
वर्षा महर्जन
“ऊ मेरो जिन्दगीमा हुन्न थियो त म उहिले बितिसक्थेँ,” केही सेकेन्डको शून्यतापछि, “म अलिकति भद्रगोल मान्छे । घर, म र मेरो परिवारलाई सम्हाल्ने उनी नै हो । मैले मनदेखि केही गर्छु भन्दा ऊ सधैँ मेरो सपोर्टमा हुन्छिन् ।” उनी अर्थात दिग्गज निर्देशक/रंगकर्मी सुनील पोखरेलकी श्रीमती/कलाकार निशा शर्मा । कम तर सटिक बोल्ने सुनील आफ्नी जीवनसंगीनीको तारिफको पुल यसरी बाँधिरहेका थिए ।
सुनील ज्यादै कम बोल्छन् । निशा पनि यही मान्छिन् । सुनीलले तारिफमा खासै शब्द नखर्चने निशाको गुनासो छ । सुनील आफ्नो मनको कुराहरु त्यति खुलेर पोख्दैनन् । किनभने, उनी मुखले बोल्नुभन्दा हाउभाउ र अन्य कुराले बुझ्नुपर्छ भन्ने कुरामा विश्वास राख्छन्, “पहिला भोकल्ली एक्सप्रेस गर्ने चलन नै थिएन । अझ हामीभन्दा कति वर्षअगाडि त बूढाबूढीको एकार्कासँग बोलचाल नै हुँदैन थियो । संयुक्त परिवारमा हुन्थे,” उनी थप्छन्, “अलिकति टच, अलिकति हेराई, सानासाना चिजले एक्सप्रेस हुन्थ्यो । अहिलेजस्तो सीधै भन्ने चलन थिएन । अनि, सानो–सानो केयरबाट । त्यसैले बोल्नैपर्छ जस्तो मलाई लाग्दैन ।”
सुनीलकै शब्दमा सुनीलजस्तो ‘भद्रगोल’ व्यक्तिलाई निशा शर्माले श्रीमान्–श्रीमतीको मायाको डोरीले व्यवस्थित गर्दै अघि बढेको तीन दशक पूरा भइसकेको छ । यो जोडीले यही मायाको महिना अर्थात फेबु्रअरी ३ मा वैवाहिक लगनगाँठोको ३० वर्ष पूरा गरेर ३१औँ वसन्तलाई स्वागत गरेका छन् । मायाको महिनामै विवाह बन्धनमा बाँधिएका उनीहरुसँग प्रणय दिवस र सम्बन्धबारे बुझ्न हामी शुक्रबार यी जोडीको निवासमै पुग्यौँ ।
तीन दशकको यात्रालाई फर्किएर हेर्दा...
उतार–चढाव भनेको जिन्दगीको रीत नै हो । हरेकको जिन्दगीमा कहिले खुसी त कहिले आँसु हुन्छ नै । सुनील र निशाले पनि सुनीलको ड्रिम प्रोजेक्ट (गुरुकुल)लाई जन्माउन र यसलाई टिकाइराख्न धेरै संघर्षहरु गरे । यी सबै कुराहरुलाई एक छिन थाती राख्ने हो भने निशा, सुनीलले वैवाहिक यात्राको तीन दशकमा सबैभन्दा पहिला सम्झिने खुसीको क्षण भनेको आफूहरुको मायाको चिनो छोरा निशांस हो ।
त्यस्तै, उनीहरु हाल बसिरहेको घर ‘बुक’ गर्दाको दिन उनी जिन्दगीमा दोस्रोपटक यति धेरै खुसी भएकी थिइन् । “म सधैँ सुनीललाई मेरो आफ्नै घर कहिले हुन्छ भन्दै पिरोलिरहन्थे । किनभने, डेरामा बसेको लामो समय भइसकेको थियो । त्यसैले हामीले यो घर बुक गर्दा म एकदमै खुसी थिएँ । दुःख, सुख गरेर अन्ततः आफ्नै घर भएको दिन को खुसी नहोला र ।”
सुनील भने निशाको माया र केयरले आफ्नो जिन्दगी परिवर्तन भएको मान्छन् । सुनीलसँगको जिन्दगीको यात्रामा निशाले अर्को कहिल्यै नबिर्सने क्षण भनेको गुरुकुललाई एउटा नर्वेजियन प्रोजेक्टले सपोर्ट गर्न हात अघि बढाएको दिन हो । जुन गुरुकुलकै लागि पनि एउटा ‘टर्निङ प्वाइन्ट’ थियो ।
चिनजानको पुल...
निशा र सुनीलको भेट नाट्यक्षेत्रले नै जुराए पनि गुरुकुलले भने होइन । गुरुकुल जन्मिनु धेरै अगाडि नै उनीहरुबीच चिनजान भइसकेको थियो । उनीहरुको भेट हुनुको पुल बनिदिइन् निशाकी दिदी चन्द्रमाला । साइँली दिदी चन्द्रमाला र सुनील नेपाल प्रज्ञा–प्रतिष्ठानमा हरिहर शर्माबाट नाटककोे तालिम लिन्थे । त्यही क्रममा दिदीको साथी बनेर निशाको घरमा आउजाउ हुन्थ्यो । निशाकै शब्दमा भन्नुपर्दा सुनील निशाको घरकै सदस्यजस्ता थिए । फेरि, संयोग ! पाँच दिदीबहिनी भएको निशाको परिवारको कान्छो भाइको नाम पनि सुनील ।
दिदीको साथी र आफूभन्दा ६ वर्षले जेठो भएर निशाले सुनीललाई ‘दाइ’ भनेर सम्बोधन गर्थिन् । “उहाँ (सुनीलसँग) भेट्दा त म नौ वर्षको मात्रै थिएँ होला,” निशाले यसो भनिरहँदा सुनील ब्याकग्राउन्डमा भन्दै थिए, “म पनि त्यति ठूलो त भइसकेको थिइनँ है ।”
बालकलाकारको रूपमा नाटकमा निशालाई सुनीलले नै खेलाएका थिए । हुँदाहुँदा निशा पनि निरन्तर नाट्यक्षेत्रमै लाग्न थालिन् । सुनील कहिले निर्देशक त कहिले सँगै सहकर्मी भएर निशासँग नाटकमा देखिन थाले ।
‘टम ब्योय’ र नलजाउने, हक्की र चुलबुले स्वभावकी निशा नाटक त गर्थिन् तर त्यति सिरियस हुँदिनथिइन् । नाटकको रिहर्सलमा त्यति ध्यान दिन्नथिन् । “म अलिकति केयरलेस थिएँ । मैले गर्ने नाटकको डायलग मलाई कण्ठ गर्न दुई–तीनपटक लाग्थ्यो भने उहाँलाई पूरै नाटक नै कण्ठ हुन्थ्यो,’’ निशाले भनिन्, ‘‘त्यसैले मैले दिनदिनै गाली खानुपर्ने हुन्थ्यो, कति रुन्थेँ पनि ।” तर, मञ्चन हुँदा भने निशाको प्रस्तुतिमा कुनै खोट लगाउने ठाउँ हुँदैन थियो ।
कसैसँग नडराउने, खुलेर आफ्नो विचार व्यक्त गर्ने, निर्धक्क बानीबाट सुनील प्रभावित भइसकेका थिए । त्यसैले भेटेको चार–पाँच वर्षमा नै सुनीलले निशालाई आफ्नो माया पोख्ने निर्णय गरिसकेका थिए ।
डिल्लीबजारदेखि बालाजुसम्मको हिँडाइ
त्यो समयमा बस भाडा एक रुपैयाँ र टेम्पोमा दुई रुपैयाँ लाग्थ्यो । तर, उनीहरुसँग कहिलेकाँही त्यति पनि हुँदैन थियो । तर, त्यो दिन उनीहरु गाडी भाडा नभएर त्यति लामो दूरी पैदल गएका भने थिएनन् ।
निशाको घर बालाजु अनि नाटक रिहर्सल हुने ठाउँ डिल्लीबजार । त्यो दिन सुनीलले निशालाई पैदल नै उसको घरसम्म पुर्याइदिन्छु भने । निशालाई घर पुर्याउँदा बाटोमा माया पोख्ने मनसाय सुनीलको थियो । निशा योबारे अन्जान ।
सोह्रखुट्टे पुगेपछि सुनीलले हिम्मत गरेर मनको कुरा पोखे । तर, विडम्बना त्यहीबेला गाडी हुइँकिँदै उनीहरुको छेउबाट गुज्रियो । निशाले राम्रोसँग सुनीलको कुरा बुझिनन् । उनले सोधिन्, “के भन्नुभयो सुनील दाइ ?” सुनील बोले, ‘‘बल्लबल्ल यस्तो गाह्रो गरेर भनेको फेरि भन्नुपर्यो है । म तिमीलाई मनपराउछु, बिहे गर्ने हो ?” निशाको जवाफ फर्किहाल्यो, “ला ! मलाई त थाहा छैन त । १० वर्षपछि सोध्नुभयो भने पनि मेरो जवाफ यही हुन्छ, घरमा ममी–बुवासँग भन्न आउनु । मलाई थाहा छैन ।”
हुन त निशालाई प्रत्यक्ष प्रेम प्रस्ताव राख्नुअघि सुनीलले निशाकी अर्की दिदी सूर्यमालालाई पनि निशासम्म यो कुरा पुर्याइदिन गुहार नमागेको होइन । तर, उनले सहयोग गर्न मानिनन् ।
छोरी माग्दादेखि जन्तीसम्म कलाकारमात्रै
सानै उमेरमा घरबाट भागेर काठमाडौं आएका सुनीलको काठमाडौंमा सहकर्मी, साथी वा परिवार जे भने पनि कलाकारहरु नै थिए । उनी त्यो बेला सूर्यमाला र सरोज खनालसँग डेरामा बस्थे । त्यसैले विवाहको लागि निशाको हात माग्न जाँदा सुनील कलाकारकै एक टोली लिएर गएका थिए (हरिहर शर्मा, बद्रि अधिकारी, सरोज खनाल, शैलेश आचार्य, प्रदीप श्रेष्ठ) । दिदी–भिनाजुहरुले चिनिरहेको र घरमा पनि आउजाउ भएकाले निशाका आमा–बुवाले सुनीलको इमानदारिता देखेर छोरी दिन तयार भए ।
तर, यता सुनीलको घरमा भने जात तगारो बनेर खडा भयो । निशाकी आमा नेवार। बुवा बाहुन । सुनील कट्टर बाहुन र कुलकै जेठो छोरा । घरमा निशालाई बुहारीको रूपमा भित्र्याउन अनुमति नै थिएन । तर, रंगमञ्चमार्फत अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्र, लोकतन्त्रको वकालत गरिरहेका जोशिला युवा रंगकर्मी सुनीललाई जातभातले केही फरक पारेको थिएन । त्यसैले परिवारको मन्जुरीबिना र गैरउपस्थितिमा नै उनले निशासँग लगनगाँठो कसे । स्वयंबर पनि निशाको परिवार र सुनीलका साथी र सहकर्मीहरुको उपस्थितिमा मात्रै भयो । स्वयंबर भएको दुई वर्षपछि बल्ल उनीहरुले विवाह गरेर एकार्कासँग बस्न थाले ।
स्वयंबरपछि सुनील नाटकको सिलसिलामा बाहिर गए । त्यो दौरान सुनील कति दिन भूमिगत बस्नुप¥यो भने कतिपटक जेलको हावा पनि खाए । कारण, पञ्चायतविरुद्ध वकालत थियो ।
जसोतसो विवाहको मिति तय भयो । तर, विवाहको मिति भइसक्दा सुनील गायब । कुनै सम्पर्क थिएन । कता गए कसैलाई थाहा भएन । सुनीलको घर विराटनगर हो भन्नेबाहेक निशाको आमा–बुवालाई उनको बारेमा कुनै जानकारी थिएन । मात्रै उनको इमानदारिता हेरेर छोरी दिन राजी भएका थिए ।
भोलिपल्ट बिहे । हुनेवाला ज्वाइँ नहुँदा निशाको परिवारमा तनाव । अन्ततः विवाहको अघिल्लो राति उनी काठमाडौं आइपुगे । पछि थाहा भयो, आमा–बुवालाई फकाएर ल्याउने सुरुमा सुनील घर गएका रहेछन् । तर, सुनीलका आमा–बुवा आफ्नै कुरामा अडिग रहे र सुनीलको विवाहको सबै जोरजाम नारायण पुरीले गरे भने बाँकी कलाकार साथीहरु नै थिए । परिवारबाट भने उनको सानो भाइ सुगम पोखरेल (गायक) उपस्थित थिए । विवाह बन्धनमा बाँधिदा निशा १६–१७ वर्षकी मात्रै थिइन् ।
जन्त जाँदा ब्यान्डबाजा, फर्कंदा रित्तो
गर्ने नै भए जात नमिलेको केटीसँग खुसुक्क मन्दिर लगेर टीकाटालो गरेर सक्काइयोस् भन्नेसम्मको आदेश सुनीलको बुवाको थियो । निशालाई यो कुरा चित्त बुझेन । फेरि, उनको बाजा बजाएर गर्ने रहर । र, उनी यसैमा अडिग रहिन् ।
यता, ब्यान्डबाजा खोज्न सुनीललाई सकस । विवाहको सिजन, त्यसमाथि सुनील केही दिनअगाडि मात्रै भूमिगत बस्नुपरेको थियो । अन्तरिम सरकार थियो, उनी देशान्तर साप्ताहिकमा ‘सूत्रधार’ स्तम्भ लेख्थे । जसमा किशोर नेपाल सम्पादक थिए । यस्तैमा किशोर नेपालले सुनीललाई गृहमन्त्री योगेश आर्चायको निवास कुपण्डोलमा लगे । मन्त्रीको छोरीको पोखरेलसँग विवाह भएको संयोग । सुनील र किशोरले सबै बेलिविस्तार लगाएपछि उनले जंगिदै सोधे, ‘‘किन तपाईंलाई वारेन्ट ? जहपालको नाटक गर्दा तपाईंलाई वारेन्ट लाग्छ ?’’ डीआईजीलाई फोन गर्न लगाएर वारेन्ट फिर्ता गरिदिए ।
अघिसम्म सुनीललाई ‘अरेस्ट’ गर्ने ‘मिसन’मा रहेका डीआईजी अब भने सुनीलको जन्तको लागि ब्यान्डबाजा खोज्ने भए । बाजा पनि प्रहरीकै व्यवस्था भयो । हेडक्वार्टरबाहिर बसेर नारायण पुरीलाई भित्र पठाए । ब्यान्डबाजा लिएर बेहुली लिन पुगे । तर, फर्कंदा भने बिनाबाजा फर्कनुप¥यो । कारण, विवाहको सिजन भएर सुनीलले निशाको इच्छा पूरा गरिदिन मात्रै भनेर त्यतिकै लागि मात्रै ल्याएका थिए । र, बाजा अर्को विवाहमा गयो ।
सुनील र निशाको नजरमा प्रेमको अर्थ
प्रेम के हो ? हाम्रो यो प्रश्न सुन्नेबितिकै सुनील मुसुक्क मुस्कुराए र केहीबेर एक टक्कले हेरिरहे, केही सोचीरहे जस्तो । त्यो केही सेकेन्डको मौनता चिर्दै उनले भन्न थाले, “अचेलभरि अलिक हराउन थालेको चिज हो यो, संसारभरि नै हराएको हो कि जस्तो मलाई लाग्छ । प्रेम, माया भनेको एकार्काबीचको केयर, अन्डरस्ट्यान्डिङ हो र बारबार भनिराख्न नपर्ने, आफैँले बुझ्ने र महसुस गर्ने चिज हो जस्तो लाग्छ, मेरो विचारमा ।”
धेरै कुरामा एकार्काबीचको ‘नेचर’ फरक छ भन्ने निशा यो कुरामा भने सुनीलको हो मा हो मिलाउँछिन् । “त्यही त हो नि, माया भनेकै आफ्नो मनपर्ने मान्छेको सानोभन्दा सानो कुरामा ख्याल राख्ने, उसलाई माया दर्साउने ।”
तर, यति भनिरहँदा उनीहरु हिजोआजको ‘आई लभ यु’ मायामा भने पटक्कै विश्वास राख्दैनन् । आजकल आई लभ यु भनिदिए सकियो । सामाजिक सञ्जालमा फोटो राखेर यति धेरै कुरा पोस्ट्याएर देखावटी गरेको माया निशालाई मन पर्दैन । यद्यपि, कहिलकाहीँ यसको जरुरी भए पनि धेरै देखावटी भने उनलाई मन पर्दैन ।
विवाहको ३० वर्ष पूरा भइसक्दा पनि निशालाई कहिलेकाहीँ पिएको सुरमा सुनीलले आई लभ युभन्दा लाज लागेकोजस्तो भएर के गरौँ के गरौँ हुन्छ रे ! “कहिलेकाहीँ उहाँले खाएको बेला आई लभ युभन्दा म त रातोपिरो भएर के जवाफ दिनु, के गरौँ जस्तो लाज लाग्छ । हाम्रो जमानामा कहिले भनिएको भए पो । फेरि माया दर्साउन यो शब्द नै चाहिन्छजस्तो मलाई लाग्दैन ।”
उनीहरु पहिलेकै प्रेमपत्रको मायाको मिठासको सुगन्ध नै मन पराउँछन् । जुन निशाले आजसम्म पनि संगालेर राखेकी छिन् । सुनीललाई पठाएका चिट्ठीहरु निशासँग आज पनि छ । त्यो समय र ती चिजहरुको महत्व नै बेग्लै भएको निशा महसुस गर्छिन् । यति मात्रै होइन, सुनीलले दिएको पहिलो कुर्ता, मेकअकप, सारीदेखि हरेक कुरा निशाले आजसम्म पनि सुरक्षित राखेकी छिन् ।
आई लभ यु नभन्ने सुनीलले कामको सिलसिलामा जताको यात्रामा गए पनि सम्झिएर केही न केही निशाको लागि ल्याउने नै गर्छन् । जुन निशालाई औधी मनपर्छ ।
सम्बन्धलाई टिकाउन...
कति वर्ष एक्लै डेरामा बस्दा पनि खाना–खाजा नबनाउने सुनील हिजोआज भने भान्छामा छिर्छन् । बिहान निशा र छोराभन्दा चाँडै उठ्ने सुनीलको कफी बनाएर निशा र छोरालाई बेडसम्म लगिदिने ‘ड्युटी’ छ । पकाउन त्यति नजाने पनि भान्छामा निशालाई सघाउन पुगिरहेका हुन्छन्, कहिलेकाहीँ ।
सम्बन्धलाई टिकाइराख्न एकार्काको गल्ती स्वीकार्न सक्नुपर्ने सुनील बताउँछन् । “राम्रो कुरा त सबैले स्वीकार्छ । तर, जहाँसम्म मलाई लाग्छ, एकार्काको गल्ती पनि माफी दिनुपर्छ । अनि, बल्ल सम्बन्धले निरन्तरता पाउछ,” सुनीलले भने । निशा भने विलकुलै अलग सोच्छिन्, उनी एकार्कालाई ‘स्पेस’ दिन जरुरी ठान्छिन् ।
पोखरेल दम्पतीको नजरमा प्रणय दिवस
पुस्तक धेरै पढ्न रुचाउने सुनील, भ्यालेनटाइन डेभन्दा पनि एउटा कथा नै सम्झिन्छन् । “मैले सम्झिने भनेको सानु शर्मा भन्ने लेखिकाको ‘माई भ्यालेनटाइन’ भन्ने कथा हो । एकदमै राम्रो कथा छ । सरोज खनालले फिल्म बनाउँछु भनिरहनुभएको छ ।”
निशा भने माया पोख्न यो दिन नै कुर्नुपर्छ भन्ने कुरा मान्दिनन् । पश्चिमी संस्कृतिले विकृति फैलायो भन्ने निशा यो दिनमा मात्रै भन्दा पनि आफ्नो माया गर्ने मान्छेलाई हरेक दिन माया र केयर गर्नुपर्ने बताउँछिन् ।
माया–प्रेमलाई नै केन्द्रीय विषय बनाएर त्यति नाटक मञ्चन नभएको सुनीलको भनाइ छ । त्यसैले उनले प्रेमिल नामक किताबबाट आफूलाई मनपरेका दुई–तीनवटा कथामा नाटक बनाउने सोचीरहेका छन् । “हिजोआज प्रेमको पनि हामी उपोभोक्ता हुन थाल्यौँ कि क्या हो ? सबै चिजलाई किनबेचसँग जोडिन थाल्यो कि क्या हो ? नाफा–नोक्सानसँग जोडेर मायालाई तौलिन थाल्यो कि ? त्यसरी क्यालकुलेट गरेर गरिएको मायाको के मजा भयो र ?”
तस्बिर : हरिशजंग क्षेत्री