काठमाडौं । संविधानको भाग ३, धारा १७ ले व्यक्तिलाई बिनाहातहतियार शान्तिपूर्वक भेला हुन पाउने, आफ्नो हकअधिकार रक्षाका लागि आन्दोलित हुन पाउने अधिकार कुण्ठित गरेको छैन । तर, आफ्नो हकअधिकारको उपयोग गर्दैगर्दा अरूको हकअधिकारमा भने खलल पुर्याउन पाइँदैन ।
यो कुरालाई अहिलेका राजनीतिक दलहरूले पटक्कै ख्याल गरेको पाइँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको कदम उठाए । यसले स्थायित्वको दिशामा अघि बढिरहेको राजनीति तरङ्गित हुन पुग्यो । सबैभन्दा बढी सडक अशान्त छ । काठमाडौंलगायत मुख्य सहर अशान्त छन् ।
औपचारिक सेवा क्षेत्रमा रहेकाहरूको रोजीरोटीमा खासै असर पुगेको छैन । तर, कमजोर आय भएका, दैनिक ज्याला, मजदुरी, श्रमबाट छाक टार्नेहरू सङ्कटमा छन् ।
आफ्नो कदमको प्रतिरक्षा गर्न र विरोध गर्न मुख्यतः नेकपाको दुई समूह र अरू विपक्षी, प्रतिस्पर्धी पार्टीहरू सडकमा आउँदा नागरिकले अनाहकमा सास्ती बेहोर्नु परिराखेको छ । दैनिकजसो हुने विरोध प्रदर्शन र आमहड्तालसम्मका गतिविधिले नागरिक प्रताडित हुँदै गएका छन् । उनीहरू प्रतिवाद गर्न सक्ने अवस्थामा पनि देखिँदैनन् । सुन्दरीजल–कालिमाटी रुटमा दैनिक साझा यातायात चलाउँदै आएका विष्णुदेव प्रधान गाडी चलाएर फाइदा उठाउन हिँडेको तर घाटाले थलिएको बताउँछन् ।
लकडाउनका बेला पर्नुसम्म मारमा परेका थिए । अहिले सहज हुन थालेपछि घाटाबाट उकासिने सोचेका रहेछन् । पुस ५ गतेदेखिको बढ्दो अशान्तिले उनको चैन खल्बल्याएको छ । भन्छन्, ‘‘गत शुक्रबार प्रधानमन्त्रीकै पार्टीको शक्ति प्रदर्शन रहेछ । सरकारको आमसभाले काम गरेर खानेलाई के बिथोल्ला त सोचेर गाडी निकालिहालेँ । गन्तव्यमा पुग्नै समस्या भयो । कालीमाटी हिँडेको कोटेश्वर पो पुगियो ।”
बन्द, विरोध प्रदर्शनका बेला गन्तव्यमा नपुर्याए यात्रुले पैसा दिँदैनन् । तोडफोड आगजनीको भय त छँदैछ, यात्रुले भाडासमेत नतिरिदिँदा दोहोरो मारमा पर्छन् उनी । प्रधानको ६ जनाको परिवार उनकै चालक पेसामा आश्रित छ । उनकै गाडीमा आश्रित छ । तर, दिनहुँको बन्दले मुखमा माड लाग्न बन्द हुन आँटेको उनी दुखेसो पोख्छन् ।
“नेपालका सडकमा स्वतन्त्र रूपमा गाडी गुडाउन पनि नपाइने भयो । कहिले कहाँ थुनिदिने हो केही थाहा छैन, म एक्लै भए पनि भोकै सुत्न हुन्थ्यो, ६ जनाको परिवार गाडि चलाएर धान्न पर्छ । दिनभरको कमाइले बिहान बेलुकाको छाक टार्नुपर्छ,” उनी निरूपाय हुँदै सुनाउँछन् ।
बा ३ ख ५६९६ नम्बरको सवारी चलाउँदै आएका प्रधान हुँदाखाँदाको संसद् विघटन गरेर सडकमा शक्ति प्रदर्शन गर्नु आफूजस्ता सवारी चालकलाई दुःख दिनको लागि मात्रै भएको ठान्छन् । रत्नपार्कको फुटपाथमा ठेला व्यापार गर्दै आएकी कालिकोटकी सञ्जीता सञ्जेल दिनहुँको बन्द–हडतालले दैनिक जीवन चलाउन हम्मेहम्मे भएको बताउँछिन् ।
उनी पीडा पोख्छिन्,‘‘कोरोना हँुदा त घरमै बस्नुपर्यो । बिहान बेलुका के खाउँ के लाउँ हुन्थ्यो । अहिले पनि यस्तै अवस्थाको सामना गर्नुपर्ने बेला भएको छ । बन्द हडतालले कतिखेर प्रदर्शनकारी आएर अवज्ञा गरेको भन्दै उठाउँन बेर छैन । डरैडरमा चलेको दैनिकी धैरै पीडादायी छ । हिँडडुल गर्न नदिएपछि खान नपाउने अवस्था आउन लागेको छ । कसरी बाँच्ने सहरी क्षेत्रका गरिबहरू ?”
रोजगारीको अन्य बाटो नभेटेपछि पठाओ (मोटरसाइलमार्फत् यात्रु ओसारपसार गर्ने काम)मा आबद्ध भएका जुम्लाका धर्मदत्त जोशी हडतालको दिन नेकपाको अर्को समूह प्रचण्ड–नेपाल पक्षका कार्यकर्तालाई कोटेश्वर पु¥याएको तर एक रुपैयाँ पनि नपाएको गुनासो पोख्छन् ।
नेपालमा केही गरी पनि खान नसकिने भन्दै उनले पीडा बिसाए, ‘‘यसरी दैनिकरूपमा भएको राजनीतिक उथलपुथलले नागरिकको जीवनमा खेलबाड भइरहेको छ ।”
उनी थप आक्रोशित हुन्छन्, “हामीले सडकमा स्वतन्त्ररूपमा सवारी चलाएर जीविकोपार्जन गर्न पाउँनुपर्छ । जतिसुकै जुलुस होस् शक्ति प्रदर्शन होस् हामीलाई मतलव भएन । जुलुस, प्रदर्शन ठाउँ तोकिएर गरियोस् । शक्ति देखाउने नाममा मूल सडकमा तमासा नदेखाइयोस् । सडक सबैको साझा हो । निर्वाध उपयोग गर्न पाउनुपर्छ ।”
उनले बनाउनेले नै मिच्दा नियमको धज्जी उडेको बताउँछन् । उनको सङ्केत नारायणहिटीको सभातिर थियो । सरकार आफैँ ठाउँ तोक्ने आफैँ ठाउँ–कुठाउँ सभा गर्दै हिँड्दा विधिको उपहास भएको पनि उनको ठहर छ । बा ६४ प ९०५९ नम्बरको मोटरसाइकलमा पठाओ चलाउँदै आएका जोशी सडकमा यातायात चलाइ जीविकोपार्जन गर्ने मानिसको गास खोस्ने प्रयासमा सरकार नै उत्रेको भन्न छुटाउँदैनन् ।
कालीमाटीबाट तरकारी किनेर बौद्धमा बेच्दै आएकी धादिङकी विनीता तामाङ सरकारले निमुखा नागरिकमाथि अत्याचार गरेको बताउँछिन् । हात पाखुरा भएकालाई रोजगारी दिनभन्दा आफ्नो शक्ति–सामर्थ्य देखाउन जुलुसमा उतार्दा त्यसले काम गरेर खाने संस्कृतिलाई बिगारेको बताउँछिन् ।
‘‘कोभिडपछि व्यापार राम्रो हुन थालेको थियो । अब फेरि धक्का लाग्न थालेको छ । पाँच जनाको परिवारलाई तरकारी बेच्दै धान्न सकेकी थिएँ । पहिले लकडाउनले ठप्प पारिदियो । अहिले बन्द हडताल के–के जाति भन्छन्, यसले त झनै तरकारी नै ल्याउन दिएको छैन । आम्दानीको स्रोत नै सुकेपछि कसरी जहान, परिवार पाल्नू, गर्नु गर्यो सरकारले !,” उनी आहत हुँदै सुनाउँछिन् ।
पूर्वाधारविद् सुर्यराज आचार्य विपक्षीहरूसडकमा आउनु कुनै नौलो कुरो नरहेको बताउँछन् । तर, यहाँ उल्टो भइरहेको उनको अनुभव छ ।
हुँदाखाँदाको संसद् विघटन गरेर सरकारले नै सडकमा मानिस उतार्न नहुने बताउँदै उनी भन्छन्, ‘‘सरकारले नै सडक कब्जा गरेर के गर्न खोजेको यो ? अरु बेलामा सवारी नियन्त्रण गर्न तत्पर देखिएका ट्राफिक प्रहरीसमेत अलमलमा परेका छन् । नेकपाका दुईवटा गुट बनाएर पालैपालो सर्वसाधारणलाई दु:ख दिइरहेका छन् । आम हडताल, बन्द, शक्ति प्रदर्शन जे भनेपनि दुःख जनताले नै पाइरहेका छन् । जनजीवन अस्तव्यस्त हुँदै आइरहेको भान हुँदै आइरहेको छ ।”
काठमाडौंमा ट्याक्सी चलाउँदै आएका बनेपाका मोहन दाहाल आमहडताल गर्नेहरू शानका साथ गाडिमा हात हल्लाउँदै हिँडिरहेको तर नागरिकले दुःख झेलिरहेको दृश्यले आफूलाई पिरोल्ने बताउँछन् ।
“शक्ति प्रदर्शनका नाइकेहरू सरकारी सेवाको दुरूपयोग चिल्ला गाडीमा सवार भइरहेका हुन्छन्,” उनी आजित हुँदै सुनाउँछन्, ‘‘हामीलाई भने कहिले शक्ति प्रदर्शनका नाममा अवरोध, कहिले बन्दहडतालका नाममा अवरोध ! कतिञ्जेल सहने ?”
संविधानको कार्यान्वयन गरेर, उठेको करको सदुपयोग गरेको मात्रै भए मुलुक विकासको गतिमा लम्किइसक्ने उनको बुझाइ छ । तर, नेताहरूको असक्षमता र अकर्मण्यताको सिकार सबै नागरिक हुनुपरेको उनी बताउँछन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भटट्राई सडकसभाले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त पारेको बताउँछन् । “सडक भनेको यातायात सञ्चालनका लागि र सर्वसाधारणका लागि हो । सडक कुनै दलले सभा गर्ने ठाउँ होइन,”उनी भन्छन्, ‘‘सडकमा सभा गर्दा राजधानीको पूरै यातायात प्रभावित हुन्छ । ३ दिनपछि सभा हुँदैछ भने ३ दिन अगाडि नै सवारी–व्यवस्थापनमा जुट्नुपर्छ । अतिरिक्त जनशक्ति व्यवस्थापन गर्नुपर्छ । राज्यलाई खर्चभार थपिन्छ ।”
देशभर १० लाखको हाराहारीमा ठेला व्यापारी रहेको नेपाल स्वरोजगार व्यापार श्रमिक संघको आँकडा छ । बन्द, हडतालको मारमा ठेला व्यापारी पर्छन् । ‘‘कोरोनाकालपछि विस्तारै माथि उठ्ने कोसिस गर्दै थियौँ,” नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष कुमार सापकोटाले भने, “विस्तारै स्वरोजगार उन्मुख हुँदै थियौँ । हाम्रो पीडा, मर्म कसले बुझ्ने ?”
२२ गते प्रचण्ड–नेपाल समूहले गरेको आमहडताल अवज्ञा गरेको भन्दै सामाखुसीमा ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भयो । कुम्भनारायण श्रेष्ठले चलाएको ट्याक्सीमात्रै खरानी भएन, उनको गरिखाने माध्यम पनि जल्यो । सरकारले उनलाई क्षतिपूर्ति भरिदिने वचन त दिएको छ । तर, बन्द हड्तालका कारण छाक टार्न धौधौ परेका न्यूनवित्तका नागरिकहरूको मर्म कसले बुझिदिने ?
यो प्रश्नको उत्तर नआउँदै प्रचण्ड–नेपाल समूहले नै बुधबार अर्को सभाको तयारी गरेका छन् । प्रचण्ड–नेपालको आमहड्तालले सरकारले घुँडा टेक्ला, नटेक्ला तर कमजोर आय भएकाहरूलाई भने पक्कै थला बसाल्नेछ ।