site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रमेश श्रेष्ठका दुई कविता

पृथ्वीलाई सम्बोधन
               
पर्ख, 
एकैछिन पर्ख मेरो पृथ्वी !
म तिमीलाई
हाम्रो समयको खुंखार हत्यारासँग 
चिनजान गराउँछु,

ग्रन्थले उल्लेख गरेका देवताहरूको
अघोर चरित्र देखेपछि
असुरहरूको जस्तो जीवनशैली 
मन पराउँदै गरेका मानिसहरू
दिन दाहाडै व्यहोराका दाह्रा र नंग्रा देखाउँछन्
नृत्यको महिमा नंग्याएरै
सडक सडक नाचिरहन्छन्,
साँझ उनीहरूलाई असाध्यै प्यारो लाग्छ
बिहानदेखि नै पर्खिरहन्छन् उनीहरू
साँझको आगमन र रक्ताम्य पाइलाहरूलाई,

बाइबलमा उल्लेख भएको मूलपात्र
आफैँ खाँबोमा किला ठोकिएर
झुन्डिएको देखेकाहरूले
फेरि बौरिएर ईश्वर भएको सुनेपछि
खबरका पानाहरू नै च्यातेर हिँड्न
तयार भएका छन्
मुखले मिठो बोलेर
रंगमञ्चको लाटो पात्रले
छुरा बोकेर हिँडेझैँ गरी
बिहानै उठेर सपना खोज्दै गरेकाहरूको कानमा
मात्र बाँडिरहन्छन् सपनाका बिटाहरू,

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कुरानका पानाहरूका छायाबाट ब्युँझिएका 
हतियार र हतियारधारीहरूको
तडक–भडक र सिकार खेल्ने प्रवृत्तिमा 
प्रभावित भएर
पछि–पछि लागिरहेकाहरू
आफ्नो जीवनको लालपुर्जाको मूल्य पनि राख्दैनन्
अरूको जीवनको लालपुर्जाको पनि हेक्का राख्दैनन्
मात्र उनीहरूलाई थाहा छ
एकबारको जुनीमा जीवन लिनु र दिनुको
अँध्यारो अन्धकार
तर,
अन्धकारमा सत्य देखिँदैन भन्ने थाहै नपाई
रहरको चन्द्रमाको पिङमा 
चचहुई खेल्दै बसिरहन्छन्,

उता सुनका धम्मपदहरू पढेर
समृद्घिका याचना गरिरहेकाहरू
किन बजाउँछन् शान्तिको बाँसुरी
यिनीहरू जहाँ हुन्छन् बगरेटोल त्यहीँ हुन्छ
अरूलाई मार्न लगाएर खानेहरूको
लोभलाग्दो नाटक देखेपछि
मानिसहरू हावामा भात पकाउने इच्छाले
बाँसको टुप्पोमा कसौँडी बसालेर
फेदमा आगो फुकिरहेका हुन्छन्
चुनावमा नउठ्ने शान्तिको प्रचार गर्दै
प्रक्रिया मिलाउँदै रहन्छन्
कौला गरिरहेकाहरूको मिठो जीवनशैलीले
शब्दमा शान्तिको मन्त्र जप्दै गरेको देखेपछि
धेरैलाई फेरि लखनउ लुट्ने इच्छा जागिरहन्छ,

तिमी त सधैँ सबैलाई बोक्दै घुमिरहन्छौ
पर्ख न एकैछिन पर्ख मेरो पृथ्वी !
म तिमीलाई
हाम्रो समयको खुंखार हत्यारासँग
चिनाजान गराउँछु,
कसैको हत्याका लागि
तिमीले पनि गर्न सक्छौ उसलाई आमन्त्रण 
र मारिदिन सक्छौ
माकुराहरूले आमालाई मारेझैँ
सर्पले बच्चाहरू मारेझैँ,

मलाई थाहा छ तिमी पनि बन्न सक्छौ 
उनीहरू मारिनुअघि नै
यो समयको खुंखार हत्यारा
जब तिमी चुनावमा जित्नेछौ,
प्रत्येक चुनावमा मेरो पृथ्वी घुमिरहन्छ
सधैँ घुमिरहन्छ, उस्तै घुमिरहन्छ ।

० ० ०

स्वप्न रेखा

आँसुको समुद्रमा
सारंगी बजेको सुनेपछि
ब्युँझेर आइपुगेको छु म
कविताको ठूलो चोकमा,

के थिएन र मेरो देशसँग
मन्दिर, मस्जिद, चर्च, गुम्बा
र स–साना नानीहरूका आँखाको गीत,
के थिएन र मेरो देशसँग
कला, साहित्य, संगीत, संस्कृति
र जीवन बुन्ने जागृति धूनहरू,
के थिएन र मेरो देशसँग
कानुन, कर्तव्य, कसम, कर्मठता
र विकास पर्खिरहेको निधारको पसिना,
के थिएन र मेरो देशसँग
हिमाल, वन जंगल, खोलानाला, सुनौला फाँट
र आमाको सपना,

किन डराउनुहुन्थ्यो बा रातसँग !
किन हराउँथिन बहिनी उमेर नपुग्दै !
किन भाग्थे भाइ झिसमिसेमै !
किन रुनुहुन्थ्यो आमा
साँझको घामजस्तै पहेँलिएर !
मालिक तर्साउनेहरू नै मालिक भइ गएपछि
सपना बाँड्नेहरूले नै सपना खाइदिएपछि
आफ्नाहरूले नै पराईलाई आफ्नो ठानिदिएपछि
जीवनको मध्याह्नमा
मौनता छाउँदोरहेछ,
अक्षरका आँखाहरू समुद्र रोएझैँ हुँदोरहेछ,
करोडौँ आँसुका बाफहरूले
साँझ धमिलो भएको रङमा
चराहरू उड्न रोकिएपछि
देश मर्न सक्ने सम्भावित भयले
अगाडि नै मौनधारण गरिरहेका
अनेकौँ तस्बिरहरू देखेपछि
स्तब्ध ढुंगोजस्तो भएँ म,

प्रिय देश !
ब्युँझेर आइपुगेको छु म
कविताको ठूलो चोकमा
आँसुको समुद्रमा
सारंगी बजेको सुनेपछि ।

(पोखरा)


 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ०७:१४
प्रतिक्रिया दिनुहोस्