site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सम्मेलन केन्द्र निर्माण सम्पन्न, प्रधानमन्त्रीले शुक्रबार उद्घाटन गर्ने
फाइल तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं । गोदावरी नगरपालिका–३ मा तीन हजारजना क्षमताको ‘गोदावरी सनराइज’ नामक सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिएको छ । सहरी विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच वि.सं. २०७६ कात्तिक २० गते सम्झौता भइ कात्तिक २१ गतेबाट सो भवन निर्माणका लागि खाडल खन्ने काम सुरु गरिएको थियो ।

केन्द्र निर्माणको काम सम्पन्न भएको तर सरसफाइ गर्न अनि भवनमा रङरोहन गर्दा कतै लागेका दागहरु हटाउनाका साथै भवन निर्माण गर्न हालिएको स्काफोल्डिङ झिक्ने आदि काम बाँकी रहेको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । उनले भने, “भवन निर्माण सम्पन्न भए पनि अझै केही दिनको काम भने हामीले गर्नुपर्नेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समानान्तर जेभीले सरकारसँग ६५ करोड ८१ लाख ६५ हजार ४५९ रुपैयाँमा भ्याटसहित निर्माण सम्पन्न गर्ने ठेक्का लिए पनि त्यसभित्र लिफ्ट हाल्नेलगायत केही काम गर्ने सम्झौता छुटेकाले पछि पुनः करिब १६ करोड थप गरी कुल ८१ करोड रुपैयाँमा काम सम्पन्न गरिने भएको भट्टले जानकारी गराए ।

केन्द्र वरिपरि रहने तीन प्रवेशद्वार अर्थात् ढोकामध्ये एक निर्माण सम्पन्न भए तापनि दुई निर्माणको काम अघि बढी नै रहेको जेभीका साइट इन्जिनियर पवन मैनालीले बताए । उनले भने, “केन्द्र वरिपरि लगाइएका बोटबिरुवाको रेखदेख अनि छरिएर रहेका सामग्री संकलन गर्ने काम भने बाँकी नै छ ।”

सो केन्द्रमा ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन ब्लक रहँदा ‘ए’ र ‘सी’ भने सम्मेलन केन्द्र प्रवेश गर्ने थलो र ‘बी’मा तीन हजार क्षमताको सभाकक्ष रहने मैनालीले जानकारी गराए । ‘बी’ ब्लकमा हालिने तीन हजार मेचमध्ये केही हाल्न बाँकी रहेकाले सो काम आज दिनभरिमा सम्पन्न गरिने जेभीका साइट इन्जिनियर आशिष सिलवालले बताए ।

केन्द्र भवनमा मुलुकमै पहिलोपटक ५८ मिटर लामो ट्रस्ट हालिएको भट्टले सुनाए । गत वर्ष चैतदेखि फैलिएको कोरोना महामारी अनि त्यसपछि असोज र पुस महिनाभर दुईपटक भएको सातदोवाटो–गोदावरी खण्ड बन्दका कारण समयमै आवश्यक सामग्री ढुवानीलगायत काम गर्न नपाएकाले तोकिएको समय निर्माण सम्पन्न गर्न नसकिएको भट्टले गुनासो गरे ।

विभाग र समानान्तर जेभीबीच पहिलोपटक वि.सं. २०७६ चैत २४ गतेभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको भए पनि साइटभित्र दुई महिनाजति रुख काट्न नपाएको र समय–समयमा मौसमले पनि साथ नदिएका कारण तोकिएकै समयमा भवन निर्माण अघि बढाउन ढिलाइ भएको कामदारको मत छ । उक्त केन्द्र निर्माणपछि गोदावरीमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएको छ । सम्मेलन केन्द्रले ६० हजार स्क्वायर फिट अर्थात् २५ रोपनी क्षेत्रफल ओगटेको मैनालीले बताए ।

सो तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहद्वारा हस्ताक्षरित निमन्त्रणापत्रमा उल्लेख छ । गत वर्ष कात्तिक १६ गते प्रधानमन्त्री ओलीले सो सम्मेलन केन्द्र निरीक्षण गरी समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्