सन् १९४४ मा जन्मिएको म हुर्के अमेरिकाले बनाएको साह्रै राम्रो संसारमा हुर्केँ । विश्वयुध्दपछि स्थापना भएका संस्था, अन्तर्राष्ट्रिय कानुन तथा स्वतन्त्र समाजको गठबन्धनले हामी धेरैलाई प्रगतिको ढोका खोलिदिएको थियो ।
त्यसबेला गल्तीहरू पनि भएका थिए । भियतनाम युध्दलाई एउटा मुख्य उदाहरण मान्न सकिन्छ । केही रणनीतिक कमजोरी भए पनि खुला समाजको विकास प्रक्रियाले धेरै गति लियो र सैध्दान्तिक अधारमा पनि स्थापित भयो । हार्वर्ड विश्वविद्यालयका प्राध्यापक जोसफ नेले यसलाई 'नरम शक्ति' (सफ्ट पावर) भनेका छन् । जे होस्, विगतमा अमेरिकाले कानुनको शासन तथा उदार लोकतन्त्रको पक्षमा सधैँ बहसमा जित्यो । कसैलाई पनि स्वतन्त्ररूपमा चुन्न दियो भने अन्य विकल्पको तुलनामा यही व्यवस्था चुन्छ ।
गत महिना अमेरिकी सिनेटमा सर्वोच्च अदालतकी न्यायाधीश एमी कोनी ब्यारेटलाई नियुक्त गर्नुअघि भएको सुनुवाइ हेर्दैगर्दा म अमेरिकी मूल्य र मान्यताका विषयमा सोची रहेको थिएँ । तिनको सुनुवाइको क्रममा लाग्यो हाम्रो बेलायतमा धेरै समस्या हुँदमहुँदै (समस्या धेरै छन् र बोरिस जोन्सन कालमा आकाशिएका छन्) हामीलाई सर्वोच्चका न्यायाधीशको राजनीतिक आबध्दता र धारणा सुन्नु पर्दैन । बेलायतका सर्वोच्च अदालतका प्रधान न्यायाधीशले समलिंगी विवाहको समर्थन गर्छन् कि गर्दैनन् वा गर्भपतनलाई मान्यता दिन्छन् भन्नेजस्ता उत्तर दिएर नियुक्त हुने कुरा सोच्न पनि सकिन्न ।
ब्यारेटको क्षमतामा शंका गर्ने कुनै कारण छैन । मजस्तै उनी पनि क्याथोलिक हुन् जुन उनका लागि बाधक हुनुहुँदैन । तर, पनि उनको न्यायिक सिद्धान्तमा र उनको नियुक्ति प्रक्रियामा पनि प्रशस्त असन्तोष छ । मेरो दोस्रो असन्तोषमा उनी पनि सहमत हुनुपर्छ । विधिशास्त्रीय प्रश्नमा उनी सर्वोच्चका स्वर्गीय न्यायाधीश एन्टोनिन स्कालियाकी चेली हुन् । अर्थात्, उनी 'मौलिक' सोच राख्छिन् जो कानुनलाई २३० वर्षअघिका संविधान निर्माताको आँखाबाट हेर्छिन् ।
मौलिक सोचको परकाष्ठा गत वर्ष सर्वोच्च अदालतको एउटा मुद्दामा देखियो । मिजुरी सरकारले मृत्युदण्डका लागि अपनाउने तरिकामा प्रश्न गर्दै मृत्युदण्ड पाएका रस्सेल बक्ल्युले अदालतमा रिट निवेदन दिए । उनलाई एक प्रकारको रोग भएकाले मर्ने सुई दिएर नमारियोस् भन्ने उनको दलिल थियो । वकिलका अनुसार सो रोगको कारण प्राणघातक सुई दिँदा उनका नसाहरू फुटेर आफ्नै रगतमा डुबी कष्टकर मृत्यु हुन्छ । त्यसैले अरु उपाय अपनाइयोस् भन्ने माग थियो ।
हुनत, उनलाई सुईनै दिएर मृत्युदण्ड दिँदा पनि शंका गरिएजस्तो केही भएन । तथापि, सर्वोच्च अदालतमा सुनुवाइ हुँदा अमानवीय मृत्युको संभावना थियो । वकिलले बहसमा यसरी मृत्यु दण्ड दिइनु संविधानको आठौं संशोधनको विपरीत हुने तर्क गरेका थिए । आठौं संशोधनले 'क्रूर तथा असामान्य' सजाय दिन पाइन्न भन्छ । तर, अदालतको पुरातन सोचवाला बहुमतले सन् १७९१ मा संविधान संशोधनको मस्यौदा गर्ने व्यक्तिहरूले आन्द्राभुँडी निकालेर, छाला काढेर र जिउँदै जलाएर मृत्यु दण्ड दिइने सोच राखेर संशोधन गरेका थिए भन्ने तर्क दियो ।
सन् १९५८ मा त्यसबेलाका प्रधान न्यायाधीश अर्ल वारेनको आठौं संशोधनको अर्थ "सभ्यताको बढ्दो मानक र समाजमा बढ्दै गएको शिष्टताका आधारमा" लगाइनुपर्छ भन्ने तर्कलाई पनि उपेक्षा गरौँला तर ब्यारेट त्यस्तो बेन्चमा पुग्दैछिन जहाँ क्याथोलिकको अहिल्यै बहुमत छ । उनी र उनका सहकर्मीले समीक्षा गर्न चाहँदा वारेनको भनाइलाई मात्र पुनरावलोकन नगर्लान् बरू सेन्ट जोन हेनरी न्युम्यानको कथन पनि सम्झलान् जसलाई गतवर्ष मात्र सन्तको मान्यता दिइएको थियो । उनले भनेका थिए - "बाँच्नु भनेकै परिवर्तित हुनु हो, अनि उत्तम वा परिपूर्ण हुनु भनेको तारन्तार परिवर्तित हुनु हो ।"
जे भए पनि जो कानुनको शासनमा विश्वास गर्छ र यसलाई खुला समाजको केन्द्रमा राख्छ त्यसलाई ब्यारेटको कानुनी विचारले खासै फरक पार्दैन । बरु समस्या चाहिँ के हो भने ब्यारेटलाई जुन प्रकारले अदालतमा स्थापित गर्ने कोसिस हुँदैछ त्यसले अदालतप्रतिको निष्ठामा आँच आउँछ । अदालत "गुप्त द्रव्य" (डार्क मनी) बाट ध्वस्त हुने खतरा बढ्दैछ जुन कुरा विस्तृतरूपमा रोडआईल्यान्डका डेमोक्र्याट सेल्डन ह्वाइटहाउसले संसदीय सुनुवाइका क्रममा बताएका थिए । डार्क मनी भनेको अमेरिकी गैरनाफामुखी संस्थाले खर्च गर्ने रकम हो जसको स्रोत खुलाउनु पर्दैन ।
राष्ट्रपति डोनल्ड ट्रम्पको सबै न्यायिक सिफारिस जस्तै ब्यारेटको पनि फेडेरलिष्ट समाजबाटै भएको हो । यो समाज अनुदार सोच राख्नेहरूको संस्था हो जसको उपस्थितिको एउटै उद्देश्य संघीय पदहरूमा उस्तै सोच राख्ने "मौलिकतावादी" हरूलाई नियुक्त गर्नु हो । यो समूहको पछाडि कर्पेरेट र निजी संस्थाहरूको ठूलो आर्थिक सहयोग छ जुन संस्थाहरूको आआफ्नो स्वार्थ रहेको हुन्छ । उदाहरणका लागि वातावरण संरक्षणका कानुनको यिनले विरोध गर्छन् ।
"डार्क मनी"को अमेरिकी राजनीतिमा यति ठूलो प्रभाव हुनुका पछाडि सन् २०१०को सर्वोच्च अदालतको निर्णय जिम्मेवार छ, जुनबेला अनुदार न्यायाधीशको बहुमतले सिटिजन्स युनाइटेड विरुध्द संघीय निर्वाचन आयोगको मुद्दामा राजनीतिमा स्वतन्त्र आर्थिक सहयोग नियन्त्रण गर्ने कानुन संविधानको पहिलो संशोधनबाट प्राप्त अभिव्यक्ति स्वतन्त्रताको विरुध्द भएको निर्णय सुनायो । त्यसपश्चात पैसावाल लबिइस्ट (निर्णय प्रभाव पार्न भूमिका खेल्ने समूह) र विशेष स्वार्थ समूहको 'चाँदी कटाइ' भएको छ । ट्रम्प राष्ट्रपति बनेपछि उनी र उनका सहयोगी रिपब्लिकन्सहरूले संघीय न्यायालयमा २०० भन्दा बढी अनुदार न्यायाधीशहरू नियुक्त गरेका छन् (ध्यानदिन लायक कुरो के छ भने पुनरावेदन अदालतमा चुनिएकामध्ये एकैजना पनि काला जातिका छैनन्) ।
कानुनको शासनमा प्रतिबध्द कस्तो प्रकारको उदार लोकतन्त्रले राजनीति प्रणाली र न्यायिक नियुक्तिमा यस्तो खुला भ्रष्टाचार गर्ने अनुमति दिन्छ ? दलगत पूर्वाग्रहदेखि गोप्य पैसाको बाढीसम्म प्रयोग गरेर गलत प्रभाव पार्दै अमेरिकाले अस्तव्यस्त गणतन्त्र (बनाना रिपब्लिक)का मानकहरूको पूर्ण अभ्यास गरेको छ ।
यो ब्यारेटको साखको प्रश्न होइन । परन्तु, पूर्व राष्ट्रपति बाराक ओबामाको प्रमुख देन स्वास्थ्य सेवासम्बन्धी व्यवस्था उल्ट्याउन सहयोग गर्ने विश्वास नभएको भए ट्रम्पले उनलाई नियुक्त गर्ने थिएनन् भन्ने भने उनलाई पक्कै थाहा थियो । उनले ओबामाको ऐन खारेज गर्न असफल भएको भन्दै प्रधान न्यायाधीश जोन रोबर्टको आलोचना औपचारिकरूपमै गरेकी सार्वजनिक भएको छ ।
लोकतान्त्रिक मूल्य मान्यता र सहमतिको राजनीतिलाई ध्वस्त पार्दै आएका सिनेटमा बहुमत भएको रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनलले ब्यारेटको मनोनयन नोभेम्बर ३ को अमेरिकी राष्ट्रपति निर्वाचन पहिले नै गरिसक्न सबै कार्यव्यापार एकातिर पन्छाइदिएका थिए । सायद चुनावमा ट्रम्प हार्ने ठानेर नै ब्यारेटको नियुक्ति थप अवैध नदेखियोस् भनेर उनले त्यसो गरेको हुनुपर्छ ।
म्याक्कोनल तिनै व्यक्ति हुन् जस्ले स्कालियाको सन् २०१६ को पूर्वार्धमा मृत्यु भएपछि रिक्त स्थानमा ओबामाले गरेका मनोनयनको सुनुवाइ गर्न प्रशासन परिवर्तन हुनुभन्दा २६९ दिन पहिले नै अस्वीकार गरेका थिए । यसैले इजलासमा ब्यारेटको उपस्थिति राजनीतिक पाखण्ड र जालसाजीको परिणाम हो ।
लोकतन्त्र बाच्न, फस्टाउन र अरूले अनुसरण गर्ने उदाहरण बन्नका लागि यसको नेतृत्व इमानदार र निष्ठावान् व्यक्तिले गर्नुपर्छ । परन्तु, म्याक्कोनलको रकमी धुर्त्याइँ भने त्यसको ठीक उल्टो छ । चुनावको मुखैमा भएका अभ्यासले विधिको शासनप्रतिको अमेरिकाको प्रतिबद्धता नराम्ररी धुजाधुजा भएको छ ।
(अक्सफोर्ड विश्वविद्यालयका कुलपति
Copyright: Project Syndicate, 2020.