बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कमला ह्यारिसकी आमा श्यामला गोपालनको जीवनयात्रा १९ वर्षको उमेरमा श्यामलाले भारत छाडेर कहिल्यै नदेखेको, कोही नचिनेको देश जाने निर्णय गरिन्
बाह्रखरी - सोमबार, माघ १९, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

बीबीसी । गत हप्ताको शपथ ग्रहण कार्यक्रमभन्दा केही घण्टा अगाडि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ती महिलाप्रति श्रद्धाञ्जली अर्पण गरिन् जसले उनलाई अमेरिकाको दोस्रो सबैभन्दा उच्च पदसम्मको यात्रामा पुग्न निरन्तर प्रेरणा दिइरहिन् ।  

ट्विटरमा पोस्ट गरिएको एक भिडियोमा उनले भनेकी छन्, “ती महिला जसका कारण आज म यहाँ उपस्थित हुन सकेको छु, मेरी आमा श्यामला गोपालन । भारतबाट १९ वर्षको उमेरमा अमेरिका आउँदा सायद उनले यस्तो क्षण कल्पना पनि गरेकी थिइनन् होला । तर, उनी अमेरिकामा धेरै विश्वास गर्थिन्, जहाँ यस प्रकारको चमत्कार सम्भव छ ।”

नवनिर्वाचित अमेरिकी उपराष्ट्रपतिका रुपमा ह्यारिसले अहिले नयाँ इतिहास रचेकी छन् । तर, कमलाको उदयको यो कथा, उनकी आमाले १९५८ मा आफ्नो सपनाको पछि लागेर भारतबाट अमेरिकासम्मको यात्रा तय नगरेको भए लेखिने थिएन । 
चारजना छोराछोरीमा सबैभन्दा जेठी थिइन् श्यामला गोपालन जो बायोकेमेस्ट्री पढ्न चाहन्थिन् । तर, बेलायती औपनिवेशिक शासकहरुले स्थापना गरेको दिल्लीको लेडी इर्वीन महिला कलेजमा ‘हार्ड–साइन्स’ नहुँदा उनले ‘होम साइन्स’ मा ‘अन्डरग्राजुएट डिग्री’ लिएर चित्त बुझाउनुपर्यो । त्यसमा उनले न्युट्रिसन र ‘होम–मेकिङ’ को शीप सिक्नुपर्ने थियो । 

Agani Group

उनका भाइ बालचन्द्रन गोपालनले बीबीसीसँगको कुराकानीमा भनेका छन्, “मेरा बुवा र म सधैँ उहाँलाई यसबारेमा जिस्क्याउने गर्दथ्यौँ,” उनले हाँस्दै भने, “हामी दिदीलाई सध्थ्यौँ, के सिकाउँछ त्यहाँ ? टेबल मिलाउन सिकाउँछ ? कि चम्चा कसरी राख्ने भनेर सिकाउँछ ? अनि उहाँ हामीसँग एकदमै रिसाउनुहुन्थ्यो ।”

No description available.

sarbottam cement

प्रोफेसर आर. राजारामन दिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटीका ‘थेउरीटिकल फिजिक्स’ का प्रोफेसर हुन् जो किशोरावस्थामा श्यामलासँग एउटै कक्षामा पढ्थे । त्यसबेला महिला र पुरुषलाई अलग–अलग बसाउने चलन भएकाले केटा र केटीबीच थोरै मात्र अन्तरक्रिया हुने गर्दथ्यो । तर, श्यामला चाहिँ ‘अरु भन्दा धेरै फरक’ रहेको प्रोफेसर आर बताउँछन् । उनले सम्झदै भने, “अरु जसरी उनी केटाहरुसँग बोल्न कहिल्यै लजाउँदिन थिइन् । उनी आत्मविश्वासी स्वभावकी थिइन् ।” त्यसैले श्यामलाले किन लेडी इर्वीन महिला कलेजमा पढ्ने निर्णय गरिन् भन्ने आफ्ना लागि अझै रहस्य नै भएको उनी बताउँछन् । उनका अनुसार त्यस समयमा त्यो कलेज युवतीहरुलाई विवाहका लागि असल श्रीमती बन्न तयार पार्ने ठाउँ भनेर चिनिने गर्दथ्यो, जबकी श्यामलाको जीवन लक्ष्य अर्कै थियो । 

तर, श्यामला अझै हार मान्ने पक्षमा थिइनन् । उनले घरमा कसैलाई नभनी सुटुक्क अमेरिकाको बर्कलीस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा पढ्न अप्लाइ गरेको र स्वीकृत पनि भएको उनका भाइ बताउँछन् । भाइ बालचन्द्रनका अनुसार बुवालाई उनी विदेश गएर पढ्नमा कुनै समस्या थिएन । तर, अमेरिकामा कोही चिनेजानेको नहुँदा धेरै चिन्ता लागेको थियो । तर शिक्षाको महत्त्व बुझेका हुनाले उनले छोरीलाई पढ्न पठाए । श्यामलाले केही स्कलरशीप प्राप्त गरेकी थिइन् र बुवाले पनि उनलाई पहिलो वर्ष मद्दत गर्नमा सहमति जनाएको बालचन्द्रन बताउँछन् । 

No description available.

१९ वर्षको उमेरमा श्यामलाले भारत छाडेर कहिल्यै नदेखेको, कोही नचिनेको र केही थाहा नभएको देश जाने निर्णय गरिन् । उनी त्यहाँ न्युट्रिसन अनि ‘एन्डोक्राइनोलोजी’ मा पीएचडी हासिल गर्न चाहन्थिन् । 

ह्यारिसले आफ्नी आमाको अतभूत यात्राका बारेमा उनको २०१९ मा प्रकाशित आत्मकथा, ‘द ट्रयुथ्स वी होल्ड’मा पनि लेखेकी छन् । त्यसमा उनले भनेकी छन्, “बाबुआमालाई आफ्नी छोरी त्यति टाढा, त्यसरी पठाउन कति कठिन भएको थियो होला म कल्पना पनि गर्न सक्दिनँ । किनकी त्यो समयमा व्यवसायिक विमानको प्रचलन भर्खर मात्र सुरु भएको थियो । विशेषगरी निरन्तर सम्पर्कमा रहन सजिलो थिएन । तर पनि मेरी आमाले क्यालिफोर्निया जान अनुमति माग्नुभयो र मेरा हजुरबुवाआमाले पनि यसमा कुनै अवरोध जनाउनुभएन ।”

त्यो समय अमेरिकामा हुनु भनेको वास्तवमै अत्यन्तै रोचक कुरा थियो । जसबेला ‘सिभिल राइट्स’ को आन्दोलन सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । र, बर्कली विशेषगरी जातिय भेदभाव विरुद्धका प्रदर्शनको केन्द्र थियो । अन्य अन्तर्राष्ट्रिय विद्यार्थी जसरी नै श्यामलाले पनि अमेरिकालाई र विश्वलाई राम्रो ठाउँमा परिणत गर्न उक्त लडाईँमा बराबरी सहभागिता जनाइन् । तर त्यो युगमा भारतबाट आएको विद्यार्थीका लागि जनअधिकारको आन्दोलनमा संलग्न हुनु भनेको धेरै अनौठो र आश्चर्यजनक कुरा मान्न सकिन्छ । 

१९६१ मा पहिलोपटक क्याम्पसको क्याफेमा श्यामलालाई भेटेकी मार्गोट डसिल भन्छिन्, “मलाई सधैँ यस्तो लाग्थ्यो कि उनी, अफ्रिकी अमेरिकीहरुले त्यसबेला भोग्नुपरेका संघर्षहरु व्यक्तिगत रुपमा पहिचान गर्न सक्थिन् किनकी उनी आफैँ पनि उपनिवेशवादको दमन राम्ररी बुझ्ने समाजबाट आएकी थिइन् । यो धेरै दशक अगाडिको कुरा हो तर मलाई अझै याद छ एकचोटी उनले मसँग टाउको हल्लाउँदै भनेकी थिइन् कि गोरा वर्णका मानिसले ‘बाहिरकाहरु’ को संघर्ष पटक्कै बुझ्न सक्दैनन् । उनले यसबारे विस्तृतमा भनिनन् र मैले उनी आफैँ पनि अश्वेत भएकाले सायद यसको अनुभव भएको हुन सक्ने भनेर बुझेँ ।”

सबै साथीले श्यामलालाई सानी आकर्षक मान्छे भनेर व्याख्या गर्ने गरेका छन् । जसलाई सारी र टिकाले सधैँ अरुबाट छुट्याउँथ्यो । उनीहरुका अनुसार श्यामला एक उज्वल विद्यार्थी थिइन् । बौद्धिक रुपमा तेज, दृढ अनि आफ्नो कुरा राम्ररी अभिव्यक्त गर्नमा माहिर । मार्गोटले सम्झदै भनिन्, “उनी बौद्धिक रुपले आत्मविश्वासी र सहासी पुरुषहरुसँग पनि खुट्टामा खुट्टा मिलाएर सजिलैगरी बोल्न, छलफल गर्न अनि आफ्ना धारणा राख्न सक्थिन् । हाम्रो ‘सोसल सर्कल’ मा त्यस्ता महिला दुर्लभै थिए जो पुरुषप्रधान वातावरणमा त्यत्तिको सहज स्तर कायम राख्न सक्थ्ये ।”

यसैगरी अफ्रिकी अमेरिकी इतिहासबारे पढाइ हुने विद्यार्थीको समूहमा श्यामला एकमात्र बाहिरको भएको पनि मार्गोटले याद गर्दै भनिन् । सो संगठन १९६२ मा स्थापित गरिएको थियो । त्यो अश्वेत समूहमा उनको उपस्थितिबारे कहिल्यै कसैले प्रश्न नउठाएको श्यामलाका अर्का साथी अब्रे लेबी बताउँछन् । जसले उनलाई १९६२ मा बर्केलीमै भेटेका थिए । उनीहरुको मित्रता आजीवन कायम रह्यो । लेबी भन्छन्, “श्यामलाको पृष्ठभूमी कसैका लागि समस्या थिएन । तर, त्यो अफ्रिकी अश्वेत समूह भएकाले सबैजना भित्री रुपमा चाहिँ चिन्तित थिए । किनकी उनीहरुले त्यही अवस्थामा युरोपेली विद्यार्थी भएको भए स्वागत गर्ने थिएनन् । तर, श्यामलालाई सहभागी गराउने कि नगराउने भन्ने विषयमा कुरा भएको मलाई कहिल्यै थाहा छैन ।”
कमलाले उनको किताबमा लेखे अनुसार आमा श्यामला पढाइ सकिनासाथ घर फर्कने र बाबुआमाले जस्तैगरी मागी विवाह गर्ने अपेक्षा थियो । तर, उनको भाग्यमा अर्कै लेखिएको थियो । १९६२ मा उनले बर्केलीमै पढाइका लागि जमाइकाबाट आएका डोनाल्ड ह्यारिसलाई भेटिन् अनि दुवै प्रेममा परे । उनीहरुले अश्वेत विद्यार्थी भेला हुने समूहमा पहिलोपटक एकअर्कालाई देखेका थिए । जहाँ श्यामलाले पहिले डोनाल्डकोमा गएर आफ्नो परिचय दिएकी थिइन् । डोनाल्डले न्युयोर्क टाइम्ससँग बताए अनुसार त्यस क्षणमा श्यामला त्यहाँ उपस्थित सम्पूर्ण पुरुष र महिलाभन्दा फरक थिइन् । 

No description available.

कमलाका अनुसार भने उनका बाबुआमा पूर्ण रुपमा अमेरिकी तरिकाले प्रेममा परेका थिए । जहाँ उनीहरु एकसाथ न्याय र अधिकारका लागि आन्दोलनमा जाने गर्दथे । 

यसपछि १९६३ मा उनीहरुले विवाह गरे र त्यसको एक वर्षमा, श्यामला २५ को उमेरमा हुँदा उनले पीएचडी हासिल गरिन् । अनि कमलालाई पनि जन्म दिइन् । दुई वर्षपछि कमलाकी बहिनी मायाको जन्म भयो । 

यता, विदेशीसँगको विवाह श्यामलाको तामिल ब्राह्मण परिवारले अपनाउन सकेको थिएन । २००३ को एक अन्र्तवार्तामा श्यामालाले भनेकी छन्, कि एक अमेरिकीसँग विवाह गरेर उनले गोपालन वंश नै तोडे सरह भएको थियो, जुन १ हजार वर्षभन्दा पुरानो परिवार हो । 

भाइ बालचन्द्रन भन्छन्, “त्योबेला उहाँले हामीलाई विवाह गरेको कुरा बताउनु भएको थिएन । तर, वास्तवमा बुवाआमालाई यससँग धेरै ठूलो समस्या थिएन । उहाँहरु केबल दुलाहालाई नभेटेकामा मात्र चिन्तित हुनुहुन्थ्यो ।” उनले थप भने, “एकपटक मैले कमला र मायाले हजुरबुवासँग आफ्ना ‘बुवा मन परेको थिएन हो ?’ भनेर सोधेको सुनेँ । त्यस समय बुवाले उनीहरुलाई भन्नु भएको थियो, ‘तिमीहरुकी आमालाई उनी मन पर्थे र वास्तवमै तिनमा कुनै खराब बानी थिएन । त्यसैले मन नपर्ने कारण केही थिएन ।”

श्यामलाका बाबुआमाले आफ्ना ज्वाइँसँग पहिलोपटक १९६६ मा, विवाहको तीन वर्षपछि भेटेका थिए । तर, त्यो विवाह लामो समय भने टिक्न सकेन । कमला पाँच वर्षकी हुँदा उनीहरु छुट्टिएर बस्न थालिसकेका थिए । त्यसैले कमला र बहिनी माया बिदाका बेलामा बुवालाई भेट्न जाने गर्दथे । त्यसबाहेक उनीहरुलाई हुर्काउने सबै काम आमा श्यामलाले नै गरेकी हुन् । 

गत वर्ष उपराष्ट्रपतिका लागि मनोनित हुँदा ह्यारिसले भनेकी थिइन् कि एकल महिलाका रुपमा उनकी आमाको जीवन अत्यन्तै कठिन थियो । तिनले क्यान्सर सम्बन्धी रिसर्च गर्नुका साथै छोरीहरुको हेरविचार गर्ने काम सँगसँगै गरेकी थिइन् । 

यसरी फेब्रुअरी २००९ मा ७० वर्षको उमेरमा श्यामलाको कोलोन क्यान्सरबाट मृत्यु भयो । जसलाई अझै पनि विश्वभर स्तन क्यान्सरमा हर्मोनको भूमिका सम्बन्धी उल्लेखनीय खोज गरेकामा चिनिन्छ । 

उनले बर्केलीको जुलोजी विभाग र क्यान्सर ल्याबमा रिसर्चबाट आफ्नो करिअर सुरु गरेकी थिइन् । यसमा उनले फ्रान्स, इटली, क्यानडामा पनि काम गर्न गइन् र करिअरको अन्तिम दशकमा मात्र क्यालिफोर्निया फर्किएर बर्केलीको ल्याबमा काम गरिन् । 

लरेन्स बर्केली ल्याबोरेटरीमा श्यामलाका ‘बस’ वैज्ञानिक, जो ग्रेले उनलाई एक अत्यन्तै गम्भीर खोजकर्ता भनेर व्याख्या गर्दछन् । जो वैज्ञानिक छलफल अनि अनुसन्धानहरुमा सधैँ संलग्न हुन तल्लीन रहन्थिन् । 

उनी आफ्नै क्यान्सरको उपचार सम्बन्धी पनि खुलस्त रहेको जो बताउँछन् । उनले थप भने, “श्यामला त्यस किसिमकी व्यक्ति थिइन् जसले वास्तविकता अपनाउँदै आफूले सहन सकेसम्म त्यसलाई दबाइराख्छु भन्ने गर्थिन् ।” 

यसरी बिस्तारै क्यान्सर फैलदै गएपछि भने दिदीले भारत फर्कने र आमा र बहिनीको सजिलो साथमा त्यहीँ अन्तिम सास लिने निर्णय गरेको बालचन्द्रन बताउँछन् । तर, उनले कहिल्यै त्यो यात्रा तय गर्नै पाइनन् ।

लेब्रीले आफ्नी साथीसँगको अन्तिम संवाद सम्झदै बताए, कि श्यामलालाई वास्तवमै आफ्नो जन्मभूमी फर्कन मन थियो । उनी भन्छन्, “जीवनको त्यो चरणमा आफ्नो पृष्ठभूमीसँग जोडिनु मलाई वास्तवमै ‘रोम्यान्टिक’ धारणा लाग्यो । अरु कुरासँगै मैले उनलाई भनेको थिएँ कि, श्यामला मलाई तिमी भारत फर्कदैछौ भन्ने सुन्दा एकदम खुसी लाग्यो । तर, पछि उनले, ‘अब्रे म सायद अब कुनै ठाउँ जाँदिन’ भनेर भनिन् । अनि त्यसको केही समय पश्चात् उनको मृत्यु भयो ।” 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, माघ १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्