site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खलनायकहरू 
SkywellSkywell

यो मेरो संस्मरण हुन सक्छ । अझ धेरै खलनायकहरूको संस्मरण हुन सक्छ । अहिले जो तिनीहरूलाई सम्झनु आफैँमा एउटा रमाइलो अनुभूति हो । जिन्दगीका विभिन्न मोडहरू पार गर्दै अहिले डाँडामाथि बसेर आएका बाटाहरू, घुमाउरा कुइनेटाहरू सम्झँदा तिनको विश्वसनीयतामा आफैँलाई शंका लाग्छ । कुनै रोमान्टिक फिल्म हेरेर यसरी पनि प्रेम हुने र धोका हुने हुन सक्छ र ? भन्ने बोध हुन्छ । पहाडको एउटा सफा र कञ्चन खोलाजस्तो मेरो जिन्दगी कुनै सगरमा पुग्न अगाडिको इतिहासले कहिले कागले झैँ ठुङ्ग्छ । म सानो तन्द्राबाट बिउँझन्छु ।

त्यो सानो तन्द्रामा म कुनै पहाडमा हुन्छु । भर्खर–भर्खर बहुदलीय प्रजातन्त्र आएको छ र भर्खर–भर्खर समाप्त भएको छ । राजनीतिले विकल्पहीनताको हाँसउठ्दो अर्थबाट गोेरेटो खोज्न लागेको छ । पहाडमा, जहाँ हाडहरू मात्र छन्, एक दुईवटा काम सजिलै पाइन्छ । काम अर्थात जब् लोकल रक्सीले मात्तिएर सडक नाप्दै हिँड्नु । शनिबार कहिले आउला र हाटबजारमा गाउँबाट आएका तरुनीहरूलाई खेद्दै पछि लाग्नु । अलिकति पढेको भए बजारमा त होइन, टाढाको गाउँमा मास्टरी गर्नु । हरेक शुक्रबार बजार (घर) आउनु, शनिबार हटिया घुम्नु र आइतबार बिहानै आफ्नो स्कुल पुग्नु । अझ अर्को काम पनि छ– सके मलायाको, नसके इन्डियाको लाहुरे हुनु । फितावाललाई केही रकम ख्वाएर शरीरको उँचाइ मिलाउनु । यस्तै–यस्तै ।

त्यो सानोबजारको भञ्ज्याङमा हनुमानको मन्दिरअगाडि बसेर मैले कुनै साँझ सोचेको थिएँ, सानोतिनो मास्टरी नै गरेर जिन्दगीको पहिलो मोड सुरु गर्नुपर्ला । लाहुरे हुन हाइट नै छैन, फेरि शक्ति पनि छैन । व्यापार गर्न रकम चाहिन्छ, त्यो छैन । केही समयपछि खोलाका केही जङ्घारहरू तरेर एउटा सानो गाउँमा पुगेको थिएँ र बिहान उठेदेखि राति अबेरसम्म घरका धेरै निरीह र रूग्ण आँखाहरूलाई सम्झेर मुख छोपीछोपी रोएको थिएँ । आफ्नै उमेरका विद्यार्थीहरूलाई अंग्रेजीका मानेहरू घोकाउँदा आफू क्याम्पसमा पढ्न जानुपर्ने कुराले झक्झकाउँथ्यो । त्यो क्याम्पसको क्यानभास धनकुटा, धरान हुँदै काठमाडौंमा पुगेर समाप्त हुन्थ्यो । मर्न लागेका बूढी बाख्रीका मासुहरू कहिलेकाहीँ भेट्दा यहाँ मासु पनि खान पाइने रहेछ भन्ने लाग्थ्यो । टाँकीका मुन्टाहरूले हरियोपरियोलाई सम्झाउँथ्यो । वरिपरि देखिने स–साना खोलाहरू ठूलो नदीमा गएर मिसिएको हेर्दाहेर्दा रिँगाटा लाग्थ्यो र कत्ति छाक भात खान भुल्थेँ । कविताहरूमा आफूलाई अल्मल्याउन खोज्थेँ । मकैका जाँडका डब्काहरूमा आफ्नो अस्तित्वलाई साट्न खोज्थेँ । बिहान उज्यालो भएदेखि राति निद्रा नपरूञ्जेल एउटै कुराले मनमा घोचिरहन्थ्यो– तँ कत्ति महिना यहाँ बस्छस् ? तँ कत्ति वर्ष यहाँ टिक्छस् ? अथवा कुनै चिम्से आँखा भएकी केटीसित बिहे गरेर यतै घरजम गर्छस् !

KFC Island Ad
NIC Asia

सपनामा एउटा राम्रो जागिर आउँथ्यो । सपनामा एउटी सुन्दरी शिक्षित केटी आउँथी । सपनामा सुन्दर घर पनि आउँथ्यो । तर, विपनामा भने रक्सीले मात्तिएर गाउँकै एउटा गुन्डा केटो आएर मलाई हाँक दिइरहन्थ्यो– कसले मास्टर बनाएर ल्यायो हँ तँलाई ?... यो मेरो गाउँमा !

कसले र किन मलाई जन्मायो ? मलाई के थाहा ? किन एसएलसीसम्म कष्ट गरीगरी मलाई पढाइदियो ? म के जानुँ । मेरो बाध्यता र विवशताले, गरिबी र नग्नताले यो अनकन्टार गाउँमा ल्याएर मलाई फ्याँकिदिएको थियो–वर्षाको भेलले माछा फ्याँकेझैँ । मेरो कुनै किनारा थिएन, कुनै लक्ष्य थिएन । म भित्रभित्रै भाँचिएको थिएँ, टुक्रा–टुक्रा भएको थिएँ । एउटा अव्यक्त र पीडापूर्ण घाउ लिएर उसलाई मैले भनेको थिएँ– “तपाईंहरूको गाउँलाई, यो स्कुललाई पढाउने मास्टर चाहियो भनेर म आएको । तपार्इंहरूलाई चाहिँदैन भने म आजै फर्किदिन्छु ।”

Royal Enfield Island Ad

“तैले अहिल्यै जानुपर्छ । तँजस्ता मास्टरहरू हामीलाई चाहिएको छैन । हाम्रै गाउँमा तँजति पढेका र जानेका केटाहरू छन् । तँलाई बढी तलब दिई–दिई सहरदेखि यहाँ किन ल्याइरहने... ?” अनि उसले खुकुरी झिकेको थियो ।

अब खुकुरी लिएर त्यो केटो पछिपछि थियो, म अघिअघि । बारीका डिलडिलबाट, साना खोल्चा–खोल्ची र डाँडाहरूबाट म आँखै नहेरी दौडिरहेको थिएँ । म एकनास दौडिरहेको थिएँ । त्यो खुकुरी मेरो घाँटी छिनाल्न तयार छ, मैले ज्यान जोगाउनुपर्छ...., मैले बाँच्नुपर्छ भन्नेबाहेक मेरा मनमा केही थिएन । मेरा शरीरमा कत्ति चोटपटक र घाउ लागे– मलाई थाहा भएन । नदीको किनारामा आइपुगेपछि म बालुवामाथि अचानक पछारिएको थिएँ । अनि, धेरै समय म बेहोसीमा थिएँ । पछि आँखा खुल्दा शून्य आकाशमुनि, नदीको किनाराछेउमा काठको मुढाजस्तो म एक्लो थिएँ । हात जोडेर, धेरै अनुनय विनयपछि माझीहरूले नदी तारिदिएका थिए ।

राति घर पुग्दा सबैका आँखामा भय मिसिएको आश्चर्य थियो । मेरो अनुहार हेरेर ती सबले अनुमान गरिसकेका थिए– मृत्युको गोरेटोहरूलाई पार गरेर छोरो घरमा आइपुगेको छ । चुपचाप खाना खाएर निदाउन खोज्दा खुकुरीको त्यो धारले आफ्नो गर्धन नापिरहेको जस्तो लाग्यो । म निदाउन नसकेको थाहा पाएर आमाले विस्तारै भन्नुभयो– “बरू भोकै मरूँला, त्यो गाउँमा जानु पर्दैन । पहिले मलाई त पठाउन मन थिएन ।” अनि, उहाँ रुनुभयो । आमाको त्यो आँसु पुछ्न सक्छु भनेर म गाउँ गएको थिएँ । अनि, म पनि रोएँ–रातभरि रोएँ । जत्ति मनलाई सम्झाउन खोज्दा पनि भित्र कतैबाट डाहा भएर, पोलेजस्तो भएर आइरह्यो ।

मेरो जिन्दगीको पहिलो जागिरको पूर्णविराम भएको थियो । मेरा लुगाफाटा र केही ओढ्ने ओछ्याउने त्यहीँ थिए । केही समयपछि त्यही धनशेरले मलाई स्कुलको प्रधानाध्यापकको हैसियतले पत्र लेखेको थियो– संजीव जोशी ! बिनासूचना स्कुल छाडी भागेकोले नियमअनुसार एक महिनाको तलब दण्डस्वरूप बुझाउन ल्याउनुहोला । अन्यथा....

त्यसपछिका हरफहरूलाई मैले पढ्न चाहिनँ । त्यस कालो चिठीलाई च्यातेर, धेरै वर्ष त्यो खुकुरी लिएर मलाई लखेट्ने खलनायकलाई मैले सम्झिरहेँ । आफ्नो जिन्दगीको पहिलो खलनायकलाई यत्ति धेरै वर्षहरूपछि अब भेटे पनि सायद म चिन्दिनँ ।

फेरि सुरु भएको थियो–रुटिनहीन जिन्दगी । समय र क्रमबद्धताबाट अलग जिन्दगी । मन लागे पनि, नलागे पनि बिहानभरि सुत्नु । खाना खानु र फेरि सुत्नु । दिउँसो चिया खानु र सुत्नु । साँझमा छिटो खाना खानु र फेरि सुत्नु । कुम्भकर्णमा आफू साटिन खोज्नु । कहीँकतै जाने ठाउँ छैन । दिमाग खाली छ, मन खाली छ । एउटै सपना–यो टापुबाट कसरी उम्कने । यो पहाडी मरूभूमिबाट कसरी फुत्कने ।

अनि, कुनै बिहान सखारै झोला बोकेर आफ्नो देशको खोजीमा, राजधानीको खोजीमा एक्लै म उकाली चढिरहेको थिएँ । ओराली झरिरहेको थिएँ । मेरो सर्वस्व भन्नु एउटा फाट्न लागेको झोला थियो । त्यही झोला पनि ठाउँठाउँका प्रहरी चौकीहरूले चेकजाँच गर्दागर्दा झोला भन्नु मात्र थियो । कोही जिस्क्याउँथे– राजा र रानीको तस्बिर छ कि कसो यो झोलामा ! म मुस्काउँथे– हो तारेको आलु र चिउरा भने छ । त्यही तारेको आलु र चियाले, एक–दुई माना चिउराले राजधानी पु¥यायो र कुनै टाढाको नातेदारको डेरामा लगेर सिमेन्टीको बोरालाई झैँ पछारिदियो । अनि, थुप्रै प्रश्नहरूले मलाई एक्कैपटक घेरे– संजीव ! तँ यहाँ के गर्न आएको ! संजीव ! तँलाई घरबाट खर्च आउँछ के !

‘म पढ्न आएको । केही काम गरेर पढ्न आएको... मलाई काम खोजिदिनुहोस् ।’ टेपका झैँ मभित्र खालि यिनै स्वरहरू थिए । काम खोज्न गएका ठाउँहरूमा स–सानो अन्तर्वार्ता नै हुन्थ्यो– काम के के जानेको छस् ? भाँडा पनि माझ्ने हो कि ! लुगा धुन आउँछ कि आउँदैन ? अथवा स–सानो बिल बनाउन आउँछ कि आउँदैन ? साइकल लिएर बाहिर सामानहरू बेच्न सकिन्छ कि सकिँदैन ? आदि इत्यादि ।

पहिलोपल्ट मलाई लागेको थियो– मसँग मात्र आँखाहरू रहेछन् । तर, तिनमा सूक्ष्म दृष्टिले हेर्न सक्ने क्षमताको अभाव रहेछ । मसँग हातहरू रहेछन्, तर ती कसैसँग अनुनय गरी जोड्नका लागिमात्र काम लाग्ने रहेछन् । मेरा खुट्टाहरू खालि सडकमा हिँड्नका लागि रहेछन् । एकनास सडक नाप्नका लागि रहेछन् । म अलिकति छातीमात्र रहेछु । अलिकति भुँडीमात्र रहेछु । अलिकति मान्छे रहेछु । अलिकति पशु रहेछु । र, सारांशमा आमाबाबुको रोमाञ्चक, कौतुहल र मनोरञ्जनपूर्ण खेलको अर्थहीन उपलब्धि मात्र रहेछु । जहाँतहाँबाट आश्वासनका खामहरू बोकी हिँड्दा हीनताबोधले पनि धेरैपटक लखेट्यो । बेला कुबेला राजधानीका जगल्टे र मुन्द्रेहरूले पनि लखेटे । यस्तो बेलामा धनशेरको खुकुरी आफूसँग भए पनि हुन्थ्यो भन्ने लाग्यो । काठमाडौंको मौसममात्र चिसो होइन, मान्छेहरू पनि चिसा र कठोर लागे । लाग्यो–विश्वका सबै राजधानीहरू सायद यस्तै हुन्छन् । 

बल्लतल्ल एउटा सानो लेटर पे्रसमा काम पाएँ । फलामका अक्षरहरूसँग खेल्नुपर्ने । मलाई जसरी पनि राजधानीमा अड्नु थियो, बाँच्नु थियो । बिहान क्याम्पसमा पढ्ने र दिउँसो अक्षरहरूको जोड–घटाउमा आफूलाई व्यस्त राख्न थालेँ । पुसको जाडोमा डेरामा फर्कँदा सारा शरीर हिउँको मूर्तिमा साटिएको अनुभव हुन्थ्यो । समय थियो–शरीरमा तरङ्गहरू थिए, दृढ मनस्थिति र संवेगहरू थिए । यौवन थियो–रङहीन भावनाहरू थिए, अगाडि बढ्ने हिम्मत र आँटहरू थिए । पहाडका चिठीहरू आउँथे– घरमा सबै भोका छन् । दसैं आउन लाग्यो र लुगा किन्नलाई ऋण काढ्नुपर्ने भएको छ । तर, यही घर राखेर ऋण दिने पनि कोही छैन । तँ कहिले नयाँघरे लाहुरे भएर आउँछेस्– थुप्रै भरियाहरू अघिपछि लाएर ।

म ती कुनै चिठीको जवाफ दिनसक्ने अवस्थामा थिइनँ । कुनै पनि महिना मेरा लागि धेरै लामा थिए । मैले पाउने त्यो थोरै रकम वास्तवमा पन्ध्र दिन पनि पुग्दैनथ्यो । एकादशी र औंसीमा व्रत बस्न म बाध्य थिएँ, विवश थिएँ । नयाँघरे लाहुरे र म बाल्यकालका साथी थियौँ । सँगै ढुङ्गेधारामा नुहाउन जान्थ्यौँ, वन–जङ्गलमा चराको सिकार गर्न जान्थ्यौँ । उसलाई पढ्न आउँदैनथ्यो, लड्न बढी मन पराउँथ्यो । ऊ एकसाँझ त्यस सहरबाट हराएको थियो र पाँच वर्षपछि लाहुरे भएर फर्केको थियो ।

तर, ऊ एक्लो फर्केको थिएन, पाँच–छजना भरियाहरू अघि–पछि लाएर फर्केको थियो । घरका आँखाहरू त्यसरी नै म फर्केको हेर्न चाहन्थे । तिनलाई के थाहा ? संजीव जोशी कसरी फलामका स–साना अक्षरका टुक्राहरूमा आफ्नो यौवनलाई साटिरहेछ । 

प्रेसमा नै अर्को साथी भेटियो । ऊ पनि पहाडको कुनै गाउँबाट राजधानी आएको थियो । बोल्ने भाषा केही फरक भए पनि हाम्रो मित्रता गाँसियो । रामकृष्ण काम कम गथ्र्यो र कुरा धेरै । बाहिर हेर्दा लाटोबुङ्गोझैँ लाग्थ्यो । तर, भित्र भने धेरै बाठो थियो । डेरा पनि सँगै बस्न लाग्यौँ । भातभान्सा पनि आलोपाली गरी चलाउन थाल्यौँ । कहिले पहाडको दुःख र घर सम्झेर ऊ रून्थ्यो, कहिले म रून्थेँ । कुनै महिनाको तलब जोगाएर सानीआमा र बहिनीलाई घाँघरचोली पठाउने सपना रामकृष्ण देख्थ्यो । म पनि लबेदा सुरुवालका लागि भेलाको कपडा र ढाकाको पछ्यौरा पठाउने धुनमा हुन्थेँ । तर, वाग्मतीमा धेरै पानी बगिसक्दा पनि उसको सपनाको सूर्य पश्चिमी पहाडमा पुगेर अस्ताउँथ्यो भने मेरो आकांक्षाको फूल लाहुेर फूल भएर हरेक साँझ ओइलाउँथ्यो । अनि, प्रेसका अक्षरहरू पाकेटमा चोरी ल्याएर बेचेको रकमले बागबजारको रामदाइको ममचा पसलमा गएर हामी वास (रक्सी) खाँदै ठट्टा गथ्र्यौं– तैँले आमालाई घाँघर पठाइस्, मैले त ढाकाको पछ्यौरा पठाएँ !

“तँ धेरै ढाँट्छस्...” म भन्थेँ ।    

“तँ गोरखाली धेरै ढाँट्छस्” ऊ भन्थ्यो ।

“तँ हामी पूर्वेलीभन्दा पचास वर्ष पछि छस् । के धक्कु लगाउँछस् ?” म नशाको रङमा हराएर उसलाई होच्याउँथेँ ।

“तँ गोरखालीहरूको थिचोमिचोले हामी पछि परेको...” ऊ अर्को एक पेग थप्दै मलाई जवाफ दिन्थ्यो ।

पशुपति र गुह्वेश्वरीका जङ्गलहरूबाट हाम्रा दिनहरू हराउँथे । कहिले स्वयम्भूका आँखाहरूमा गएर हामी साटिन्थ्यौँ र राजधानी पोखरी हो, यहाँ भ्यागुताहरू मात्र बस्छन् भनेर आत्मसम्मानले ग्रसित हुन्थ्यौँ । वसन्तपुरका सडक र गल्लीहरूमा विदेशी नारी पुरुष लठ्ठिएका... हेरेर सात समुद्रपारि विदेशको कुनै राजधानीमा कामको खोजीमा जाने काल्पनिक इच्छामा हराउँथ्यौँ । राजधानीमा कुनै जाडो र चिसोलाई पहाडको सिस्नोको पोल्ने झ्याङ्सँग तुलना गरेर विवश हाँसो हाँस्थ्यौँ । 
दुवैका घरबाट चिठीपत्रहरू आउन छाडेका थिए अथवा हुलाकले हराइदिन्थ्यो । हामी कसैले घर कहाँ हो भनी सोध्दा डेरा गरी बसेको गौशाला भन्न लागेका थियौँ ।

र, डेरामा घरपेटीकी छोरी जब हाम्रो क्याम्पसको साथी थिई । ऊ हामीसँगै क्याम्पस जान्थी र सँगै फर्कन्थी । कहिलेकाहीँ कोठामा बसेर होमवर्क गथ्र्यौँ । मौका पर्दा शनिबार सिनेमा हेर्न जान्थ्यौँ । उसका आँखाका पोखरीमा हामी दुवैजना आफ्ना छाया हेर्न थालेका थियौँ । त्यहाँ कसको छाया गाढा थियो– सोच्ने र सम्झने फुर्सत् हामीलाई थिएन । हाम्रो आकाश शिला थिई र लाग्थ्यो उसको क्षितिज हामी थियौँ । उसलाई ज्वरो आउँदा रातभरि सेवा गर्नका साथै नसुत्ने हामी थियौँ । हामी स्वयम् प्रश्न गथ्र्यौं– शिलाले हामीमध्ये कसलाई बढी मन पराउँछे । यसको जवाफ हामी दुवैसँग थिएन अर्थात त्यसको सही उत्तर पाएर हामी कोही पनि कुण्ठित हुन चाहन्नथ्यौँ । रामकृष्ण मलाई दुःखी बनाउन चाहँदैनथ्यो, म पनि उसलाई मुडअफ भएको हेर्न चाहन्नथेँ । एक किसिमले एउटा फूलका दुई माली थियौँ ।

समय सरेको थियो ।

लेटर प्रेसको अक्षर जोड्न हामीले छाडेका थियौँ । रामकृष्ण खाद्यको स्टोरकिपर र म सरकारी सेवामा प्रवेश गरिसकेका थियौँ । रामकृष्ण पाठ्यपुस्तकका शेक्सपियर र देवकोटालाई पढ्न छाडेर चामलको बोराहरूको हिसाब–किताबमा रात काट्न लागेको थियो । म अब कसरी भन्सारमा सरूवा होऊँ भनेर राजनीतिक नेता र हाकिमहरूको चाकरीमा व्यस्त थिएँ । 

पहाडका दुर्गम क्षेत्रमा जाने चामलका बोराहरू काठमाडौंमा नै खर्च देखाई रामकृष्णको ब्याङ्क ब्यालेन्स बढ्न लागेको थियो । हाम्रो डेरा फरक भइसकेको थियो । म अलि नयाँ जुत्ताहरू किनिरहेको थिएँ । छोरा ठूलो हाकिम भयो भनी पहाडका आमा–बाले काठमाडौंमा बसाईँ सारिसकेका थिए । म नयाँ नातागोताहरू खोजिरहेको थिएँ र सहरमा अलमल्ल जिन्दगी काटिरहेको थिएँ ।

फेरि शिलाको बिहेको टुङ्गो भएको थियो । तराईको कुनै जमिन्दारको छोरासित सधैँका लागि गाँसिन लागेकी थिई । अनि, बिहे हुने अघिल्लो रात सहरबाट शिला हराएकी थिई, रामकृष्ण पनि सहरमा थिएन । तिनीहरू ‘हनिमुन’का लागि बैङ्कक पुगेका थिए र शिलाको परिवारको घेराबन्दीमा म एक्लो थिएँ– भन ए संजीव ! शिला कहाँ छे ।

“शिलालाई कहाँ लुकाएर राखेको छस्, यही समय भन, नत्र संजीवे ! तेरो ज्यान खतरामा छ ।” यो कडा स्वर शिलाको दाजुको थियो ।

वास्तवमा मलाई केही थाहा थिएन । अनि, म यो निश्चयमा थिएँ– कोहीसँग हुनुपरे शिला मात्र मेरी हुनेछे । मेरा सारा सपनाभरि ऊ थिई । मेरा सारा आगतहरूमा शिला थिई । वास्तवमा म उसलाई चाहन्थेँ । उसलाई साँचो प्रेम गरेर जिन्दगीभरिको साथी बनाउन चाहन्थेँ । 

तर, रामकृष्ण खलनायक भयो र म नायक हुन सकिनँ । रामकृष्ण समयको साथी भयो र म हुन सकिनँ । मलाई आफ्ना सारा विगतहरूले धोका दिएका थिए । वर्तमानले नराम्ररी गिज्याएको थियो । म धेरै दिन रोएको थिएँ । तर, तिनको केही अर्थ थिएन । लागेको थियो– म रूनैका लागि जन्मेको हुँ !

जागिरले जिन्दगीलाई सरल रेखामा डो¥यायो । घोडाको पट्टीमा भावना र विचारहरू साटिए । बिहान छिटो खाना खानु र अफिस जानु दिनचर्या भयो । तीस–तीस दिनपछि निश्चित रकम आउने कुराले मनमा निश्चितताले वास लियो । तर, सहरको महँगी र फेसनले मितेरी लाएजस्तो भयो । जागिरे हुनु विशिष्ट नागरिक हुनु रहेछ र जनताका कामहरूलाई नकरात्मक किसिमलेमात्र सोच्नुपर्छ भन्ने लाग्यो । डेरामा फर्कंदा पाकेटमा सय पचास भए जागिरे हो जस्तो लाग्ने, नत्र होइन भन्ने लाग्न थाल्यो । आफ्नो विगतलाई मैले बिर्सन थालेको थिएँ र भविष्यमा रमाउन लागेँ । कसरी घर–घडेरी जोड्ने, कसरी छोराछोरीलाई राम्रो बोर्डिङ स्कुलमा पढाउने भन्ने जागिरेहरूको होडबाजीमा आफू पनि उमेदवार भएँ । आखिर यी सबै समयका खेल रहेछन् । 

अनि, एकदिन घरबाट खबर आयो– तँलाई केटी हेरिदिएका छौँ, तुरुन्त बिहे गर्न आइज । सो खबरले मभित्र कुनै प्रतिक्रिया जन्मेन । त्यसलाई पुतलीको खेलसित साटेर म चुपचाप घर पुगेँ । चुपचाप केटी हेरेँ । चुपचाप हुन्छ भनिदिएँ । सहर–बजारमा एउटा चर्चाको विषय भयो । किन संजीव जोशी केही प्रतिक्रिया जनाउँदैन ? किन जे पनि ठिक मात्र भन्छ ?

वास्तवमा शिलाले मभित्रका सारा प्रेमलाई मारिदिइसकेकी थिई । मेरो मानसमा आइमाईप्रति कुनै रोमाञ्चकता, उत्सुकता वा प्रेरणा थिएन । बिहे गर्नका लागि खबर आयो, आइदिएँ । केटी हेर्नुपर्छ भने, हेरिदिएँ । नयाँ लुगा लगाउनुपर्छ भनिदिए, लाइदिएँ । जग्गेमा बस्नुपर्छ भनिदिए, बसिदिएँ । आफूलाई रोबोटमा साटिदिएँ । अनि, घरको प्रतिक्रिया यस्तो रह्यो– “संजीव ! तँ राजधानी गएर झुम्रोको पुतली भइछस् । कुनै कुरामा पनि चाख नराख्ने । चिमोटिदिँदा पनि ऐय्यासम्म नभन्ने !” जसलाई मैले शतप्रतिश स्वीकार गरेँ । 

मेरो हातमा जब कुनै कुरा छैन भने म किन त्यो प्राप्तिको पछि लागूँ । जुन वस्तु थिएन भने थिएन ! जुन वस्तु हुने छैन भने हुने छैन । मैले आफूलाई भन्ज्याङको एउटा निरीह र घामपानीले ढल्न लागेको रुखमा लगेर उभ्याएँ– जसलाई सबै थाहा छ, तर केही पनि थाहा छैन । जो इतिहासको साक्षीमात्र छ, तर स्वयम् इतिहास होइन । हुन सक्छ यसलाई दर्शन भनियोस् । तर, म कहिल्यै पनि दर्शनको विद्यार्थी भइनँ । अर्थात दर्शनका पुस्तकहरू पढ्नमा कुनै रुचि राखिनँ । प्रारम्भमा प्रेमका कविताहरू पढथेँ र लेख्थेँ पनि । अब कविताहरूमा पनि कुनै चाख रहेन ।

एउटा संजोगजस्तो भयो– राजधानीमा घर बन्नु र बिहे गर्नु । अनि, उसले छोराछोरी पाई । ती हुर्के–बढे र पढ्दै छन् । जिन्दगीलाई मैले कहिल्यै पनि औपचारिकतामा बाँध्न चाहिनँ । आफू पहाडको मान्छे– पहाडी खोलाजस्तै यसलाई बग्न दिएँ । कार्यालयका प्रत्येक साथी प्रत्येक दिन विदेश जान्थे । तर, मेरो पालो कहिल्यै आएन । सजिलोसँग पैसा आउने अन्य कार्यालयहरूमा प्रत्येक दिन कुनै न कुनै साथीको सरुवा हुन्थ्यो । तर, त्यसरी सरुवा हुने आफ्नो दिन पनि आएन । हाकिमको छोराको बर्थडेमा उपहार लिएर जाने समय पनि आएन, न माथिल्लो कुर्सीमा बस्ने पालो नै आयो । प्रत्येक राति एउटा रेडलेबल खाएपछि मात्र निद्रा आउने सचिवलाई भेट्न जाँदा उसले हुँकारेको अहिले जस्तो लाग्छ– “म तपाईंलाई भेट्दिनँ । तपाईं म कहाँ कहिलै नआउनुहोस् ।”

त्यो बेलामा लागेको थियो– यो राष्ट्र, यो देश उसको बाजेको हो । हामी त दोस्रो श्रेणीका नागरिक हौँ– कुनै अर्थ नभएको । शक्ति र नातागोताको माद यस्तो हुँदोरहेछ भन्ने त्यसैबेला लागेको थियो–व्यवस्थाको विकल्प त्यही समय थाहा पाएको थिएँ । र, मनमा त्यसैबेला लागेको थियो–व्यवस्थाको विकल्प छ, हुनुहरूको विकल्प छ । नहुनुहरूको विकल्प छ र त्यो समयले अवश्य ल्याउनेछ ।

एक दिन त्यो विकल्प पनि आयो । थुप्रै रङ्गिन झन्डाहरूसँगै रङ्गिन सपनाहरू बोकेर आयो । धेरैलाई विधवा र अपाङ्ग बनाएर गयो । मरुभूमिमा पानीको एउटा कमजोर भङ्गालो भएर आयो । अनि, उपहार नहुँदा मैले भेट्न नपाएको सचिवको हस्ताक्षरले मेरो सानो नोकरी पनि रङहरूको नदीमा कहीँ कतै रङहीन भयो । मैले खालि जंगबहादुरलाई सम्झिरहेँ किनभने यो मुलुक उसको थियो । अनि, यो पनि निश्चयमा पुगेँ कि– म कहिल्यै नायक हुन सक्तिनँ । थुप्रै खलनायकहरूको डबलीमा म स्वयम् पनि मात्र खलनायक हुँ–खलनायकहरूको राष्ट्रमा एउटा अर्को खलनायक ।

(वरिष्ठ कथाकार परशु प्रधानको कथासंग्रह ‘उत्तराद्र्ध’का सम्पूर्ण कथाहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  ०६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro