
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अगामी चुनावको तयारी थाल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार जनकपुरधाममा पार्टीको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै राउतले अगामी निर्वाचनको तयारी गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका हुन् । निर्वाचनमा जितेर सुशासन र समाजवाद स्थापना गर्ने उनले बताए ।
‘‘रोजगारी सिर्जना र समाजवाद स्थापना गर्नका लागि आगामी चुनावको तयारी गरिहाल्नुहोस्,’’ उनले भने, ‘‘अहिलेदेखि नै घर–घरमा गएर प्रचार-प्रसार गर्नुहोस् ।’’
एउटा मानिस धेरै शक्तिशाली भए पनि केही हुन नसक्ने भन्दै उनले संगठन बलियो बनाउनुपर्नेमा जोड दिए । ‘‘संगठन छ, त्यही भएर हामी छौँ र हाम्रो अस्तित्व छ,’’ उनले भने, ‘‘यो हाम्रो हरेक कार्यकर्ताले बुझ्नु जरुरी छ ।’’ एकत्रित भएर बस्न सकिए मात्र समाज र मधेसको सेवा गर्न सकिने उनले उल्लेख गरे ।
पार्टीको अधिवेशनस्थलमा कतिपय कार्यकर्ताले स्वतन्त्र मधेसको झन्डा प्रदर्शन गरेका थिए । कार्यक्रमस्थलमै कार्यकर्ताले स्वतन्त्र मधेसको झन्डा प्रदर्शन गरेका हुन् । कार्यकर्ता चढेर आएका जीप र मोटरसाइकलमा समेत त्यस्तो झन्डा टाँगिएको पाइएको छ ।
स्वतन्त्र मधेसको माग गर्दै आएको तत्कालीन स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउत थुनामा रहेकै अवस्थामा राज्यसँग ११ बुँदे सहमति गर्दै जेलमुक्त भएका थिए । त्यसपछि उनले ०७५ चैत ४ गते जनमत पार्टी गठन गरेका थिए ।