सन् १९४० को दशकको कुरा हो । भारतबाट अंग्रेज फर्किने निश्चित प्रायः भइसकेको थियो । तिनैताका बीपीले नेपाली राष्ट्रिय कांग्रेस स्थापनाको तयारी तीव्र बनाएका थिए । भारत स्वतन्त्र नहुदाँसम्म नेपालबाट राणाशासन समाप्त पार्न सकिँदैन भन्ने उनको बुझाइ थियो ।
राणाविरोधी संगठन बनाएर आन्दोलनलाई गति दिन लागि परेका गणेशमान सिंह पनि जेल तोडेर भारत पुगेका थिए । देशको पहिलो राजनीतिक दल प्रजापरिषद्का सदस्य सिंह बीपीसँगै राष्ट्रिय कांग्रेस स्थापनामा सक्रिय थिए । तिनै ताकाको कुरा हो, एक दिन तारिणीप्रसाद कोइरालाले बीपी र गणेशमानलाई भने, ‘‘प्रजातान्त्रिक पार्टी गठन भए राणाविरुद्ध मजदुरहरुको संगठित आन्दोलन सुरु गर्न सकिन्छ ।’’ यस प्रसंगमा गणेशमान सिंहले आफ्नो पुस्तक ‘मेरो कथाका पानहरु’मा भनेका छन्, ‘‘पार्टी गठन पूर्व नै हामीले विराटनगरका मिलहरुमा कार्यरत मजदुरहरुलाई संगठित गर्ने र राणाविरोधी आन्दोलनको जग बनाउने योजना बनाइसकेका थियौँ ।’’
नेपालमा कतै उद्योगधन्दा नभएको समयमा राणा प्रधानमन्त्री जुद्धशमशेरले १६ लाखको लगानीमा विराटनगरमा एउटा जुट मिल स्थापना गरेका थिए, वि.सं. १९९३ मा । सुरुमा दुई सय तानबाट थालिएको मिलमा १५८ तान थपेर ३५८ पुर्याइएको थियो ।
विस्तारै भारतसँगको सीमावर्ती सहर विराटनगर औद्योगिक क्षेत्रका रूपमा विकसित भइरहेको थियो । जुटका अतिरिक्त त्यहाँ सञ्चालनमा रहेका कटन र केमिकल्सलगायत उद्योग शतप्रतिशत नाफामा थिए । दैनिक ११ घन्टा काम गर्ने पाँच हजारभन्दा बढी मजदुरहरुको अवस्था भने दयनीय थियो । तिनका छोराछोरीको शिक्षा र स्वास्थ्यमा ध्यान दिइएको थिएन । न त ट्रेड युनियनको अधिकार नै थियो ।
प्रजातन्त्रको पक्षमा माहोल बनाउन मजदुरहरुलाई संगठित गरेर आन्दोलन चलाउनुपर्छ भन्ने रणनीतिका साथ तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलगायत राजनीतिबाट प्रशिक्षित युवाको समूहले जुट मिल, कटन मिल र केमिकल्समा काम सुरु गरेका थिए ।
यस प्रसंगमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकलाई सुनाएका छन्– “मैले जुट मिलमा काम सुरु गर्नुको उद्देश्य राजनीतिक रूपमा मजदुरलाई संगठित गर्नु नै थियो । काम थालेको केही समयपछि नै मालिकसँग मेरो विवाद सुरु भइहाल्यो । गर्मीको समय पंखा राखिदिएको छैन । अनि, हामी अधिकारका कुरा उठाउन थाल्यौँ । मालिक सुन्न तयार भएनन् । अनि, दिनभरि काम गर्ने र राति मजदुरहरुलाई संगठित गर्ने काम सुरु गर्यौँ ।”
दोस्रो विश्वयुद्धको समयमा चामल र जुटको उच्च माग थियो । मिलहरुले प्रशस्त कमाए पनि । तर, मजदुहरुको अवस्था ज्युँका त्युँ । साँझ–बिहान राम्ररी खान पुग्दैनथ्यो ।
कोइरालाले लेखकसँग भनेका छन्– “अनि, हामीले युनियनलाई मान्यता दिनुपर्ने, पैंतीस प्रतिशत तलब बढाउनुपर्ने, दैनिक आठ घण्टा काम लगाउनुपर्ने र आवासको उचित व्यवस्था गर्नुपर्ने माग राखी मजदुरहरुले आन्दोलन गर्ने ‘अल्टिमेटम’ दियौँ । मिल मालिकले माग पूरा गर्न अस्वीकार गरेपछि २००३ साल फागुन २१ गतेदेखि हड्ताल सुरु गर्ने निर्णय भयो ।”
यस प्रसंगमा पूर्वप्रधानमन्त्री कोइरालाले लेखकलाई सुनाए– "आन्दोलन सुरु हुने दिन म घरको छतमा बसेर के हुन्छ भनेर हेरिरहेको थिएँ । तारिणी दाजुले सोध्नुभयो— किन आज काममा नजाने ? मैले भने— आज जान्नँ, तमासा हेर्नु छ । बिकु र मबाहेक तारिणी दाजु र युवराज अधिकारीलाई पनि आन्दोलनको बारेमा जानकारीसम्म थिएन ।"
हरेक दिन बिहान ७ बजे मिल खुल्ने समय थियो । तर, त्यस दिन पाँच–सात हजार मजदुर पन्ध्र मिनेटपछि मात्र मिल एरियामा जम्मा भए । नाराबाजी चल्न थाल्यो ।
नाराबाजीबीच मजदुरले गिरिजाप्रसाद कोइरालालाई बोलाए । मिलनजिक एउटा बरको रुख थियो । अहिले पनि छ, बरगाछी भन्छन् । त्यहीँ मजदुरहरु सभापति चुन्ने तयारीमा लागे । अचानक भिडबाट आवाज आयो । अप्रत्याशित रूपमा गिरिजाप्रसाद सभापति छानिए, विश्वनाथ सचिव । गिरिजा तिनताका २२ वर्षका थिए ।
अनि, “ल ! सभापतिले बोल्नुपर्छ” भन्ने आवाज सुनियो । कसैले उनलाई सानो कुर्सीमा बसाए । त्यसपछि सभापतिको हैसियतमा गिरिजा बोल्न थाले— मजदुर भाइ और बहनो १ त्यसपछि उनको मुखबाट एक शब्द निस्किएन ।
भिडबाट एकजना सोसलिस्ट कार्यकर्ता (भारतीय) मञ्चमा उक्लिए । पूर्वप्रधानमन्त्री कोइरालाले ‘आफ्नो जीवनी आफ्नै कुरा’मा भनेका छन्– उनले नै हाम्रो सभापतिले यो भन्न खोज्नुभएको भनेर मेरो तर्फबाट खरर्र भाषण गरे । सभा सकियो ।
त्यसको पाँच दिनपछि फागुन २६ गते आन्दोलनलाई नेतृत्व दिन बीपी र गोपालप्रसाद भट्टराई विराटनगर पुगे । चैत्र ११ गतेसम्म हड्ताल शान्तिपूर्ण रूपमा चलिरहेको थियो । राणा सरकारले कोइराला परिवारको उपद्रो ठानेर आन्दोलन दबाउन काठमाडौंबाट पहाडको बाटो हुँदै साढे दुई सयजति सैनिक विराटनगरमा पठायो । त्यही सैन्य टोलीले चैत्र १२ गते बिहानै बीपी, तारणी, गिरिजा, मनमोहन, युवराज, गेहेन्द्रहरि शर्मा (बिकु)लाई पक्राउ गरी बडाहाकिम रामशमशेर कहाँ लगे । अनि, छजनालाई पैदल हिँडाएर धनकुटा पुर्याइयो । अनि, रामेछाप, सिन्धुली, काभ्रेको पहाडी बाटोमा २२ दिन हिँडाएर काठमाडौं ल्याइयो ।
उता, विराटनगरमा बीपीकी आमा दिव्याको नेतृत्वमा चैत्र १४ गते विशाल प्रदर्शन भयो । आमा दिव्यासहित कोइराला परिवारका छोरी–बुहारीहरु नलिनी, इन्दिरा, कामिनी पनि थुनिए । यस प्रसंगमा भोला चटर्जीसँगको अन्तर्वार्तामा बीपीले भनेका छन्– के भनौँ, मेरी श्रीमतीबाहेक मेरो परिवारका सबै गिरफ्तार भए ।
बीपीसहित मजदुर आन्दोलनका क्रममा पक्राउ परेका छजना पुरुषलाई तीन साता पैदल हिँडाएर विशालनगरस्थित प्रधानमन्त्री पद्मशमशेरको दरबारमा एउटा सानो कपुरको रुखमुनि राखिएको थियो ।
वि.सं. २००४ साल वैशाख १ गतेको कुरा हो । ‘दिउँसोको १२ बजे त्रिचन्द्र कलेज र जुद्धोदय पब्लिक स्कुलका विद्यार्थीहरु टंकविलास बज्राचार्य, प्रेमबहादुर कंसाकार, गोपालप्रसाद रिमाल, तिलकराज शाही, नूतन थपलिया साइकल चढेर ‘बीपीहरुलाई हेर्न विशालनगर दरबार पुगे ।’
त्यस दिनको घटना नूतन थपलियाले लेखकलाई सुनाए, त्यही बेला दरबारका एकजना आठपहरिया कप्तानले अपशब्द प्रयोग गर्दै भनेका थिए– “राणाशासन उल्टाउन खोज्ने कांग्रेस, यस्ता मानिसलाई यहाँ न ल्याएर कहाँ लग्ने त ?” बीपीले ती कप्तानलाई पटापट गालामा थप्पड लगाइदिए । दरबारका मानिसलाई पिटेपछि त हलचल मच्चिई हाल्यो । हामी विद्यार्थीहरु दंग परेर हेरिरह्यौँ । राणाको सैनिकलाई पिटिदिने मान्छे त कडै रहेछन् भनेर ।
यस प्रसंगमा बीपीले भनेका छन्– “अलि फोहर गाली गर्दै उसले के भनेको थियो, मैले त्यसको गालामा पटापट दुई थप्पड लगाइदिएँ । मलाई यति रिस उठिरहेको थियो कि मेरो सुटकेसमा अड्काइरहेको एउटा लठ्ठी लिन म झुकेँ, त्यसैले पिट्छु भनेर तर मनमोहनले (मनमोहन अधिकारी) त्यो लट्ठी समातेर मलाई रोके ।”
त्यो घटनापछि महाराजको ठाडो निर्देशनमा गिरिजा, मनमोहन, तारिणीलाई जाउलाखेलको एउटा बंगलामा राखियो भने बीपीलाई छुट्टै अर्को बंगलामा नजरबन्द गरियो । त्यो बेला मोहनशमशेर यी ‘बन्दीहरुलाई राजबन्दीको सुविधा दिएर हैन, सामान्य कैदीसरह केन्द्रीय कारागारमा राख्नुपर्छ भन्ने पक्षमा थिए । महाराज पद्मशमशेरले उनको कुरा मानेनन् ।’
त्यही घटनापछि काठमाडौंमा राणाविरोधी भावना ह्वात्तै बढेको थियो । मजदुर आन्दोलन दबाउन बल प्रयोग गरेको तीन वर्षमै एक सय चारवर्षे राणा शासनको अन्त्य भयो ।