
काठमाडौं । नेकपा (एमाले)का नेता वामदेव गौतमले पार्टी आन्दोलनलाई विभक्त हुन नदिन कार्यकर्ताको दबाब अपुग भएको निष्कर्ष निकालेका छन् ।
एकता अभियानसँग आबद्ध नेता–कार्यकर्ताहरूसँग शनिबार गरेको भेटघाट, छलफलमा एमालेका निवर्तमान उपाध्यक्षसमेत रहेका गौतमले यस्तो बताएका छन् ।
“एकताबद्ध एमाले नै आजको आवश्यकता हो । नेतृत्व तहमा विवाद, विमति बढेका बेला जनस्तर (कार्यकर्ता तहबाट) एकताको पहल हुनुपर्छ,” गौतमको भनाइ उद्धृत गर्दै अभियानका नेता बाबुराम थापाले बाह्रखरीसँग भने, “त्यसका लागि एकता अभियानलाई अझ प्रभावकारी, सशक्त बनाउन जरुरी छ ।”
पार्टी अन्तरसंघर्ष चुलिएका बेला सक्रिय देखिएका गौतम अहिले कतै खुलेका छैनन् । नेता माधवकुमार नेपाल समूहले देशव्यापी समानान्तर कमिटी निर्माणको अभियान चलाइरहँदा गौतम अलग्गै अभियान लिएर आधारभूत तहसम्म जाने निचोडमा पुगेका छन् । यसले पार्टी आन्दोलनको रक्षा गर्ने वामदेवको बुझाइ रहेको थापा बताउँछन् ।
गौतमले गएको माघ १४ गते अभियानको घोषणा गरेका थिए । त्यति बेला नेकपाको विवाद उत्कर्षमा थियो । फागुन २३ गतेको फैसलापछि एमाले एकताबद्ध रहोस् भनेर अभियान जारी राखिएको र ३१ बढी जिल्लामा विस्तार भइसकेको उनको भनाइ छ ।