site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कसरी बन्दैछ मौरीबिनाको मह गाईबिनाको दूध ?

बीबीसी । “म आफैँ भिगन भएको हुँदा मलाई मह खाएको धेरै याद आउँछ,” मेलीबायो कम्पनीका प्रमुख कार्यकारी एवम् सहसंस्थापक डेर्को मेन्डिक बताउँछन् । 

‘भिगनिजम’ भन्नाले एक किसिमको शाकाहारी डायट हो जसमा मासु, अण्डा, डेरीका उत्पादनलगायत जीवजन्तुबाट प्राप्त कुनै पनि पदार्थले बनेको खाना खाइँदैन । 

त्यसैले पनि भिगनहरुले केही विशेष खानेकुराहरु छुटाउनु अनौठो कुरा होइन तर मेन्डिकले खोजेको यसको समाधान भने आश्चर्यजनक छ । जसमा प्राकृतिक महसँग प्रत्येक ‘मोलिक्युल’ अर्थात कणमा हुबहु मेल खाने किसिमको कृत्रिम मह बिनामौरीको सहायता बनाउने उनको योजना छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनी भन्छन्, “हामीले मह कसरी बन्छ भनेर हेर्‍यौँ भने पहिले मौरीहरुले यसमा फुलबाट रस र ‘पोलन’ संकलन गर्छन् अनि त्यसैलाई महमा परिणत गर्न चाका बनाउँछन् जसमा फ्रुक्टोज र ग्लुकोज हुन्छ । हामी यही प्रक्रिया ल्याबमा अपनाउन जादैछौँ । चाका बनाउनका लागि चाहिँ हामीले सुक्ष्मजीवाणकाुे प्रयोग गर्नेछौँ ।”

पछिल्ला केही वर्ष मासु र डेरी उत्पादनको बिरुवामा आधारित खाद्य विकल्प लोकप्रिय बन्दै गएको छ । तर धेरैका लागि ती विकल्पहरुको स्वाद सोचेजस्तो नहुने र निर्माण प्रक्रिया पनि सहज नहुने समस्या रहँदै आएको छ ।

अहिले मेलीबायो जस्ता स्टार्ट–अप कम्पनीहरुले लामो समय स्टोर गर्ने पद्धति, ‘फर्मेन्टेसन’ मार्फत भिगनका लागि उपयुक्त खाद्य वस्तु उत्पादन गर्न सुरु गरेका छन् जुन जैविक रुपमा वास्तविक खानेकुरा जस्तै हुनेछ । 

फर्मेन्टेसनको प्रक्रियाबाट सुक्ष्म जिवाणुहरुले ‘फुड सप्लाइ’ लाई पचाएर त्यसैबाट उपयोगी वस्तु जस्तै ‘यिस्ट’ निस्कासन गर्न सक्छन् । 

यस किसिमको यिस्टलाई प्रायः चिनी राखेर मदिरा मिसाइ बियर बनाउने गरिन्छ । तर सुक्ष्म जिवाणुलाई ध्यानपूर्वक प्रयोग गर्ने हो भने त्यही यिस्टलाई अर्कै खाद्यान्न दिइ, फरक किसिमको उत्पादन निस्कासन गर्न सकिन्छ । जस्तै महदेखि अण्डाको सेतो भाग र दूधसम्म निकाल्न सकिने विज्ञहरु बताउँछन् । 

यो तरिका अपनाइरहेको एउटा कम्पनी हो लन्डनको ‘बेटर डेरी’ । यो स्टार्टअप कम्पनीले यिस्टमार्फत दूध र चिज विकसित गराइरहेको छ । कम्पनीका प्रमुख जिवन नागराजा भन्छन्, “यसमा यिस्टलाई बियर निकाले जसरी नै प्रयोग गरि काम गर्न सकिन्छ । त्यसैले अन्तिम उत्पादन हामीले चाहेअनुसारको हुन्छ ।” 

उनका अनुसार यो प्रविधिमा यिस्टलाई आफ्नो इच्छाको निष्कर्षमा पुर्‍याउन त्यसलाई त्यही अनुरुप खाना खुवाउने अनि डेरीमा परिणत गर्न सकिन्छ । 

यस प्रविधिको प्रयोग गरेर अण्डाको सेतो भाग जस्तो खाद्य उत्पादन गरिँदै आएको छ । हाल स्यानफ्रान्सिस्कोमा रहेको क्लारा फुड्सले यसलाई ठूलो स्तरमा उत्पादन गर्न लाग्दैछ र २०२८ सम्म विश्वकै सबैभन्दा ठूलो अण्डाको प्रोटिन उत्पादक बन्ने लक्ष्य राखेको छ । 

कम्पनीका सहसंस्थापक अर्टुरो एलिजोन्डो भन्छन्, “हाम्रो फर्मेन्टेसन प्रक्रियामार्फत खानेकुराको स्वाद, स्वरुप र उपयोगिता सबै नियन्त्रण गराइ जीवबाट प्राप्त अण्डासरह नै पोषणको काम गर्न सक्ने समेत बनाउन सकिन्छ ।” 

यस्ता उत्पादनले भिगनहरुलाई खुसी बनाउनुका साथै वातावरणलाई पनि फाइदा पुर्‍याउने उनले बताए । 

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका अनुसार मासु र डेरीका कारण मात्र विश्वमा १४.५ प्रतिशत कार्बन उत्सर्जन हुँदै आएको छ । 

त्यस्तै महप्रति बढ्दो विश्वव्यापी चासोका कारण त्यसले धेरै प्रजातिहरुलाई हानि पुर्‍याइरहेको पनि मेन्डिक बताउँछन् । उनले थप भने, “व्यवसायिक मौरी पालनमा एकै किसिमको प्रजातिलाई मात्र बढी महत्व दिइने र फाइदा पुग्ने हुँदा यसले सक्रिय रुपमा जंगली अनि स्थानीय प्रजातिसँग लड्नुपर्ने हुन्छ जसले अन्य प्रजातिलाई हानि पुर्‍याउन सक्छ ।”

उनले फेरि भने, “बजारमा अहिले बिक्री हुने महसँग सम्बन्धित सामग्रीमा दुई तिहाइ मह आफैँ छ र बाँकी चाहिँ अन्य उद्योग जस्तै खाद्य, वेभरेज, कस्मेटिक्स अनि फर्माले पनि आफ्ना उत्पादनमा मौरीको मह प्रयोग गर्छन् । त्यसैले हामी व्यवसायिक कम्पनी भएकाले पनि सुरुवातमा बिजनेस–टु–बिजनेस मोडल नै अपनाउनुपर्ने हुन्छ । हामीसँग अहिले नै १५ बढी अमेरिकी कम्पनीहरुले सहकार्य गर्न हस्ताक्षर गरिसकेका छन् ।”

यसलाई विश्वकै पहिलो ‘बायो–आइडेन्टिकल’ अर्थात् जैविक हिसाबले हुबहु उस्तै कृत्रिम डेरी उत्पादन भनिएको छ । मेलीबायोले वर्षको अन्त्यसम्म डेलिभरी सुरु गरिसक्ने अपेक्षा गरिएको छ । 

बेटर डेरीको पनि त्यही रणनीति छ । व्यवसायीकरणको हिसाबले यो कम्पनी केही पछि भए पनि ठूलो स्तरमा यसको उत्पादन गर्न सक्ने यसले विश्वास जनाएको छ र रेस्टुरेन्ट चेनलाई बिक्री गर्न लाग्दैछ । 

नागराजा भन्छन्, “यदि तपाईँले पिज्जा हट या मेक डोनाल्ड्स जस्ता कम्पनीको उदाहरण लिने हो भने, उनीहरुको एउटा चिजलाई पगाल्ने तरिकासमेत छुट्टै या विशेष किसिमको हुन्छ । र त्यही किसिमले पगाल्न मिल्ने ‘भिगन चिज’ पाउन अत्यन्तै कठिन हुन्छ ।” 

तर यस्ता उत्पादनको व्यवसायीकरणमा एउटा समस्या भनेको नामाकरण हो । किनकि यसलाई वास्तविक अण्डा, दूध या मह भन्न सकिँदैन । तर कम्पनीहरुले आधिकारिक निकायले ती उत्पादनलाई असली समान नै हेर्ने अपेक्षा गरेका छन् । नागराजा भन्छन्, “यसका सबै जैविक कणहरु वास्तविक उत्पादनको हुबहु भएको हुँदा यो स्वादमा पनि त्यस्तै नै हुनुपर्छ ।” 

यसरी फर्मेन्टेसनले वास्तविक खाद्य उत्पादन समान कृत्रिम खाद्यान्न निर्माण गर्ने अवसर दिलाएको छ ।  जस्तै यो प्रविधि मार्फत ‘मानुका हनि’ को हुबहु कृत्रिम रुप बनाउन नसकिने कुनै कारण छैन । 

मानुकामा धेरै थरीका स्वास्थ्य लाभ हुने दाबी गरिन्छ र त्यसको मूल्य साधारण महभन्दा १०० गुणा बढी छ । 

दूध र चिजसँग पनि यस्ता अवसर छन् । नागराजा भन्छन्, “यसो गर्दा हामीले उत्पादनमा ल्याक्टोज हालिराख्नु पर्दैन । हामीले त्यसलाई अर्कै प्रकारको सुगरले प्रतिस्थापन गर्नेछौँ । त्यो मानिसहरुका लागि पचाउन एकदमै सजिलो हुन्छ ।” 

यसका साथै भिगनहरुले फेरि महको स्वाद लिन पाउनेछन् जुन पनि धेरै खुसीको कुरा भएको उनले बताए । 


 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  ०७:३२
प्रतिक्रिया दिनुहोस्