नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट संक्रमण हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा तीन लाख ४२ हजार ८९६ नयाँ संक्रमित थपिँदा करिब दुई हजार बढी व्यक्ति संक्रमणमुक्त भएका छन् । यसदिन तीन लाख ४४ हजार ५७० जना संक्रमणमुक्त भएका यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दैनिक संक्रमितको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढेको मे महिनामा यो तेस्रोपटक हो । यसअघि, मे १० र ११ मा संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी थिए । पछिल्लो २४ घण्टामा तीन हजार ९९७ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमण हुनेको संख्या दुई करोड ४० लाख बढी पुगेको छ भने सक्रिय संक्रमित ३७ लाख रहेका छन् । अर्थात्, अहिलेसम्म संक्रमणमुक्त हुनेको कुल संख्या दुई करोड तीन लाख पुगेको छ ।
कोरोनाको दोस्रो लहर भोगिरहेको भारतका १८ राज्यमा पूर्ण ‘लकडाउन’ गरिएको छ भने १४ राज्य तथा केन्द्र शासित प्रदेशमा आंशिक लकडाउन गरिएको छ । बिहीबार धेरै संक्रमित भेटिने राज्यहरुमध्ये महाराष्ट्र, उत्तर प्रदेश, दिल्ली, छत्तिसगढ र गुजरात हुन् ।