site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खनाल–नेपाल समूहका तीन 'बटमलाइन'

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले आफूहरूले उठाएका विषयमा बलियो भएर अघि बढ्ने निष्कर्ष निकालेको छ । शुक्रबार दिउँसो बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकले सो निष्कर्ष निकालेको नेता सुरेन्द्र मानन्धरले जानकारी दिए । 
उनी बैठकमा वागमती प्रदेशबाट आफ्नो धारणा राखेका थिए ।

उक्त समूहले तीन बटमलाइन अघि सारेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जेठ २ को स्थायी कमिटी बैठक बोलाउनुपर्ने 
खनाल–नेपाल समूहले २०७५ जेठ २ गतेको स्थायी कमिटी बैठक बोलाउनुपर्ने माग अघि सार्ने भएको छ । मानन्धरका अनुसार स्थायी कमिटीले केन्द्रीय कमिटी लगायतका बैठकको तय गर्नेछ ।

खनाल–नेपाल समूहले जेठ २ गते अघिको कमिटी संरचनामा फर्कनुपर्ने माग राख्दै आएको छ । बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको भेटवार्तामा त्यही संरचनामा कसरी फर्कने भन्ने तय गर्नका लागि कार्यदल बनाउने सहमती भएको थियो । ओली पक्षले फागुन २८ गते र त्यसपछि एकपक्षीय रुपमा निर्णयहरू गरेका छन् । उक्त समूहकाे जेठ २ अघिकै स्थायी कमिटी बैठक बोलाउन माग गर्ने भएको हो ।

पार्टीलाई  एकीकृत बनाउने 
उक्त समूहले ओली पक्ष एकताका लागि नै लचिलो भएको भए आफूहरु पनि त्यही अनुसार अघि बढ्ने निष्कर्ष निकालेको छ । आजको बैठकमा कतिपय नेताहरुले ओलीले झुक्याउन खोजेको हुनसक्ने भन्दै नेता नेपाललाई खबरदारी समेत गरेका थिए ।
“उहाँहरू साँच्चै खुलेर आएको हो भने चाहीँ ठीक छ । त्यो रियलाइजेसनसहित हो भने सहमतिका साथ त्यही हिसाबले अघि बढ्ने । पार्टीलाई एकीकृत रुपमा बलियो बनाएर लैजाने भन्ने निचोडमा पुगेका छौँ," उनले भने ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि नै पार्टीलाई एकीकृत बनाइसक्नुपर्ने खनाल-नेपाल समूहको अडान छ । स्रोतकाअन्सार ओलीले छिट्टै नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार ओलीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

नभए राजीनामा दिने
खानल–नेपाल समूहले ओलीले झुक्काएको सावित भएमा संसदमा विश्वासको मत लिनुअघि नै राजीनामा दिने पनि निष्कर्ष निकालेको छ । सांसदहरुले सामूहिक राजीनामा दिने तय गरेको उक्त समूह हिजो भएको वार्तापछि पछि हटेको थियो । नेता नेपालले वार्तास्थलबाट बाहिरिँदै राजीनामा दुईचार दिनको लागि टरेको प्रतिक्रिया दिएका थिए । तर, पार्टी एकताका लागि आफूहरुको माग सम्बोधन नभए राजीनामा दिने समेत उक्त समूहको योजना छ । 

“फेरि पनि बेइमानी हो भने विश्वासको मत लिनु अघि नै राजनीतिक निर्णय गर्छौै,” मानन्धरले भने ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १९:२०
प्रतिक्रिया दिनुहोस्