site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
कांग्रेसले धर्म निभाएको छैन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने पार्टी र आफ्नै पार्टीका सभापति मिलेर लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने सरकारका प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने कर्तव्यबाट विपक्षी दल नेपाली कांग्रेस च्युत भएको टिप्पणी उनले गरे ।

पार्टीले संस्थागत रुपमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसक्दा पनि नेतृत्वले त्यसतर्फ पहलकदमी नगरेको भन्दै उनले राज्यसत्ता र पार्टीसत्ता दुवैको नेतृत्वमा रहेकाहरुले लोकतान्त्रिक विधि र प्रक्रियालाई उल्लंघन गर्ने काम गरेको टिप्पणी गरे ।

उनले सरकारको मात्रै नभई पार्टी नेतृत्वको पनि चर्को आलोचना गरे । पार्टी सभापति शेरबहादुर देउवा पार्टीको अस्तित्व नै समाप्त पार्ने दिशामा अग्रसर भएको आरोप उनले लगाए । नेता पौडेलसँग गरिएको कुराकानीको अंश–

Dabur Nepal
NIC Asia

कोभिड–१९ को दोस्रो लहर चलेको छ, सरकारको तयारीबारे तपाईंको प्रारम्भिक टिप्पणी के छ ?
आजभन्दा तीन हप्ताअगाडि प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक गर्नुभएको थियो । त्यति बेला नै मैले सरकारलाई भनेको थिएँ– अब तुरुन्तै तयारीमा जुट्नुपर्‍यो । आईसीयू, भेन्टिलेटर बढाउनुपर्‍यो । हस्पिटलहरुको प्रबन्ध राम्रो गराउनुपर्‍यो । स्वास्थ्य उपकरण, सुरक्षा उपकरणहरुको व्यवस्था तुरुन्त गरिहाल्नुपर्‍यो । र, सिमानामा व्यवस्थित गर्ने काम सबैभन्दा पहिला ध्यान दिनुपर्‍यो भनेर त्यो बेलामा नै सुझाव दिएको हो । तर, त्यो सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएन । त्यसले गर्दा अहिले आईसीयू बेड अभाव, भेन्टिलेटरको अभाव भइरहेको छ । सीमाबाट मानिसहरु अन्धाधुन्ध प्रवेश गरेर, सिमानामा चेक नभएर गाउँमा पसेर रोग फैलाउने काम भइरहेको छ । यो राज्यको लापरबाही हो । यसले गर्दा जनता कोभिडको मारबाट त्रसित भएका छन् ।

अब पार्टी राजनीतिको कुरा गरौँ, एकजनामा कोभिड–१९ को संक्रमण देखिएको थियो तर, ठूलो आशा गरिएको केन्द्रीय समितिको बैठक नै स्थगित भयो । के भन्नुहुन्छ ?
यो बैठकको बारेमा मेरो उपसभापतिसँग कुरा पनि भयो । मैले त्यति बेलै भनेको थिएँ– सानो सानो निहुँमा महाधिवेशनको मुखमा आएर कति महत्वपूर्ण निर्णयहरु गर्नुपर्नेछ । महाधिवेशनलाई असर पार्ने कुराहरु छन्, अहिले मिटिङ किन स्थगित गर्ने भन्दाखेरी उहाँहरुले तपाईं संवेदनशील हुनु भएन भन्ने कुरा गर्नुभयो । मैले भनेँ– संवेदनशील त किन नहुनु ? तर, डिस्टेन्स राखेर अन्त त काम त चलाइराखेकै छन् नि त । राज्य सरकार पनि त चलिराखेकै छ । क्याबिनेटका मिटिङहरु पनि भइराखेकै छन् । हाम्रो कार्यसमितिलाई अलिकति डिस्टेन्स मिलाएर, एक–दुईजना जसलाई देखिएको छ, उनीहरु बाहिर बसेर केन्द्रीय कार्यसमिति बैठक सञ्चालन गरौँ भन्दा रोकिएको छ । मैले तीन वर्षअगाडि नै हाम्रो पार्टीको महाधिवेशनका लागि आउन सक्ने समस्याहरुलाई बुझेर नै अहिलेदेखि नै कार्यतालिका बनाएर काम गर्न थालौँ । हामीले समयबद्ध भएर काम गरौँ भनेर कार्यसमितिमा पनि महासमितिमा पनि प्रस्ताव राखेकै थिएँ । तर, त्यो बेलामा त्यसलाई महत्व दिइएन । त्यसलाई पन्छाउने कुरा गरियो । आज आएर साढे पाँच वर्षमा अधिवेशन हुन्छ भनेर सभापतिले त्यही बेलामा जसरी भन्नुभयो र मेरो प्रस्तावलाई तर्काउनुभयो । यत्रो संकटमा हामी पुगिसकेका छौँ ।

महाधिवेशन समयमै सम्पन्न गर्ने काममा सभापति देउवाले सक्रियता नदेखाउनुको कारण के देख्नुहुन्छ ?
नेपालमा सबैभन्दा ठूलो चिन्ता भनेको लोकतन्त्रमाथि यत्रो खेलबाड भइरहेको छ । सत्ता हत्याएपछि, सत्तामा पुगेपछि, चाहे त्यो पार्टीको सत्ता होस्, चाहे त्यो राज्यको सत्ता, जब सत्तामा पुग्छन् अनि त्यहाँ बसेर अन्धाधुन्ध कमिसनको खेल चल्छ । अर्बौँका खेलहरु हुन्छन् । जसरी पनि आफू सत्तामा टिकिरहने, जसरी पनि सत्तालाई आफ्नो ग्रीपबाट उम्कन नदिने र लोकतान्त्रिक मूल्य–मान्यता र नैतिकता भन्ने कुरा केही पनि नराख्ने । प्रधानमन्त्री आफूले गरेको विघटन (प्रतिनिधिसभा)लाई जब अदालतले फर्काइदियो, उनी एक मिनेट बस्नु हुन्थेन । उनले तुरुन्तै राजीनामा गर्नुपर्थ्यो । उल्टो उहाँ नकचरो भएर उहाँ के भनिरहनुभएको छ भने– यो संसद्को के काम ? यो त विकृति ल्याउँछ । विकृति कसले ल्याइरहेको छ ? विकृति त अहिले सत्तामा रहेका मुट्ठीभर केही नेताहरु, चाहे पार्टी सत्ता होस्, चाहे केन्द्रीय सत्ता होस्, सरकारको राज्यसत्ता होस्, तिनीहरुले देशमा विकृति ल्याएका छन् । चुनावमा जानुपर्छ, यो संसद् काम छैन भन्ने प्रधानमन्त्री अहिले पोखरामा के गर्दै छन् ? ५ नम्बर प्रदेशमा के गरे ? लुम्बिनीमा के गर्दै छन् ? यहाँ केन्द्रमा के गर्दै छन् ? अनहोली (अप्राकृतिक गठबन्धन) एलाइन्स गर्दै छन् ।

लोकतन्त्र भनेको त मर्यादापूर्ण व्यवस्था हो । जीवनपद्धति हो । तर, त्यतापिट्ट त वास्तै छैन । मूल्य–मान्यताप्रति वास्तै छैन । देश र जनतामा के असर पर्छ भन्ने वास्तै छैन । आम जनतामा राजनीति र व्यवस्थाप्रति नै वितृष्णा फैलाउने काम नेताहरुले गरिरहेका छन् । त्यसो भएको हुनाले हाम्रो पार्टीभित्र पनि, देशको राज्यसत्ताभित्र पनि अहिले जुन खेलहरु भइरहेको छ, यसले चिन्तित बनाएको छ मलाई ।

तपाईंको बुझाइ हाम्रा लोकतान्त्रिक प्रक्रिया र अभ्यासहरु अंगीकार गर्नुपर्ने कुराबाट नेपाली कांग्रेस र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली दुवै च्युत हुँदै छन् भन्ने हो ?
पार्टीभित्र परेको खटपटलाई आधार बनाएर जसरी प्रधानमन्त्रीले संसद्माथि प्रहार गर्नुभयो, संविधानमाथि जसरी प्रहार गर्नुभयो र उहाँले चालेको कदमपछि गलत साबित भयो । त्यो कदम गलत साबित भइसकेपछि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई तुरुन्तै राजीनामा गर भन्नुपर्ने र राजीनामा नगरेपछि अविश्वासको प्रस्ताव सदनमा पेस गर्नुपर्ने थियो । संख्या जतिसुकै होस्, कर्तव्य र दायित्व त पूरा हुन्थ्यो नि । हामीचाहिँ यहाँ जोखना हेरेर बस्ने ? जोखना हेरेर बस्दा पहिलो अवसर गुम्यो । जुन बेलामा एमाले र माओवादी बनाएर अदालतले फैसला गरेको थिएन ।

त्यो अवस्थामा कम्युनिस्ट पार्टी आफैँमा विभाजित भएर बहुसंख्यकले अविश्वासको प्रस्ताव अगाडि बढाएका थिए । त्यो बेला नै कांग्रेसले हाल्नुपर्ने (अविश्वासको प्रस्ताव) थियो । त्यो बेलाको अवसर गुम्यो । त्यो अवसर जानी–जानी गुमाइयो । के हो भित्र साँठगाँठ थाहा छैन । त्यसपछि अहिले पनि पछाडि आएर कांग्रेसले जसरी तदारुकताका साथ धर्म निभाउनुपर्थ्यो, त्यो धर्म निभाएको छैन । हाम्रो नेतृत्वले त्यो धर्म निभाएको छैन । त्यो क्रियाशीलता र कर्तव्यपरायणता देखाएको छैन । हाम्रो नेतृत्वमा सरकार बनाउने, केपी ओलीलाई राजीनामा गर्न लगाउने अथवा हटाउने भनेर हाम्रो पार्टीमा हामीले निर्णय त गर्‍यौँ ।

केपी ओली हटाउने भनेर पार्टीले निर्णय गर्ने, पार्टी नेतृत्वले चाहिँ आलटाल गरेर बस्ने काम भयो । त्यसो भएको हुनाले मैले के देखिराखेको छु भने– जो नेतृत्वमा छन्, राज्यको नेतृत्वमा अथवा पार्टी नेतृत्वमा उनीहरु लोकतान्त्रिक मूल्य–मर्यादाप्रति संवेदनशील भएनन् । उनीहरुलाई आफ्नो सत्ताको मात्रै चिन्ता भयो । त्यसले गर्दा मुलुकमा लोकतन्त्रमाथि चिन्ता छाउन थाल्यो । यो अहिलेको चिन्ताको विषय हो ।

कोभिडका कारण महाधिवेशनका कार्यतालिकाहरु क्रमशः प्रभावित हुँदै जान्छन्, भदौमा महाधिवेशन नगर्दा वैधानिक रुपमा नै कांग्रेस रहन्न । महाधिवेशन गर्ने बाटो के हुन्छ त ?
वैधानिकता र अवैधानिकता बारे हाम्रो पार्टीको नेतृत्वले परवाह नै गर्न छोड्यो । यस्ता कुरामा चिन्ता नै भइराखेको देखिन्न । हाम्रो पार्टीको कार्यकाल सकिएको त डेढ वर्ष भइसक्यो । अहिले पनि मानिसहरुलाई चिठ्ठी काटिँदै छ । नियुक्ति बाडिँदै छ । देशभरि त यो विभागको, प्रतिष्ठानको, उपशाखाको सदस्य भइस् भन्दै मान्छेहरुलाई अन्धाधुन्ध अवैधानिक तरिकाबाट पत्र काट्ने काम भइरहेको छ । अहिले पनि भ्रष्ट र विकृत तरिका अपनाएर पद दिएर आफ्नो पक्षमा जनमत बनाउने घिनलाग्दो खेलहरु अहिले पनि चलिराखेको छ । अहिले सबै क्षेत्रमा स्मुथल्ली क्रियाशील सदस्यता वितरण भयो । तर, जहाँ सभापति र उपसभापतिको प्रभाव छ, त्यहाँ खेल भयो । पार्टी प्रवेशको नाममा मनपरी ढंगले क्रियाशील सदस्यता बाँड्ने, कब्जा गर्ने खालको नीति–नियत लिइएको छ । त्यसैले यो पार्टी कसरी बचाउने भन्ने संकटमा हामी छौँ ।

पार्टी सभापतिले विधि–विधान मिचेर गर्नु नहुने काम गर्नुभयो भनेर दोष लगाएर मात्रै त हुँदैन होला नि ? ट्रयाकमा त ल्याउनुपर्ने होला, कसरी ल्याउन सकिन्छ ?
पार्टीलाई ट्रयाकमा ल्याउनका लागि हामीले गर्ने कुरा गरिरहेका छौँ । तर, नेतृत्वले ठिक ढंगले अधिवेशन गराउने कुरामा इमानदारिता नदेखाउने हो भने हामी मात्रै बाहिर कराएर अधिवेशन समयमासम्पन्न नहुन सक्छ । अधिवेशन समयमा सम्पन्न नहुँदा हाम्रो पार्टीको वैधानिकता नै संकटमा पर्छ । पार्टी विधानमा त संकट परिसक्यो । पार्टीको विधानले त हामी सदस्य नै होइनौँ । शेरबहादुरजी सभापति पनि होइन । म केन्द्रीय सदस्य पनि होइन । अब देशको संविधानअनुसार भदौभन्दा उता हामी कोही पनि सदस्य रहँदैनौँ । कोही पनि पदाधिकारी रहँदैनौँ । हाम्रो कुनै पनि दाबी पार्टीमा हुँदैन । त्यसकारण अराजक स्थिति जन्मन्छ । त्यस्तो अवस्था आउँछ भने अल्टरनेटिभ उपाय सोच्ने कुरा हामी विचार गर्दै छौँ । अहिले म भन्दिनँ कुनचाहिँ अल्टनेटिभ हुन्छ भनेर । तर, पार्टीको अस्तित्व त बचाउनुपर्‍यो । नेपाली कांग्रेस त यो देशमा बच्नुपर्‍यो । लोकतन्त्रको पहरेदार नेपाली कांग्रेसलाई लोकतान्त्रिक मूल्य–मान्यताअनुसार बचाएर राख्ने कुरामा हामी प्रयत्न गर्छौँ ।

तपाईंहरुले आफू पक्ष मात्रै छलफल हो कि केन्द्रीय समितिमा वैकल्पिक बाटो के हुन्छ भनेर छलफल गर्नुभएको छ ?
केन्द्रीय समितिमा कुनै छलफल भएको छैन । हुन त मैले आफ्ना कुरा समितिमा थोरै प्रवेश त गराएको छु । अहिले विकल्पबारे छलफल गर्ने बेला भएको छैन । अहिले त यही अधिवेशनलाई नै सम्पन्न गर्नेमा हामी छौँ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro