ पनि यही, यस्तै हो, लोकतन्त्र दुरुपयोग गरी तानाशाह बन्ने ।                     
 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, जेठ १३, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्