बाह्रखरी
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
रङ्गमञ्च नयाँ रङ्गकर्मीले पुरानालाई बिर्सेकै हुन् ?
NMB Bank
NMB Bank
बाह्रखरी - शनिबार, फागुन १, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

केहीबेर ‘भष्मासुरको नलीहाड’लाई सम्झियौँ, हामीले । हामी अर्थात् भष्मासुरका निर्देशक बद्री अधिकारी, अनि कलाकारहरू सरोज खनाल, किशोर डंगोल र म । यो नाटकका लेखक हुन् साहित्यकार धु्रवचन्द्र गौतम ।

नाटक खेलेको करिब ३४ वर्षपछि हामी चारभाइ केही समय गफियौँ । कति चाँडो समय बितेको ! 

२०४३ वैशाखमा नाचघरमै मञ्चन भएको थियो यो नाटक । हामीसँगै अरू पनि थिए, रवि अधिकारी, सुभाष गजुरेल, शान्ति, सुरेन्द्र नकर्मीहरू ।

Global bank

Agani Group

त्यो समयमा रङ्गकर्मीहरू यसै बस्दैनथे । मौका मिल्यो कि कुनै न कुनै नाटकमा अभिनय गरिरहेका हुन्थे । धेरैजसो आ–आफ्नै नाट्य समूहबाट खेल्थे । त्यसबेला सक्रिय थियो, आरोहण, रंगकर्मी जमात, जेमन्त नाट्य परिवार (जेनाप), श्री समूह, युनापलगायत अरूहरू पनि । 

यही माघ २१ गते अपराह्न नाचघरको हरिप्रसाद रिमाल प्रेक्षालय अघिल्तिर तिनै समूह र त्यसभन्दा बाहेकका रङ्गकर्मीहरू जुट्दै थिए । यो अवसर जुराउने भूमिकामा थिए, पुराना रङ्गकर्मी राजेन्द्र शलभ र किशोर डंगोल । 

sarbottam cement

अन्ततः अग्रज रङ्गकर्मीहरूको त्यो जमघट भएरै छाड्यो । 

चौथो तलामा रहेको प्रेक्षालय अघिल्तिर पुराना नाट्यकर्मी भेला हुँदै थिए । कोही आइसकेका थिए । कोही आउँदै थिए । अगाडि कुर्सीमा राखिएको सानो डायरीमा आफ्नो नाम र फोन नम्बर लेख्दै भन्दै थिए– ‘ओहो ! धेरै समय पछि...!’ 

वास्तवमा रमाउँदै थिए– २०४६ सालअघिका नाट्य कलाकारहरू । त्यहाँको वातावरण देख्दा लाग्थ्यो, ३० वर्षअघिको समय पुनरावृत्ति भइरहेको छ ! 

म मोहन निरौलासँग बागबजार हुँदै नाचघर पुग्दा राजेन्द्र शलभ र किशोर नाचघर पुगिसकेका रहेछन् । हरिबहादुर थापा र शेखर चापागाईं आइसकेका थिए । केहीबेरमै बद्री अधिकारी पनि झुल्किए । सम्राट (लेखनाथ) सापकोटा पनि आइपुगे । विस्तारै एकपछि अर्को गर्दै नाट्यकर्मीहरू नाचघर भित्रिँदै गए ।

पुराना रङ्गकर्मी प्रभाकर शर्मा र वीरेन्द्र हमाल स्वागत सांगीतनाटिकाको तयारीमा लागेका थिए । उनीहरू यो जमघटलाई स्मरणीय बनाउन चाहन्थे । त्यसैले त नाचघरका गायक कलाकार, संगीतकार, संगीतकर्मी अनि रङ्कर्मीहरू अभिनयसहित झुल्किने तयारीमा थिए ।

यसरी कार्यक्रम सुरु हुनुअघि नै हरिहर शर्मा, श्रीओम रोदन, रमेश बुढाथोकी, राजन शर्मा, अम्बिका प्रधान, रचना सिंहलगायत रंगकर्मीहरू प्रेक्षालय अघिल्तिर आइपुगे ।

प्रभाकर र वीरेन्द्रको स्वागत संगीतनाटिका प्रस्तुत भएपछि राजेन्द्र शलभले कुराको उठान् गरे । उनले पुराना रंगकर्मीहरू सबै आफ्नो पेसा व्यवसायमा व्यस्त रहेको स्वीकार्दै तिनलाई एकै ठाउँमा ल्याउने र भ्याएसम्म रङ्गमञ्चमा अभिनय गर्न हौस्याउनैका लागि अग्रज रङ्गकर्मीहरूको भेला गरिएको बताए ।

यतिबेला सर्सर्ती हेर्ने हो भने ०४६ अघिका नाट्यकर्मीहरूको अभिनय र अभिलेख तत्कालीन पत्रपत्रिकाहरूका कटिङमा मात्र सीमित भएको छ । त्यो सीमिततालाई घेराबाहिर ल्याउनै पनि पुराना रङ्गकर्मीहरूलाई एकै ठाउँमा ल्याउनुपर्ने आवश्यकता महसुस गरियो । यसका लागि एउटा बृहत् भेला आवश्यक थियो । 

यद्यपि, बृहत् नभए पनि त्यो भेला उपलब्धिपूर्ण थियो । हरेक रङ्गकर्मीको अनुहारमा विशेष चमक देख्न सकिन्थ्यो । त्यही उत्साह शलभमा पनि थियो । किशोरमा पनि थियो । बद्रीमा पनि थियो अनि सरोजमा पनि थियो ।

विस्तारै प्रेक्षालयमा रङ्गकर्मीहरू भरिँदै गए । 

अनौपचारिक तवरबाट सुरु भएको अग्रज भेलाको पहिलो वक्ता थिए, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति अग्रज नाट्यकर्मी हरिहर शर्मा ।

उनले यस किसिमको भेलाले पुराना नाट्यकर्मीहरूलाई रङ्गकर्ममा लाग्न प्रेरित गरिरहने बताए । आफूलाई सुहाउँदो भूमिकासाथ नाटक खेल्ने अवसर मिले आफूले खेल्नलाई समय निकाल्ने उनको भनाइ रह्यो । 

यसरी हरिहर शर्माले सबै पुराना रङ्गकर्मीलाई उत्साहित बनाए । उनको भनाइ थियो, “यसरी वर्ष–वर्षमै पनि नाटक हुने हो भने त्यसले पर्वको रूप लिने निश्चित छ ।”

शलभले नाचघरका महाप्रबन्धक अशोक प्यासी राईलाई बोलाए । अशोक पनि भेलामा पुराना रङ्गकर्मीको जमघट देखेर उत्साही बने । उनले रङ्गकर्मलाई आगामी दिनमा चलायमान बनाउन भेलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आफूले त्यसका लागि पूरापूर सहयोग गर्ने र साथ दिने वाचा गरे ।

उनी यो भेला नयाँ पुस्ताका कलाकारहरूका लागि पनि प्रेरणास्पद हुने बताउँदै थिए । 

त्यसपछि शलभले बद्री अधिकारीलाई बोलाए । र बद्रीले अरू कसैलाई बोलाउन भन्दै आफू दर्शकदीर्घामा गएर बसे । अब पोडियममा गएर बोल्नेले नै आफूपछिका वक्तालाई बोलाउनुपर्ने जिम्मेवारी थपिएको थियो ।

त्यहीबीचमा पुराना रङ्गकर्मी तथा प्रसिद्ध फिल्मकर्मी नीर शाह चौथो तलासम्म उक्लिन नसकेकाले फर्किएको जानकारी गराइयो । सायद नाचघरको लिफ्ट बिग्रिएको थियो !

२०४५ अघि एक से एक नाटकहरूको लेखन तथा निर्देशन गरेका बद्री अधिकारीले आफ्नो विचार यसरी राखे– “के गरौँ भने नाचघरले अगुवाइ गरोस् । हामी धेरै कलाकार छौं । एउटा नाटकमा १०÷१५ जनासम्मले मात्र नाटक गर्न सक्लान् । नाचघरको अगुवाइ हुने हो भने त्यसले बर्सेनि नाटक गराएर पुरानालाई स्पेस दिन सक्छ । अर्को कुरो नाचघरले बर्सेनि नाटक महोत्सव गरेर हामी सबैलाई एकैपटक पनि रङ्गमञ्चमा ओराल्न सक्छ । फुर्सद मिलाएर जोकोहीले पनि नाटक खेल्ने नै छन् ।”

लगभग बद्री अधिकारीकै कुरोलाई समर्थन गरे, अर्का नाट्यकर्मी रमेश बुढाथोकीले । उनले यो महत्त्वपूर्ण भेलालाई एउटा नाटकमा मात्रै सीमित नगर्न आग्रह गरे । 

अर्का रंगकर्मी मोहन निरौलाले नाटक खेल्ने मात्रै नभएर समग्र रङ्गकर्मको प्रवद्र्धनका लागि भेलाले केही उद्देश्यसहित काम गरोस् भन्ने चाहना राखे । उनले पुराना रङ्गकर्मीहरूको अभिलेखीकरणमा पनि ध्यान पु¥याउन आग्रह गरे । उनी भन्दै थिए, “पुराना रङ्गकर्मीको अभिलेखीकरण आउने समयको इतिहास हो ।”

२०३३ सालदेखि रङ्गमञ्चसँग आबद्ध कृष्ण मल्ल अग्रजहरूको यस जमघटले रङ्गकर्मीहरूलाई संगठित हुन प्रेरित गरेको बताए । अब जमघट मात्रै हैन, रङ्गकर्मका विभिन्न विषयमा अन्तर्क्रिया पनि गरौं, उनले सुझाव दिए ।

मालती–मंगले गीति नाटकका नायक तथा अग्रज कलाकार हरिबहादुर थापाले रङ्गकर्मीहरूको संगठन नभएकोमा दुखेसो पोख्दै त्यसको पहल हुनुपर्नेमा जोड दिए । 

२०१० सालमै रङ्गमञ्चमा उक्लिएकी नेपालकी प्रथम नायिका भुवन थापा चन्द यो उमेरमा पनि नाटकमा अभिनय गर्ने उत्साह आफूमा रहेको बताउँदै थिइन् ।

बाहिर चियापान भेटघाटमा भुवन भन्दै थिइन्, “अहिलेका नयाँ रङ्गकर्मीहरूले हामीलाई पनि सम्झिदिएको भए सायद आज अग्रजहरूको यो भेला गर्नै पर्ने थिएन । खै हामीलाई कहिल्यै सम्झिएनन् भाइबैनीहरूले । सायद हामीले अभिनय गर्न सक्दैनौं भन्ने लाग्यो कि !”

तर भुवन चन्दले भनेजस्तो पनि होइन । बेलाबेलामा पुराना रङ्गकर्मीहरू नयाँ रङ्गकर्मीहरूसँग मञ्चमा ओर्लिएका छन् । नीर शाह, हरिहर शर्मा, टीका पहाडी, श्रीओम रोदन, सरोज खनालहरूले कहिले शिल्पी त कहिले मण्डला थिएटरको मञ्चमा आफ्नो अभिनयकौशल देखाइसकेका छन् ।

तथापि, यसलाई पर्याप्त भने मान्न सकिन्न । वर्षमा पाँच–सातवटा नाटक गर्ने त्यस्ता थुप्रै नाट्य संस्थाहरूले बेलाबेलामा दुई–चारजना पुराना रङ्गकर्मीहरूलाई बोलाएको भए तिनले पनि स्पेस पाउँथे । र समय नमिलेर नआउँदा नयाँले सम्झिएनन् भन्न पाउने थिएनन् । 

अर्का रङ्गकर्मी रवीन्द्र खड्काले आफूहरूले अभिनय गर्न चाहेको उल्लेख गर्दै यो ऐतिहासिक भेला भएको र यसलाई निरन्तरता दिन आग्रह गरे । अर्का रङ्गकर्मी सम्राट सापकोटाले यस किसिमको अन्तर्क्रिया सकारात्मक मार्ग भएको बताए । 

भेला भएका पुराना र अग्रज रङ्गकर्मीहरूमध्ये धेरैले आफ्नो विचार राख्न चाहेका थिए । तर समय अभावले भनाइ राख्न बोलाउनसक्ने अवस्था थिएन । तर पनि रङ्गकर्मीहरू विजय विस्फोट, सरोज खनाल, रमेशरञ्जन झा, निशा शर्मा, मदनदास श्रेष्ठ, रचना सिंह, मीना खड्कालगायतले आफ्नो भनाइ राखेका थिए ।

उमेरले ७० कटिसकेको कलाकार मदनदास श्रेष्ठ उत्साहित थिए । मदनदास अहिले पनि अवसर पाए नाटक खेल्ने बताउँदै थिए । उनले भने, “संगीत नाट्य प्रतिष्ठानले नाटकका क्षेत्रमा खासै केही उल्लेख्य काम गर्न सकेको देखिएन । रमेशरञ्जनजी एकेडेमीमा हुँदा पनि केही भएन । अहिले निशाजी हुनुहुन्छ, तर केही भइरहेको देखिँदैन । तर पनि यो भेलाले आशा जगाएको छ । अब त केही होला कि ?”

भेलामा एक सयभन्दा बढी रङ्गकर्मीहरूलाई बोलाइए पनि ५० जनाको हाराहारीमा पुराना कलाकार उपस्थित रहे । र जो जति थिए, तिनले नाटक खेल्ने प्रतिबद्धता जनाए । त्यहाँ हरेक नाट्यकर्मीको आँखामा नाटक खेल्ने चाहना देखिएको थियो । 

रङ्गकर्मी शलभ भन्दै थिए, “यो भेलाको मर्मअनुसार नाटक गर्ने अवसर जुटे अशेष मल्लको नाटकलाई सुनील पोखरेलले निर्देशन गर्ने निश्चित भइसकेको छ । बस्, अब केही समयको पर्खाइमा पुराना रङ्गकर्मीहरू फेरि पनि स्टेजमा देखिनेछन् ।”

पुराना रङ्गकर्मी बटुल्ने काममा बितेको चार वर्षदेखि लागि परेका किशोर डंगोल खुसी थिए । उनी भन्दै थिए, “अब त केही होला कि !”  

प्रस्तुति : राजेश खनाल
 

Nepal Investment bank
Nepal Investment bank
शनिबार, फागुन १, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्