site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्राधिकरण भन्छ- लोडसेडिङ गर्नुपर्ने अवस्था छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी तीन वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताए । केही सञ्चारमाध्यममा अघोषित लोडसेडिङ सुरु भएको र विद्युत् आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्ने समाचारहरु प्रकाशित भएकामा गम्भीर ध्यानाकर्षण भएको पनि शाक्यले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अहिलेको अवस्थामा केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत् आपूर्तिमा अवरोध हुँदा बत्ती गएको पनि शाक्यले बताए । उनले अनावश्यक रुपमा बिजुली काट्ने कुनै काम नभएको र प्राविधिक कारणले बिजुली काटिँदा लोडसेडिङ भन्न नमिल्ने पनि बताए ।

अहिले नेपालको विद्युत् प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत् मागबराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि गर्नुपर्ने कुनै सम्भावना नदेखिएको बताए । 

राष्ट्रिय विद्युत् प्रणालीमा भारवहन क्षमताभन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय प्रसारण तथा आपूर्तिमा भएको अवरोधलाई लोडसेडिङ नभन्नसमेत उनले आग्रह गरे । तर यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम रहेको पनि शाक्यले बताए । 

यस्तै कोभिडका कारण विद्युत् चुहावट करिब डेढ प्रतिशतले बढेकामा अबको आठ महिनामा यसलाई पुरानै स्थितिमा ल्याउने गरी कर्मचारी परिचालन गरिएको पनि उनले बताए । यस वर्ष साढे १४ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिए पनि गत वर्षको १५ दशमलव २७ प्रतिशतको हाराहारीमा कायम गर्न सक्षम हुनेगरी काम भइराखेको बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १८:०९
प्रतिक्रिया दिनुहोस्