प्रसंग नेपाली राजनीति / लोकतन्त्रको नियतिको हो । बुद्धको देश, सगरमाथाको देश, वीर गोर्खालीको देश, कहिल्यै कसैको गुलाम नभएको देश भन्नमा गर्व गर्छौँ हामी । प्रकृतिक दृष्टिले दुनियाँमा हाम्रोजस्तो सुन्दर देश कमै छन् । तैपनि यस देशमा लोकतन्त्र र राजनीतिक स्थिरता किन हुन सकेन ? सात साल यता कुनै सरकार के कारणले पूरा अवधि टिक्न सकेनन् ?
विकासले किन फड्को मार्न सकेन ? एक्काइसाैं शताब्दीमा आइपुग्दा दुनियाँ कहाँ पुगिसक्यो हामी भने अस्पतालमा एउटा बेड र अक्सिजन नपाएर मर्न बाध्य छाैँ । यो नेपालको नियति हो वा हाम्रो नेतृत्वको अक्षमता ? यो लेख भिन्न कोणबाट यी विषयलाई हेर्न सकिन्छ कि भनेर छलफलका लागि राख्दै छु ।
पुर्खाहरुले ठीकै भनेका रहेछन् – हाम्रो देश दुई ढुंगाबीचको तरुल हो । के भूराजनीतिका कारण हामीले यो नियति भोग्नु परेको हो त ? त्यस्तो हो नै भने पनि दोष चाहिँ हामी आफैँले लिनुपर्छ । कतै हामीले तरुलको महत्त्व, बुझ्न र बुझाउन सकेनौ कि ?
छिमेकका दुवै मुलुक भारत र चीन भूगोल र जनसंख्याको हिसाबले हामीभन्दा धेरै ठूला छन् । एउटा बत्तीस र अर्को पचास गुणा ठूलो । नेपाल जहाँ छ, जस्तो अवस्थामा छ त्यसबाट हामी न आफ्नो भूगोल सार्न सक्छाैँ न नयाँ छिमेकी बनाउन सक्छौँ । यही वातावरणबीच आफ्नो अस्तित्व बचाइराख्ने र दुई ठूला छिमेकीबाट लाभ उठाउनेबाहेक अर्को विकल्प छैन । यस्तो स्थितिमा भयभित हुन आवश्यक छैन । हरेक मुलुकले आफ्नो राष्ट्रिय हितमा काम गर्न खोज्नु नौलो विषय होइन । नेपालको सन्दर्भमा हाम्रा छिमेकीको चासो पनि त्यही हो । यी दुई छिमेकीले आफ्नो चासो सम्बोधन गर्ने क्रममा नेपालले साँढेको जुधाइमा बाच्छाको मिचाइको नियति भोग्नु परेको छ । भारत र चीन दुवै विश्वका शक्तिशाली देशका रुपमा उदाइरहेका छन् ।
उनीहरुको चासो नेपालको आन्तरिक मामिलामा दखल दिनेभन्दा पनि वाह्य शक्तिको प्रभाव रोक्ने र आफ्नो राष्ट्रिय हितको प्रवर्धन गर्नेमा केन्द्रित देखिन्छ । यसलाई कसैले अस्वभाविक मान्न मिल्दैन । दुवै छिमेकीको चासो बुझेर ती मुलुकको राष्ट्रिय सुरक्षा र हितलाई सम्बोधन गर्दै उनीहरुको विकास र समृद्धिको लाभ उठाउने नीति बनाउँदा छिटै हामी पनि सम्पन्न देश बन्न सक्छाैँ ।
नेपाली राजनीति मूल विषयमा प्रवेश गर्न सकेकै छैन । जसरी पनि सत्तामा पुग्नैपर्छ भन्ने नेतृत्व र आफू समर्थकलाई जिताएर लाभका पदमा पुग्न चाहने बौद्धिक समुदायले कहिल्यै देशको बृहत्तर हितमा ध्यान दिएको पाइँदैन । त्यही कारण नेपाल विगतदेखि नै छिमेकीहरुको खेल मैदान थियो र छ । हामीले उनीहरुलाई प्रेम, सद्भाव र विश्वास दिन सकिरहेका छैनौ । अमुक दल र नेताको लहडका आधारमा तय हुने तथा सत्ता फेरिनासाथ बदलिने विदेश नीति त्यसका लागि प्रमुख कारक होजस्तो लाग्छ ।
क्षणिक राजनीतिक लाभका लागि छिमेकीलाई गाली गर्ने, समर्थन र विरोध गर्ने प्रवृत्तिले पनि हामीलाई कमजोर बनाइरहेको छ ।
अनि हाम्रा आन्तरिक मामिलामा ‘माइक्रो म्यानेजमेन्ट‘ तहसम्म उत्रिन उनीहरुलाई वाध्य बनाउने काम भइरहेको छ । यस्ता सबालमा पर्याप्त बहस, छलफल गरी हाम्रो राष्ट्रिय हितलाई केन्द्रमा राखेर ठोस नीति बनाउन जरुरी छ ।
हरेक छ छ महिनामा सरकार बदलिने र कुनै सरकारले पूरा कार्यकाल काम गर्न नपाएको नियतिलाई हल्काफुल्का रुपमा लिने तहको बौद्धिक गरिबीबाट माथि उठ्न सकिएन भने हाम्रो नियति अहिलेभन्दा फरक हुनेछैन ।
यतिबेला कोरोना महासंकटले सिंगो विश्वलाई आक्रान्त बनाएको छ । ठूला, साना, शक्तिशाली, कमजोर सबै मुलुक यसको चपेटामा छन् । तर, हामी र उनीहरुबीच एउटा भिन्नता छ । त्यो के भने – दुःखसुखमा साथ दिने अविभावकका रुपमा उनीहरु सरकारको साथा पाउँछन् । हामीले सबै आफँैले सहनुपर्छ । त्यहाँका जनता र बौद्धिक वर्ग कामको आधारमा सरकारको आलोचना र प्रशंसा गर्छन् । हामी आस र त्रासको आधारमा त्यो काम गर्छौँ । त्यहाँ सबै सेवा सरकारले दिन्छ । त्यहाँ नागरिकले आफ्नो काममा केन्द्रित भएर कर्तव्य पूरा गरिदिए पुग्छ ।
सूचना प्रविधि उन्नतिले सिंगो संसारलाई खुम्च्याएर एउटा सानो मोबाइलमा सीमित गरिदिएको छ । विश्व के गर्दैछ भन्ने पलपलका सूचना हामी सहजै लिनसक्ने अवस्थामा छाैँ । तैपनि, हामीले बौद्धिक क्षमताको प्रयोग गर्न सकिरहेका छैनौ । आफ्नो धरातल कला, संस्कृति, परम्परा र इतिहासको सम्मान गर्न सकिरहेका छैनौ ।
संसारमा आफ्नो विगतबाट पाठ सिक्दै राष्ट्रिय आवश्यकता सम्बोधन नगरी समृद्ध भएको कुनै मुलुक छैन । हामीले युवा पुस्तालाई त्यस बारेमा प्रशिक्षित गर्नसकेका छैनौ । राष्ट्रियता र आत्मगौरवका गाथा उनीहरुलाई पढाइन्छ तर ऐन मौकामा नेतृत्व त्यसको कार्यान्वयनमा चुक्छ । नेतृत्व आफूले गरेका वाचाअनुरुपको व्यवहार र जीवनशैली अपनाउँदैन । फलस्वरुप, युवा समूहले मुलुकमा आफ्नो भविष्य देख्दैन र माध्यमिक शिक्षा सक्दानसक्दै विदेश जाने, उतै पढ्ने, काम खोज्ने र उतै बस्ने सपना देख्न थाल्छ । कमजोर आर्थिक स्तर भएका युवा देशमा श्रमको मूल्य पाउँदैनन् र कतार मलेसियालगायत खाडी मुलुकमा पसिना बगाएर परिवार पाल्न बाध्य हुन्छन् ।
शिक्षा, स्वास्थ्यका लागि बर्सेनि विदेशमा ठूलो रकम गएको छ । कृषि प्रधान देशमा ठूलो परिमाणमा खाद्यान्नसमेत आयात भइरहेको छ । देशभित्र दुई तीन वर्ग छन् । एउटा शासक, अर्को हुनेखाने र अनि नहुने । शिक्षा, स्वास्थ्य र रोजगारी पनि शासक र हुनेखाने वर्गको वरिपरि छ । जनसाधारणलाई भोट बैंकका रुपमा प्रयोग गर्नेबाहेक नेतृत्वले महत्त्व दिएकै छैन । निष्ठा, सिद्धान्त नभएको राजनीतिक नेतृत्व र बौद्धिक क्षेत्रको गरिबी नै नेपाल अघि बढ्न नसक्नुको मुख्य कारण हो ।
त्यसैले यस मुद्दामा अब एउटा राष्ट्रिय बहस आवश्यक छ । हाम्रा दुवै छिमेकीको राष्ट्रिय हितविपरीत नजाने राष्ट्रिय नीति बनाऊँ ।
ती मुलुकका उद्यमी व्यवसायीलाई लगानीको वातावरण बनाऊँ । उद्योग धन्दा खुले भने रोजगारी र उत्पादन दुवै बढ्छ । त्यसले राष्ट्रिय अर्थतन्त्रको निर्माणमा सघाउ पुग्छ ।
कोरोना महामारीले सिकाएको छ । हाम्रो खानपान, रहनसहन र संकृति अनुरुपको जीवन पद्धति नै उकृष्ट रहेछ भन्ने । त्यसलाई प्रवर्धन गराैँ । शिक्षा र स्वास्थ्यमा भएको निजी प्रभुत्व अन्त्य गराैँ । राजनीतिलाई जनताको सेवा गर्ने पवित्र पेसा बनाऊँ ।
युवा पुस्ताले विश्वको अनुभव लिएर एउटा नयाँ बहस सुरु गर्नु पर्यो जसले नेपालीको बौद्धिक क्षमता अभिवृद्धि गर्न सकोस् ।
विगतका कमी कमजोरीबाट पाठ सिकेर अघि बढ्न प्रेरित गर्न सकोस् । विश्वविद्यालय र अनुसन्धान संस्थाहरुलाई सबल बनाउनु पर्यो ।
तिनले अध्ययन, अनुसन्धान र अन्वेषण गरी देशका आवश्यकता र प्राथमिकता पहिचान गर्न सकुन् । त्यसैलाई आधार बनाएर सरकारले नीति बनाओस् । त्यसैको आधारमा हाम्रो देशको बौद्धिक जग निर्माण होस् । अनिमात्र सुन्दर, शान्त र समृद्ध नेपाल बनाउन सम्भव हुन्छ । जनता खुसी हुनेछन् । राजनीतिक स्थिरता आउनेछ ।