मृत्यु संस्कार विशेष परिस्थितिमा गरिने धार्मिक र सांस्कृतिक प्रक्रिया हो । 'धर्म अफिम हो' भन्ने तथाकथित प्रगतिशीलहरूका सम्बन्धमा हामी अनभिज्ञ छैनौ । यसको प्रभाव हाम्रा दैनन्दिन धार्मिक र संस्कारजन्य व्यवहारमा परेको छ । यद्यपि सामाजिक, धार्मिक, सांस्कृतिक व्यवहारअन्तर्गत नेपालीले परापूर्व कालदेखी दिवंगत बा, आमा वा पितृप्रति पूरा गर्दै आइरहेको संस्कारजन्य व्यवहारले वर्तमान अवस्थामा भने अप्ठेरो बनाउँदै गएको छ ।
उदाहरणको लागि समाजमा भोगिएको सानो अनुभव प्रस्तुत गरेको छु । छोरी वा दिदीबहिनी पक्षको कोही सदस्य खासगरी ज्वाइँ वा भिनाजु वा छोरी वा बहिनी दिवगंगत हुँदा माइती पक्ष वा ससुराली पक्षको कुनै पनि सदस्य उपस्थिति हुन नमिल्ने चलनका कारण अहिले पनि अप्ठेरो परेको देखिन्छ । मृत्यु संस्कारजन्य काममा सहयोगी हातको अभाव र धार्मिक संस्कारको नाममा यस्ता प्रथाको कारणले गर्दा धेरै दिदीबहिनी र दाजुभाइले कठिन अवस्था सामना गर्नुपरेको छ ।
यस्ता अत्यवश्यक सामाजिक कार्यमा अल्पज्ञानका कारण सामाजिक सद्भाव र समन्वयकारी भूमिकामा स्खलन हुँदैगएको छ । त्यसैले गर्दा पनि स्थानीय तहमा बस्ने शिक्षित र सामाजिक चेतना भएकाहरुबीच समुदाय केन्द्रित र आफन्तबीच अपनत्वको भावना जागृत हुने वातावरण बनाउन सबै चनाखो हुनु आवश्यक देखिएको छ । धर्म, संस्कृति, परम्पराको नाममा देखिएको असामाजिक व्यवहार न्यूनिकरण गर्न सक्नुपर्छ । यी र यस्ता घटनासँग सम्बन्धित उदाहरण हाम्रो सामु धेरै भएपनि खासै बहसको विषय बनाउन सकिएको छैन । तर, यसले आफन्त र परिवारजनमा पारेको असरले सम्बन्धमा नै अप्ठेरो बढ्दै गइरहेको छ ।
राजनीतिक दलका नारामा अव्यावहारिक दीक्षित कार्यकर्ताले अधिकांश सामाजिक र धार्मिक मूल्य एवं मान्यतामाथि एकोहोरो आक्रमण गरिरहेका देखिएको छ । कथित 'जनयुद्ध'को अवधिमा केही स्थानमा ब्राम्हणको टुपी काट्ने र हत्या गर्ने घटना भएको विवरण मानवअधिकारसम्बन्धी प्रतिवेदनमै उल्लेख गरिएका छन् । दल विशेषका कार्यकर्तामाथि इबी साध्न पनि धार्मिक वा सांस्कृतिक आस्था र प्रथामा आक्रमण गरिएका पनि थिए ।
समयसँगै केही सुधारका प्रयत्न हुँदैगएको पनि देखिएको छ । 'धर्म अफिम हो' भन्नेहरू पूजापाठमा सरिक हुने, आफ्ना बाआमाको किरिया नगर्नेहरू पनि काजकिरियामा सरिक हुने, मठमन्दिर जाने र तीर्थवर्त गर्ने गर्न थालेका छन् । कम्युनिस्टहरूमा धार्मिक आस्था पलाएकै हो भने सकारात्मक हो ।
मृत्युपश्चात पारिवारिक पीडामा सहानुभूति र सद्भाव देखाउनु सामान्य मानवीयता गुण हो । तर, संस्कारसँग गाँसिएका धार्मिक ग्रन्थ 'निर्णयसिन्धु'को अपव्याख्या गरी पीडितलाई नै पीडा थप्ने व्यवहार पनि देखिँदै आएको छ । दुःखअप्ठेरोमा मानवीयताले पहिलो प्राथमिकता पाउनुपर्ने हाम्रो संस्कारले सिकाएको छ । तर, मृत्यु संस्कारमा समेत दलगत विभेदको व्यवहारले आस्थाका धरोहरका रूपमा स्थापित धर्म संस्कार, संस्कृति, मूल्य र मान्यतामा गम्भीर विचलन देखिँदै गएको छ ।
यी र यस्तै ओझेलमा परेका विषयमा सम्मानजनक अवस्था स्थापित गरेर विभिन्न धर्म, संस्कार संस्कृति, मूल्यमान्यता र चालचलनको संरक्षण गर्नुपर्ने अवस्था छ । संस्कारसम्वन्धमा अति उदारवादी र अति कट्टरवादी धारणाले अन्ततः धार्मिक र सांस्कृतिक आस्था नै अप्ठेरोमा पार्ने भएकोले मृत्यु संस्कार वा अन्य धार्मिक कार्य गर्दा सन्तुलित ढंगबाट गरिनुपर्छ । (अधिवक्ता)