site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मरुभूमीमा अपत्यारिलो बरफको पहाड ?  

काइरो । बरफिलो पहाड कुनै नयाँ कुरा होइन । तर। इजिप्टको मरुभूमीमा यसलाई वास्तवमै आश्चर्यजनक मान्न सकिन्छ । विश्वको सबैभन्दा ठूलो मरुभूमी शाहाराको बीचौँबीच सेतो हिमालको दृश्य एकदम दुर्लभै अनुभव गर्न पाइन्छ । मध्य पूर्वी मुलुकहरुमा पानीसमेत कमै पर्ने गर्दछ भने हिउँ त कल्पना गर्न नसकिने अवस्था हो । 

तर, इजिप्टमा यो अचानक जाडोयामको वर्षाका कारण नभएर वास्तवमा उत्तरतर्फको सुएज क्यानलमा पर्ने पोर्ट फोआदमा जारी ‘साल्ट प्रोसेसिङ’ नुनको कामका कारण उत्पति भएको हो जुन यतिबेला पर्यटकहरुका लागि आकर्षक गन्तव्य बन्न पुगेको छ । त्यहाँ मानिसहरु सेतो बरफिलो पहाड जस्तो देखिने डाँडाबाट तल झर्दै गरेका तस्बिर र भिडियोहरु भाइरल बनेका छन् । 

इजिप्सियन नागरिकहरु देशभरका विभिन्न भू–भागबाट अहिले यो अनौठो दृश्य हेर्न आइरहेका छन् । कतिले त त्यहाँ हिउँमा खेलिने स्की गर्ने प्रयास गरेको देखिएको छ । फोटोग्राफर मोहोम्मद वार्डेनीले सीएनएनसँग बताए अनुसार सुएज क्यानलबाट सल्ट सिटीसम्म पानीजहाजमा सवार भइ त्यो सेतो पहाडमा पुग्न सकिन्छ । वार्डेनीका अनुसार उनका यी तस्बिरहरु हाल जारी एक परियोजनाको हिस्सा हो, जसमा उनले प्रायः चर्चित ‘पिरामिड्स’ बाहेकका अन्य पर्यटकीय गन्तव्यहरुमा पनि प्रकाश पार्न खोजिएको बताए ।
 
शुद्ध र चम्किलो सेतो रङले त्यो नुनको पहाडलाई नर्थ पोलको बरफिलो पहाड सरह देखाउने वार्डेनीले बताए । त्यसमा एक मात्र फरक भनेको चिसो तापमान चाहिँ छैन । तरपनि यसका अन्य आकर्षक पक्ष रहेको बताइएको छ । जस्तै नुनमा विभिन्न लाभकारी गुण भएको र त्यसमा बस्नुले नकारात्मक ऊर्जाबाट मुक्त दिलाउन सक्ने उनले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सो ठाउँमा जाडोयाममा भ्रमण गर्न सुझाव पनि दिएका छन् जसबेलाको वातावरणले वास्तविक बरफिलो पहाडकै अनुभूति दिलाउने उनी बताउँछन् । जाडोयामसँग यसको अप्रत्यक्ष सम्बन्ध पनि रहेको छ । संचार एजेन्सी रोयटर्सका अनुसार त्यहाँको नुन विभिन्न चिसो मुलुकहरुमा विक्री हुने गर्दछ जसलाई बरफ पगाल्नमा प्रयोग गरिन्छ । सीएनएन 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १८:५८
प्रतिक्रिया दिनुहोस्