मंसिर २२, २०७७ को मितिमा बाह्रखरी अनलाइनमा राजुकुमार राईको ‘राई शब्द बारे भ्रम र यथार्थ’ शीर्षकको लेख पढ्न पाइयो । सोही लेख, सोही शीर्षकमा २३ मंसिरमा ‘प्रभाव’ दैनिकमा पनि पढ्न पाइएको थियो । सो लेखमा ‘राई जात हो कि, पद ?’ भन्नेबारे मानिसहरुमा भ्रम रहेको आशय व्यक्त गरिएको छ । त्यो केही हदसम्म सत्य पनि हो । किनभने, यथार्थमा हामी १६ खम्बुका सन्तान हौँ । ‘राई’ न त नेपालको कुनै ‘जात’ हो, न त ‘जाति’ । यो त पदवी वा पगरीमात्रै हो र सेनदेखि वा शाह राणाहरुको शासन हुँदै पञ्चायती व्यवस्थासम्म पदवी वा पगरीकै रुपमा प्रचलनमा थियो । नागरिकता, जग्गाधनी पूर्जा, पेन्सन पट्टालगायतका आधिकारिक प्रमाणपत्रहरूमा समेत ‘राई’ भनी उदाहरण दिने गरिन्छ । तर, नागरिकता र राहदानीहरू त व्यक्ति विशेषलाई चिन्ने परिचयपत्र न हो । जाति वा समुदाय (अझ आदिवासी जनजाति) हुन त ऐतिहासिक भूमि, छुट्टै मातृभाषा, छुट्टै भेषभुषा, हामी भन्ने भावना, परम्परागत कानुन, फरक जीवन शैली, फरक गरगहना, फरक धर्म, फरक चाडबाड, संस्कार, संस्कृति, जात्रामात्रा, बाजागाजा, लोक जीवन, पूराकथा वा मिथक, रहनसहन, मूल्यमान्यता अर्थात् मूर्त र अमूर्त सांस्कृतिक सम्पदा हुनै पर्छ । ‘राई’ भने ‘राय’बाट अपभ्रंश भएको शब्द हो जुन शब्दले कर्णालीतिर ‘राजा’ भन्ने अर्थ जनाउँथ्यो ।
नेपाली बृहत् शब्दकोशमा ‘राई भन्नाले एक च्याङ्ग्रा, राई गँडेरो माछा, मुडली गहुँ, पिप्लाको साग, एक जाति भनिएको छ ।
‘राई’ भाषा २८/२९ वटा भएको (विसं २०६८ को जनगणनाअनुसार २७ वटा) तथ्यांक । यिनै २८ मध्ये एउटा भाषा वालिङ/वालुङ पनि छ । यो ओलाङचुङ गोलाकै बासिन्दालाई वालुङ भनेर जनगणनामा जाति भनी अलग्गै लेखेजस्तै ओलाङचुङ गोलाकै मानिसहरुले बोल्ने भाषालाई नै वालुङ/वालिङ भाषा भनिएको हो कि ?
‘राई’हरुको संस्थाको नाम भने बान्तावा जातिको भाषामा ‘यायोक्खा’ राखिएको छ । त्यस्तै ‘राई’ जातिको नाच भनेर चाम्लिङ जातिको ‘साकेला’ नाचलाई अपनाइएको छ । यो त जबरजस्ती प्रमाणित गर्न खोजे जस्तो भएन र ? किनभने, एकछिनलाई मानौं एउटै जाति ‘राई’को २८/२९ वटा भाषा हुन सक्छन् रे ! तर, कुन चाहिँ ‘राई’ ले यी २८/२९ वटै भाषा बोल्न सक्छ ?
आधार र प्रमाणविना राई जातै हो भन्नु ‘सुगा रटाई हो । यथार्थ के हो भने हामी कुलुङलगायत हाल राई भनी चिनिनेहरु १६ खम्बुका सन्तान हौँ ।
विसं २०२१ सालमा आएको भूमि सुधार ऐन लागू भएपछि ‘रैती’ वा ‘ढाक्रे’हरुले पनि नामको पछाडि ‘राई’ ‘सुब्बा’, ‘मुखिया’ आदि लेख्न पाए ।
त्यसअघि केन्द्र सरकारलाई निश्चित रकम जस्तै भूमि कर, ठेकीबेठी, बेठबेगार तिर्नेलेमात्रै ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार वा जिम्मावाल हुन पाउँथे । उनीहरुका हातमा तिरोभरो उठाउने, झैझगडा मिलाउने (पञ्चखत बाहेकको) ९९ रुपैयाँसम्मको जग्गाजमिन किनबेच (घरायसी राजीनामा) गर्ने लगायत नियाँनिसाफ आदि हेर्ने अधिकार थियो । तर, सो बापत ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार वा जिम्मावालहरुले आप्mनो अधिकार क्षेत्रभित्रका रैती वा ढाक्रेलाई बोलाएर टीकाजमरा लगाई दिनुपर्ने, दसैं मान्नुपर्ने, दसैं मानेको प्रमाणस्वरुप ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’हरुको मूल ढोकाको दायाँ वा बायाँतर्फ मौलोमा मार हानिएको बोको वा राँगो (पदअनुसार जस्तै सानो राई वा सुब्बाले आफै जत्ति नै धनी भए पनि बोको मात्रै मार हान्न पाउँथ्यो भने, ठूलो राई वा सुब्बा जति नै गरिब भए पनि राँगो नै) मार हान्नुपथ्र्यो । अझै पनि त्यसरी ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार वा जिम्मावाल भएका स्थानीयस्तरका छोटे राजाका सन्तानलाई ‘फलानो जिम्मावाल वा फलानो तालुकदारका सन्तान’ भनेर बोलाउने गरिएकै छ ।
त्यस्ता ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार वा भनौं जिम्मावालका जेठा छोराहरु काठमाडौलगायत सहरबजारमा अझै पनि भेट्न सकिन्छ । त्यसैले राई कुनै बेग्लै जात वा जाति होइन । नेपालको भगौलिक एकीकरणपछि पूर्वका किरातीहरुलाई उनीहरुको भूगोलसमेत फुटाएर ओल्लो किरातका सुनुवारलाई ‘मुखिया’, माझ किरातका कुलुङलगायत खम्बुका सन्तानलाई ‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी/पगरी दिइएको थियो ।
त्यस्तै ‘सबै जातको फूलबारी’ नामक किताबमा डोरबहादुर विष्टले ‘...तिरो उठाउँदा जग्गाको नापअनुसार नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने ‘राई’ हरुलाई मर्का पर्थो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हुँदा धेरै जसो ‘राई’हरु नै खुसी .... ’ भनी लेखेका छन् । चाल्र्स म्याकडग्लसले लेखेको ‘द कुलङे राई’ नामक किताबमा पनि ठाउँठाउँमा विष्टकै भनाइ पुष्टि हुने मत प्रकट भएको छ ।
सन् २००७ को ‘विश्व आदिवासी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रश्नोत्तर–उत्तर सुरु भएपछि यो पंक्तिकारले ‘वास्तवमा राई जात होइन, राईलाई जाति मान्दा २२ भन्दा बढी किरातीहरुको जातीय स्वपहिचान र अस्तित्व मेटिन आँटेको छ !’ भन्दा भोजपुर जिल्ला बोयाका डा. शिवकुमार राईले यो पंक्तिकारलाई ‘भाइ, तपाईले साह्रै रामो प्रश्न उठाउनु भयो, किनभने मेरा बाबु पनि ठूला राई थिए । भूमिसुधार ऐन आएपछि जग्गा–जमीन रैती/ढाक्रेको नाममा गर्नुपर्ने भयो । तर, मेरा असली राई बाबुले म पो ‘राई’ यी मेरा रैती/ढाक्रेहरु कसरी ‘राई’ भनी बबाल गरेका थिए ! आखिरमा रैती/ढाक्रेहरुलाई राई लेख्न दिने कि नदिने ? भनी छलफल गर्न चारपाँच दिनसम्म पञ्चभलाद्मीहरुको भेला नै डाक्नु परेको थियो ’ भनी बताएका थिए । स्मरण रहोस्, ‘राई’ जात वा जाति होइन, पदवी वा पगरी मात्रै हो भनी जान्नका लागि त्यो वेलाका ठूला ‘राई’ अर्थात् ५२ पगरीका ‘राई’का खलकहरु जस्तै भोजपुर जिल्लाको दिल्पा–अन्नपूर्ण नागी क्षेत्रका मुकारुङ खलक, संखुवासभा जिल्लाको पाङमा, धुपुको लोहोरुङ खलक, संखुवासभा जिल्लाकै मेवाहाङ खलकका ५२ पगरीका ‘राई’का जेठा छोराहरु धरान, विराटनगर, काठमाडौंलगायतका सहरबजारमा अझै भेटिन्छन् ।
विसं २०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा संघसंस्था खोल्नलाई वातावरण केही खुकुलो भएपछि ‘संस्था दर्ता ऐन–२०३४’ अन्तर्गत राई जातिको नाममा ‘राई यायोक्खा नामक गैरसरकारी संस्था (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाडांै जिल्ला प्रशासन कार्यालय दर्ता नम्बर–३२८/०४९/०५०) दर्ता भएको हो । तर, सो संस्था दर्ता भएपछि यायोक्खाका हर्ताकर्ताहरुले राई जातिका नाममा बान्तावा जातिको भाषा र राई जातिको नाचका नाममा चाम्लिङ जातिको ‘साकेला’ कुलुङलगायत १६ खम्बुका सबै सन्तानहरुलाई जबरजस्ती लाद्न खोजे । त्यसपछि नै हो, कुलुङ समुदायका अगुवाहरुले विसं २०४८/०४९ मा कुलुङ जातिको छुट्टै जातीय संगठन खोलेका ।
क्रमशः १६ खम्बुका सन्तानहरुले पनि वास्तविकता बुझ्दै गएपछि यायोक्खालाई छाड्दै गए । तर, अझै पनि आफ्नो वास्तविक इतिहास र पितापूर्खाबारे प्रस्ट नभएका, आफ्नो मातृभाषा, संस्कार, संस्कृति, भेषभुषा, चालचलन, रहनसहन, परम्परागत कानुन, हामी भन्ने भावना आदि थाहा नभएका वा मतलब नगर्ने र, राईको नाममा राजनीति गर्ने (संख्या देखाएर)हरुले भने अझै पनि यायोक्खा नामक गैससको भाषिक सम्बद्धता लिएरै बसेका छन् । अचम्मको कुरो मकवानपुर जिल्लाको केही दनुवारलाई ‘देवास राई !’ भनेर ‘राई’ जातिको भाषिक सम्बद्धता दिएको छ राई योयोक्खाले । तर, अधिकारकर्मी ज्योती दनुवार र राजनीति लागेका राजन डोनेका अनुसार ‘देवास’ भनेको दनुवावारहरुको धामीझाँक्रीले कूल पूजा गर्दा खेलाउने देउताको नाम हो ।
यसरी हेर्दा जानेर वा नजानेर आफ्नो असली जातीय स्वपहिचान गुमाउने त राई जातिवालाहरुका सन्तानले नै हो । त्यसपछि हाम्रा छोरा, नातिकै पालामा त नभनौं, तर पनाति, जनाति, खनाति, मनाति, ... को पालामा अवश्य पनि सन्ततिले हामीलाई धिक्कार्ने छन् । किनभने त्यति बेला हाम्रो असली जातीय स्वपहिचान ‘कुलुङ’लगायतलाई कर्णालीतिरबाट आएको ‘राय’को अपभ्रंश ‘राई’ शब्दले हाम्रो स्वजातीय पहिचान समाप्त पारिसक्नेछ । यसैले वेला छँदै विचार गरौँ ।
त्यसो त कुलुङ जातिका अगुवाहरुले विसं २०५७/०५८ देखि नै कुलुङ जाति अलग्गै जाति वा समुदाय हुन् राई होइनन् भन्दै आएका छन् । अलग्गै जातीय पहिचानका लागि संघर्ष गर्दैआएका हुन् । किनभने, कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी थर, उपथरहरु छन् । त्यसैले त कुलुङ–कुलुङबीचमै एकआपस्तमा बिहेबारी चल्ने गरेको छ । विसं २०६८ को जनगणनामा कुलुङ जातिको तथ्यांक अलग्गै जातिका रुपमा आएको पनि छ । कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ भाषा वक्ता संख्याचाहिँ ३३ हजार १७० जना रहेको छ । सोही आधारमा केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिलाई जातिगत कोड–६२ र भाषागत कोड–२९ उपलब्ध गराएको छ ।