site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पार्टी प्राइभेट लिमिटेड 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मुलुकको राजनीतिले कुन बाटो लिन्छ भन्ने स्पष्ट भएको छैन । संसद् पुनःस्थापना हुन्छ हुँदैन ? संविधान रहन्छ रहँदैन ? चुनाव हुन्छ हुँदैन ? यी र यस्तै बहस जारी छ ।

कोरोना कहरका कारण झन्डै १० महिना घरमा थुनिएको म केही दिनका लागि बर्दियामा छु । गृह जिल्ला, आफन्त र प्रियजनसँगको भेटले बाल्यकालको झल्को दिँदै छ । ऊबेला र अहिलेमा यतिमात्र फरक छ- विकासका दृष्टिले बाटो, घाटो, नहर, स्कुल अस्पताल बढेका छन् । जनताको जीवनस्तरमा भने खासै परिवर्तन छैन । ऊबेला र अहिले पनि मानिसले सोध्ने प्रश्न भने एउटै छ- देश कता जाँदैछ ? मुलुकको राजनीति के होला ?

माघी मनाउन र आफन्तजनसँग भेट्न आएको मलाई केही दिन भए पनि सहरिया जीवन भुल्ने मन छ । तर, साथीभाइ र आफन्तका यस्ता जिज्ञासाले गाउँको रमाइलोमा भुल्न दिइरहेको छैन । काठमाडौंबाट गृहनगर आउँदा पुराना मानिस भेट्ने र उनीहरुका अनुभव सुन्ने अनि रमाइलो गर्ने योजना थियो । तर, गाउँ पुग्दा राजनीतिमा मौलाउदै गरेको विकृति विसंगतिका कुरा सुन्दासुन्दै कान थाकिसके ।

Prabhu Bank
Agni Group
NIC Asia

एक जना राजनीतिक कार्यकर्ताले सुनाए- के गर्ने तीन दशक भयो, राजनीतिमा लागेको । अहिलेसम्म कुनै पद पाएको हैन । पार्टीको झोला बोक्दैमा जीवन गयो । न पैसा कमाउन सकियो । नत परिवारको व्यवस्थापन गर्न नै ! हेर्दाहेर्दै राजनीति कति विकृत भयो भने अब यसमा हामीजस्ताको कुनै स्थान नै रहेन ।

केही दिन यता पार्टी कार्यक्रममा सहभागी हुन नेपालगन्ज विमानस्थलमा दुवै नेकपा र नेपाली कांग्रेसका नेताहरु धमाधम उत्रिरहेका छन् । उनीहरुलाई आफ्नो पक्षमा पार्न जिल्ला स्तरीय नेताहरुबीच होडबाजी छ । विमानस्थलको दृश्य हेर्दा कुनै समय भारतीय सीमा क्षेत्रका बस र ट्याक्सी चालकले यात्रु तानातान गरेजस्तो लाग्छ ।

Global Ime bank

नेपालगन्जमा मेरा एक मित्र भन्दै थिए- पार्टीका नेताहरु विमानस्थलमा ओर्लिन पाएका हुँदैनन्, उनीहरुलाई महँगा होटेलमा राख्न स्थानीय नेता, व्यापारी र पहुँचवालाहरुबीच प्रतिस्पर्धा हुन्छ । मानौं, नेताबजारमा सामानको मोलतोल चलिरहेको छ । सुविधा सम्पन्न महँगो होटलमा राख्ने, मीठो खुवाउने र महँगो रक्सी टक्रयाउनेहरु नै नेताको प्राथमिकतामा परिरहेका छन् । उनीहरू नेतृत्वमा पहुँच बढाएर राजनीतिलाई कमाउधन्दा बनाइरहेका छन् ।

राजनीतिक पहुँचका बलमा ठेक्कापट्टा हात पार्ने, व्यापार व्यवसाय बढाउने अवसर नेताका आसेपासेले पाएका छन् । जनसाधारण भन्छन्- गाउँमा तिनै नवधनाढ्य र सम्पन्न बनेका छन् जो नेताको नजिक छन् । बाँकीले त काम गर्छु भन्दा पनि पाउँदैनन् ।

गाउँतिर योग्यता, क्षमता र राजनीतिक योगदान भएका तर पैसा नहुनेहरूका लागि नेतृत्वमा पुग्ने कल्पना असम्भव प्रायः बन्दै गएको अनुभव धेरैले सुनाए । उनीहरुको भनाइमा यस्ता कार्यकर्ताले राजनीतिक लाभ पाउन मुस्किल त छ नै नेताको दर्शन पाउन पनि कठिन हुन्छ ।

हुर्र उडेर आएका प्राय:जसो नेता रातभर रक्सी पिउँछन्, बिहान ढिलो गरी उठ्छन्, निर्धारित कार्यक्रममा भाषण ठोकेर तुरुन्तै जहाजमा उडिहाल्छन् । घरबाट हिँडेपछि प्रायः कसैले आफ्नो एक पैसा खर्च गर्नुपर्दैन । जिल्ला, क्षेत्र र गाउँ तहसम्मै उनीहरुका आफ्ना खास कार्यकर्ता (एजेन्ट) छन् । नेताका भ्रमणको खर्च व्यवस्थापन गर्ने जिम्मेवारी तिनैको हुन्छ ।

यातायातको सुविधाका कारण दल र नेताहरुको संस्कार फेरिएको छ । पञ्चायतकालमा प्रतिबन्धित राजनीतिक दलहरूमार्फत प्रजातन्त्रको दियो बालेका नेताहरु भन्ने गर्छन्- त्यो बेला आजजस्तो होटलको चलनै थिएन । नत मुलुकको एक भागबाट अर्को भागमा सहजै जहाज र मोटरबाट पुग्न सम्भव थियो । आफ्नै देशको भूगोल टेक्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्थ्यो । राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए । नेताहरुले प्रहरी प्रशासनको आँखा छलेर कार्यकर्ता भेट्नुपर्थ्यो । नेता भेट्ने कार्यकर्ताले मानसिक रुपमा जेल बस्न तयार हुनुपर्थ्यो ।

संगठन गर्न नेताहरु कार्यकर्ताका घरमा महिनौ बस्थे ।

हिजो आजजस्तो राजनीति कमाउने धन्दा बनिसकेको थिएन । नत कुनै राजनीतिकर्मीले कुनै दिन सत्तामा पुगिन्छ भन्ने कल्पाना गरेको थिए होलान् ! राजनीतिमा सेवा भाव थियो । नेता संस्कारले बाँधिएका थिए ।

प्रजातन्त्रको लडाइँमा अघिल्लो पुस्ताले जेल, नेल र बलिदान दियो । अहिलेको पुस्ता त्यसैको ब्याज खाइरहेको छ । तर, आजका नेताले थाहा पाउनुपर्छ तिनका अग्रजले प्रजातन्त्र ल्याउन कति संघर्ष गरे ? कसरी संगठन गरे ? कति सुविधा उपभोग गरे ?

यो यात्राका क्रममा पुराना अनुभव सुन्ने र जान्ने अवसर पाइयो । कुनै जमाना थियो, बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भटराई गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीजस्ता नेताहरु जिल्ला दौडाहा गर्थे । महिनौंसम्म प्रशिक्षण चल्थ्यो ।

त्यसले नेता र कार्यकर्ता मात्र होइन, तिनका परिवारबीचको सम्बन्ध पनि कसिलो हुनेगर्थ्यो । यस प्रसंगमा पूर्वराष्ट्रपति रामवरण यादवले लेखकलाई सुनाएका छन्- नेताहरुबीच जहाजमा उड्ने, होटेलमा बस्ने र फर्किने संस्कार विकास हुँदा नेता र जनता टाढिएका छन् । नेताले देश र भूगोल बुझ्न सकिरहेका छैनन् । जसको प्रत्यक्ष प्रभाव देशको राजनीतिमा परिरहेको छ । जातीय, क्षेत्रीय भावना बढ्नुमा अदूरदर्शी नेतृत्व जिम्मेवार छ ।

सुर्खेत रोड नेपालगन्जस्थित नेपाली कांग्रेस बर्दियाका पूर्वसभापति ज्ञानराज शर्माको निवासले कुनै समय बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत धेरै नेतालाई आश्रय दियो ।  

शर्मा पत्नी सुशीलाले सुनाइन्- जनमत संग्रहमा बहुदल हारेपछिको कुरा हो । सान्दाइ (बीपी) आउनुभएको थियो । नेता आउने भएपछि कार्यकर्ताको भिड हुने नै भयो । म आफैँ खाना बनाउन व्यस्त थिए । नेपालगन्जमा हिजोआजजस्तो होटेल थिएनन् नत जहाजको सहज सुविधा नै । नेताहरु महिनौं घरमा बस्थे । संगठन गरेर फर्किन्थे । अहिले त सुन्दै छु नेता आउन पाएकै छैनन् । गैहाले भन्छन् ।

त्यही घरसँगको अर्को घटना पनि छ । विसं २०४२ को सत्याग्रह ताकाको कुरा हो । कांग्रेसका शीर्ष नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला केही दिन बसेर फर्किए । सुशीलाले सम्झिइन् अझै धेरै नेता र कार्यकर्ता हाम्रो घरमा छँदै थिए । म खाना बनाउन व्यस्त थिए । खुवाउन नपाउँदै प्रहरी आइहाल्यो । एक एक गरेर सबैलाई समायो । खाने कोही बचेनन् । सबै खेर गयो । आजभोलि त नेताहरु कार्यकर्ताका घरमा बस्ने र खाने चलन हराइसक्यो भन्ने सुन्छु ।

२०५४ अघि कम्युनिस्ट नेता र कार्यकर्ता एकदमै सामान्य जीवन बिताउँथे । आज त उनीहरु जति विलासी अरू कमै होलान् ! कम्युनिस्ट राजनीति गर्ने मेरा एक मित्रले सुनाए- हामी चिउरा र गुण खाएर दिनभर पार्टीको काममा खटिन्थ्यौं । यस सन्दर्भमा तत्कालीन नेकपा (एमाले) नेता माधवकुमार नेपालको भनाइ प्रसिद्ध छ- चुनाव प्रचारमा हिँड्दा हाम्रा कार्यकर्तालाई चिउरा-पानी भए पुग्ने । कांग्रेसीलाई बियर र मासु नभई नहुने ।

मोहन वैद्य नेतृत्वको माओवादीका तर्फबाट ठाकुरबाबा नगरपालिकामा मेयरका लागि प्रतिस्पर्धा गरेका मेरा मित्र रामबहादुर शाहीले सुनाए- धन नहुनेले अब राजनीतिमा नलागे हुने भयो । कांग्रेस, नेकपा र अरु धेरै पार्टीका सिद्धान्त  फरकफरक भए पनि तिनका नेता र कार्यकर्ताको व्यवहार र संस्कारमा खासै अन्तर छैन । दलहरु विभिन्न नाममा खोलिएका प्राइभेट लिमिटेड कम्पनीजस्तै भएका छन् भने नेता जति म्यानेजर । प्रायः सबैको एउटै लक्ष्य देखिन्छ- कमाउने अझ बढी कमाउने ! बस् कमाउने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC