
बिना थिङ
सरकारी स्कुलको पहिलो वर्ष । पाँच कक्षामा भर्ना भएकी थिएँ । मन मिल्ने साथीहरू बोर्डिङमै छोडिए । मेरो लागि बिल्कुलै नयाँ थियो, स्कुल र माहोल । बोर्डिङमा पढिरहेकी म सरकारी स्कुलमा अलमलमा परेँ । मेरो लय बिग्रियो । बिग्रिएको लय मिलाउन समय लाग्यो । मैले नयाँ साथी बनाउन सकिनँ । मलाई स्कुल कारागारजस्तो लाग्न थाल्यो । जहाँ, दश बजेदेखि चार बजेसम्म किताब–कपी बोकेर पस्थेँ । निस्कन्थेँ । बा–आमाभन्दा बढ्ता साथीलाई विश्वास गर्ने उमेर । म धेरै साथी होस् भन्ने चाहन्थेँ । जोसँग खुल्न सकूँ । खेल्न सकूँ । तर, त्यस्तो केही भएन ! यस्तो हुनुमा मेरो स्वभाव दोषी थियो । खरो स्वभाव । रिसालु स्वभाव । समग्रमा मेरो अहम् नागले जस्तो फणा उठाई हिँड्थ्यो ।
दोस्रो वर्ष केही फरक भयो । केही नयाँ विद्यार्थीहरू थपिए । थपिनेमध्ये केहीको मेरो जीवनमा विशेष भूमिका रह्यो । मेनुका श्रेष्ठ, मदन श्रेष्ठ र दीपक खड्का । यिनीहरूको आगमनसँगै मेरो दैनिकी बद्लियो । माहोल बद्लियो । मेरो मात्र होइन, पूरै स्कुलको । मेनुका श्रेष्ठ बोर्डिङबाट आएकी थिई । मदन श्रेष्ठ र दीपक खड्का अर्को सरकारी स्कुलबाट आएका थिए, प्राथमिक तह सकेर । उमेरको हिसाब–किताबमा मेनुका र म ‘इजकल्टु’ थियौँ । मदन श्रेष्ठ र दीपक खड्का ‘ग्रेटर देन मी’ थिए । मैले सम्बोधन गरेँ, मदन दाइ । दीपक दाइ ।
मदन श्रेष्ठ
खिरिलो ज्यान । औसत उचाइ । चिम्सा आँखा । टुपुक्कको नाक । पातलो कर्ली कपाल । हाँस्दा गालामा खोपिल्टा पर्ने । तेक्वान्दोमा अब्बल । पढाइमा औसत । साजन पाइन्ट लगाउँथे । समग्रमा हिरो लुक्स । नृत्य, गायन, खेलकुद, साहित्यमा नियमित सहभागिता रहन्थ्यो । स्कुलमा मदन दाइको क्रेज थियो । सबैको हाई–हाई । अलिक रिजर्भ टाइपका थिए । कमैले मात्र उनको सामीप्यता प्राप्त गर्थे । म त्यही कमभित्र परेँ ।
“हेर् बहिनी, कसैले केही गरे मलाई भन् । म त्यसको बंगारा झारिदिन्छु ।” मदन दाइ दाहिने मुठ्ठी आफ्नो नाकको सिधा पारेर भन्थे । त्यतिखेर उनका चिम्सा आँखा अझ चिम्सा देखिन्थे । म ढुक्क हुन्थेँ । लाग्थ्यो, सुरक्षाको सिंगो कवच मसँग छ । अलिक पछि मदन दाइको हौसलाले मैले तेक्वान्दो खेल्न सिकेँ । तर, मेरो यात्रा हाफ ग्रीन बेल्टसम्म मात्र रह्यो ।
दीपक खड्का
क्षत्रीको छोरो । अग्लो खिरिलो ज्यान । लाम्चो अनुहार । लामा हात–गोडा । लामै नाक । बाक्लो आँखीभाैँ । साइकलको पाइडल जोडले दाब्दै आउँथे स्कुल । फुलस्केप पानामा पनि सिधा लेख्न सक्थे । बान्की परेका अक्षर । उनी सुन्दर ह्यान्डराइटिङका कारण शिक्षकका समेत प्यारा थिए । फिल्मका डायलग, सायरी उस्तै कण्ठ । केटाहरू उनलाई गुहार्थे । प्रेमपत्र लेखिमाग्थे । खेलकुदमा सधैँ अग्रपंक्तिमा । वीरेन्द्र शिल्ड प्रतियोगितामा नछुट्ने नाम । धेरैजसो लङजम्प, दौड र भलिबलमा भाग लिन्थे ।
मदन दाइ र दीपक दाइबीच धेरै कुराको सामञ्जस्यता थियो । दुवैजना स्कुलमा चर्चित । तेक्वान्दोमा ब्राउन बेल्ट । घर आसपासमै । दुवै साइकल चढ्थे । साजन पाइन्ट लगाउँथे । दुवैको साथी–सर्कल एउटै । पढाइमा औसत थिए । अतिरिक्त क्रियाकलापमा अब्बल । र, दुवैबीच गाढा मित्रता ।
विस्तारै दाइहरूसँगको मेरो सामीप्यता बढ्दै गयो । मदन र दीपकको बहिनी हो भन्ने थाहा पाउनेले कहिल्यै जिस्काउने हिम्मत गरेनन् । लाग्थ्यो, संसारमा यस्तो समस्या छैन, जसको हल दाइहरूसँग नहोस् । ढुक्कले पढाइमा मन लगाउँथे । अतिरिक्त क्रियाकलापमा भाग लिन्थेँ । मेरो साथी–सर्कल पनि बढ्दै गयो । गोदेश्वरी थापा । रमला श्रेष्ठ । मीरा अर्याल । प्रकाश ढुंगाना । सरीता न्यौपाने । सम्झना मिश्र । कल्पना मिश्र । प्रमिला मिश्र । वसन्ती प्रधान । दिनेश लामा । जानुका दुवाडी । लक्ष्मी भण्डारी । मनोज सुवेदी । शोभा तिमल्सिना । अरू–अरू पनि ।
०००
म कक्षा–९ मा थिएँ । हाम्रो आर्थिक हैसियत ओरालो लाग्यो । उकालो लाग्न घर बेचियो । आशा बेचियो । निराशा छिचोल्न बा हिँड्नुभयो, आमालाई लिएर । काठमाडौं । म पनि हिँडेँ । तर, फर्किने सर्तमा । त्यसबखत ९ र १० कक्षा एउटै स्कुलमा पढ्नुपथ्र्यो । त्यहीँबाट एसएलसी दिनुपथ्र्यो । बाध्यतावश बेचिएकै घरमा कोठा भाडामा लिनुपर्यो । जीवनमा पहिलोपटक म डेरावाला भएँ । मेरो डेरामा थियो, एउटा पलङ । आल्मोनियमको ट्यांका । दुईथान स्टीलको थाल । प्रेसरकुकर । कराइ । गिलास । अनि, दम दिने स्टोभ । केही दिन अप्ठेरो भयो । पछि सजिलो लाग्यो । डेरामा साथीहरू आउँथे । जान्थे । म सकभर स्कुल छुटाउँदिन थिएँ ।
एक दिन म स्कुल गइनँ । सन्चो नभएको पनि होइन ।
“ओई काली !”
आवाज मेनुकाको थियो । मैले ढोका खोलेँ । ऊसँगै मदन दाइ र दीपक दाइ पनि थिए ।
“तँँ किन स्कुल नआएकी ? आज अन्तिम हो, एसएलसीको फर्म भर्ने,” उनीहरूले केरकार गरे ।
“फर्ममा टाँस्ने फोटो छैन । धुलाउन दिएको छु,” मैले झुट बोलेँ, निकै अप्ठेरोसँग ।
“खुब हो । तँसँग फर्म भर्ने पैसा छैन भन् न । हामीसँग झुट बोल्छेस् ? अहिलेलाई साथीहरूसँग अलि–अलि उठाएर तिर्छौँ । बा आउनुभएपछि फिर्ता गर्,” उनीहरूले भने, एकदम सजिलोसँग । म ओछ्यानमा घोप्टिएँ । संकोचले होइन, भावुकताले ।
बा, आमा काठमाडाैंमा । म एक्लै हेटौँडामा । फर्मको शुल्क तिर्नुपर्ने म्याद गुज्रिँदै थियो । मसँग पैसा थिएन । रासन उधारो झिक्थेँ । बा आएर तिर्नुहुन्थ्यो । तर, फर्मको शुल्क नगद बुझाउनुपथ्र्यो । कोसँग माग्ने ? अघिल्लो दिन मेनुकासँग समस्या फुकाएकी थिएँ । उसैले मदन र दीपक दाइसँग भनिछ ।
“अब परीक्षा दिन पाउँदिनँ, मेरो उमेरको एक वर्ष खेर जाने भयो,” यस्तो सोचेर म कहालिएकी थिएँ । तर, यसरी समस्या फुकाइदिनेहरू रहेछन् । यो सत्यले आँखाहरू सजल भए । म रोएछु । घुँक्क–घँुक्क । मेनुकासँग । दाइहरूसँग । अँगालो मारेर । धित मर्ने गरी ।
०००
“एक्ली छोरी मान्छे । बा–आमा नभएको डेरामा को–को आइरहन्छन् ।”
“कस्ती लाज सरम नभएकी । बाइफाले । अब लामा दाइकी छोरी बिग्रिई !”
“आमा–बाउको अन्डरमा नबस्नेहरू यस्तै हुन्छन् । मेरो छोरी भएकी भए म झापड हान्थेँ ।”
गर्मीको छुट्टी सकिएको थियो । कक्षा दशको प्रथम त्रैमासिक परीक्षा नजिकै थियो । म पढाइमा मन लगाउँदै थिएँ । कता–कताबाट बतासले कुरा ल्याइपुर्यायो, मेरो कानमा । मेरो डेरामा आइरहने अरू को नै थिए र ? पक्कै पनि मदन दाइ र दीपक दाइतिर इंगित थियो, वाक्यांशहरू । मैले त हृदयले दाइ मानेकी थिएँ । तर, हृदयभन्दा बाहिर समाज थियो । समाजले निर्धारण गर्दो रहेछ के ठिक, के बेठिक भनेर । त्यसमाथि म छोरी मान्छे थिएँ । केटी भएकै कारण म खराब देखिएँ । अझैसम्म पित्तृसत्ताको ठेकेदारी कायम छ । दुई दशकअगाडिको समाज कस्तो थियो ? सजिलै अनुमान लगाउन सकिन्छ ।
फलस्वरूप, म माथि बात लाग्यो । वल्लो कोठाबाट । पल्लो कोठाबाट । सम्पूर्ण घरबाट । छर–छिमेकबाट । मेरो बारे प्रशस्त कुरा काटिन थाल्यो । अरू–अरूले, अलि पर–परकाले भनिरहँदासम्म मलाई खासै छोएन । जब आफ्नैले औँलो उठाए, मेरो सास रोकिएलाजस्तो भयो । आँखाहरू भुइँतिरै गाडियो । म किशोर उमेरको मध्यान्तरमा थिएँ । छातीको साइज बढ्दै गएको थियो । अनुहारमा गुलाबी रङ भरिँदै गएको थियो । कम्मर छाँटिएको थियो । नाजुक थियो, उमेर । हृदय । समय ।
एउटी किशोरी, जो समयको पाबन्दीलाई पन्छाएर हिँड्न चाहन्थी । चराको उडान भर्न चाहन्थी । आप्mनो अध्ययनलाई निरन्तरता दिन चाहन्थी । कलिलैमा एक्लै बाँच्नुको चुनौती सामना गरिरहेकी थिई । तत्क्षण उसले कथित समाजको तथानाम खप्नु परेको थियो । छोरीमान्छे हुनुको अपसोच मान्नु परेको थियो । आफैँलाई विचराको संज्ञा दिनुपरेको थियो । उड्ने पंख फुकालेर आल्मोनियमको ट्यांकामा थन्क्याउन परेको थियो । अनुहारमा बैजनी रङ पोत्नु परेको थियो । निर्बाध हिँड्ने गोडामा सामाजिक मान्यताका साङ्ला बाँध्नु परेको थियो ।
भन्ने र सुन्नेको लागि यो तमासा भयो । सकियो । तर, जसलाई तमासा बनाइयो, उसलाई एकैपटक घोप्यो । शब्दका सुइरोहरूले । हृदयमा पीडाको लहर पैmलियो । राप्तीमा मसिना ढुंगाको प्रहारले ल्याउने मसिना तरंगजस्तै थियो, त्यो पीडा । असंख्य । अनगिन्ती ।
म अवाक् थिएँ । एक इन्च सत्यता नभएको त्यो मेरो लागि अफवाह थियो । तर, भूपि शेरचनको कविताजस्तै हल्लै–हल्लाको देशभित्रको एउटा भूगोलमा म उभिएकी थिएँ । मैले आजसम्म थाहा पाइनँ, कुन मनसायले उत्पे्ररित थिए ती हल्ला, अफवाह अथवा मनगढन्ते कहानीका प्रचारक ? उनीहरूले यत्ति थाहा पाउनुपथ्र्यो कि ! रगतले बनेको सम्बन्धको पो आकार–प्रकार हुन्छ । नाप, नक्सा हुन्छ । भावनाले बनेको सम्बन्ध वायुजस्तो हुन्छ । यसलाई न भौतिक रूपमा छाम्न सकिन्छ न कुनै दृश्यमा हेर्न सकिन्छ । केवल महसुस गर्न सकिन्छ । यो सास फेरेजस्तो हुन्छ । जुन दिन यस्तो सम्बन्ध सकिन्छ, मान्छे जिउँदै मर्छ । म पुरापुर भावानात्मक रूपले जोडिएकी थिएँ, मदन दाइ र दीपक दाइसँग । तर, समाजलाई त आधिकारिकता चाहिन्थ्यो । हाम्रो सम्बन्ध संरचनाको कुनै न कुनै ‘स्केलेटल’ देखिनुपथ्र्यो । मसँग दुवै थिएन । त्यसको क्षतिपूर्ति मैले आँसुले तिरेँ । हीनताले भरेँ । टाउको निहुराएर हिँडेँ ।
विस्तारै मैले दाइहरूलाई भेट्न छोडेँ । स्कुलमा । डेरामा । कुनै न कुनै बहानामा म टाढा हुन थालेँ । यसरी निरन्तर म भागिरहेँ । भागिरहेँ । तर, कतिन्जेल ? हामी पढ्ने कक्षा एउटै थियो । हिँड्ने बाटो एउटै थियो । उभिने धरातल एउटै थियो । खुसी हुने कारण उस्तै थियो । रुने बहाना उस्तै थियो ।
“तँलाई के भएको छ ? भन् ।”
“हाम्रो कसम् भन् । तँ किन बोल्दैनस् हामीसँग ?,” आखिर एक दिन बाटो छेकर दाइहरूले सोधे ।
“यत्तिकै ।” मैले गर्धन हल्लाएँ । म सामान्य रूपमा प्रस्तुत हुन चाहन्थेँ । तर, मेरो प्रस्तुतिमा फितलोपन थियो । त्यो फितलोपन आँखाबाट बग्न थाल्यो । मलाई मेरै आँखाहरूले नमज्जाले धोका दियो । मेरो घाँटीमा केही चिज अड्किएजस्तै भयो । अचानकसँग मेरो घुँक्क बढेर गयो । मेरा जोर आँखा बगे । दीपक दाइको काँध हुँदै चिउँडोतिर । मदन दाइले मेरो कपाल सुम्सुम्याए । बालेजस्तै । मैले बेलिविस्तार लाएँ । एक्कासि आफ्नो अभिभावक भेट्दा कुनै सानो बालकले चुक्ली लाएजसरी ।
“यो भाइटीकामा हामी आउँछौँ ।”
“तँलाई हामीले हृदयले चेली मानेका थियौँ । मानिरहेकै छौँ । मानिरहने नै छौँ । यो अन्धो समाजलाई आधिकारिता चाहिने रहेछ । ठिकै छ । दिउँला । तैँले सानो मन नगरेस् ।” मैले दाइहरूको आँखामा आवेश देखेँ । आवेग देखेँ । चोटको टुक्रा–टाक्री देखेँ । दुखाइको समानान्तर उचाइ देखेँ ।
०००
त्यही साल भाइटीकाको दिन । साँघुरो डेरा । फराकिलो मन । अघिल्लो दिन प्राप्त भएको देउसी–भैलोको दक्षिणाले अलिकति फलफूल किनेँ । सेल पोल्न जान्दिन थिएँ । बजारबाट किनेर ल्याएँ । मिठाइ पनि । राँगाको मासु पकाएँ । ट्यांकाबाट हरियो बुट्टा भएको सेतो कुर्ता–सलवार झिकेँ । कुनै उत्सवमा लगाउन भनेर किनी मागेकी थिएँ, आमालाई । मेरो लागि उत्सव थियो त्यो दिन । मैले कुर्ता पहिरिएर ऐना हेरेँ । ऐनामा देखिएकी काली केटीको अनुहारमा आधा हाँसो थियो । आधा गम्भीरता थियो । हाँसो र गम्भीरताको कोलाब्रेसनले अनुहार अन्य दिनभन्दा भिन्न देखियो ।
म भावानात्मक सम्बन्धमा विश्वास राख्ने मान्छे । पछिल्लो दिनहरूमा ममाथि लागेको आक्षेप मेट्नु थियो । मेरो अस्मितामा उठेका प्रश्नको उत्तर दिनु थियो । हाम्रो समाजमा छोरी मान्छेको जीवनमा यस्तो धेरैपटक हुँदो रहेछ । पटक–पटक हुँदो रहेछ । लोग्नेमान्छेसँगको सम्बन्धमा सधैँ वासना हुँदैन । त्यसबाहेक अरू केही हुनसक्छ । पृथक प्रेम हुनसक्छ । आत्मीयता हुनसक्छ । अभिभावकत्व हुनसक्छ । यत्ति बुझाउन मैले भाइटीका कुर्नु परेको थियो ।
मेरो प्रतीक्षाको अन्त्य गर्दै दाइहरू आइपुगे । म सप्तरंगी टीकाको अर्थ जान्दिन थिएँ । हाडे ओखर फुटाउनुको मिथक पत्तो थिएन । बस्, मैले तेलमा दुबो चोपेँ । सगुन राखेँ । दाइहरूको हृदयजस्तै फराकिलो निधार रंग्याएँ । सुरक्षाको कवच बोकी हिँड्ने छातीसम्म पुग्ने गरी गलामा माला पहिर्याएँ । निःसर्त, प्रेमले आह्लादित हुँदै दाइहरूले शिर राखे । मेरो पाउमा । त्यस बेला मदन दाइको घाँटीमा सिक्री झुन्डिएको थियो, चाँदीको । कुनै दिन रहरले बनाएका थिए । दाइले स्नेहले त्यो फुकाले । मेरो घाँटीमा दक्षिणास्वरूप राखिदिए । त्यो बेहिसाबको थियो । दीपक दाइबाट बन्द खाम पाएँ । बन्द खाममा बेपत्ताको माया थियो । त्यो स्नेहको, अभिभावकत्वको साक्षीमा मेनुका बसेकी थिई । उसले त्यो पल कैद गर्न क्यामेराका रिल घुमाएकी थिई । एल्बममा अझै त्यो सम्झना टाँसिएको छ । त्यस क्षण मेरो आँखा बगिरहे । भावविभोर भइरहेँ । एउटी तामाङनीले त्यस दिन दुईवटा फरक जातको माइती पाएकी थिई । त्यस दिनबाट ममाथि उठेका औँलाहरू झरेका थिए ।