पहुँचवालाको घरघरमा अक्सिजनका सिलिन्डर । सांसद र मन्त्रीले सिलिन्डर लिए । सांसदले अक्सिजन सिलिन्डर बाँडे ।
अस्पतालमा अक्सिजनको अभाव । अक्सिजनको अभावमा बिरामीको मृत्यु । यस्तै यस्तै समाचारले व्यापकता पाइरहेको छ कोरोना कहरको यो महामारीमा नेपालमा । महामारीले पीडा त दिएकै थियो नेपालीको मनमा । यस्ता समचारले चुक लगाउने काम गरिरहेको छ । समाधानको त कुुरै नगराैँ संकट जति थपिदै जान्छ यो प्रवृत्ति झन् बढ्दै जाने देखिन्छ । अनन्त समयसम्म ।
स्वास्थ्य क्षेत्रका निकायले गर्नुपर्ने कार्य गैरस्वास्थ्यका मानिसहरुले गरेको देख्दा र सुन्दा हाम्रो देशको बेथितिको झल्को दिने रहेछ । यसले हाम्रो व्यवस्थापन पक्षमा रहेको कमीकमजोरी उदांगो गराउँदो रहेछ ।
बजेट बनाउने बेलामा, विभिन्न आयोजनाहरु राख्ने वा देशमा असहज स्थिति आउने बित्तिकै द्विपक्षीय र बहुपक्षीय स्रोतबाट अनुदान र सहयोगका लागि सरकारले हात थाप्ने तर आफ्नो आन्तरिक स्रोत र साधन भने फजुल खर्च, स्रोतसाधन दुरुपयोग र अनावश्यक खर्चमा भने नियन्त्रण गर्नेतर्फ ध्यानै नदिनु / दिन नखोजनुलाई राम्रो पक्कै मानिदैन । यी पक्षमा सुधार गरी हामीसँग रहेका स्रोत साधनको वैज्ञानिक व्यवस्थापन गरी प्रयोग गर्नु जरुरी देखिन्छ । यही पक्षमा सुधार गर्न सकिएमा सानातिना समस्या आउनेबित्तिकै वाह्य देशतर्फ हात फैलाउनपर्ने थिएन ।
देशमा असहज स्थिति छ तर जिम्मेवार वा उच्च पदमा बसेको पदाधिकारीले नै आफू र आफ्नो परिवारबाहेक अरुलाई देख्दै नदेख्ने गलत र लज्जास्पद क्रियाकलाप गर्ने र यसलाई स्थापित गरेको देख्दा हामीलाई दुखित तुल्याउने रहेछ । हिजो एक पोका नुन, एक किलो चिनी, एक बोरा चामल, एउटा ग्यास सिलिन्डर, एकाध किलो आलुले आफ्नो दैनिकी चलाएका हामी देशमा केही असहज स्थिति देखापर्ने बित्तिकै घरमा आवश्यकताभन्दा बढी सामान थुपार्न प्रतिस्पर्धा गर्न थाल्छाैँ । यसले समस्यालाई झन् थप्ने काम गरेको पाइन्छ । नागरिकबाट हुने यस्ता गलत प्रवृत्ति अन्त्य नहुन्जेल सबै क्षेत्रमा साधनको अभाव देखिनेछ । यस महामारीमा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या पनि यही गलत प्रवृत्तिले उत्पन्न गराएको हो । सरकार र सरकारका निकायले नागरिकबाट विश्वास जित्न नसक्नुको कारणको रुपमा यस पक्षलाई लिनुपर्छ । भूकम्प र नाकाबन्दीमा देखिएको उपभोग्य वस्तुको अभावलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । हामीसँग उपभोग्य सामानको अभाव होइन त्यसको सही व्यवस्थापन र नियन्त्रण नभएको कारण यस्तो हुने गर्छ ।
स्वास्थ्य क्षेत्रका विज्ञले कोरोनाको यो अवस्था आउने पहिले नै सरकारलाई जानकारी गराएका थिए । तर, सरकार सत्ता टिकाउन, उद्घाटन र शिलाान्यासमा रमाइरह्यो । जिम्मेवार विपक्षी राजनीतिक दलहरु मुकदर्शक भए । अस्पताल, बेड र अक्सिजन सिलिन्डरको खोजीमा दौडधुप गर्न थालेपछि समस्या आँखाअगाडि आयो । अस्पतालमा बिरामीले बेड नपाउने, अक्सिजनको अभावमा छटपटाएपछि यसको व्यवस्थापनमा लाग्ने ? यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ । हामीसँग भएको साधनको उचित व्यवस्थापनमा लाग्नु जरुरी देखिन्छ ।
उपयुक्त र समयअनुकूल व्यवस्थापन प्रणालीको अभ्यास नगरी शक्ति र पहुँचको प्रयोग गरेकै कारण अहिले अक्सिजनको यस्तो अभाव भएको देखिन्छ । हामीसँग साधनको अभाव होइन । त्यसको वितरण, अनुगमन पक्ष कमजोर भएका कारण कतै प्रशस्त मात्रामा अक्सिजन सिलिन्डर र कतै हाहाकार देखिएको हो । यस्तो बेलामा व्यक्तिव्यक्तिको घरमा सिलिन्डर थुप्रिनु र अस्पतालमा बिरामीले ज्यान गुमाउनुले हाम्रो व्यवस्थापन पक्षको कमजोरीलाई प्रस्टयाएको पाइन्छ । हामीले स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने, कृत्रिम अभाव गराउनेलाई कडाभन्दा कडा कारबाही गर्न नसक्नुले पनि अप्ठेरो स्थितिमा यस्ता लजास्पद र अमानवीय घटना हुने गरेको पाइन्छ ।
कोरोना खोपमा पहुँचवाला र नेताका नजिकका मानिसले मापदण्डविपरीत लगाउन पाउनुलाई बेथितिको रुपमा लिन सकिन्छ ।
यो महामारीमा अक्सिजन र अस्पतालमा शय्या नपाउनुमा पनि भोट र कमिसन जोडिनु नेपालीको दुर्भाग्य हो । यसको प्रत्यक्ष प्रभाव निमुखा र पहँुचबाहिरका वर्गमा पर्नेगरेको पाइन्छ ।
कोरोनाको पहिलो लहरमा मास्क र स्वास्थ्य सामग्रीको अभाव, अहिले दोस्रो चरणमा अक्सिजनको अभाव हुनुमा साधनको कमीमात्र कारण होइन । हाम्रो व्यवस्थापकीय क्षमतामा भएको कमजोरी हो ।
असहज स्थितिमा पहुँचवाला मालामाल हुने र सर्वसाधारण कतै पहुँच नभएकाहरुको बिचल्ली हुने संस्कारको अन्त्य हुनुपर्छ ।
अक्सिजनको सिलिन्डरको वितरण प्रणालीमा सुधार गर्नुृ जरुरी देखिन्छ । घरघरमा राख्नका लागि अथवा व्यक्ति विशेषलाई नदिई सिधै अस्पतालमा दिने व्यवस्था गर्नु जरुरी छ । अस्पतालमा पनि मान्छे र पहुँच हेरेर हैन आवश्यकता हेरेर अक्सिजनको प्रयोग गर्नुपर्छ । सामान्य बिरामी पनि पहुँचका आधारमा अस्पतालको शय्या ओगटेर बस्ने प्रवृत्ति देखिएकोे र गम्भीर समस्या भएकाले समेत अस्पतालमा बेड नपाउने अवस्था अहिले देखिएकोले यसको अन्त्य प्रकारको व्यवस्थापन हुनु जरुरी देखिन्छ । यसका साथै अस्पतालले बिरामीको अवस्था हेरेर भर्ना लिने अभ्यास अपनाउनु जरुरी हुन्छ । कमिसन, कालोबजारी, कृत्रिम अभाव देखाउने र राजनीतिक आडमा गरिने अक्सिजन लुटजस्ता कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न नसक्नु राज्यको कमजोरी हो ।
राजनितिक शक्तिका आडमा गरिने यस्ता विकृतिको अन्त्य गर्न सकिएमा अहिले देखिएका समस्याको अन्त्य हुन सक्छ । यी पक्षमा सुधार गर्न सकिएमा स्वास्थ्य प्रणालीमा देखिएको बेथितिको अन्त्य हुने देखिन्छ ।