site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कम्युनिस्टहरू फेरि बाघ बन्ने जाेखिम

ऋषिको कृपाले बाघ बनेको मुसा जंगलमा राज गरिरहेको हुन्छ । बाघ बनेको मुसालाई जंगलका सबै जनावरले “ऋषिले बाघ बनाइदिएका भए पनि तिमी मुसा नै हौ” भनेर खिज्याउँदा रहेछन् । यसले मुसालाई हीनताबोध हुँदोरहेछ । मुसाले सोचेछ - यी जनावरले ऋषिको शक्ति थाहा पाएकोले आफू अपमानित हुनुपरेको हो । उसले समस्याको जड ऋषिलाई ठानेछ र ऋषिलाई नै खाने निर्णय गरी आक्रमण गरेछ । ऋषिले आफ्नो शक्ति प्रयोग गरेर मुसालाई बाघबाट फेरि मुसा नै बनाइदिएछन् । 

शान्तिपूर्ण संसदीय राजनीतिमा आएको माओवादी एकाएक सबभन्दा ठूलो दल हुँदा अस्तित्व जोगाउनै समस्या परेकाे थियो । निर्वाचनमा नेपालमा सबै कम्युनिस्ट पार्टीको मत जोड्दा ६० प्रतिशतभन्दा बढी पुग्ने तर नेपाली कांग्रेस नै पहिलो पार्टी हुने शृंखला दोहोरिइरहेको थियो । अर्कोतिर चिनियाँ कम्युनिस्ट पार्टी नेपालमा बलियो कम्युनिस्ट पार्टी बनाएर आफ्नाे स्वार्थ पूरा गर्न चाहन्थ्यो ।

यसै रणनीतिअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले ‘भातृ पार्टी’का नाममा नेपालमा एकीकृत बलियाे कम्युनिस्ट पार्टी बनाउने अवधारणामा काम थाल्याे । त्यसपछि माओवादी र एमाले सत्ता र शक्तिको लोभमा दुनियाँलाई चकित र भ्रमित पार्दै एकीकृत हुन पुगे । यो एकतामा पुष्पकमल दाहाल र केपी ओलीले सत्ताको ‘ललिपप’ देखेका थिए भने चीनको नेपालमा आफ्नो रणनीतिक पकडको लागी बलियाे मित्र शक्तिको बन्दाेबस्त गर्ने योजना थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

हुन पनि यही चुनावी एकताले अत्यधिक बहुमतका साथ कम्युनिस्टहरूलाई सत्तासीन गरायो । एकीकृत नेकपा पनि बन्यो तर समस्या त्यहीँ देखियो । एउटा पक्षले सत्तामा पाएकाे भागमा चित्त बुझाउन सकेन भने अर्काे पक्षले आफ्नाे हातमा परेको सत्ता बाँढ्न चाहेन । 

यो एकता निष्ठामा उभिएर देश बनाउन गरिएको थियो भने नेकपाका नेताहरू यति तल्लोस्तरमा झरेर अपशब्द प्रयोग गर्दै एकले अर्कोलाई विवस्त्र तुल्याउन मरिहत्ते पक्कै गर्ने थिएनन् । 

Global Ime bank

आदर्श र सिद्धान्त त्यागेका नेताहरूको दन्त बझानले तिनले जनतालाई देखाएकाे सपना जालझेलमात्र भएकाे प्रमाणित भएकाे छ । सत्ता र स्वार्थको मोहमा कुनै शक्तिले एकीकृत गराएको नेकपाभित्र एकले अर्कोलाई सिध्याउने पाखण्डी षड्यन्त्रकाे प्रभुत्व रह्याे । 
नेकपाको एकता कहाँसम्म बनावटी र नक्कली थियो भने त सर्वोच्च अदालतले माओवादी र एमाले ब्युँताएको निर्णय प्रचार हुदाँसाथ नेकपाको बोर्ड फाल्ने हतारबाट प्रष्ट देखिन्थ्यो । 

हुनत कम्युनिस्टहरुको पर्मपरा नै हो अर्कोलाई खराब देखाएर आफू राम्रो देखिन खाेज्ने । कम्युनिस्टको विगत हेर्दा नेपालमा कम्युनिस्ट पार्टीकै संस्थापक पुष्पलाललाई नै गद्दार घोषणा गर्ने वा ‘जनयुद्ध’का नाममा आफ्नै साथीलाई जासुसकाे आरोपमा हत्यासम्म गर्नेसम्म गरेकाे देखिन्छ । यसैले अहिलेकाे दन्तबझान उनीहरूका लागि सामान्य व्यवहार नै लाग्ला तर जनसाधारणले यसलाई सामान्य मानेको देखिँदैन । 

माओवादीको बलमा एमाले र एमालेको मतले माओवादी शक्तिशाली बने । तर, शक्ति प्राप्त भएपछि एकले अर्कोलाई दुस्मन देख्न थाले । कारण थियो - सत्ताको स्वार्थ । अन्ततः सत्ता प्राप्तिका लागी एकले अर्कोलाई सक्नुपर्ने निष्कर्षमा दुवै पुगे । एकअर्काप्रति कृतज्ञ हुनुपर्नेमा कृतध्न हुन पुगे । बाघ बनाउने ऋषिलाई नै मुसाले शत्रु देखेजस्तै एकले अर्कोलाई वैरी देख्न पुगे । अनि एकले अर्कोलाई सिध्याउने खेलले पुरानै अवस्थामा फर्कन बाध्य भए । 

यसबीच एउटा गम्भीर प्रश्न पनि उपस्थित भएको छ - के नेपालको राजनीतिमा बाघ बनेर उदाएका कम्युनिस्टहरूको पतनको थालनी भएकै हो त ? यसमा सत्यकाे अंश धेरै हुनसक्छ  । “पुनर्मूषिको भवः” नै नेपालमा कम्युनिस्ट पार्टीको पतनको पहिलो विन्दु हुन सक्छ । 

कम्युनिस्टहरूकाे अन्त्य निरपेक्ष भने हाेइन । नेपालको राजनीतिमा पहिलो, निर्णायक र अभिभावकीय भूमिका खेलिरहेको पुरानो पार्टी नेपाली कांग्रेसको नेतृत्वले चाल्ने सैद्धान्तिक र व्यावहारिक कदम र क्रियाकलाप कम्युनिस्ट पतनका लागि पहिलो सर्त हो । दोस्राे, वाह्य शक्तिको स्वार्थ र नयाँ राजनीतिक पार्टी तथा तिनकाे भूमिका हो । 

कांग्रेसको आन्तरिक समस्या र लडाइँको उचित व्यवस्थापन गर्न नेतृत्व सफल भएन भने नेपालमा कम्युनिस्ट वर्चस्व कायमै रहन सक्छ । विगत केही वर्षको इतिहास हेर्ने हो भने कांग्रेस वाह्यभन्दा पनि आन्तरिक झगडा र अन्तर्घातको सिकार भएकोछ । यो चुनौतीलाई बेवास्ता गरेर अगाडि बढ्यो र कम्युनिस्टको झगडा नै आफ्नो शक्ति हो भन्ने भ्रमबाट मुक्त हुन सकेन भने कम्युनिस्टहरू फेरि शक्तिशाली हुनेछन् । 

कांग्रेसको अर्को चुनौती हो ओली नेतृत्वकाे कम्युनिस्ट सरकारले जनसाधारणलाई दिएको विकासको भ्रम, सत्ताको दुरुपयोग, भ्रष्टाचार, लाेकतन्त्र र संविधानमाथि गरेको बेइमानी जनतासम्म एकै स्वरमा पुर्र्याउने । हामीले देखेका र सुनेका छौं जसरी एमालेमा दुई धुव्र छ कांग्रेस पनि विभाजित मानसिकता लिएर अघि बढ्यो भने पनि त्यो कम्युनिस्टकै लागि थप अवसर हुनेछ ।

नेकपाको फुटमा सायद सबैभन्दा दुखी चिनियाँ कम्युनिस्ट पार्टी भएकाे छ । ठूलै मेहनतले जुटाएको नेकपा पुरानै अवस्थामा फर्कनु उसका लागि चिन्ता र चुनौती दुवै हो । यही कारणले नेकपा फेरि एक हुने वा एकता नै नभए पनि संयुक्त मोर्चा बनाएर चुनावमा जाने सम्भावना बलियै छ । यसलाई परास्त गर्न कांग्रेसले पनि स्पष्ट राजनीतिक खाकासहित लाेकतान्त्रिक शक्तिहरूलाई मोर्चाबन्दी गर्नु जरुरी छ । यसको नेतृत्व पनि कांग्रेसले मात्र गर्न सक्छ ।

कांग्रेसले वर्तमान राजनितिक सङ्कटकाे निकासको नेतृत्व लिन ठूला दलमात्र नभएर सानाठूला सबै राजनीतिक शक्तिसँग विचार विर्मश गर्नु र सबैलाई मिलाएर संयुक्त चुनावी सरकारको अडान राख्नुपर्छ । यही रणनीतिबाट नै लाेकतान्त्रिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउन सहयोग पुग्नेछ । कांग्रेसले परिपक्वता देखाउन नसके मुसाकै जुनीमा फर्केका कम्युनिस्टहरू फेरि बाघ बन्न बेर लाग्नेछैन । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC