बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार सिंहदरवार, चाकडी र भ्रम जगत नेपाल
बाह्रखरी - आइतबार, मंसिर २८, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

दुई दशकअघिको कुरा हो । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले भर्खरै (२०५६) जननिर्वाचित प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेका थिए । 

प्रधानमन्त्री कार्यालयको ‘ब्रिफिङ’ सकिएकै थिएन । दिनहुँ भेट्न आउनेहरुको घुइँचो । तिनलाई भेट्दैमा प्रधानमन्त्री थाकिहाल्थे । कामका बारेमा सोच्ने फुर्सदै नहुने । मान्छे भेट्दा भेट्दा थकाइले भुतुक्क भएर सुती हाल्नुपर्ने । 

उमेरले पाका प्रधानमन्त्रीको कार्यकक्षसँगैको एउटा कोठामा आरामका लागि बिस्तरा पनि राखिएको थियो । बिहान  सिंहदरबार जाने र खाना खाएपछि एक छिन आराम गर्ने बानी थियो उनको । एक दिनको कुरा हो राजनीतिक सल्लाहकार डा. नारायण खड्का हस्याङफस्याङ गर्दै प्रधानमन्त्रीको शयन कक्षमै पुगे । त्यस दिनको घटना डा. खड्काले लेखकलाई यसरी सुनाएका छन् । 

Agani Group

खड्का : किसुनजी ! हजुर आराम गर्दै हुनुहुन्छ । म हजुरलाई डिस्टर्ब गर्न चाहन्न तर बाहिर भेट्न चाहनेहरुको घुइँचो लागि सक्यो । तैँले भेट्न दिइनस् भनेर मलाई त हायल कायल बनाउन थाले । 

किसुनजी : अरे बाफ रे नारायणबाबु ! तपाईँलाई हायल कायल पो पारे । 

sarbottam cement

खड्का : हो किसुनजी ! तिमीले प्रधानमन्त्रीलाई भेट्न दिएनौ भन्दैछन् । हजुर उठ्नु पर्‍यो । भेट्नु पर्‍यो । बाहिर मानिस अट्ने ठाउँ नै बाँकी छैन । 

किसुनजी : त्यति मान्छे छन् ? 

खड्का : हो किसुनजी । 

किसुनजी : ल ! तिनीहरुलाई कुुर्न दिनुस् । म एक छिन आराम गर्छु । तिनलाई नभेटेर म सुत्दा नै देशलाई फाइदा छ । 

प्रधानमन्त्री भट्टराईको कुरा सुनेर डा. खड्का छक्क परे । धरैपछि मात्र उनलाई आफ्ना नेताले किन त्यसो भनेका रहेछन् भन्ने थाहा भयो । खड्काले लेखकलाई सुनाए ‘म क्यानडामा पढेर आएको मान्छे । सकेसम्म सबैलाई भेटाउन प्रयास गर्थेँ । तर, किसुनजीको कुरा सुने पछि छक्क परेँ । उहाँले भन्नु भयो– हेर्नुस् यहाँ भेट्न आउनेहरु प्रायः सबै केही न केही माग्नमात्र आएका हुन्छन् । देश कसरी बनाउने ? के गर्ने भनेर सल्लाह दिने कोही हुँदैन । मानौँ एक छिनलाई मैले आराम गर्न छोडेर उनीहरुलाई भेटेँ रे । देशलाई के फाइदा हुन्छ ? प्रायः सबै केही न केही मागेर ममार्फत देशको ढुकुटी रित्याउन खोज्नेमात्र न हुन् । बरु नभेट्यो । खत्तम । देशको ढुकुटी त जोगिन्छ ।

व्यंग्य चेतका धनी भट्टराईमा औसत राजनीतिक नेताहरुभन्दा अन्तरआत्माको आवाज सुनेर अघि बढ्ने दुर्लभ गुण त थियो नै राजनीतिक बजार र मिडियामा हुने आलोचनाको पटक्कै डर थिएन । 

सिंहदरवार त्यस्तो ठाउँ हो जहाँ चाकरी, चाप्लुसी गरेर स्वार्थ पूरा गराउन चाहनेहरुको कहिल्यै कमि रहेन । राणा प्रधानमन्त्री चन्द्रशमशेरको निजी निवास सिंहदरबार झन्डै तीन दशकसम्म उनले प्रयोग गरे । अन्त्यमा जो प्रधानमन्त्री हुन्छ उसैले प्रयोग गर्न पाउनेछ भन्दै सरकारी पैसाले बनाएको दरबार महाराज चन्द्रशमशेरले सरकारलाई नै बेचिदिए । 

राणाकालमा चाकरी प्रथा चरममा थियो । प्रधानमन्त्री र शक्तिशाली राणाजीको ढोका चोटा चहार्नेले मात्र राज्यको सुखसुविधा पाउँथे । रैती दाससरह थिए । प्रधानमन्त्रीको निवास सरेपछि सिंहदरबार चाकरीको स्थायी थलो बन्यो ।  

एक छिन राणाकालको चाकरी प्रथा बारे चर्चा गरौँ । त्यस बेलाको कानुन र प्रशासन राणाको हुकुममा चल्थ्यो । कसैलाई नोकरी दिने, हटाउने (पजनी) मात्र होइन मृत्युदण्ड दिने संविधान, कानुन र अधिकार जे भने पनि श्री ३ को हुकुम नै हुन्थ्यो । राणा शासकलाई खुसी बनाउन जमेर चाकरी गर्नेहरुले अवसर पाउँथे । बागीहरुले  मृत्युदण्ड, जन्म कैद, देश निकाला, सर्वस्वहरणजस्ता सजाय पाउँथे । 

निजामती र सैनिक सेवाका उच्च अधिकृतहरुले हरेक दिन बिहान र बेलुकी दुई पटक राणाको दरवारमा चाकरीका लागि जानै पर्थ्यो । पहुँच नहुनेहरु सिंहदरबारको मूलढोकामा कुन बेला श्री ३ निस्कन्छन् र चाकरी गर्न पाइन्छ भनेर प्रतीक्षारत हुन्थे । 

श्री ३ महाराज (प्रधानमन्त्री) हरेक दिन साँझ सिंहदरबारबाट घोडामा सवार भै टुँडिखेल घुम्न जान्थे । त्यही मौकामा चाकरीवालाहरु घोडाको पछि पछि दौडिँदै जोड जोडले कराउँथे– महाराजको जय होस् !  महाराजको जय होस् ! प्रधानमन्त्रीको पछि पछि उनका घोडचढी सुरक्षागार्डहरु हुन्थे । 

चाकरीबाट मन जित्न सक्नेहरुका कुरा प्रधानमन्त्री घोडा रोकेर सुन्थे । चिक्त बुझे मागेको नोकरी, बिर्ता र आर्थिक सहयोग गरिहाल्थे । यसरी प्रधानमन्त्रीसँग बिन्ती बिसाउन पाउनुलाई जनसाधारण आफ्ने भाग्य ठान्थे । महाराजलाई कुरा सुनाउन नपाउनेहरु भाग्यको खेला यस्तै रहेछ भन्ने ठानेर चाकरी गरिरहन्थे ।  

राणा शासन समाप्त भएको ७० वर्ष भयो । यसबीच देशमा प्रजातन्त्र, पञ्चायत, फेरि प्रजातन्त्र, राजाको प्रत्यक्ष शासन, लोकतन्त्र हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरेको पनि बाह्र वर्ष बढी भइसक्यो । सिंहदरबारको चाकरीको रूप बदलिए पनि चलन भने बदलिएको छैन । कति प्रधानमन्त्री फेरिए !  चाकरी प्रथा भने संस्कारकै रुपमा जरो गाडेर बसेको छ । 

राणाविरुद्ध हतियार उठाएर जनकपुर, महोत्तरी र उदयपुर कब्जा गर्ने जनक्रान्तिको नेतृत्व गरेका भट्टराईले चाकरीका बारेमा राम्रै बुझेका थिए । त्यसैले त उनी निर्धक्क भनिदिन्थे– ‘सिंहदरबारमा प्रधानमन्त्रीको चाकरीमा आउनेहरुलाई भेट्नुको साटो म व्यस्त छु भनेर सुतिदिन्छु, त्यसैमा देशको हित छ ।’

संयोग प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले रुग्ण शरीर र स्वास्थ्य अवस्थाका कारण कामभन्दा बढी आरामको आवश्यकता छ । सिंहदरबार आउन सहज नभएका कारण उनी प्रायः बालुवाटारबाटै शासन चलाइरहेका छन् । 

सत्तामा पुग्नुअघि ओलीले खब आश्वासन बाँडे । रातारात विकास गर्ने, रेल र पानी जहाज चलाउने, घर घरमा ग्यासका पाइप जोडी दिने । सत्तामा पुगेपछि प्रधानमन्त्रीलाई शक्तिशाली बनाउन राज्यका कतिपय महत्त्वपूर्ण निकाय आफ्नो मातहतमा लगे । राज्यको साधन स्रोत आसेपासे र चाकरीदारहरुलाई फाइदा पुग्ने गरी उपयोग हुने वातावरण बनाए । ओम्नी, यतिलगायत ओली निकटका दिन खुले । 

सत्ता र शक्तिलाई पार्टीभित्रका विरोधीलाई तह लगाउने अस्त्रका रुपमा प्रयोग गरेका कारण प्रधानमन्त्री ओली नेतृत्वको सरकार यति बेला झन् निरीह बनेको छ । चुनावअघि उनले दिएका आश्वासन र राष्ट्रवादका नारा अहिले सामाजिक सञ्जालमा उपहासका विषय बनिरहेका छन् । 

गाउँगाउँमा सिंहदरबारको नारा पनि ठट्यौली बनेको छ । राणाकालदेखि केही अपवाद छोडेर सिंहदरबारमा बस्नेहरुले जसरी शक्तिको दुरुपयोग गरेका छन्, भ्रष्टाचारलाई मल जल गरेका छन् त्यही रोग स्थानीय तहसम्म पुगेको छ । देशको प्रशासनिक केन्द्र सिंहदरबारमा सीमित चाकरी गाउँसम्म फैलिएको छ । निर्वाचित प्रतिनिधिले शक्तिको आडमा ठेक्का पट्टा आफ्ना आसेपासेलाई दिने गरेका छन् । 

त्यसैले अब नेता होइन सोच बदलिनु आवश्यक छ । प्रधानमन्त्री वा कुनै नेताले देश बनाउने होइन । राज्यका संयन्त्रहरु चुस्त दुरुस्त र जनताप्रति उत्तरदायी हुने सुनिश्चितता आवश्यक छ अब । नेताको आदेश होइन, संविधान र कानुनले व्यवस्था गरेका संस्थाहरुमार्फत देश चल्ने वातावरण बनाउन सकियो भनेमात्र चाकरी प्रथाको अन्त्य सम्भव छ । 

हैन भने व्यवस्था र पात्र जति फेरिए पनि देशले नोक्सानी बेहोरिरहन पर्नेछ । प्रधानमन्त्री ओलीले अब यो गर्छु त्यो गर्छु वा यसले काम गर्न दिएन उसले दिएन भन्नुको अर्थ छैन । 

बहुमतको सरकारले राज्यका हरेक अंगलाई देशको कानुन र जनताको आवश्यकताका अधारमा चल्ने बनाउन सक्नुपर्छ । त्यसो गर्न सके भने प्रधानमन्त्री ओली दुईपटक मिर्गौला फेरेको रुग्ण शरीरलाई आराम दिएर बालुवाटारमा बसे हुन्छ । उनको शरीरलाई आराम र देशलाई पनि लाभ हुनेछ । 

त्यसो गर्न सकेनन् भने कुनै दिन उनले प्रधानमन्त्रीबाट बहिर्गमन हुनु त पर्ने नै छ । त्यस बेला पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले जस्तै म सय वर्ष बाँच्छु र फेरि प्रधानमन्त्री बन्छु भन्ने भाषण ओलीले पनि दिनुपर्ला ! 

जननिर्वाचित प्रधानमन्त्रीका रुपमा ९ महिना काम गरेपछि जबरजस्ती पदबाट राजीनामा गर्न बध्य पारिएका भट्टराईले सय वर्ष बाँच्छु र फेरि प्रधानमन्त्री हुन्छु, भन्न थालेका थिए । तिनै ताका कान्तिपुर टेलिभिजनका लागि तीन दिनसम्म लगातार हामीले भैँसेपाटीस्थित उनको निवासमा भट्टराईको अन्तर्वार्ता लिने अवसर पाएका थियौँ । हामी पुग्दा उनी घर कम्पाउन्डभित्र सुरक्षाकर्मीको हात समाएर केही फन्का लगाउँथे । अनि प्लास्टिकको कुर्सीमा थपक्क बस्थे । सुरक्षाकर्मीहरु कुर्सीसहित भट्टराईलाई बोकेर बेडरुमसम्म पुर्‍याउँथे । सेतो तन्ना ओछ्याएको बेडमा पान चपाउँदै खिस्स हारेर भट्टराई हामीलाई अन्तर्वार्ता  दिन्थे । 

त्यही बेला मैले १०० वर्ष बाँच्ने र फेरि प्रधानमन्त्री बन्ने उनको भनाइबारे जिज्ञासा राखेको थिएँ । त्यो दिन भट्टराईले भनेका थिए– हेर्नुस्, बाबु तपाईँले यो देश बुझ्नु भएको छैन । म फेरि कहिल्यै शक्तिमा आउँदिन भन्यो भने त यहाँ मलाई भेट्न पनि कोही आउँदैनन् । त्यसैले लोभीपापीहरुलाई आशा देखाइरहनु पर्छ । कम से कम फेरि शक्तिमा पुग्छ भन्ने भ्रममा परेर भए पनि उनीहरुलाई मेरो चाकरीमा आइरहने वातावरण बनाइरहनु पर्छ । त्यसैले म भनिदिन्छु । भट्टराई फेरि प्रधानमन्त्री हुन्छन् र लाभ उठाउन पाइन्छ भन्ने भ्रममा उनीहरु बसिरहन्छन् । मान्छेको भिडभाड भइरहेपछि समाज पनि भट्टराई शक्तिशाली रहेछ भन्ने भ्रममा बाँचिरहन्छ । त्यसैले म सय वर्ष बाँच्ने र फेरि प्रधानमन्त्री हुने कुरा गरिरहन्छु ।


 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, मंसिर २८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्